पार्टी एकताको प्रश्नलाई हामीले कहिल्यै पनि हल्का रूपमा लिदैनौँ

0
1142

–मोहन विक्रम सिंह, महामन्त्री, नेपाल कम्युनिस्ट पार्टी (मसाल)
० तपाईको प्रचण्डसँग भेट भयो । प्रचण्डले पार्टी एकता नै गरौँ भनेर प्रस्ताव गर्नु भयो । तपाईले के जवाफ दिनु भयो ?
– पार्टी एकताका प्रश्नमा हाम्रा पहिलेदेखि नै स्पष्ट विचार छन् । पार्टी एकताको प्रश्न र त्योसँग जोडिएका सैद्धान्तिक, राजनैतिक र सङ्गठनात्मक प्रश्नहरुबारे छलफल गरेर टुङ्ग्याउनु पर्छ भने हाम्रो सोचाइ हो । यी सबै सैद्धान्तिक विषयहरुमा छलफल नगरिकन हतारमा निर्णय गरियो भने त्यो दिगो हुन सक्दैन भन्ने कुरा बारम्बार प्रष्ट हुँदै आएको छ । फेरि पनि पार्टी एकतासँग सम्बन्धित प्रश्नहरुमा हामीले बहस, छलफल गर्न सक्छौँ भन्ने कुरा भएको छ । त्यो छलफलको दौरानमा पार्टी एकता कति सम्भव छ ? कति सम्भव छैन ? त्यो स्पष्ट हँुदै जाने छ ।

० छलफल अगाडि बढाउने कुरामा तपाईहरुको मोटामोटी सहमति हो वा छलफल गर्न सकिन्छ भन्ने कुरा मात्र हो ?
– जनरल रूपमा सहमति हो । त्यो त हामीले पार्टी एकता र फुटका समस्यालाई सार्वजनिक रूपमा पनि छलफल गर्न सक्छौँ । अन्तर्किया गर्न सक्छौँ । विभिन्न पक्षहरुसँग कुराकानी गर्न सक्छौ । त्यस्तो कुनै खास विषयमा उहाँहरु र हाम्रा बिचमा छलफल गर्ने भनेर निर्णय भएको होइन, तैपनि हामी हाम्रो सोचाइ के हो भने पार्टी एकता अलि जटिल प्रकृया हो । फेरि अहिलेको देशको राजनैतिक परिस्थितिमा वाम पक्षीय शक्तिहरुका बीचमा वाम एकता हुनु वा गठबन्धन हुनु सही हुन्छ । त्यसका लागि सम्भव भएसम्मका सम्भावनाहरु खोज्नु पर्छ, प्रयत्न गर्नु पर्छ भन्ने हाम्रो दृष्टिकोण छ ।

० छलफल चलाउन सकिन्छ भन्ने कुरा आई सकेपछि तपाईहरुको प्रस्ताव वा खाका के हुन सक्छ, अहिले जुन रूपमा एमाले र माओवादी केन्द्रका बीचमा एकताको कुरा चली रहेको सन्र्दभमा ।
– अहिले त जनरल रूपमा अनौपचारिक कुरा मात्र हो । पार्टीगत रूपमा एकताको विषयलाई लिएर हाम्राबीचमा त्यस्तो हुनै छलफल वा टुङ्गो लागेको छैन ।

० त्यो सम्भावना छ कि छैन ? अहिले आम रूपमा नागरिकहरुले वामपन्थीहरु एकता गरे पनि हुन्थ्यो भन्ने गरेको देखिन्छ । तपाईहरुले चुनाव मार्फत् त्यो ढङ्गको सन्देश पनि दिनु भएको छ र तपाई फेरि नेपालको कम्युनिस्ट आन्दोलनको वरिष्ठ नेता पनि हुनु हुन्छ ।
– होइन, कम्युनिस्ट पार्टीको एकताको प्रश्नमा दुई वटा कुरा हो । एउटा, पुरै पार्टी नै एकीकरण वा एकता गर्ने कुरा हो । अर्को, वाम पक्षीय शक्तिहरुका बीचमा तालमेल गर्ने वा कोअर्डिनेसन गर्ने कुरा हो । दोस्रो प्रश्नमा सधैँ हामीले सामान्य हिसाबले जुन विषयमा सहमति हुन्छ, त्यसैका आधारमा अघि बढाउन सक्छौँ । जहाँसम्म पार्टी एकताको विषय हो, त्यो हतपतमा टुङ्गो लगाउने विषय होइन । विस्तृत सैद्धान्तिक छलफल गरेर, त्योसँग जोडिएका राजनैतिक प्रश्नहरुमा छलफल गरेर टुङ्ग्याउने कुरा हो । त्यसबारेमा अहिले नै केही भन्न सक्दैनाँै । त्यस सम्बन्धी कुनै पक्षसँग औपचारिक प्रक्रिया सुरु भएको छैन ।

० तपाईको आफ्नै पनि प्रचण्डसँग छलफल भएको छ, केपी ओलीसँग पनि छलफल भएको छ । अब एकताकै विषयलाई लिएर छलफल अगाडि बढाउन सकिन्छ कि सकिन्न खाका सहित ? तपाईहरुका प्रस्ताव एकथरि होलान्, उहाँहरुका प्रस्ताव अर्काथरि होलान् ।
– हामीमाझ त्यस विषयमा खालि बहस चलाउने मात्र समझदारी भएको छ । माओवादी केन्द्र, एमाले र हाम्राबीचमा बहस चलाउने भनेर कुनै टुङ्गो पनि लागेको छैन । जनरल रूपमा, नीतिगत रूपमा यस खाले बहस चलाउन सकिन्छ, पार्टी एकता सम्बन्धी प्रश्नमा भन्ने कुरा मात्र भएको छ । औपचारिक रूपमा हामी तीन पक्षका बीचमा बसेर वा अरू कुनै पक्षहरुका बीचमा बसेर भन्ने औपचारिक रूपमा छलफल चलाउने कुनै निर्णय नै भएको छैन ।

० सम्भावना छ कि छैन ?
– होइन, यो त बहसपछि नै भन्न सकिने कुरा हो । अहिले नै भन्न सकिन्न ।

० होइन, तपाईहरुले के गरी रहनु भएको छ होला भन्ने आम रूपमा नागरिकमा चासो देखिन्छ के । त्यस कारण मैले यो प्रश्न दोहर्‍याएर सोधेको ।
– वामहरुका बीचमा, वाम पक्षीय शक्तिहरुका बीचमा कोअर्डिनेसन, तालमेल, वाम एकता हामी पार्टी बेग्ला बेग्लै हुँदा पनि सामान्य समझदारीका आधारमा गर्न सकिने विषय हो । अहिलेसम्म यस्तो हुँदै आएका पनि छन् । तर जहाँसम्म पार्टी एकताको प्रश्न छ, त्यसलाई हामीले कहिल्यै पनि हल्का रूपमा लिदैनौँ । जस्तो कि, पहिले हामीले एकता केन्द्रसित पार्टी एकताको कुरा गर्‍यौँ । त्यो छलफलका लागि हामीलाई चार वर्ष लाग्यो । पछि हामीले पार्टी एकता नै गर्‍यौँ । तर त्यो दिगो भएन, टुट्यो । त्यस कारण हामीहरुको सोचाइ के हो भने कसैसँग पार्टी एकता गर्ने विषय हल्का नहोस् । पार्टी एकता दिगो प्रकारको रहनलाई त्यो छलफललाई विस्तृत र गहन रूपमा चलाउनु पर्छ भन्ने हाम्रो सोचाइ हो ।

० भनेपछि तपाईहरु ओपन हुनु हुन्छ भनेर बुझ्दा हुन्छ ?
– निश्चय नै यस सम्बन्धी सिद्धान्त र नीति पहिले छैटौँ महाधिवेशनले नै टुङ्ग्याएको थियो । वाम शक्तिहरुका बीचमा, वाम पक्षधर शक्तिहरुका बीचमा कार्यगत एकता हुन सक्छ । जहाँसम्म पार्टी एकताको प्रश्न हो, त्यस विषयमा पहिलो कुरा त हामी बसेर छलफल गर्नु पर्‍यो । अहिले त औपचारियक रूपमा छलफल नै भएको छैन । टुङ्गो नै लागेको छैन । सामान्य कुराकानीका रूपमा बहस चलाउन सकिन्छ भन्ने कुरा भएको छ । त्यसैको आधारमा सबै टुङ्गियो भन्न हामी सक्दैनौँ ।

० तपाईहरुले प्रस्ताव गर्नु हुन्छ वा तपाईहरुले उहाँहरुको प्रस्ताव कुर्नु भएको छ ?
– सामान्य भेट हँुदा कुराकानी चलेको थियो । औपचारिक रूपमा कुनै कुराकानी नै भएको छैन ।

० मैले भन्न खोजेको, पार्टी एकता गर्ने भए यो हो प्रस्ताव भनेर तपाईहरुले भन्न सक्नु हुन्छ वा सक्नु हुन्न ? वा उहाँहरुकै प्रस्ताव कुर्नु हुन्छ ?
– होइन, यो विषय हाम्रा लागि ओपन छ । तर कहाँ कसरी कुन बेला सुरु हुन्छ ? त्यो अहिल्यै भन्न सकिन्न ।

० तपाईले अघि हाम्रा केही सैद्धान्तिक मतभेदहरु पनि छन् भन्नु भयो, त्यही कारणले अप्ठ्यारो पारेको हो ?
– सैद्धान्तिक मतभेद भएकै कारणले पार्टीमा विभाजन हुँदै आएको छ । पहिले हामी एउटै पार्टीमा थियौँ । एमालेका साथीहरु पनि जस्तो पहिले मोहन चन्द्र अधिकारी हाम्रै पार्टीमा हुनु हुन्थ्यो । पछि गएर उहाँले मालेको गठबन्धन सुरु गर्नु भयो । प्रचण्ड र हामीहरु एउटै पार्टीमा थियौँ पहिले, पछि उहाँले बेग्लै सङ्गठन बनाउनु भयो । हाम्राबीचमा कतिपय सैद्धान्तिक राजनैतिक मतभेदहरु भएर पनि त्यस्तो भयो । हामी अलग भई सकेपछि हाम्रा सैद्धान्तिक मतभेदहरुमा विकास हुँदै गयो । त्यसले कैयाँै जटिल रूप लिदै गए । त्यस कारण मतभेदहरु त छन नै, ती मतभेदहरु नभएको भए त हामी अलग नै हुने थिएनौँ । अलग भएपछि मतभेदहरु झन् बढ्दै गए, विकसित रूप लिदै गए । त्यस कारण हाम्रा बीचमा समस्या छन्, मतभेदहरु छन् र ती मतभेदहरुकै कारण हामी भिन्दाभिन्दै पार्टीका रूपमा छौँ । हामीहरुको भनाइ के हो भनेो– हामीहरुका बीचमा मतभेदहरु कति छन् ? के छन् ? तिनीहरुलाई विस्तृत रूपमा हामीहरुले छलफल गर्दै जानु पर्छ । त्यसका लागि या त उहाँहरुले पहलकदमी गर्नु होला या हामीले गरौँला । हाम्राबीचमा त्यस्तो कुनै सहमति भयो भने औपचारिक रूपमै त्यस विषयमा कुराकानी हुन सक्छ । राजनैतिक प्रश्नमा हाम्राबीचमा बेग्ला बैग्लै मतभेदहरु छन् । सैद्धान्तिक विषयमा मतभेदहरु छन् । माओ विचारधाराको प्रश्नमा मतभेद छ । चीनको सर्वहारा सांस्कृतिक क्रान्तिको विषयमा मतभेदहरु छन । अन्य अन्तर्राष्ट्रिय, परराष्ट्र नीतिहरुको सम्बन्धमा मतभेदहरु छन । विभिन्न शक्तिहरुलाई हेर्ने दृष्टिकोणका सम्बन्धमा हाम्राबीचमा थुप्रै मतभेदहरु छन् । यसरी विभिन्न विषयहरुमा मतभेद भए पनि तात्कालिक राजनैतिक प्रश्नहरु आउँदा मिलेर जान सकिने विषयमा हामी मिलेर जानु पर्छ भन्ने हाम्रो सोचाइ छ । २०४६ सालमा हामी मिल्यौँ । २०६२–६३ मा मिल्यौँ । संविधान निर्माणको क्रममा मिल्यौँ । अहिलेको चुनावमा नेपाली काङ्ग्रेसको गठबन्धनलाई चुनावमा हराउने प्रश्नमा हामी मिल्यौँ । त्यस कारण सैद्धान्तिक, राजनीतिक मतभेदहरुले तात्कालिक राजनैतिक विषयहरुमा कार्यगत एकता गर्न हामीलाई रोक्ने गरेको छैन । त्यो एकता गर्नुको अर्थ फेरि स्वत: पार्टी एकता हो भन्ने कुरा होइन । पार्टी एकताका लागि त गहिराइ र विस्तृत रूपमा सैद्धान्तिक प्रश्नहरुमा नै छलफल गर्नु पर्छ ।

० तपाईले भन्नु भएको कुरा नीतिगत, जो कितावमा लेखेको छ, त्यो कुरा भयो । किताबमा सैद्धान्तिक मान्यताका फरकहरु छन् तर व्यवहारमा हेर्ने हो भने सबैले उही गरेको स्थितिमा यसलाई साँघुरो बनाएर एकै ठाउँमा ल्याउनलाई केले छेक्छ ?
– कम्युनिस्ट पार्टी भन्नुको अर्थ तात्कालिक विषयहरुमा व्यावहारिक हुनु हुन्न भन्ने कुरा होइन । हामीले कैयाँै व्यावहारिक प्रश्नहरुमा नेपाली काङ्ग्रेससँग पनि तालमेल गरेका छौँ । तात्कालिक कतिपय विषयहरुमा कैयाँै कुरा नेपाली काङ्ग्रेससँग मिल्छन् । कैयौँ कुरा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग पनि मिल्छ । सामान्य तात्कालिक व्यावहारिक कुरा गर्दा जस्तो पृथ्वी जयन्तीकै कुरा भयो, यसलाई हामीले स्वीकार गरेका छौ । हामीले पहिलेदेखि नै यसलाई राज्यले पनि मान्यता दिनु पर्छ भन्दै आएका थियाँै । यसमा हाम्रो राप्रपासँग कुरा मिल्यो । त्यस्तै नेपाली काङ्ग्रेससँग पनि कतिपय कुराहरु मिल्न जान्छन् । गत स्थानीय चुनावमा हामी ऊसँग मिलेर गयौ । २०४६ सालमा मिलेर गयौँ । २०६२–६३ को जन आन्दोलनमा मिलेर गयाँै । एमाले र माओवादी केन्द्रसँग कैयौँ विषयमा लगातार हामी मिल्दै आएका छौँ । तर कम्युनिस्ट आन्दोलन भनेको तात्कालिक व्यावहारिक प्रश्नहरु मात्र होइन, त्योसँग कैयौँ सैद्धान्तिक, राजनैतिक प्रश्नहरु जोडिएका हुन्छन् । दार्शनिक प्रश्नहरु जोडिएका हुन्छन् । ती सबै व्यवहारमा तत्काल देखिन्नन् । तर कम्युनिस्टहरुलाई यो थाहा छ– हाम्राबीचका मतभेदहरु के हुन् ? त्यसैले कतिपय व्यावहारिक विषयमा हाम्रो एकता हुनुको अर्थ सम्पूर्ण कम्युनिस्ट आन्दोलनसँग सम्बन्धित सैद्धान्तिक, राजनैतिक, दार्शनिक, रणनैतिक विषयहरुमा पनि हाम्रो एकता हुन्छ भन्ने होइन ।

० उसो भए भनि दिनुस् न त, एमाले, माओवादी मसालका बीचमा मान्छेहरुले के फरक बुझ्ने ?
– मैले भनी हालेँ नि, धेरै प्रश्नहरुमा हाम्राबीचमा भिन्नताहरु छँदै छन् । जस्तो– माओ विचारधाराको प्रश्न छ, माक्र्सवाद–लेनिनवादकै विषयमा पनि हाम्राबीचमा मतभेद छ । यसको सिर्जनात्मक विकासको कुरा आई राखेको छ । सिर्जनात्मक विकासका नाममा कति चिज छोड्दै जाने ? या क्लासिकल माक्र्सवादका कति चिज अपनाउने ? त्यहाँ गएर हामीहरुका बीचमा मतभेद छ । चीनको सर्वहारा सांस्कृतिक क्रान्तिको विषयमा मतभेद छ । त्यसै गरी संसारका विभिन्न पार्टीहरुलाई हेर्ने विषयमा मतभेद छ । समाजवादका प्रश्नहरुमा मतभेद छन् । मल्टीनेसनल क्यापिटलका विषयमा मतभेद छ । डब्लुटिओको विषयमा मतभेद छ । यस्ता, धेरै विषयहरुमा मतभेद छन् ।

० तर तपाईहरु नेपाली जनताका लागि त एक हुन सक्नु हुन्छ नि, यी अलि परका विषय भए । आज के गर्ने ? भोलि के गर्ने ? देशका लागि, नेपाली जनताका लागि, एक हुन सक्नु हुन्न ?
– तात्कालिक रूपमा नेपाली जनताका लागि गर्ने भन्ने प्रश्न कार्यनैतिक घेराभित्र आउने विषय हुन् । कम्युनिस्ट आन्दोलन भनेको तात्कालिक प्रश्न मात्र होइन, राष्ट्रिय प्रश्न मात्र होइन, यसमा अन्तर्राष्ट्रिय प्रश्नहरु पनि छन्, सैद्धान्तिक प्रश्नहरु पनि छन । समाजवादको बाटोमा कसरी जाने ? भन्ने प्रश्नहरु पनि छन् । कम्युनिस्ट पार्टीमा सङ्गठनको पद्धति कस्तो बनाउने ? भन्ने प्रश्नहरु पनि छन् । सामान्य सदस्यहरु कस्तो बनाउने ? भन्ने प्रश्नहरु छन । अनुशासनको पद्धति के हुने ? भन्ने प्रश्नहरु छन् । यसरी कम्युनिस्ट आन्दोलनमा तात्कालिक विषयहरुमा सहमतिले कार्यगत एकताका लागि बाटो खोल्न सकिन्छ । तर कम्युनिस्ट आन्दोलन भनेको त्यति मात्र होइन, त्यससित कतिपय पक्ष जोडिएका छन् । त्यसका सैद्धान्तिक, राजनैतिक, दार्शनिक, तात्कालिक, रणनैतिक, अन्तर्राष्ट्रिय प्रश्नहरु जोडिएका छन् । दीर्घकालीन प्रश्नहरु जोडिएका छन् । त्यस कारण कम्युनिस्ट पार्टीको एकता भनेको तात्कालिक विषयहरु मात्र होइन ।

० चीनलाई हेर्ने विषयमा, रुसलाई हेर्ने विषयमा हिजो नेपाल मा कम्युनिस्ट पार्टीहरु फुटे । अहिले पनि हामी त्यही अडिने या अगाडि जाने ?
– विश्व कम्युनिस्ट आन्दोलनमा रुसको समाजवादी व्यवस्थाका विषयमा बेग्ला बेग्लै मतहरु आए । चीनको सर्वहारा सांस्कृतिक क्रान्तिको विषयमा बेग्ला बेग्लै मतहरु छन् । विश्वलाई हेर्ने प्रश्न के हो ? त्यसमा मतभेदहरु छन । माक्र्सवाद–लेनिनवादका पुरानै सिद्धान्तमा कति अडान लिनु पर्छ र सिर्जनात्मक विकासका नाममा कति छाड्नु पर्छ ? भन्ने विषयमा मतभेद छन् । यसरी यो कम्युनिस्ट आन्दोलन भनेको यी सबै प्रश्नहरुसँग जोडिएको विषय हो । त्यस कारण तात्कालिक विषयमा तालमेल भयो भन्दैमा या राजतन्त्रका विरुद्धको सङ्घर्षमा सँगै गयाँै भन्दैमा या धर्म निरपेक्षतामा सहमत भयौ भन्दैमा सप्पै कम्युनिस्ट पार्टी एक हुन्छन् भन्ने होइन ।

० यहाँले माक्र्सवादको सिर्जनात्मक प्रयोग या विकासको कुरा निकाल्नु भयो । यसमा तपाईहरुको धारणा के हो– क्लासिकल्ली त्यही ठाउँमा रहने या यसलाई पनि नयाँ ढङ्गले विकास गर्न सकिन्छ भन्ने हो ?
– परिस्थितिमा हुने परिवर्तन र विकास अनुसार माक्र्सवादमा पनि विकास हुँदै जान्छ । तर त्यसको अर्थ माक्र्सवादको विकास कुन रूपमा गर्ने भन्ने नै हो । जस्तो रुसमा क्रान्ति भयो, चीनमा क्रान्ति भयो या युरोपका विभिन्न देशहरुमा क्रान्ति या आन्दोलनहरुको जुन रूपमा विकास भयो, समाजवादी व्यवस्थाको विकास भयो, त्यही सबै देशमा लागु हुन्छ भन्ने होइन । ठिक त्यसैको कपी हुन्छ भन्ने कुरा होइन । तर त्यसमा सिर्जनात्मक विकासको आवश्यकता छ । माक्र्सवादले सिद्धान्तमा सिर्जनात्मक विकासलाई अस्वीकार गर्दैन । तर सिर्जनात्मक विकास कुन रूपमा गर्ने ? कुन सही हो ? कुन रूपमा सिर्जनात्मक विकास गर्दा त्यो सही माक्र्सवादी–लेनिनवादी हुन्छ ? कुन प्रकारको विकास गर्दा दक्षिणपन्थी संशोधनवादी हुन्छ ? कुन प्रकारको विकास गर्दा उग्रवामपन्थी, सङ्कीर्णवादी दृष्टिकोण बन्छ ? यो धेरै विस्तृत रूपमा छलफल गर्नु पर्दछ । त्यसैले हामीले भनेका छौँ– ती प्रश्नहरु एकछिनमा एउटा सूत्रमा टुङ्गिने विषय होइनन । यो विस्तृत छलफल गरेर टुङ्गिने कुरा हो ।

० उसो भए भनी दिनोस न त, तपाईले देखेको आजको नेपालको सन्दर्भमा माक्र्सवादको सही प्रयोग के हुन सक्छ ?
– यो एकै छिनमा भन्न मुश्किल पर्छ । यसमा धेरै प्रश्नहरु जोडिएका छन् । राजनैतिक प्रश्नहरु जोडिएका छन्, कार्यदिशा सम्बन्धी प्रश्नहरु जोडिएका छन्, सङ्घर्षका रूपहरु सम्बन्धी प्रश्नहरु जोडिएका छन् । सङ्घर्षका रूप सम्बन्धी सैद्धान्तिक भिन्नता भएकै कारण माओवादी र हामीहरु अलग हुनु पर्‍यो । उनीहरुले तत्कालै सशस्त्र सङ्घर्षमा जान सकिन्छ भन्ने कुरा गरे । हामीले जान सकिन्न भन्ने कुरा भयो । अहिले संसदको उपयोगको विषयलाई तपाईले हेर्नु भो भने पनि धेरै मतभेदहरु छन् । कसैले यसलाई बहिस्कार गर्नु पर्छ भनेका छन् । कसैले यसलाई उपयोग गर्नु पर्छ भनेका छन् । हामीले एमाले र माओवादीसँग कार्यगत एकता गरेका छौँ । कसैले भनी रहेका छन्– यो कार्यगत एकता गलत हो । उनीहरुसँग कार्यगत एकता गर्नु पर्ने आवश्यकता नै छैन भन्ने कुरा पनि आई रहेको छ । हामीले कार्यगत एकतालाई स्वीकार गरी राखेका छौ । हिजो हामीले नेपाली काङ्ग्रेससँग कार्यगत एकता गर्‍यौँ कैयौ प्रश्नहरुमा । कसैले भन्छन्– त्यो कार्यगत एकता गर्नु नै गलत हो । यसरी यही सानातिना कुराहरुमा त यति धेरै मतभेदहरु हुन्छन् भने सैद्धान्तिक, राजनैतिक प्रश्नहरुमा झन् धेरै गहन र गम्भीर मतभेद छन् । त्यसैले पार्टी एकता र फुटसित सम्बन्धित प्रश्नहरुमा विस्तृत रूपमा नै छलफल गरिनु पर्दछ भन्ने कुरामा हामीले जोड दिई राखेका छौँ ।

० एमाले र माओवादीले माक्र्सवादको सिर्जनात्मक प्रयोगबारे जे भनी रहेका छन्, त्यसबारेमा तपाईको आफ्नो धारणा वा पार्टीको धारणा के हो ?
– उनीहरुले लिएको जुन बाटो छ, त्यो सही बाटो छैन । त्यो संशोधनवादी बाटो हो । दक्षिणपन्थी संशोधनवादी हो भनेर हामीले स्पष्ट नै भनी राखेका छौ ।

० तपाईहरुको बाटो पनि जडसूत्रवादी भयो भन्ने उहाँहरुको टिप्पणी छ के ।
– त्यही त, मतभेदहरु छन् नि । हामीले उहाँहरुलाई संशोधनवादी भनेका छौँ । उहाँहरुले हामीलाई जडसूत्रवादी भन्नु भएको छ । कतिपयले एमाले र माओवादी केन्द्रसँग चुनावका बेला हामीले जुन कार्यगत एकता गर्‍यौँ, त्यसलाई गलत भनेका छन् । हामीले त्यसलाई सही भनेका छाँै । कसैले संविधान सभाको चुनावमा भाग लिनुलाई गलत भने, हामीले त्यसलाई सही भन्याँै । सङ्घीयतालाई संविधानमा समेट्ने कुरालाई हामीले गलत भनेका छौँ, कतिपयले यसलाई सही भनेका छन् । यस्ता कैयौँ प्रश्नहरुमा खालि हामीले मात्र अरूको आलोचना गरेका छौँ भन्ने होइन, अरूले पनि हाम्रो धेरै विषयमा आलोचना गरेका छन् । टुङ्गो कहाँ लाग्ने त ? भन्ने विषयमा प्रश्न खालि आधारभूत सैद्धान्तिक प्रश्न मात्र होइन, रणनैतिक प्रश्नहरु मात्र होइन, तात्कालिक प्रश्नहरुका विषयहरुमा पनि हाम्राबीचमा विस्तृत छलफलको आवश्यकता छ । यो खालि एमालेसँग सम्बन्धित माओवादीसँग सम्बन्धित वा नेकपा (मसाल) सित सम्बन्धित प्रश्नहरु मात्र होइन, देशको सम्पूर्ण कम्युनिस्ट आन्दोलनसँग सम्बन्धित कुरा हो । अझ स्पष्ट शब्दमा भन्ने हो भने यो विश्व कम्युनिस्ट आन्दोलनसँग नै सम्बन्धित कुरा हो । त्यस कारण व्यापक रूपमा यसमाथि छलफलको आवश्यकता छ ।

० उसो भए त तपाईले भन्ने गरेका दक्षिणपन्थी संशोधनवादीहरु र तपाईहरुलाई भन्ने गरिएको जडसूत्रवादका बीचमा नेपालकै सन्र्दभमा पनि सिर्जनात्मक माक्र्सवादको खोजी हुन सक्ने रहेछ नि, होइन ?
– सिर्जनात्मक माक्र्सवादको प्रश्नमा त हेर्नुस्, सबै विश्वभरिका कम्युनिस्टहरुले मान्दै आएका छन्– माक्र्सवाद कार्ल माक्र्सको समयमा जुन रूपमा थियो, त्यही रूपमा लेनिनको समयमा रहेन । त्यहाँ कैयौँ नयाँ प्रकारका विचारहरुमा परिवर्तन भयो । ठिक त्यही चिज माओको पालामा रहेन, सिर्जनात्मक विकास भयो । उनले (लेनिनले) समाजवादको मात्र कुरा गरेका थिए भने माओले नयाँ जनवादी क्रान्तिको कुरा गरे । जसमा राष्ट्रिय पुँजीपति वर्ग, धनी किसानसँग पनि संयुक्त मोर्चाको नीतिको कुराहरु आए । माक्र्सवादको सिर्जनात्मक विकासको कुरा त हामीले मात्र भन्दैनौँ, दुनियाभरि नै माक्र्सवादको सिर्जनात्मक विकासको कुरा उठ्छ । सिर्जनात्मक विकासको कुरा भन्ने बित्तिकै कुन सही माक्र्सवादी–लेनिनवादी विचार हो भन्नेबारे त्यहाँ फेरि नयाँ प्रकारका मतभेदहरु पैदा हुन्छन् ।

० तपाईहरुकै बारेमा भईरहेका टिप्पणीहरुमा तपाईहरु पुनर्विचार गर्न तयार हुनु हुन्छ कि हुनु हुन्न ? माक्र्सवादका आधारभूत मान्यताहरुलाई मानेर जनता र देशको हितलाई केन्द्रमा राखेर तपाईहरुले पनि पुनर्विचार गर्नु पर्छ, कसैले भन्यो भने तपाईहरु छलफल गर्न तयार हुनु हुन्छ कि हुनु हुन्न ?
– कुरा त्यो मात्र होइन, हामीले आफ्ना विभिन्न सम्मेलन र महाधिवेशनहरुमा बारम्बार सैद्धान्तिक प्रश्नहरुमा छलफल गर्छौँ । पुनर्विचार गर्छौँ । कार्यनैतिक प्रश्नहरुमा पुनर्विचार गर्छौं । कुनै बेला चुनावलाई बहिष्कार गर्ने नीति अपनायौँ । कुनै बेला त्यसलाई उपयोग गर्ने नीति अपनायौँ । कुनै बेला एमाले, माओवादीसित कुनै कार्यगत एकता नगर्ने नीति अपनायौँ । पछि फेरि कार्यगत एकता गर्ने नीति अपनायौँ । कुनै बेला काङ्ग्रेससँग कुनै कार्यगत एकता नगर्ने नीति अपनायौँ । फेरी त्योसँग कार्यगत एकता गर्ने नीति अपनायौँ । हामीले एक पटक अपनाएको नीति अर्को पटक गलत मानेर फेरि नयाँ नीति पनि अपनाएका छौँ । कम्युनिस्ट आन्दोलनका अन्य सैद्धान्तिक प्रश्नहरुमा पनि यही कुरा सत्य हो । कुनै दिन चीनको कम्युनिस्ट पार्टीलाई हामीले क्रान्तिकारी माक्र्सवादी–लेनिनवादी भनेर मान्यौँ । पछि फेरि त्यसलाई संशोधनवादी भनेर भन्यौँ । यसरी यो त पार्टीका महाधिवेशन, सम्मेलनहरुमा पार्टीका खालि तात्कालिक राजनीतिक प्रश्नहरुमा मात्र होइन, आवश्यकता अनुसार सैद्धान्तिक प्रश्नहरुमा पनि हामीले पुनर्विचार गर्छौं छलफल गर्छौं । कैयौँ पुराना सिद्धान्त नीतिहरुलाई हामीले छाड्छौँ, नयाँलाई अपनाउँछौँ । यो त सधैँ चली रहने प्रकृया हो ।

० एमाले, माओवादी दक्षिणपन्थी भईराखे भन्दै गर्दा र तपाईहरुले पनि २०४९ देखि २०७४ सालसम्म चुनावमा भाग लिई रहदा झण्डै २५/२६ वर्ष भई सक्यो, त्यही वरिपरि हुनु हुन्छ के । त्यही वरिपरि रहने हो भने मिल्ने ठाउँ खोज्दा हुन्थेन अथवा पुनर्विचार गर्दा हुन्थेन ? भन्न खोजेको नि ! 
– होइन, त्यो संसदको वरिपरि त नेपाली काङ्ग्रेस छ, राष्ट्रिय प्रजातन्त्र पार्टी छ, मधेशवादी दलहरु छन, हाम्रो पार्टी पनि छ । सबै त्यसैको वरिपरि छन । तर त्यो कतिपय चुनावमा हाम्रो संलग्नताका कारणले सबैको एकै प्रकारको दृष्टिकोण भयो, एकै प्रकारको नीति भयो, राजनैतिक चरित्र भयो भन्ने हुदैन । यदि त्यसरी हेर्ने हो भने त वरिपरि सबै छन् भन्दैमा नेपाली काङ्ग्रेस, राप्रपा, हामीहरु सबै एउटै पार्टीमा हुनु पर्ने हो । तर त्यो होइन । हामी कतिपय प्रश्नहरुमा सँगै छौँ, जस्तो कि चुनावलाई उपयोग गर्ने प्रश्नमा । तर चुनावको पद्धति, चुनावप्रतिको दृष्टिकोण, त्यसको दीर्घकालीन स्वरूप यसको विषयमा फेरि हाम्राबीचमा भारी अन्तर छ  ।

० सरकारमा पनि त जानु भो नि त । त्यही हो भनी सकेपछि एउटा अबको दिशा के भन्ने त प्रष्ट हुनु पर्ने होला नि, होइन ?
– सरकारमा गएको विषयलाई नै आधार बनाउनु हँुदैन । सरकारमा त हामी पनि गयौँ । राप्रपा पनि गयो । नेपाली काङ्ग्रेस गयो । एमाले गयो । माओवादी गयो । सरकारमा गएको कुराले मात्र सबै एकै भए भन्ने होइन । जस्तो बाटोमा हिड्दा एकै साथमा सय जना मान्छे हिडीराखेका हुन्छन् । एकै ठाउँमा बाटामा हिडेका कारणले उनीहरु सबै एकै भए भन्ने होइन । किनकि उनीहरुको दिशा, गन्तव्यहरु बेग्ला बग्लै हुन्छन् । त्यस कारण उनीहरुको चरित्र के हो ? उनीहरुको दृष्टिकोण के हो ? त्यो छुट्याउनु पर्छ । कुनै खास ठाउँमा एउटै मिटिङमा सँगै भए, एउटा चुनावमा सँगै भए या कुनै बाटोमा सँगै भए या कुनै क्लबमा सँगै भए भन्नुको अर्थ उनीहरु एकै भए भन्ने होइन । उनीहरुसँग हामी चुनावमा सँगै छौँ । तर त्यो चुनावमा प्रस्तुत गरिने नीति हाम्रा बेग्ला बेग्लै छन् । त्यसका रणनीतिहरु बेग्लै छन । हाम्रा घोषणा पत्रहरु बेग्लै छन् । राष्ट्रियताका प्रश्नहरुमा हाम्रा बेग्लै दृष्टिकोणहरु छन् । तराईका प्रश्नमा हाम्रा बेग्लै प्रकारका सोचाइहरु छन् । सङ्घीयताका प्रश्नमा बेग्लै मतहरु छन् । हामी एकैसाथमा भए पनि हामीहरुका सोचाइमा कैयौ भिन्नताहरु छन् । त्यसैका आधारमा नै हामीले मूल्याङ्कन गर्नु पर्छ ।

० हैन मेरो प्रश्न फेरि तपाईहरु पनि वामपन्थी, उहाँहरु पनि वामपन्थी । तपाईहरु पनि अनफूलाई कम्युनिस्ट भन्नु हुन्छ, उहाँहरु पनि आफूलाई कम्युनिस्ट भन्नु हुन्छ । सबै भई रहँदाखेरि जनताले के पाए भन्ने हो के मेरो प्रश्नको केन्द्र ।
– जनताले के पाए भन्ने प्रश्नमा त हामीले सबैलाई हेर्नु पर्‍यो । कुनै बेला चीनले पनि कम्युनिस्ट पार्टी भनेको थियो । रसियामा खु्रस्चेभले पनि कम्युनिस्ट पार्टी भनेका थिए । हामीले देख्याँ–ै त्यहाँ भिन्नता कसरी बढ्यो । त्यहाँ खु्रस्चेव र गोर्भाचोभहरुले कम्युनिस्ट भन्दाभन्दै समाजवादलाई खतम पारे, कम्युनिस्ट पार्टीलाई खतम पारे । त्यसै गरेर चीनमा पनि हामीले देख्याँै– कम्युनिस्ट पार्टी भन्दाभन्दै उनीहरुले पुँजीवादको बाटो समाते । हाम्रो देशमा लामो समयसम्म हामीहरुबाट अलग भई सकेपछि पनि डा. केशरजङ्ग रायमाझीले आफूलाई कम्युनिस्ट भन्दै गए । अन्त्यमा उनी कम्युनिस्ट पार्टीलाई नै विर्सजन गरेर राजाको क्याम्पमा गएर मिले । यसरी कुनै बेला कसले के भन्छ ? भन्ने कुरामा मात्र हाम्रो कुरा टुङ्गिदैन । समाजवादकै कुरा गर्नु हुन्छ भने हामीले पनि समाजवाद भनेका छौँ । नेपाली काङ्ग्रेसले पनि समाजवाद भनेको छ । इन्डियाको काङ्ग्रेसले पनि समाजवाद भनेको छ । त्यसैले कसले के भन्छ भन्ने आधारमा होइन, त्यसको सम्पूर्ण पृष्ठभूमि, त्यसको चरित्र, त्यसको दिशा, भावी स्वरूप सबैमाथि ध्यान दिएर नै हामीले निर्णय गर्नु पर्दछ ।

० तर तपाईहरु जनतासँग जोडिन त सक्नु भएन नि । सबभन्दा क्रान्तिकारी आफूलाई दावी गर्नु हुन्छ तर जनतासँग कटेको स्थिति देखिई रा’छ, नि, यस्तो किन त ?
– जनतासँग को जोडिएको छ, कति जोडिइको छ ? त्यसका पनि कैयाँै कारणहरु हुन्छन् । यही चुनावमा माओवादी पहिलो शक्ति भयो, अर्को चुनावमा तेस्रो शक्ति भयो । यही चुनावमा पहिले राप्रपाले कैयौँ सिट ल्याएको थियो, अब गएर ऊ एकदमै तल्लो पोजिसनमा आएको छ । काङ्ग्रेस कुनै बेला सबैभन्दा ठुलो शक्ति भएको थियो । फेरि एमाले माओवादीभन्दा सानो शक्ति भयो । यस कारण कति सिट कसले प्राप्त गर्‍यो ? कसले कति मत प्राप्त गर्‍यो ? त्यसले मात्र जनतासँग जोडिएको भन्ने हुँदैन । तपाईले देख्नु हुन्छ– चुनावमा कैयौँ फ्याक्टरले काम गरेको हुन्छ । कहीँ पैसाले काम गर्छ, कहीँ विदेशी प्रभावले काम गर्छ, कहीँ सत्ताले काम गर्छ, कहीँ भ्रष्टाचारले काम गर्छ । त्यस कारण चुनावको जुन परिणाम हुन्छ, त्यो नै जनतासँग जोडिएको/नजोडिएको कुराको कसौटी या मापदण्ड होइन ।

० होइन, अहिले त चुनाव बाहेक अरुलाई मापदण्ड बनाउन मिल्छ र ?
– होइन, यदि चुनावको परिणामलाई नै मापदण्ड भन्नु हुन्छ भने मैले, जस्तो उदाहरण दिए नि, माओवादी एउटा चुनावमा सबभन्दा ठुलो शक्ति भयो, अर्को चुनावमा तेस्रो भयो, गएको चुनावमा काङ्ग्रेसभन्दा ठुलो भयो, फेरि तेस्रो भयो । आखिर चुनावको परिणाममा त परिवर्तन भई राखेको छ नि । कम–बेशी भई राखेको छ । कतिपय अन्य देशमा हेर्नु भयो भने उही पार्टी पहिले सत्तामा हुन्छ, केही सालपछि, केही दशकपछि त्यो पुरै बिलाएर जान्छ ।

० अरूको हकमा त्यस्तो भो तर तपाईहरु भने घटीरहनु भयो नि ?
– नाइँ, त्यसलाई घटेको भन्न मिल्दैन । किनकि अहिलेको चुनावको जुन परिणाम छ, त्यो परिणामलाई समग्र रूपमा तपाईले हेर्नु भयो भने देख्नु हुन्छ– नेपाली काङ्ग्रेसको गत कालमा जुन पोजिसन थियो, त्यसलाई अहिले तुलना गर्नुस् । माओवादीको पहिले जुन पोजिसन थियो, त्यसलाई अहिले तुलना गरेर हेर्नुस् । त्यसमा तपाईले धेरै प्रतिशत घटेको पाउनु हुन्छ । तर हाम्रो पार्टीको हेर्नु भयो भने त्यसरी अरूको तुलनामा तल–माथि धेरै घटेको–बढेको पाउँदैनौँ । अरू धेरै पार्टीहरु तलमाथि, घटबढ भई राखेका छन् । यदि प्रतिशतमा या डाटामा गएर हेर्नु भो भने हाम्रो सन्दर्भमा त्यति धेरै फरक परेको छैन । कैयौँ पटक फेरि दमनले, अरू कारणले, भ्रष्टाचारले विभिन्न कारणले, पैसाले पनि धेरै कमबेशी भएका हुन्छन् ।

० तर तपाईहरु त्यो साइजमै रहनु पनि एउटा प्रगतिशील राजनीतिको जीत होइन नि त ?
– यो जुन बुर्जुवा चुनाव हो, यसद्वारा जनताको सही मत अभिव्यक्त हुँदैन भनेर हामीले बारम्बार भनिरहेका छौँ । यो बुर्जुवा संसदीय चुनाव नै सबै शक्तिको मापदण्ड हो भनेर हामीले कहिले पनि मान्दैनौँ । यसबाट जनताका समस्या समाधान हुन्छ भन्ने कुरा हामीले कहिले पनि मान्दैनौँ । यो व्यवस्थाले परिवर्तन ल्याउँछ भन्ने कुरा पनि होइन । चुनावको सामान्य ज्ञान भएका मान्छेहरुलाई थाहा छ, यसमा पैसाको कति ठुलो खेल हुन्छ ? सत्ताको कति ठुलो खेल हुन्छ ? भ्रष्टाचारको कति ठुलो खेल हुन्छ ? विदेशी शक्तिहरुको कति ठुलो खेल हुन्छ ? यो चिज बारम्बार थाहा भई राखेको छ । त्यस कारण यो चुनावद्वारा वास्तविक जनमत व्यक्त हुँदैन ।

० उसो भए यो कुरा मान्नु हुन्न कि तपाईको सङ्गठन कमजोर भएर वा तपाईहरुले आफ्ना नीतिहरु जनतालाई बुझाउन नसकेर वा जनताले मन नपराएर चुनावमा हार्नु भएको हो ?
– होइन, पहिलो कुरा त यो चुनावको पद्धतिद्वारा नै सबै चीज दूधको दूध पानीको पानी हुन्छ भन्ने कुरा हामीले मान्दैनौँ । यो प्रतिक्रियावादी व्यवस्था हो र यसलाई हामीले उपयोग मात्र गरी राखेका छौँ । त्यो खालि जनताका बीचमा प्रचार गर्ने, जनताका बीचमा चेतना ल्याउने, जनताका बीचमा भण्डाफोर गर्ने, त्यो माध्यमको रूपमा नै कम्युनिस्टले यसलाई उपयोग गरेका हुन्छन् । कसैले यसलाई मूल ब्रह्मास्त्र नै मानेका छन् । यो नै शासन पद्धतिको मूल स्वरूप मानेका छन् । तर हामीले त्यस्तो मान्दैनौँ । यो एक प्रतिक्रियावादी व्यवस्था हो, यसलाई पनि हामीले विभिन्न समयमा उपयोग गर्छौँ । सकेसम्म त्यसको माध्यमबाट नै जनताका बीचमा जाने प्रयत्न गर्छौँं ।

० अब राष्ट्रिय सभाको निर्वाचन पनि आउँदै छ । तपाईले प्रचण्डसँग पनि यो विषयमा छलफल गर्नु भयो । के गर्ने कुरा भयो तपाईहरुको ?
– अहिले भर्खरै सिद्धिएको चुनावमा हामीले कैयौँ जिल्लाहरुमा तालमेलको नीति अपनाएका थियौँ । अहिले पनि हामीले राष्ट्रिय सभाको निर्वाचनमा सम्भव भएसम्म तालमेलको नीति अपनाउने छौँ । चुनावको विषयमा, तात्कालिक विषयमा समान सोचाइ राख्ने पक्षहरुसँग तालमेल गर्ने हामीहरुको प्रयत्न हुन्छ । तर त्यो तालमेल पनि बेग्ला बेग्लै पार्टीहरुको शक्ति अनुसार हुने छ । हामीहरुको देशव्यापी शक्ति भए त्यही रूपमा माथिल्लो तहमा व्यापक रूपमा तालमेल हुन्थ्यो । तर हामीले आफ्नो स्थितिलाई स्पष्ट गरेका छौँ– देशव्यापी रूपमा त्यति शक्तिशाली सङ्गठन हाम्रो छैन । त्यस कारण सीमित रूपमा कुनै प्रदेशमा त्यो हुन सक्छ । त्यसरी तालमेल भयो भने हामी मिलेरै चुनाव लड्ने छौँ ।

० तपाईहरुको अहिलेको चासो राष्ट्रिय सभामा प्रतिनिधित्वका लागि हुन्छ ?
– राष्ट्रिय सभाको चुनावका लागि हामीले तालमेल गर्ने कोशिस गर्छौं । त्यो पनि त्यहाँ हुन्छ, जहाँ हाम्रो केही आधारहरु छन्, थोरै भए पनि हाम्रा मतदाता छन् ।

० भन्न खोजेको राष्ट्रिय सभामा प्रतिनिधित्वका लागि तपाईहरुले आफ्ना उम्मेदवारहरु खडा गरेर सहमतिको कोशिस गर्नु हुन्छ ?
– सहमतिको कुरा चलेको छ । तर यो टुङ्गिएको छैन । कुरा प्रारम्भ मात्र भएको छ । यदि सहमति भयो भने त्यही अनुसार सहमतिमा कहाँ हामीलाई समर्थन गर्ने ? कहाँ हामीले समर्थन गर्ने ? त्यही अनुसार टुङ्गिन्छ । यदि सहमति हुन सकेन भने प्रदेश नं. ४ र ५ मा हामीले आफ्ना उम्मेदवारहरु उठाउँछौँ ।

० राष्ट्रिय सभामा तपाईहरुको उम्मेदवार को हुन्छ ?
– त्यो त पार्टीले केही निर्णय गरेको छैन । अहिले त भर्खर चुनावको कार्यतालिका मात्र टुङ्गिएको छ । त्यसका लागि पार्टीको बैठक बस्ला, हाम्रो संसदीय बोर्डको बैठक बस्ला । त्यसले टुङ्ग्याउँछ ।

० चित्र बहादुर केसीलाई पठाउन खोजेको हो भन्ने कुरा पनि आएका छन् । कुरा के हो ?
– यो कुरा हाम्रो बैठक बसेर टुङ्ग्याइने छ ।

० चित्र बहादुर केसी हुन सक्नु हुन्छ ?
– प्रतिनिधि सभाको चुनावमा हामीले पठाउने कोशिस गरेका थियौँ । उहाँले स्वास्थ्यको कारणले मैले सक्दिनँ भन्नु भयो । त्यस कारण उहाँ हुन सक्नु भएन । त्यस कारण अहिले चित्र बहादुर के.सी., यो वा त्यो कुराहरु होइन, छलफलको दौरानमा के सहमति हुन्छ ? उम्मेदवार बन्न चाहने साथीहरुको पनि सहमति चाहिन्छ, पार्टीको पनि सहमति चाहिन्छ । त्यसपछि मात्र कसलाई उम्मेदवार बनाउने कुरा टुङ्गो लाग्ने छ ।

० बाहिर चासो चित्र बहादुर केसी लाई ल्याउनु हुन्छ कि हुन्न, त्यो प्रयत्न गर्नु भएको छ कि छैन भन्ने वाम राजनीतिमा चासो देखिन्छ कि । त्यही भएर सोधेको ?
– होइन, बाहिर चासो के हुन्छ भन्ने कुराको सबै समयमा त्यसले केही अर्थ राख्दैन । त्यस्ता विषयहरुमा त हामीले केही कमेन्ट गर्न चाहँदैनौँ । भनेर साध्य पनि हुँदैन । तर वास्तविक कुरा के हो भने उहाँको विषयमा वा अरू कोहीको विषयमा पनि छलफलमा नै प्रवेश गरेका छैनौँ हामी ।

० सरकार निर्माणको क्रममा तपाईहरुको भूमिका के हुन्छ ? प्रतिनिधि सभामा एक जना हुनु हुन्छ, तल प्रदेश सभामा पनि ४ र ५ मा तपाईहरुको प्रतिनिधित्व देखिएको छ ।
– सरकारमा जाने पार्टीको नीति खुल्ला छ । पहिले नै पार्टीको केन्द्रीय समितिले त्यो पास गरेको थियो । त्यो प्रस्तावलाई राष्ट्रिय भेलाले पनि पास गरेको थियो । त्यो नीतिमा अझसम्म परिवर्तन भएको छैन । तर त्यसको अर्थ सबै सरकारमा हामी जान्छौँ भन्ने होइन । सरकारमा जाने/नजाने भन्ने कुरा बेग्ला बेग्लै प्रकारको स्थितिमा आधारित रहन्छ । प्रश्नको समझदारीमाथि निर्भर गर्छ । पार्टीले के निर्णय गर्छ ? त्यसमाथि निर्भर गर्छ ।

० एमाले र माओवादीको सरकार बन्यो भने तपाईहरु के गर्नु हुन्छ ? समर्थनको कुरा आउला, प्रतिनिधित्वको कुरा आउला ।
– सरकारलाई समर्थन गर्ने कुरा त हामी गर्छौं, त्यो त हाम्रो स्पष्ट नीति नै छ । किनकि वाम पक्षधर शक्तिहरुको जुन बहुमत आएको छ, त्यसलाई हामीले समर्थन गर्छौं । तर स्वयं हामी नै त्यसमा सामेल हुन्छौँ/हुन्नौँ ? त्यसमा त्यो धेरै कुराहरुको छलफलपछि निर्भर गर्ने कुरा हो ।
० तर आजका मितिसम्म सरकारमा जाने पार्टीको पुरानो निर्णय परिवर्तन भएको त छैन नि ?
– सरकारमा जाने पार्टीको नीति कायम छ । सरकारमा जाने नीति खुल्ला छ । तर जाने नीति कायम छ भन्नुको अर्थ हामी स्वत: कुनै पनि सरकारमा जान्छौँ भन्ने होइन । त्यो त त्यो कुरा उठेपछि, चलेपछि, समझदारी भएपछि पार्टीले पनि निर्णय गरी सकेपछि बल्ल टुङ्गिने कुरा हो ।

० तपाईको प्रचण्ड र ओलीसँग छलफल भयो सरकारको विषयमा, उहाँहरुको प्रस्ताव छ कि छैन ?
– होइन, ओलीसँग त चुनावपछि भेट भएको छैन, प्रचण्डसँग मात्र हो । प्रचण्डसँगको त्यो छलफलको दौरानमा हामीले सरकारको विषयमा सामान्य चर्चा पनि गरेका छैनौँ ।

० अनि, प्रदेश सरकारमा प्रतिनिधित्वको विषयमा पनि के हुन्छ तपाईहरुको कुरा ?
– नाइँ, त्यो पनि कुरै चलेको छैन ।

० अब एमाले र माओवादीको एकताको थोरै कुरा गरौँ । योबारेमा तपाईहरुको धारणा के हो ?
– एमाले र माओवादी–केन्द्रका विचारहरु धेरै मिल्छन्, सोचाइहरु मिल्छन् । त्यस कारण उनीहरुका बीचमा एकता हुनु, उनीहरुका बीचमा जुन गठबन्धन भएको छ, त्यसलाई कायम राख्नु नै उनीहरुका लागि र देशका लागि पनि लाभदायक हुन्छ भन्ने हाम्रो सोचाइ हो ।

० अनि, त्यसमा तपाईहरुको भेटका क्रममा पहिले वा पछि उहाँहरुको मनोविज्ञान कस्तो बुझ्नु भा’को छ ? उहाँहरु त्यो ठाउँमा टिक्नु होला ? अडिनु होला ?
– टिक्नु हुन्छ कि हुन्न—त्यो उहाँहरुले निर्णय गर्ने कुरा हो । हामीहरुको सोचाइ के रहेको छ भने अहिलेको स्थितिमा उहाँहरुले जो वाम गठबन्धन गर्नु भयो, त्यसले चुनावमा पनि धेरै राम्रो फाइदा पुग्यो । त्यसकै कारणले नेपाली काङ्ग्रेसलाई पनि हराउन सकियो । अहिले यदि उहाँहरु फुट्नु हुन्छ भने, त्यो उहाँहरुको वाम गठबन्धन टुट्छ भने त्यसले देशलाई पनि नोक्सान पुर्‍याउँछ, उहाँहरुलाई पनि नोक्सान पुर्‍याउँछ । त्यस कारण हामीले उहाँहरुसँग छलफल गर्दा तपाईहरुको यो जुन गठबन्धन हो, त्यो कायम हुनु पर्छ, यो नै देशका लागि पनि र तपाईहरुका लागि पनि राम्रो हुन्छ भनेर हामीले आफ्ना विचारहरु प्रकट गरेका छौँ । तर देशभित्रका प्रतिक्रियावादी शक्तिहरुले, विदेशका प्रतिक्रियावादी शक्तिहरुले उहाँहरुलाई फुटाउने प्रयत्न गरीराखेका छन् । त्यस्तो प्रयास सफल नहोस्, त्यसले उहाँहरुलाई पनि, देशलाई पनि नोक्सान पुग्छ । त्यस कारण चुनावका बेलामा उहाँहरुले जुन एकता कायम गर्नु भयो, त्यसलाई नै कायम राख्नु पर्छ भन्ने कुरामा नै हामीले जोड दिएका छौँ ।

० प्रचण्डले के भन्नु भयो तपाईहरुलाई ? के आश्वस्त पार्नु भयो ? किन भन्दा एउटा मेन फ्याक्टर त उहाँ पनि हो ।
– उहाँले पनि त्यही भन्नु भयो– हामीले यो एकतालाई कायम राख्ने नै कोशिस गरी राखेका छौँ । दुई वटै पार्टी एक बनेर जाने, यो वाम गठबन्धनलाई कायम राखेर जाने पक्षमा नै हामी छौँ भनेर उहाँले त्यही भन्नु भयो ।
(थाहा सञ्चार नेटवर्क ९९.४ मेगाहर्जका लागि लिइएको अन्तर्वार्ता यो अन्तर्वार्ता www.thahasanchar.com  मा गएर पनि सुन्न सकिने छ ।)
प्रस्तुति : नारायण शर्मा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here