शताब्दी कम्युनिस्ट खगुलालको अभिनन्दन

0
266

खलङ्गा (प्युठान) । आफ्नो सम्पूर्ण जीवन देश, जनता, पार्टी र क्रान्तिका लागि समर्पित गर्नु भएका ‘शताब्दी कम्युनिस्ट’ खगुलाल गुरुङ अभिनन्दित हुनु भएको छ । जीवनको सयौँ वर्ष पुरा गरेको अवसरमा खगुलाल गुरुङलाई ‘कामरेड खगुलाल गुरुङ’ शताब्दी अभिनन्दन समारोह समितिले गौमुखी–७ कोइरा नारीकोट प्युठानस्थित उहाँकै निवासमा २०७४ चैत्र २६ गते एक भव्य समारोह गरी अभिनन्दन गरेको हो । नेकपा (मसाल) का महामन्त्री मोहन विक्रम सिंहको शुभकामना पत्र समेत वाचित गरिएको सो समारोहमा प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवं प्रवक्ता तथा सांसद दुर्गा पौडेलले खगुलाल गुरुङलाई दोसल्ला ओढाएर अभिनन्दन पत्र दिदै अभिनन्दन गर्नु भएको थियो । प्रमुख अतिथि पौडेलले अभिनन्दन गरे लगतै अन्य अतिथि एवं सहभागी प्राय:ले खादा र अबिरटिका लगाई दिदै शताब्दी कम्युनिस्ट खगुलाल गुरुङको अभिनन्दन गरेका थिए ।

खगुलाल गुरुङलाई अभिनन्दन गरे पश्चात् समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि दुर्गा पौडेलले खगुलाल गुरुङ आफ्नो सम्पूर्ण जीवन पार्टी र क्रान्तिका लागि समर्पित गर्ने एक महान् कम्युनिस्ट व्यक्तित्व भएको बताउनु भयो । “कामरेड खगुलाल गुरुङ एक महान् कम्युनिस्ट आर्दश हुनु हुन्थ्यो । उहाँले आफ्नो सम्पूर्ण जीवन नै पार्टी क्रान्ति, देश र जनताको नाममा समर्पित गर्नु भयो” प्रमुख अतिथि पौडेलले भन्नु भयो– “कामरेड खगुलाल गुरुङ २०१० सालको प्युठान किसान आन्दोलनका एक अभियन्ता हुनु हुन्थ्यो । प्युठानमा कम्युनिस्ट पार्टीको स्थापना गर्दा उहाँको महत्त्वपूर्ण भूमिका रहेको थियो । उहाँको यो एक सय वर्षको सङ्घर्षमय जीवन यात्राबाट हामीले धेरै कुरा सिक्नु जरुरी छ ।” सम्बोधनको क्रममा प्रमुख अतिथि पौडेलले महिला आन्दोलनको सिलसिलामा प्युठान र बागलुङ जिल्लाका विभिन्न बस्तीहरुमा आफूले २०४५ सालतिरै खगुलाल गुरुङसँग यात्रा गरेको संस्मरण पनि सुनाउनु भएको थियो ।

समारोहलाई सम्बोधन गर्दै विशिष्ट अतिथि राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले खगुलाल गुरुङ नेपाली कम्युनिस्ट आन्दोलनको सबैभन्दा पुरानो र पाको नेता भएको बताउनु भयो । उमेरले एक सय वर्ष पार गरिरहदा पनि खगुलाल गुरुङको सक्रिय जीवन पद्धतिबाट हामी सबैले शिक्षा लिनु पर्ने उहाँको थप भनाइ थियो । अर्का विशिष्ट अतिथि जिल्ला समन्वय समिति प्युठानका प्रमुख केशव आचार्यले समारोहलाई सम्बोधन गर्दै खगुलाल गुरुङ नेपाली कम्युनिस्ट आन्दोलनको एक अविचलित राजनैतिक व्यक्तित्व रहेको बताउनु भयो । अर्का विशिष्ट अतिथि प्युठानका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद घिमिरेले खगुलाल गुरुङको शताब्दी अभिनन्दन समारोहमा आफू सहभागी हुन पाउनुलाई ‘सौभाग्यशाली अवसर’ बताउनु भयो । इतिहासको कालखण्डमा त्यस्तो अवसर विरलै मान्छेले पाउने भन्दै उहाँले आफू त्यस्तो महत्त्वपूर्ण समारोहमा सहभागी हुन पाउदा निकै प्रफुल्लित रहेको स्पष्ट पार्नु भयो ।

‘कामरेड खगुलाल गुरुङ शताब्दी अभिनन्दन समारोह समिति’ का संयोजक बोम बहादुर खत्रीको अध्यक्षता र ज्ञामुराम न्यौपानेको सञ्चालनमा अघि बढेको सो समारोहमा स्वागत मन्तव्य राजमो प्युठानका सदस्य सिद्विमान जिसीले राख्नु भएको थियो । समारोहलाई अखिल नेपाल किसान सङ्घका अध्यक्ष भैरव राज रेग्मी, अन्तरर्राष्ट्रिय नेपाली एकता समाजका सल्लाहकार एवं पूर्व सांसद हरि आचार्य, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा प्युठान जिल्ला अध्यक्ष कृष्ण खड्का, माओवादी–केन्द्र प्युठानका सहसंयोजक कृष्ण घिमिरे, एमाले प्युठानका अध्यक्ष तुल्सीराम पोख्रेल, नेकपा (माले) प्युठानका इन्चार्ज घनेश्वर गौतम र नेपाली काङ्ग्रेस प्युठानका सदस्य मेघराज पुरीले समेत सम्बोधन गर्नु भएको थियो । नेकपा (मसाल) का महामन्त्री मोहन विक्रम सिंह र ५ नम्बर प्रदेशकी राजमो सांसद तारा जिसीको शुभकामना पत्र समारोहमा सञ्चालन ज्ञानुराम न्यौपानेले वचन गरेर सुनाउनु भएको थियो । परिवारका तर्फबाट अभिनन्दित व्यक्तित्व खगुलाल गुरुङका दाइका छोरा क्याप्टेन कुमार सिंह गुरुङले समारोहमा मन्तव्य राख्नु भएको थियो ।

अभिनन्दित व्यक्तित्व खगुलाल गुरुङले समारोहमा धन्यवाद मन्तव्य राख्नु भएको थियो । मन्तव्यका क्रममा गुरुङले सहभागी सम्पूर्णप्रति आभार प्रकट गर्दै आफूले जिवनको १०० वर्ष पुरा गरेको यो अवसरमा दोसाध प्राविलाई अक्षय कोष स्थापनार्थ ४० हजार नगद समेत प्रदान गर्नु भएको थियो । समारोहमा कम्युनिस्ट आन्दोलनप्रति आस्थावान नेता, कार्यकर्ता, अभिनन्दित व्यक्तित्व खगुलाल गुरुङका आफन्तजनहरुको उलेख्य सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here