१८९ महिला र बालबालिका बेपत्ता

0
273

बागलुङबजार । दुई वर्षको अवधिमा बागलुङ जिल्लामा १८९ महिला तथा बालबालिका हराएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७३/७४ मा ८६ महिला २४ बालबालिका हराएका छन् । आ.व. २०७४/७५ मा ७९ महिला तथा बालबालिकामध्ये ६७ महिला सहित १२ बालबालिका हराएको प्रहरीको तथ्याङ्कले देखाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक दीपक रेग्मीका अनुसार जिल्लाको तथ्याङ्क हेर्दा महिला तथा बालबालिका हराउने क्रम आ.व. २०७३/७४ मा बढे पनि २०७४/७५ मा भने घटेको छ । हराउनेमध्ये केहीले भागेर आफै बिहे गर्ने तथा सानै उमेरमा बिहे गरेर भारततिर गएको हुन सक्ने प्रहरीले जनाएको छ । छिमेकी देश भारतको खुला सीमा र बढ्दो सामाजिक सञ्जालको प्रयोगसागै महिला तथा बालबालिका हराउन थालेको रेग्मीको भनाइ छ । ‘सामाजिक सञ्जालको दुरूपयोग बढ्दो छ’ रेग्मीले भने– ‘महिला तथा बालबालिका विभिन्न प्रलोभनमा परी परिवारबाट सम्पर्कविहीन हुने गरेका छन् ।’ प्रहरीको अध्ययन अनुसार हराएका महिला तथा बालबालिका कतिपय अवैध कार्यमा समेत संलग्न भएको पाइएको छ ।

आ.व. २०७३/७४ मा हराएका ११० मध्ये ३५ महिला र १८ बालबालिका र आ.व. २०७४/७५ हराएका ७९ मध्ये २८ महिला र छ बालबालिका घरपरिवारको सम्पर्कमा आएका छन् । यस्तै, चालु आ.व. को अहिलेसम्मको अवधिमा हराएका २४ मध्ये छ महिला तथा तीन बालबालिका परिवारको सम्पर्कमा आएका छन् । हराएपछि खोजबिनका लागि प्रहरीलाई खबर गरे पनि फेला परेपछि धेरैले जानकारी नगराएकाले फेला पर्नेको यकिन तथ्याङ्क नआउने प्रहरीले भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here