श्रमजीवी नेपालीहरुको यथार्थ कथा समेटिएको जनगायक शर्माको नयां गीत–“गरिब जनता”

0
18

नारायण शर्मा
रक्तिम सांस्कृतिक अभियानका संस्थापक अध्यक्ष जनगायक जीवन शर्माको संगीत र स्वरमा “गरिब जनता” बोलको नयाँ गीत नेपाली सांगीतिक बजारमा आएको छ । गीतका शब्दहरु भारतको चेन्नैमा मजदुरी गरिरहनु भएकी नेपाली चेली माया हमालले लेखेकी छिन् । गीतमा संगीत ऐरेन्ज नारायण दंगालले  गरेका छन् भने गीतको भिडियो छायांकन, सम्पादन र निर्देशन जीवन श्रेष्ठले गरेका छन् । गीतको भिडियोमा रक्तिमका कोषाध्यक्ष डमर भण्डारी, भारत चेन्नेमा रोजगाररत नेपाली युवाहरु दिपक हमाल र निर्मल हमाल अनि म स्वयंसमेतले अभिनय गरेका छौं । गीतले बेरोजगारीको समस्या झेलिरहेका श्रमजीवी नेपालीहरुको यथार्थ कथा बोलेको छ :
उजाड छ बस्ती, सुनसान छ बाटो
घरपाली भत्केको छ
बेहाल छ झुप्रो सिरु पलाई
आँगनी ढाकेको छ
जनताको घरबास लिलामी हुँदा
गुहार माग्दैछन्
गाउँबस्ती डुल्दै, रुँदै कराउँदै
सहारा खोज्दै छन्
गरिब जनता सधैका दुःखी
रोजगारी खोज्दैछन्
भोकै नांगै गिट्टी फोरेर
जिन्दगी झेल्दैछन्…

हो, देशमा रोजगारीको अवसर छैन । उद्योगधन्दा, कलकारखानाहरुको निर्माण र विकास गरिएको छैन । बरु भएका उद्योग, कारखानाहरु पनि कौडीको मुल्यमा विदेशीहरुलाई बेचेका छन् –शाससहरुले । भृकुटी कागज कारखाना, बाँसबारी छालाजुत्ता कारखाना, बुटवल धागो कारखाना, वीरगंज चिनी कारखाना, हेटौंडा कपडा उद्योग लगायत झण्डै तीन दर्जन नेपाली उद्योग तथा कारखाना विदेशी दलाल पुँजीपतिहरुलाई बेचिसकेका छन् ? नेपाली शासकहरुले । उब्जाउ जमिनको ठूलो हिस्सा सामन्त तथा ठूला पुँजीपतिको कब्जामा पुगेको छ । रात दिन मिहेनत गर्ने किसानहरुको हातमा कि त जमिन नै छैन भए पनि निकै सीमित छ । भएको जमिनको खेतीले जहान लालावालाको वर्षभरी पेट भर्न पुग्दैन । त्यसैले गाउँघरका गरिब किसानहरु बस्तीको आफ्नो झुप्रो छोडेर कामको खोजीमा भौंतारिइरहेका छन् । कोही देशकै नदी बगरहरुमा गिट्टी कुटिरहेका छन् त, कोही कामको खोजीमा परदेशी भूमि चाहारिरहेका छन् । गाउँका बस्तीहरु उजाड छन् । बाटाहरु सुनसान छन् । हाम्रो देशको यही यथार्थ अवस्था बोलेको छ “गरिब जनता” गीतले ।

गाउँका ठूला ठालु, सामन्तहरुबाट पनि गरिब किसानहरु लगातार पीडित हुँदै आइरहेका छन् । खेती गर्न, लालावालाको पढाई र लालापालन गर्न आफ्नो जमिनमा भएको उब्जाउले नपुगेपछि तिनै साहु महाजनहरुसँग ऋण सापटी लिन बाध्य छन्–गरिब किसानहरु । व्याजमाथि स्याज थप्दै त्यो ऋण झनै बढाउँदै लगिरहेको हुन्छ साहुले । जति तिरे पनि कहिल्यै सकिंदैन त्यो ऋण । आखिर त्यही ऋण तिर्न सकेन भनेर भएको त्यही एउटा झुप्रो पनि साहु महाजनले कब्जा गरिदिए पछि बेघरबार भएका गरिब किसानहरुको संख्या पनि कम छैन हाम्रो देशमा । केही समय अघि तराइबासीका मिटरव्याज पीडित किसानहरुको आन्दोलन देशको राजधानी काठमाडौंसम्म नै आइपुगेको थियो । आफ्ना माग राखेर शान्तिपूर्ण धर्नामा बसिरहेका ती मिटरव्याज पीडितहरु माथि सरकारले बर्बर दमन गरेको थियो । त्यस्तै चिनी मिलका मालिकहरुको ठगी र लुटको शिकार बन्न पुगेका उँखु किसानहरुको आन्दोलन पनि राजधानीसम्म नै आएको थियो । उँखु किसानहरु र मिटरव्याज पीडित गरिब किसानहरुको त्यो आन्दोलनले हाम्रो देशमा वास्तविक किसानहरुको अवस्था के छ भन्ने कुरा छर्लङ पार्दछ । जनगायक जीवन शर्माको संगीत र स्वरमा आएको “गरिब जनता” बोलको गीतमा घरबास लुटिएका तिनै दुःखी किसानहरुको कहालीलाग्दो अवस्थाको वास्तविकता उतारिएको छ ।“गरिब जनता” गीतमा दिनहुँ हजारौंको संख्यामा परदेशिइरहेका नेपालीहरुको कारुणिक व्यथा मात्र होइन हाम्रो राष्ट्रियतामाथि विस्तारवादद्वारा गरिएको निरन्तरको प्रहारको विषय समेत प्राथमिकता साथ उठाइएको छः

बाध्यता भयो घर छोडी जान
विदेशको गल्लीमा
चौकिदारी बन्दै बादल पारीको
विरानो देशैमा
सिमाना मिच्दै, बाटो बनाउँदै
देश टुक्रा पार्दै छन्
फर्क परदेशी मातृभूमिलाई
अप्ठारो पार्दैछन्
गरिब जनता…

परदेशीनु कसैको पनि रहर हुन सक्दैन । आफ्ना जहानवाला, आफ्नो जन्मभूमि, आफ्ना बृद्ध बाबाआमा–यी सबै चटक्कै छोडेर विरानो भूमिमा पुग्ने रहर कसलाई पो हुन्छ होला र ? तर देशभित्रै रोजगारीको अवसर नपाएपछि मुटु पिरो बनाई परदेशिन बाध्य छन् नेपाली दाजुभाई तथा दिदीबहिनीहरु । हामीले देखिइरहेका छौं दैनिक रुपमा हजारौंको संख्यामा नेपाली युवायुवतीहरु कामको खोजीमा त्यसरी विदेशीभूमि तर्फ गइरहेका छन् । बादलपारकिो त्यो विरानो देशमा पुगेर उनीहरु निम्नस्तरको काम गर्न बाध्य भइरहेका छन् । कोही चौकीदारी गरिरहेका छन्, कोही होटलहरुमा जुठाभाँडा माझिरहेका छन्, कोही महिनौंसम्म जमिनभित्रै बसि कोइलाखानीमा पसिना बगाइरहेका छन्, कोही पचास पचपन्न डिग्रीको रापिलो घाममा सुक्दै बाटो, घर, राजमार्ग निर्माणको काममा खटिइरहेका छन् । त्यो बिरानो देशमा उनीहरुको दुःख र पीडा सुन्ने र बुझने कोही हुँदैन । विरानो देश, विरानो माटो, विरानो कानुन, विराना मानिस–तर पनि आफ्ना जहान लालावालाको पेट पाल्न र सुन्दर भविष्यका निम्ति ती ठाउँहरुमा पुगेर रगत र पसिना बगाउन बाध्य भैरहेका छन् नेपालीहरु । “गरिब जनता” गीतले विदेशी भूमिमा पुगेर पसिना र रगत बगाउन बाध्य पारिएका तिनै श्रमजीवी नेपालीहरुको दर्दनाक पीडा बोलेको छ ।

देशको भविष्य बदल्ने सामथ्र्य बोकेका युवा युवतीहरु परदेशिन बाध्य भएपछि देशका शासकहरुलाई मनपरी गर्न सजिलो भएकोछ । तिनै परदेशी नेपालीहरुको रेमिट्यान्सबाट देशको अर्थतन्त्र धानेका छन् शासकहरुले । देशको ढुकुटीमाथि ब्रहमलुट मच्चाइरहेका छन् उनीहरु । देशमा भ्रष्टाचार, दण्डहीनता, महंगी अचाक्ली रुपमा बढिरहेको छ । तर त्यसका विरुद्धमा सशक्त आवाज उठाउने सामथ्र्य राख्ने नौजवान युवायुवतीहरु देशभित्र छैनन् । देश र जनताको हित भन्दा पनि शासकहरुमा विदेशी शक्तिकेन्द्रहरुको आर्शिवाद लिने होडबाजी चलिरहन्छ । हाम्रा शासकहरुमा रहेको त्यही दास मनोबृत्तिको फाइदा उठाउँदै विस्तारवादी, साम्राज्यवादी शक्तिकेन्द्रहरुले आफ्नो स्वार्थपूर्ति गर्ने काम गरिरहेका छन् । नेपाली नेपाली बीचको बलियो एकतालाई कमजोर पार्नका लागि, हिमाल–पहाड र तराई बीचको सुमधुर सम्बन्धलार्ई खल्बल्याउनका निम्ति, सबै जातजाति मिलेर बसेको देशमा त्यो सुमधुर सम्बन्धलाई शत्रुतापूर्ण बनाउनका निम्ति, देशको राष्ट्रिय अखण्डता र स्वाधीनतालाई धुजा धुजा पार्नका निम्ति यो देशमा संघीय प्रणाली लादियो ।त्यही बोझिलो र खर्चिलो संघीय प्रणालीका कारण देश अहिले तीब्रतर गतिमा आर्थिक संकट र असफलताको दिशा तर्फ बढिरहेको छ । देशभित्रको यही अस्थिर राजनैतिक अवस्थाको फाइदा उठाउँदै दक्षिणी छिमेकी भारतले नेपालको साँध सिमानाहरु दिनहुँ रुपमा मिचिरहेको छ । नेपालको सिमाना मिच्दै नेपाली भूमिमा उसले राजमार्ग बनाइरहँदा समेत नेपाली शासकहरु रमिते बनेर बसिरहेका छन् । भारतले नेपाली भूमि लिपुलेक भित्रैबाट आफ्नो राजमार्ग बनाइरहँदा समेत नेपाली शासकहरुले थाहा नपाएको जस्तो गरे । नेपाल आमाको छातीमाथि विस्तारवादले डोजर चलाइरहेको थियो, तर विडम्वना हाम्रा शासकहरुले त्यसका विरुद्ध कुनै कुटनैतिक प्रतिकारसम्म नि गर्न सकेनन् । यति मात्र होइन, नेपाली सत्ता संचालक शासकहरुले अमेरिकी सेना नेपाल आएर परेड खेल्न सहज हुनेगरी एमसीसी सम्झौतालाई नेपालको संसदबाट अनुमोदन गराएका छन् । अमेरिकी सैन्य रणनीतिमा प्रत्यक्ष सहभागी हुनेगरी एसपीपीमा पनि नेपाललाई सहभागी गराउने षडयन्त्र चलिरहेको छ । लुटिएको नेपाली भमि शासकहरुले अझै फिर्ता ल्याउन सकिरहेका छैनन् । बरु, सिमाना मिचिनी क्रम अहिले पनि जारी छ । नेपाली राष्ट्रियता यतिबेला इतिहासकै गम्भीर संकटबाट गुज्रिरहेको छ । नेपाल आमाको अस्तित्व रक्षाको प्रश्न यतिबेला निकै गम्भीर बनेर आएको छ । विदेशका विभिन्न भागमा पुगेर रगत र पसिना बगाइरहेका श्रमजीवी नेपालीहरु अब स्वदेश फर्कनुपर्छ । नेपाल आमालाई संकटको भुमरीबाट बाहिर निकाल्ने अभियानमा परदेशी नेपालीहरु अब लाग्नुपर्दछ । “गरिब जनता” गीतले मूलत : यही सन्देस दिएको छ गीतले ।

सशक्त उर्जाशील सिर्जना :
“गरिब जनता” गीतलाई एक सशक्त उर्जाशील गीतका रुपमा लिन सकिन्छ । यो गीतका शब्द लेख्ने माया हमाल स्वयं भारत प्रवासको चेन्नैमा आफै रोजगाररत रहेकी छिन् । हमालको यो शायद पहिलो प्रकाशित गीत हो । तर गीतका शब्दहरु देख्दा कुनै शिकारु गीतकारले लेखे जस्तो पटक्कै लाग्दैन । नेपालको बागलुङ विनामारे स्थायी घर रहेकी माया हमाललाई रोजगारीकै लागि देश छाडेर परदेशमा पुग्नु पर्दाको पीडा राम्रैसँग अनुभूत भएको गीतका शब्द हेर्दा नै थाहा हुन्छ । गीतका शब्दहरु सरल छन् तर तिनले यथार्थ र गम्भीर भाव बोकेका छन् । गीतका शब्दहरुले जुन प्रकारको संगीतको अपेक्षा गरेका हुन्छन् एक जिम्मेवार संगीतकर्मीले मात्र त्यसलाई बुझ्न सक्छ । जनगायक जीवन शर्मा, जसको सम्पूर्ण जीवन जनसंगीत मै समर्पित रहेको छ उनले गीतका शब्दहरुमा निकै मिठो र न्यायपूर्ण संगीत दिएका छन् । एरेन्जर नारायण दंगालले उस्तै कुशलतापूर्वक संगीतको एरेन्ज गरेका छन् । जीवन शर्माकै गर्भिलो स्वरले गीतको शब्द र संगीतलाई पूर्ण न्याय मात्र गरेको छैन, गीतलाई नयाँ उचाइमा उठाइदिएको छ ।

काठमाडौंको मुडकुभञ्ज्याङ, काभ्रे जिल्ला र सिन्धुपाल्चोक जिल्लाका गाउँवस्ती र नदी किनारमा पुगेर गीतको भिडियो तयार गरिएको छ । भिडियोका प्रत्येक दृश्यहरुलाई अनुभवी छायाँकार जीवन श्रेष्ठले सुन्दर तरिकाले खिचेका छन् । छायाँकन मात्र होइन, गीतको निर्देशन र भिडियोको सम्पादन समेत उनै जीवन श्रेष्ठले गरेका छन् । गीतका पात्रहरुको साजसज्जामा मदन न्यौपाने र प्रकाश व्यवस्थापनमा सन्तोष पराजुलीले राम्रो मिहिनेत गरेको भिडियो हेर्दा प्रष्ट बुझ्न सकिन्छ । गीतमा अभिनयको क्षेत्रलाई पनि सशक्त बनाउने प्रयास गरिएको छ । गीतका शब्दहरुले मागेको कथामा–गाउँघरमा दुःख पाएर बाध्यताको भुमरीमा परी परदेशीएका नेपाली युवाहरुको भूमिका दिपक हमाल र निर्मल हमालले निभाएका छन् । उनीहरु स्वयं भारत चेन्नैमा रोजगाररत प्रवासी नेपाली युवा हुन् । गीतको कथाले माग गरेका वास्तविक पात्र हुन उनीहरु । उनीहरुको अभिनयमा, अभिनय भन्दा पनि यथार्थता झल्किएको छ । सचेत नेपाली युवकको भूमिकामा रहेका रक्तिमका केन्द्रीय कोषाध्यक्ष डमर भण्डारी अभिनयमा एक दक्ष र अनुभवी कलाकार हुन् । उनको अभिनयमा खोट लगाउने कतै ठाउँ भेटिंदैन । गीतको कथाले मागेको घरबास लुटिएको एक गरिब किसानको भूमिकामा म नारायण शर्मा उपस्थित छु । गीतको शब्द, संगीत र स्वरले माग गरेको भावलाई प्रष्टाउने गरी मैले पनि उक्त भूमिकामा अभिनय गर्ने प्रयास गरेको छु । मैले अभिनय मार्फत् गीतको शब्द र संगीत प्रति कति न्याय गर्न सके ? त्यो मूल्यांकनको जिम्मा श्रदेय दर्शकस्रोताहरुमै छोड्न चाहें ।

गीतबारे जीवन शर्मा र सर्जक हमाल

“गरिब जनता” गीत निर्माणमा अहम् भूमिका निभाएका जनगायक जीवन शर्मा– गीतमा समग्र नेपाल र नेपालीको अहिलेको यथार्थ चित्र उतार्ने प्रयास गरिएको बताउँछन् । “यो गीतमा समग्रमा नेपालको अहिलेको वास्तविक चित्र उतार्ने प्रयास गरिएको छ । गीतमा यो गीत लेख्ने लेखिकाले आफैले जीवनमा भोगेका कतिपय समस्याहरु चित्रित गर्न प्रयास गरेकी छिन् ।” गीतका संगीतकार तथा गायक समेत रहेका जनगायक जीवन शर्मा भन्छन्–“नेपालको बेरोजगारी समस्या, राष्ट्रियताको समस्या र विदेशमा नेपालीहरु कामको खोजीमा भौतारिएको अवस्था यी सबै कुरालाई समेटेर तयार पारिएको गीत हो यो ।” शर्माले यो गीत निर्माणमा सहयोग पुर्याउने रचनाकार, कलाकार, छायाँकार, निर्देशकलगायत साथ सहयोग दिने सम्पूर्ण प्रति हार्दिक आभार समेत व्यक्त गरे ।

यस्तै गीतकी सर्जक माया हमाल जुन रुपमा भिजुअल सहित गीत सार्वजनिक भएको छ ,यसबारे पूर्ण सन्तुष्ट देखिएकी छिन् । “मेरो चाहना र सपनालाई साकार पार्नका निम्ति सकेको मेहनत गरी मलाई अगाडि बढाउनु हुने सफा मनका धनी, अत्यन्तै मिलनसार, रक्तिम सांस्कृतिक अभियानका अभिभावक जीवन शर्मा, मेरो पहिलो रचनामा अमूल्य सुझाव र सल्लाह दिनु हुने रक्तिमका अध्यक्ष तथा हाँक साप्ताहिकका कार्यकारी सम्पादक नारायण शर्माप्रति हार्दिक कृतज्ञताका साथ म आभार व्यक्त गर्न चाहान्छु ।” रचनाकार माया हमालले भनिन–“सबैको साथ सहयोगबाट गीत मैले सोचे भन्दा पनि राम्रो बनेको छ । गीतमा कुशल अभिनय गर्नु हुने नारायण शर्मा, डमर भण्डारी, दिपक हमाल, निर्मल हमाल, मलाई निरन्तर हौसला प्रदान गर्नु हुने एकता समाजका अध्यक्ष देवबहादुर लामिछाने, महासचिव महेन्द्र बस्याल, उमानन्द शर्मा लगायत संगठनका सम्पूर्ण साथीहरु देवरबाबु रमेश हमाल ठकुरी लगायत मलाई यो गीत निर्माणमा अन्य विभिन्न स्थानबाट साथ दिनु हुने आफन्तजन सम्पूर्ण प्रति म हार्दिक धन्यवाद व्यक्त गर्न चाहान्छु ।” सर्जक हमालले आफ्नो यो पहिलो गीत प्रकाशनमा पाउको साथ, सहयोग, माया र हौसलाबाट आफूलाई आगामी दिनमा यस्तै जनगीतहरु निर्माण अभियानमा लागिरहने प्रेरणा मिलेको स्पष्ट पारिन ।

निष्कर्ष :

छाडा, विकृत र अश्लिल गीतहरुको विगविगी चलिरहेको नेपालको वर्तमान सांगीतिक बजारमा प्रगतिशलि गीतहरुलाई अगाडि बढाउनु निकै गाह्रो काम हो । यसप्रकारका जनपक्षीय गीतहरुको तुलना अन्य व्यवसायिक गीतहरुसँग हुन सक्दैन । प्रगतिशील गीतहरु श्रमजीवी जनताको जीवनस्तर र देशको दुरावस्था बदल्न अभिप्रेरित गर्ने उद्देश्यबाट निर्माण गरिन्छ भने अन्य व्यवसायिक गीतहरु आर्थिक उर्पाजनलाई मध्यनजर गरेर निर्माण गरिएको हुन्छ । व्यवसायिक गीतहरुले जुन प्रकारको लगानीकर्ता पाउन सक्छन्, यस्ता जनपक्षीय गीतहरुले त्यो पाएका हुँदैनन् । “गरिब जनता” गीतको भिजुअल पनि यो भन्दा अझ उत्कृष्ट बन्न सक्थ्यो– त्यही प्रकारको लगानीगर्न सकेको भए । नेपालमा धेरै छन उजाडवस्तीहरु, गिट्टी कुटेर जिविकोपार्जन गर्नेहरु, विदेशमा काम गर्दाका कारुणिक दृश्यहरु अझ धेरै समेट्न सकेको भए त्यो अझ राम्रो हुने थियो । सीमित आर्थिक स्रोतका बीचबाट पनि गीतको जुनप्रकारको भिजुअल निर्माण भएको छ त्यसका आधारमा यसलाई उत्कृष्ट नै मान्नुपर्छ । मुख्य कुरा गीतले बोकेको भावपक्ष, गीतले दिन खोजेको सन्देश राम्रो छ । देश र जनताको मुहार बदल्न चाहाने, परिवर्तनका पक्षधर हरेक अभियात्रीहरुले यसप्रकारका जनपक्षीय गीत/संगीतलाई माया गरौं । देश तथा विदेशमा रहेका श्रमजीवी नेपालीहरुको यथार्थ व्यथा र कथा बोकेको गीत जनसमक्ष ल्याएकोमा जनगायक जीवन शर्मा, गीतकी सर्जक माया हमाल लगायत “गरिब जनता” गीत निर्माण युनिटका सम्पूर्ण सदस्यहरुलाई बधाई सहित यो गीत सफलताको हार्दिक शुभकामना !!

आखिर कस्तो बनेको छ त गीत –“गरिब जनता” ?–अब जीवन शर्मा युटुव च्यानलमा गएर हेरौँ र सुनौँ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here