जिवनका पिडाहरु
मेरा सद्मार्ग बने
मैले चाहेर भुल्न
सक्ने जति भुले
भुल्न नहुने पनि भुले कि ?
बिहानी को राप
सङ्गै उदाउने सुर्य
जति कै पारिलो बन्न
चाहेर पनि सके वा सकिन
बैसालु बन्दै गएको घाम जस्तै
सङघर्षका डोबहरु तेजिलो पार्दै
चाल्न जाने कि जानिन
ढल्किदै ढल्किदै ओझेलिएको घाम
जस्तै तिम्रा बिचार लाई
अङ्गाल्न सकिन
मैले भुल गरे वा गरिन
शहर को भिड भित्र खोज्ने कष्ट
किन गर्छौ तिमी ?
जब तिम्रा औला समातेकी थिए
तिम्रा निम्ति मुल्यहिन
बन्दै गएकी म …
कहिले चिनेनौ म भित्रको कस्तुरी ।
तिनै तिता समय भुल्न खोज्दा
भुल्न सक्ने जति भुले
मैले भुल्न नहुने पनि भुले कि
हावाको बेग लाई ..
न त सक्यो सल्लाको पातले रोक्न
न त सक्यो बिहानी को
मधुर किरण सङ्गै पग्लिएको
हिउँ लाई छेक्न
सहनै नसक्ने ती मुटु पोल्ने पल हरु
भुल्नै पर्ने भएर भुले
कहिले लाग्छ…
भुल्नै नहुने पनि भुले कि
निल गगन को प्रगाढ प्रेममा
भुलेकी चन्द्रलाई
तुवाँलो बनी लागेको
ग्रहण को पीडा जतिकै…
चितामा जलेको
लाशलाई नियाल्दा नियाल्दै
रात पछिको दिनलाई भुले कि
सम्मान गर्नेलाई भुले कि
नमन गर्नु पर्नेलाई गरिन कि
मैले भुल्नै पर्ने कुरा भुले
फेरि पनि लाग्छ ..
भुल्न सक्ने जति भुले …
भुल्नै नहुने पनि भुले कि।।