मेरो गौरवशाली घर

0
216

  – सिंजाली माइलो 

मेरो गौरवशाली सुन्दर घर
मलाई सहि मानव बनाउने घर
करिबकरिब २५ बर्ष देखि
जिउने आधार बन्यो मेरो घर

सत्य असत्य छुट्टाउन सिकाउने
विरुद्ध अन्याय उठाउन सिकाउने
ज्ञान र बिज्ञान दुनियाँ चिनाउने 
बदल्न संसार जुरुक्क उठाउने

आए गए थुप्रै यहीँ छानो ओतेर
भए ठुल्ठुला मान्छे अवसर छोपेर
भत्काउन यसैको मुल्खामो हल्लाए
नासियो भनेर झ्याली खुबै पिटाए

विरासत क्रान्तिको स्थापन गरेर
खारिदै झन् गयो दुष्टलाई मारेर 
उग्र, दक्षिण दुबै वामपन्थ झारेर
रच्यो इतिहास ठाडो शिर पारेर

पक्षमा पीडितको वकालत गरेर
श्रमिकको तागत हतियार भिरेर
झन्झन् बढ्दैछ गन्तव्य खातिर
पहिल्याउन बाटो असाध्यै माहिर

सुधार्न कमजोरी हीनताबोध छैन
सिकेको व्यवहारले विधाता होइन
अदम्य साहस अनि धैर्यता बोकेर
समाज बनाउछ असत्य शक्ति ठोकेर

विश्वमा काम्दैछन् पुँजीवाद थरर
निश्चित आउनेछ समाजवाद सरर
हिटलर र जारको इतिहास साक्षी छ 
“संसारका मजदुर एक हौं,” नारै काफी छ

त्यसैले मेरो गौरवशाली सुन्दर घर
निस्वार्थी निश्कलंक सधैंको निडर
होइन त्यो रुप, हो मुख्य यो सार
निहित छ श्रमजीवी जिउने आधार 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here