रक्तिमले देशव्यापी सांस्कृतिक प्रशिक्षण शिविर चलाउने

0
1852

प्रगतिशील सांस्कृतिक अभियानको नायक सङ्गठन रक्तिम सांस्कृतिक अभियानले देशव्यापी रूपमा सांस्कृतिक प्रशिक्षण शिविर सञ्चालन गर्ने भएको छ । अध्यक्ष जीवन शर्माको अध्यक्षतामा २०७४ पौष २२ गते रूपन्देहीको बुटवलमा सम्पन्न केन्द्रीय समितिको बैठकले देशव्यापी सांस्कृतिक प्रशिक्षणको सो कार्यक्रम तय गरेको हो ।

बैठक पश्चात् महासचिव नारायण योगीद्वारा २३ पौषमा जारी विज्ञप्तीमा जनाइए अनुसार देशव्यापी सांस्कृतिक प्रशिक्षणको सो अभियान २०७४ फागुन १५ देखि २०७५ वैशाख १६ गतेसम्म सञ्चालन गरिने छ । जिल्ला–जिल्ला र नगरस्तरसम्म पनि गरिने उक्त शिविरका लागि जिल्लाहरुले मिति तोकेर केन्द्रीय कार्यालयमा फागुनको पहिलो हप्तासम्ममा पठाउनु पर्ने छ । उक्त प्रशिक्षण शिविर पूर्व रक्तिमले तत्कालदेखि नै जिल्ला समितिका बैठक तथा भेलाहरु सम्पन्न गर्ने कार्यक्रम तय गरेको छ ।

विज्ञप्तीमा जनाइए अनुसार बैठकले उक्त जिल्ला भेला तथा बैठकका लागि विशेष जिम्मा नै तोकेको छ । जस अनुसार अध्यक्ष जीवन शर्मालाई, बागलुङ, पर्वत, गुल्मी र प्युठान, महासचिव नारायण योगीलाई दाङ, बाँके, कपिलवस्तु, बर्दिया, सुर्खेत र दैलेख, उपाध्यक्ष जीवन शाहीलाई कर्णाली क्षेत्रका जिल्लाहरु, सचिव दल बहादुर विकलाई कास्की र तनहुँ, केन्द्रीय सदस्यहरु लक्ष्मी रिजाल र बाबुराम आचार्यलाई कञ्चनपुर, कैलाली, डोटी र डडेलधुरा, निलिमा पुन र हेमराज आश्रमलाई काठमाडौँ, मकवानपुर र सिन्धुपाल्चोक, खिमा पुनलाई नवलपुर, समिर विकलाई पाल्पा, विष्णु केसीलाई अर्घाखाँची र सीता बस्याललाई रूपन्देही जिम्मा परेको छ । बाँकी जिल्लाहरुमा केन्द्रीय कार्यालयले आवश्यकता अनुसार कार्यकर्ता खटाउने विज्ञप्तीमा उल्लेख छ ।

रक्तिमको उक्त बैठकले अहिलेको संरचना अन्तर्गत प्रदेश समितिहरु गठन गर्न प्रदेश संयोजक र सहसंयोजकहरु पनि तय गरेको छ । विज्ञप्तीमा उल्लेख गरिए अनुसार प्रदेश १ र २ लाई केन्द्रीय कार्यालयले नै हेर्ने छ भने ३ नम्बर प्रदेशमा संयोजक निलिमा पुन र सहसंयोजक हेमराज आश्रम, ४ नम्बर प्रदेशमा मा भरत श्रेष्ठ संयोजक र दल बहादुर विक सहसंयोजक, ५ नम्बर प्रदेशमा धनिराम भण्डारी संयोजक र विष्णु केसी सहसंयोजक, ६ नम्बर प्रदेशको संयोजक जीवन शाही र सहसंयोजक शिल्पा रावल र ७ नम्बर प्रदेशको संयोजक लक्ष्मी रिजाल र सहसंयोजक धर्मदेव पन्त रहनु भएको छ ।

बैठकले सडक दुर्घटनामा परी पौष २ गते निधन भएका पूर्व केन्द्रीय सदस्य दल बहादुर भण्डारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक शोक प्रस्ताव पारित गरेको समेत जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here