कहिले लद्दाक हिउँ फाल्न
कहिले सिम्ला स्याउ तिप्न
कहिले पञ्जाब खयर काट्न
कहिले अल्मोडा खरी खन्न
कहिले पौड़ी गडवाल बाटो खन्न।
श्रीमती र बालबच्चाको निम्ति न हो।
मयलले पोतिएको झुत्रे लुगा सँगै,
भुकम्पले धच्किएसरी
चिरा-चिरा परेको थोत्रो निधार,
त्यहीबाट फुटाई पसिनाको मूल,
बुढो रूखको बोक्रासरी,
पट्पटी फुटेको हत्केला र पैताला,
त्यहीबाट चुहाई तप्तपी खून,
र सिँगार्नुभयो कैयौँ भूमि स्वर्गसरी।
तर बाबा!हजुरले कहिल्यै सु:ख पाउनु भएन है!
हजुरको दु:ख देखेँ
घरको जिम्मेवारी काँधमा बोकेँ
र पसेँ म पनि हजुर जस्तै कलिलो उमेरमै मुग्लान।
ज्यान औजार बनाएँ
मरुञ्जेल काममा घोटिएँ,रेटिएँ,चोइटिएँ,रगडिएँ,
उचालिएँ,पछारिएँ,तिखारिएँ निखारिएँ
तथापि,
तुहियो मनग्य द्रव्य कमाउने चाहा।
किन कि,
एक पेट पाल्नै हम्मे हुदोरै’छ।
बाबा!हजुरको उदेकलाग्दो मुहार उस्तै
माफ गर्नुहोस्!मैले चन्द्रकान्ति छरिदिन सकिन।
मलाई थाहा भो,
हामीले जत्ति काम गरे पनि
हाम्रो झुप्रोमा पुर्णिमा झुल्किदैन
न मर्नु न बाँच्नु
हाड छाला मात्रको मानवरुपी लास भयौँ
हामीलाई चुस्ने पूजिपति जुकाहरू भने
मोटाईरहेछन् महल भित्र।
खडेरीले प्याकप्याकी भएको क्षण
एक घुट्को पानी चुहाईदिए सरी
निम्न ज्यालामा जोत्दारै’छन्
पूजिपति जुकाहरूले।
यो एक्काईसौँ सताव्दीको अन्त्य तिर पनि
श्रमजीवि माथि भएको शोषण म हेर्न सक्दिन बाबा।
अब झुप्रा बस्ती-बस्ती गुराँस फुल्नुपर्छ
डाँफे चरी घुमी-घुमी नाँच्दै भुल्नुपर्छ
बिहानीको मधुर लाल किरण छर्नुपर्छ
हिमाली त्यो पवित्र जल छ्वाङ् छ्वाङ् झर्नुपर्छ
सिर्सिर सिर्सिर मन्द मन्द पवन चल्नुपर्छ
निभेको त्यो अगेनीमा आगो बल्नुपर्छ
हजुर जस्तै लाखौँ बाबाहरू शोषित हुनुभएको छ,
त्यसैले,
अब शोषित वर्गमूक्तिको विगुल फुक्दै
गाँउबस्ती चेतनाको राँको बाल्न
गर्ल्याम्म त्यो पुजिपति महल ढाल्न
सर्वहाराको योद्दा भै संघर्षमा होमिनेछु।
बाबा!सिर्फ मलाई आशिर्वाद दिनुहोस्।
भावी सन्ततीले आनन्दको स्वास फेर्नेछन्।
-भुपाल ठाडा रानामगर”क्षितिज”
लेकबेसी न.पा.2 साजे,सुर्खेत।