मलाई तिम्रो कोखमै बाँच्न देऊ

0
911

आमा मलाई तिम्रो कोखमा बाँच्न देउ
म बाहिर निस्किन्न
बरु मलाई भिडियो एक्सरेबाट हैर्दै गर
मलाई तिम्रो माया भए पुग्छ
अरुको दया चाहिन्न
तिम्रो कोखबाटै म संसार नियाल्छु
तिमी खुशी भए म पनि खुशी हुन्छु
तिमी दु:खी भए म पनि दु:खी हुन्छु
तिमीले खाए म पनि अघाउँछु
तिमी भोकै भए म पनि भोकै बस्छु
मलाई यही कोख सुरक्षित छ
जहाँ तिमीले सास फेरे म पनि बाँच्छु
तिमीले सास छोडे म पनि मर्छु ।

म बाहिर निस्कन खोजे भने तिमीले मुर्छा खान्छ्यौ
निस्केपछि तिमीलाई झन पिडा हुन्छ
किनकि
तिमीले छोरी जन्माउछ्यौ
तिमी छोरीकी आमा बन्छ्यौ
स्याहार सुसारमा पनि भेदभाव हुन्छ
त्यो पनि तिमीले नै भोग्छ्यौ
तिमीलाई प्रयाप्त आहारा नपुगे
दुधले नअघाएर म रुन्छु
फेरि तिम्रो नै चित्त दुख्छ
म अलि ठुली भए भने झनै डरैडर हुन्छ
मलाई हुर्काउन तिमीले आधा पेट खानुपर्छ
अरुले जस्तै अँग्रेजी स्कुलमा पढाउन नपाउँदा
तिम्रो मन रुन्छ
मलाई घरमा छोडेर काममा जान पनि त्रासै हुन्छ
सँगसँगै लैजान पनि काम गर्न गाह्रो हुन्छ
मन भित्र वेदनाको भारी बोक्छौ कि,
मलाई बोक्छौ आमा ?
म बुझ्ने भए पछि त केही गर्न पक्कै सक्थें
तर म ठुली हुन पाउँछु पाउँदिन
त्यो तिमीलाई पनि विश्वास छैन आमा
त्यसैले,
मलाई तिम्रो कोखमा बाँच्न देउ ।

दाइ त जसोतसो तिम्रो काखमै हुर्कन पाए
अनि,
बिस बर्षको कलिलो उमेरमै
पासपोर्ट हातमा समाएर खाडीमा पुगे
यता तिमी एक्लै हुँदा कति अप्ठ्यारा झेलेउ
त्यो तिमीलाई थाहा छ
फेरि म थपिए भने तिमीलाई नै बोझ हुन्छ आमा
गरिबीले हामी असुरक्षित होइन,
मानवता हराएर हामी असुरक्षित छौं
समाज त हाम्रो लागि घना जंगल बनेकोछ
जुनसुकै समय हामी शिकार बन्न सक्छौं
तिमी बाहिर संघर्ष गर्दा म तिम्रो कोखबाटै शक्ति दिन्छु, त्यसैले
मलाई तिम्रो कोखमै बााच्न देउ आमा

मान्छे भएर निर्धक्क बाँच्न नपाउने देशमा
तिमी आमा बनेउ
आमा सुरक्षित नहुने देशमा छोरी कसरी सुरक्षित हुन्छ र ?
हामी मारिन कानुनले छेकेन,
त्यसैले मार्नेहरु त ढुक्कै छन्
तिमी जन्मदा सजिलो थियो होला
तर म जन्मिन साहै गाह्रो छ आमा
म बाहिर निस्किन्न
मलाई तिम्रो कोखमै बाँच्न देऊ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here