विदेशीदाको कल्पना  

0
304

जब म मेरो भबिस्य किन्न
राजधानीको बाटो हुँदै
खाडी हानिने निर्णय गरे !
काखीमा पासपोर्ट च्यापेका हातहरु
झोलामा भबिस्य भर्न हिडेका काँधहरु
पैसाको बिटो कल्पना गरेका अाँखाहरु
ती आँखामा टिलपिल गरेका आशुहरु
आमाले लगाएको टीका र मालाहरु
हजारौं हजारको लाइन एयरपोर्टमा भेटे

रमिते भएर बसेको छ सरकार
समृद्धिको कुरा गरेर उ थाक्दैन अझै
रेमिटेन्स बढेकोमा गर्व छ उसलाई
यहीँबाट सुन तस्करी भएको समाचार
जागीर भएर पनि तस्करी गर्ने कस्तो धिक्कार
मेरो जागीर भए, म लाइनमा हुन्नथे होला
सरकारले कता हेर्दै छ ! मलाई देखेन क्यारे
भाइ भतिजो र आसेपासेको सरकार
जिन्दावाद र हाइ हाईको मात्रै सरकार

यस्तै यस्तै कल्पना गर्दै थिए
आगमन कक्षबाट आउदै गरेको कफन देखेँ
देख्दा मन चिसो भयो झसङ्ग भए
मन भाचियो ! जागर मर्‍यो, नजाउँ क्यारे

तमसुकमा ल्याप्चे लगाउँदा पोतिएका रङ्ग सम्झेँ
औठा हेरे जुन मैले सुकाउनु छ भन्ने सम्झेँ
फेरि छरपस्ट देखिए विमानस्थलभरि
सपना !
भबिस्य !
ऋण !
ब्याँज !
बेरोजगारी !

कसैले सुनाएका छैनन् तर
सबैको मन मनमा भुइचालो गएको छ
श्रिमतीले राम्रोसँग जानु भनेर हल्लाएको हातले
नजानु नजानु भनिरहेको जस्तो थियो त्यो सम्झेँ
दुधे बालक चिच्याएर रोएको मानौं
बा मलाइ सम्पति चाहिदैन भने जसरी सम्झेँ
बुबाको आँखाको आशुले बोल्दै गरेको थियो कि
छोरा दुख बाड्ने भएछ भनेको ! सम्झेँ
टीका लगाउदा आमाको हृदयको ममताले
निकैबेर अगालोमा बाधेर रोएको सम्झेँ

एयरपोर्ट छेउमा भारतीय झण्डा देखे
झसङ्ग भए ! ए हिजो मोदिको स्वागत सम्झेँ
यस्तै रमिता देशले हेरिरहेको छ, भोगिरहेको छ
राष्ट्रियता र स्वाभिमान सम्झेँ
नदि नाला र सिमाना सम्झेँ
नयाँ संविधान र नाकाबन्दी सम्झेँ
माथिल्लो कर्णाली र अरुण३ सम्झेँ
सुस्ता, कालापानी, गोविन्द गौतम अनि
देवनारायण यादव सहित वीर पुर्खा सम्झेँ

म टोलाएकै बेला खै!हजुर बोर्डिङ पास सुँने
म गल्फ एयर भित्र पसे खाडी उडे
रगत र पसिना बेच्न,
तमसुकको रङ्ग मेटाउन,
भबिस्य सजाउन,
घरका भित्ता फेर्न,
छानो टाल्न,
मानो भर्न,
चुलोमा आगो बाल्न, अरु के के ….. गर्न
म आफुले आफैलाइ बेचेर
वाई वाई काठमाडौ भन्न बाध्य भए ।
– सिंजाली माइलो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here