जीवन शर्माको जीवनको कथा

0
3858

समयसँग सम्झौता होइन संघर्ष गर संघर्ष
आउँछन् नि हजार चुनौती स्विकार गर सहर्ष

तीन कक्षा पढ्दा फेल भएर गाउँमा गाईबाख्रा चराउन लागेको बालकले यस्ता गीत गाएर दुनियाँलाई सजग गराउदै क्रान्तिको यात्रा तय गर्ला भन्ने कसैले सोचेको थिएन । मानिसको जीवनमा सोचेजस्तो मात्र कहाँ हुन्छ र ? यो कथा हो जनगायक जीवन शर्माको ।
वि. सं. २०१७ साल भाद्र २५ मा बागलुङ जिल्लाको राङखानीको एक सामन्ती परिवारमा जन्मेका थिए शर्मा । गाउँका प्रधानपञ्चका छोराले आफ्नो सारा जीवन नै जनताको नाममा लेखिदेलान् भन्ने कसले सोचेको थियो होला र ? समयक्रमसँगै पञ्चायती आततायीहरूको सही नसक्नु दमनले उनको कवि हृदयलाई कम्युनिष्ट विचारधारासँग मितेरी लगाइदियो । आफ्नै घरमा आफ्नै आँखा अगाडि देखिने दमन र शोषणका रूप हुन् या तत्कालिन सत्ताका भरौटे पुलिस र मण्डलेहरू, उनी त्यसको विरूद्ध लाग्न किशोर कालदेखि नै प्रतिवद्ध हुन थाले । त्यसैको जगमा उठेको उनको संगीतसँगको सहकार्यले अन्ततः रक्तिमको बाटो समायो । त्यही बाटोमा उनी अहिले पनि हिडिरहेका छन् ।
आस्थाका पहाडहरूमा उनको आरोहण आज जीवनका आधा शताब्दीसम्म पनि निरन्तर छ । यी आधा शताब्दीको बीचमा क्रान्तिको राजमार्गमा कति साथीहरू आए, कति गए सायद उनले हिसाव राख्न छाडिसकेका छन् । समयको क्रमसँगै कतिले आफ्नो प्रतिभा सत्तालाई सुम्पिए र अरू कतिले जनपक्षियताको यात्राबाट थाकेर पेटको बदलामा आस्थालाई साटे त्यो पनि अब गन्न जरूरी रहेन । परिवर्तनको आस मारेर वा बलिदानको बाटोबाट भविष्य नदेखेर कति साथीहरूले संगितकै क्षेत्रमा रहेर पनि जनतासँगको सागीतिक नाता साइनो तोडे, त्यसको तथ्यांक राख्नु पनि अब नामुमकिन छ । तथापी समयका हजार चुनौतीहरूलाई सहर्ष स्विकार्दै जनताको पक्षमा संगीतको यात्रामा अविचल छन् जनगायक जीवन शर्मा ।

२०३२ सालदेखि संगीतसँग सहकार्य गर्दै आएका शर्मा २०४३ मा रक्तिम साँस्कृतिक परिवारको स्थापना गर्ने अभियानको पर्यायवाची जस्तै बनेका छन् । जीवन शर्मा र रक्तिमका बारेमा अनुसन्धान गर्दै आएका लेखक तथा उपप्राध्यापक जीवनाथ सुवेदी जीवनका अनुसार मणि थापा र मोहन चित्रकारसँग मिलेर जीवन शर्माले त्रिचन्द्र कलेजको छेउमा घण्टाघरको मुनि २०४२ सालमा जग हालेको सांगीतिक टिमले नै अर्काे वर्ष २०४३ चैत्र १ गते रक्तिम परिवारको आकार ग्रहण गरेको थियो । हाल पनि रक्तिम परिवारको नेतृत्व गरिरहेका उनको संस्थाबाट झण्डै चार दर्जन जति गीति क्यासेट बजारमा आएका छन् । जनवादी गीतसंगीतलाई सारा जीवन सुम्पेका शर्माले अहिलेसम्म ५ सयको हाराहारीमा गीतहरू रेर्कडिङ् गराइसकेको बताउँछन ।
त्यस्तै यो परिवारले ठूली, पूजा, सिम्मा, नालापानीदेखि कालापानीसम्म, जवाफलगायतका नाटक पनि जनतालाई सुम्पेका छन् । हाल कविता संग्रह प्रकाशनको तयारीमा रहेका उनी प्रकाशकको खोजीमा छन् । जीवनका आवाज जत्तिकै शक्तिशाली शब्द र शब्द जत्तिकै शक्तिशाली संगीतका कारण जनआन्दोलनका दुवै संस्करणहरूमा उनका गीतहरूले सडकमा जनलहर सिर्जना गरेको कसैका सामु छिपेको छैन । त्यसो त उनी नेकपा(मसाल) सँग आबद्ध छन् तर उनका गीतले सबै दल र संस्थाका कार्यक्रमहरूमा बिना अवरोध प्रवेश पाइरहेका छन्, किनकी तिनीहरूले उनको दलको मात्र होइन सारा देशको भाका बोलिरहेका छन् । कहिले उनी सिमली छायाँमा बसेका भरियासँगै उकालो चढिरहेका भेटिन्छन् त कहिले बूढो किसानलाई हलो फ्याँकेर क्रान्तिका लागि बन्दुक बोक्न उक्साइरहको हुन्छन् । उनी कहिले डर्टि याङ्कीहरूलाई लखेटेर पेरूमा रातो झण्डा फरफराउँने काममा खटिन्छन् त कहिले फक्ल्याण्डको टापुबाट चिठी लेख्छन् । भोको पेटले दाना पानी माग्दा अन्याय र अत्याचारको सिमा नाघ्दा ज्वालामूखी फुट्ने भविष्यवाणी गर्ने यिनै जीवन हुन् र सामन्तका नौजालका बावजुद पनि जनताको विजयको उद्घोष गर्ने पनि यिनै हुन् ।
आठ कक्षादेखि नै संगीतको बाटो हुँदै राजनीतिमा होमिएका शर्माले पुल्चोक कलेजमा इञ्जिनियरिङको अध्ययनलाई तेस्रो सेमेष्टरबाट हात हल्लाउँदै जनताको लागि जीवन समर्पण गरेका थिए । प्रधानपञ्चको पुत्र भएर जनताको सेवा गर्नुको मूल्य थियो सायद यो । घरबाट खर्चपानी समेत बन्द भए पछि उनको इञ्जिनियरिङ सपना र घरसँगको साइनो सँगसँगै टुङ्गिएको थियो । यद्यपी हाल उनी मानवशास्त्र र अंग्रजीका डबल स्नातकोत्तर हुन् । सादा जीवन र उच्च विचारलाई जीवनको मूल मन्त्र बनाएका उनी जनताको गीत गाउँदै कहिले नेपालका सुदुर बस्तीहरूमा पुगे त कहिले युरोपका रंगिन मञ्चहरूमा ∕ संगीतसँगको यति लामो संगतमा उनीसँगैका थुप्रैले काठमाडौंमा घर ठड्याए, गाडी किने र सम्पत्ति जोडे । तर उनको जीन्दगी अहिले पनि काठमाडौंमा परिवारका साथ डेरामा नै चलिरहेको छ । सामान्य परिहन, बिहानी रियाज, सांगीतिक दुनियाँ र अध्ययनशिल समयतालिका आज पनि उस्तै छ ।
जनताका गीतहरू नै जनतामाझमा कम पुगिरहेको भन्ने कुरा शर्मा स्विकार गर्छन् । उनको विचारमा नेपालका सरकारी सञ्चार माध्यमहरूले जनताका गीतहरूलाई निषेध गरे र बिग हाउसहरूले पनि सरकारी रवैयाकै अनुसरण गरे । अहिले आई रहेका जनगायक हरूका समाचार, फिचरहरू उनी त्यसका मालिकको मनस्थिति परिवर्तन भएर होईन त्यहाँ काम गर्ने केही सञ्चारर्कीका कारण भएको उनी मान्छन् ।
लामो समय परिवर्तका गीत गाउँदै हिड्दा पनि देशमा आमूल परिर्वतनको त कुरै छोडौं भएका परिवर्तन पनि संस्थागत नहुँदा आम मानिस भन्दा उनी बढी चिन्तित छन् ।
क्रान्ति उनको जीवनमा यसरी मिसिएको छ की उनी गीतमा परिर्वतका मुद्ध ल्याउन कठीन नहुने ठान्छन् । उनी भन्छन्, ‘गीतमा विचार हुनु हुँदैन भन्ने एउटा वर्ग सधै आफ्नो लुटको प्रभुत्व कायम राख्न चाहन्छ ।’
जनवादी संगीतमा लागेर उनलाई केही गुमाए भन्ने पटक्कै लाग्दैन । केही पाउनका लागी संगीतमा नलागेको र भौतिक संबृद्धिको कुरा आफूले नसोचेको उनले बताए ।
उनले एक दिनमा दुई, तीन गीत पनि लेखेका छन् । गीत उनी योजना बनाएर लेख्दैनन् । शर्माको भनाई छ, ‘मनमा गहिरो असर परेपछि त्यसलाई म गीतमा
लेख्छु ।’ उनले संगीतको औपचारिक अध्ययन गरेनन्, नेपाली जीवनको बास्तविकताको
झङ्कार नै उनका लागी सांगीतिक गुरू बनि दियो ।


जनपक्षीय संस्कृतिलाई सुढृढ बनाउन सर्वप्रथम जनतालाई नै आफ्नो संस्कृृतिको वास्तविक मूल्य बोध गराउनु आवश्यक छ । देशलाई डोहो¥याउने काम राजनीतिले गर्ने र राजनीति सुध्रेपछि जनसंस्कृति पनि निर्माण हुने उनको भनाई छ । शर्मा जनसंगीतको भावी बाटो सहज हुँदै गएको ठान्छन् । जनता सिधै परिवर्तनका दार्शनिक नारा बुझ्दैनन् । परिवर्तन गर्छु भनेर धोका दिनेहरूले जनतालाई आजित पनि बनएका छन् । शर्मा जनताको ह्दय छुन संगीत निक्र्रै सरल बाटो भएको धारणा राख्छन् ।
नेकपा–मसालमा आबद्ध शर्मा आफू साघुरो घेरामा बाँधिएका ठान्दैनन् । उनी भन्छन्, ‘म साघुरो घेरमा बाँधिएको भए तपाई मेरो अन्तर्वाता लिन आउनु हुने थिएन ।’
आफूले पनि प्रेमका गीत गाउने भन्दै शर्मा लोकप्रियता र उत्श्रृङ्खलाबिचमा फरक भएको दाबी गर्छन् । उनी प्रति प्रश्न गर्छन्–‘चिटिक्क कपडा लगाएको मानिस भन्दा नांगो मानिसलाई हेर्नेको भीड ठूलो हुन्छ ।’ दिशाविहिन, अश्लिल र विकृत गीतहरूले समाजलाई हानी गर्छ । शर्मा सधै पक्कै नरहलान, उनले स्विकार गरेको भौतिकवादी विचारले पनि यही भन्छ । तर सर्वाहाराहरू माझ उनका गीतहरू जरूर घन्किई रहनेछन् ः

वरिपरी काला सर्प अजिङ्गरले तर्साउँदा
माथिबाट दुष्मनले बम गोला बर्साउँदा
तिम्रो छाति रंगिएर हातबाट बन्दुक झर्दा
म त्यहीँ आउनेछु ।

प्रस्तुतिः रामचन्द्र राई

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here