नेकपा (मसाल)ले डा.गोविन्द केसीका न्यायोचित मागहरुलाई समर्थन गर्दै जीवन रक्षाको माग

0
380

माघ १५, काठमाडौं । नेकपा (मसाल)ले डा. गोविन्द के.सी.को जीवनको रक्षाको लागि आवश्यक कदमहरू उठाउनको लागि सरकारसित माग गर्दै उनका सबै न्यायोचित मागहरूलाई दृढतापूर्वक समर्थन गर्ने बताएको छ । पार्टीका महामन्त्री मोहनविक्रम सिंहले एक आज एक वक्तव्य जारी गर्दै भन्नु भएको छ– “हामीले डा. के.सी.को जीवनको रक्षाको लागि आवश्यक कदमहरू उठाउनको लागि सरकारसित माग गर्दै उनका सबै न्यायोचित मागहरूलाई दृढतापूर्वक समर्थन गर्दछौँ र त्यो विषयमा चल्ने सबै आन्दोलनसित हामीले ऐक्यवद्धता प्रकट गर्दछौँ ।”

त्यस्तै सिंहले वक्तव्यमा भन्नु भएको छ– “डा. केसीका मागहरु संविधानमा उल्लेखित समाजवाद उन्मुख नीतिसित पनि मेल खान्छ । तर त्यसैले शिक्षा र स्वास्थ्यलाई आफ्नो नाफाको माध्यमको रूपमा प्रयोग गरिर हेका तत्वहरू उनको आन्दोलनका विरुद्ध छन् र त्यसलाई असफल पार्न सम्पूर्ण शक्ति लगाउने प्रयत्न गरिरहेका छन् ।”

सिंहले अगाडि लेख्नु हुन्छ– “तै पनि यो खुसीको कुरा हो कि अहिले संसदबाट पारित विधेयकमा डाक्टर के.सी.का कैयौँ मागहरूलाई स्वीकार गरिएको छ । त्यसको लागि मुख्य श्रेय डाक्टर के.सी.लाई नै जान्छ । तर अहिले आएको विधेयकमा डा. के.सी.ले उठाएका र उनीसित भएको सम्झौतामा सामिल गरिएका कैयौँ मागहरू सामेल गरिएका छैनन् ।” प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा माफियाहरूको प्रभावका कारणले नै त्यस्तो हुन गएको सिंहले बताउनु भएको छ ।

वक्तव्यको पुर्ण पाठ :

डाक्टर गोविन्द के.सी.को अनसनले नेपालको चिकित्सा शिक्षाको क्षेत्रमा ऐतिहासिक महत्व राख्दछ । त्यो अनसनले एक प्रकारले राष्ट्रिय आन्दोलनको रूप पनि लिएको छ । के.सी.को मुख्य जोड एकातिर, स्वास्थ्यको गुणस्तरमाथि उठाउने तथा त्यसलाई जनस्तरको पहँुचसम्म पुर्याउने र अर्कोतिर, शिक्षा र स्वास्थ्यको क्षेत्रमा माफियाको प्रभूत्वलाई समाप्त गर्नेतिर छ । त्यस प्रकारको सोचाइंले संविधानमा उल्लेखित समाजवाद उन्मुख नीतिसित पनि मेल खान्छ । त्यसैले शिक्षा र स्वास्थ्यलाई आफ्नो नाफाको माध्यमको रूपमा प्रयोग गरिरहेका तत्वहरू उनको आन्दोलनका विरुद्ध छन् र त्यसलाई असफल पार्न सम्पूर्ण शक्ति लगाउने प्रयत्न गरिरहेका छन् । तै पनि यो खुसीको कुरा हो कि अहिले संसदबाट पारित विधेयकमा डाक्टर के.सी.का कैयौँ मागहरूलाई स्वीकार गरिएको छ । त्यसको लागि मुख्य श्रेय डाक्टर के.सी.लाई नै जान्छ । तर अहिले आएको विधेयकमा डा. के.सी.ले उठाएका र उनीसित भएको सम्झौतामा सामिल गरिएका कैयौँ मागहरू सामेल गरिएका छैनन् । यो बुझ्न गाह्रो पर्दैन कि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा माफियाहरूको प्रभावका कारणले नै त्यस्तो हुन गएको छ । त्यो विधेयकको आडमा उनीहरूले अझै पनि चलखेल गर्न पाउने सम्भावनातिर पनि हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षित भएको छ ।

हाम्रो पार्टीको यो कुराप्रति पनि गम्भीर ध्यान गएको छ कि डाक्टर के.सी. अनसन बसेको यति धेरै दिन वितिसक्दा पनि उनको जीवन रक्षाप्रति सरकारको ध्यान गएको छैन । सरकारले उनको जीवनको रक्षाको लागि कुनै खास पहल गरेको छैन । यो गम्भीर चिन्ता, दुःख र क्षोभको विषय हो । अनसनको क्रममा नै उनको निधन हुन्छ भने त्यसबाट देशको एउटा महान योद्धाको अवसान हुनेछ । त्यसका लागि सरकारले गम्भीर मूल्य चुकाउनु पर्नेछ । सरकारले उनको जीवनप्रति त्यस प्रकारको दृष्टिकोण अपनाउनु सम्पूर्ण देश र स्वयं सरकारको लागि राम्रो नहुने कुरा स्पष्ट छ । त्यसप्रति सरकारले ध्यान दिएको पाइन्न । त्यसले सरकारको अदुरदर्शीतालाई नै बताउँछ ।

ने.का.ले डाक्टर के.सी.को असनसनलाई राजनीतिक उद्देश्यको पूर्तिको साधनको रूपमा उपयोग गर्न खोजेको देखिन्छ । त्यसको बढी ध्यान डाक्टर के.सी.को जीवन रक्षा वा शिक्षा र चिकित्साको क्षेत्रमा सुधारभन्दा आफ्नो राजनीतिक उद्देश्यको लागि उनलाई उपयोग गर्नेतिर बढी केन्द्रित भएको देखिन्छ ।

हामीले पहिले स्पष्ट गरे झै डाक्टर के.सी.ले आफ्नो अनसनका मागहरूमा निर्मला हत्याकाण्ड वा शसस्त्र द्वन्द्वकालका जघन्य अपराधसम्बन्धी मागहरूलाई समावेश गरेको कार्यलाई सही मानेका छैनौँ । ती दुवै मागहरू सही छन् । हामीले लगातार ती मागहरूमा जोड दिंदै आएका छौँ रपछि पनि दिइरहने छौँ । तर डाक्टर के.सी.ले आफ्नो अनसनको क्रममा ती मागहरू उठाउनु सही भएको छैन भन्ने हाम्रो मत रहेको छ । किनभने त्यसले गर्दा शिक्षा र चिकित्साको क्षेत्रमा उनले सञ्चालन गरेको अभियानको पक्ष कमजोर हुनेछ । त्यसका आडमा विरोधीहरूलाई उनीमाथि आक्रमण गर्न बढी अवसर प्राप्त हुनेछ । त्यसका साथै ती दुवै अत्यन्त जटिल प्रश्नहरू हुन् र डा. के.सी.को अनसनको क्रममा ती मागहरू पूरा हुने सम्भावना कमै देखिन्छ । त्यसरी आफ्नो अनसनको सिलसिलामा ती मागहरूलाई अगाडि सार्नु सही हुन गएको छैन भन्ने हाम्रो मत छ ।

अन्त्यमा हामीले डा. के.सी.को जीवनको रक्षाको लागि आवश्यक कदमहरू उठाउनको लागि सरकारसित माग गर्दै उनका सबै न्यायोचित मागहरूलाई दृढतापूर्वक समर्थन गर्दछौँ र त्यो विषयमा चल्ने सबै आन्दोलनसित हामीले ऐक्यवद्धता प्रकट गर्दछौँ । चिकित्सा र शिक्षाको क्षेत्रमा उनले एउटा महत्वपूर्ण आन्दोलनको थालनी गरेका छन् । त्यसलाई तार्किक निष्कर्षमा पुर्याउनु हामी सबैको जिम्मेवारी हुन्छ र त्यो त्यस प्रकारको निष्कर्षमा पुग्ने छ भन्ने कुरामाथि हामीलाई पूर्ण विश्वास छ ।
२०७५ माघ १५ गते

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here