जनयुद्धले कोरेको वियोगान्त कथा !

0
369

डेकेन्द्रको चिहान उधिनियो, रमेश ढुंगेलको कहाँ छ ?

एमाओवादी र माओवादी दुईवटा पार्टीले आज १८ औं जनयुद्ध दिवस मनाइरहेका छन् । प्रचण्ड नेतृत्वको एमाओवादीले खुल्लामञ्चमा कार्यक्रमको आयोजना गरेर जनयुद्ध दिवस बनाउँदैछ। वैद्य नेतृत्वको नेकपा माओवादीले भृकुटीमण्डपमा चियापान गर्नुका साथै रोल्पाको थबाङमा जनयुद्ध दिवस मनाउँदैछ ।

विसं. ०५२ साल फागुन १ गते सिन्धुली, रोल्पा र गोरखाको तीन स्थानबाट एकसाथ कारवाही थालेर माओवादीले शुरु गरेको जनयुद्ध ०६३ मंसिर ७ गतेको विस्तृत शान्ति सम्झौताबाट औपचारिकरुपमा विसर्जन भएको हो । यसक्रममा राज्य र विद्रोहीका तर्फबाट दशौं हजार नेपाली नागरिक मारिए, त्यतिकै संख्यामा महिलाहरु विधवा भए भने त्यतिकै संख्यामा बालबच्चाहरु टुहुरा बने, दशौं हजार घाइते भए, हजारौं बेपत्ता पारिए ।

आलोकबारे माओवादीमा मौनता

काभ्रे जिल्लाको पोखरीचौंरी गाविस निवासी यानप्रसाद गौतम (आलोक) का नाममा एमाओवादीले आलोक प्रवृत्ति किटानी गरेको छ । जनयुद्धका सकारात्मक पात्रका रुपमा प्रचण्डपथ भनिएको थियो भने नकारात्मक पात्रका नाममा ‘आलोक प्रवृत्ति’ भनिएको थियो । सामान्य किसान परिवारमा जन्मिएका आलोक तत्कालीन सेनाको गोलीबाट मारिए पनि उनलाई पार्टीले अहिलेसम्म शहीद घोषणा गर्न सकेको छैन । आफ्नो पार्टीका पोलिटब्यूरो सदस्य आलोक सहीद हुन् कि गद्दार ? जनयुद्धको १८ वर्षगाँठ मनाउँदा पनि पार्टीले टुंगो लगाउन सकेको छैन । आलोककी विधवा कृष्णमाया चौलागाई र छोराछोरीले आफ्ना पतिलाई सहीद घोषणा गर्न माग गरेको धेरै भइसक्यो, तैपनि प्रचण्ड र बाबुराम सरकारले आलोकलाई सहीद घोषणा गर्न सकेको छैन । हेटौडामा जारी महाधिवेशनमा प्रचण्डले आलोकको नामसम्म लिएनन् ।

ढुंगेलको शव कहाँ छ ?

रामेछापका तत्कालीन माओवादी नेता रमेश ढुंगेललाई माओवादीले अन्तरसंघर्षका कारण मृत्युदण्ड दिई खाडल खनेर पुरेको थियो । ढुंगेललाई खाडलमा हालेर पुर्नेहरु अहिले एमाओवादीको केन्द्रीय कमिटीसम्म पुगेका छन् । पत्रकार डेकेन्द्र थापाको कंकाल जमीनबाट निकालियो, तर रमेश ढुंगेलको कंकाल कसले निकाल्ने ? कहाँ पुरिएका छन् ढुंगेल ? ०५६ सालमा पार्टीबाट मारिएका ढुंगेलका परिवारले अहिलेसम्म उनको सद्गति गर्न पाएका छैनन् ।

एमाओवादीको हालै प्रकाशित मुखपत्रमा प्रचण्डले भनेका छन्, म त स्टालिनजस्तै पो भएँछु । स्टालिनले पनि यसैगरी भिन्न मत राख्ने नेतालाई मृत्युदण्ड दिएका थिए । स्टालिन हुने क्रममा मृत्युदण्ड पाएका रमेश ढुंगेललाई अब माओवादीले सहीद घोषणा गर्द कि गर्दैन ? यो पनि अस्पष्ट छ । कमसेकम प्रचण्ड समूहले नगरे वैद्य पक्षले ढुंगेललाई सहीद घोषणा गर्नुपर्ने पो हो कि ? जनयुद्ध मनाइरहँदा एमाओवादी र माओवादीले आलोककी विधवा र रमेश ढुंगेलका परिवारलाई पनि एकपटक सम्झने हो कि ? नभए कसले सम्झेलान् यिनलाई ? न तत्कालीन राज्यले, न माओवादीले ।

रमेश ढुंगेललाई आलोकले एक्लै मारेर दफनाएका होइनन् । आलोक मरेर गए, तर अरु हत्याराले ढुंगेल परिवारसँग माफी माग्नुपर्दैन ? कि यसका लागि पनि सत्य निरुपण आयोग नै बन्नुपर्छ ? ढुंगेल परिवार यतिबेला न्यायको खोजीमा प्रचण्डको दैलो चाहारिरहेको छ । माओवादीले आफ्नै कार्यकर्तालाई मृत्युदण्ड दिएको सायद यो एउटा मात्रै घटना हो । मृत्युदण्ड दिइएका ढुंगेललाई अब नेताहरुले कसरी न्याय गर्लान् ? फागुन १ ले यही सोधिरहेको छ ।

आलोकको अन्तिम बकपत्र

प्रचण्डले ‘आलोक प्रवृत्ति’ किटान गर्दै प्रेस वक्तव्य जारी गरेको १३ दिनपछि अर्थात् २०५७ साल जेठ २८ गते यानप्रसाद गौतम (आलोक)ले आफ्नै हातले आफैंविरुद्ध निर्मम आलोचना गर्दै एउटा बकपत्र (आत्मालोचना पत्र ?) लेखे । आलोकद्वारा लिखित सो पत्र असार २० गतेको जनादेश साप्ताहिकमा प्रथम पृष्ठमा छापियो । आफूलाई कारवाही हुनुभन्दा अघिसम्म जनादेश साप्ताहिकमा क्रान्तिकारी लेखहरु लेख्ने आलोकको अन्तिम लेख पनि त्यही नै बन्न पुग्यो ।

आलोकले लेखेका थिए –

‘ममा (देखिएका) राजनैतिक विचलन, संगठनात्मकरुपमा व्यक्तिवादी नोकरशाही कार्यशैली, आर्थिक उदारता, सांस्कृतिक क्षेत्रमा सामन्ती यौन कुण्ठा आदि गलत आचरणका कारण पार्टी र आन्दोलनलाई गम्भीर क्षति पुग्न गएको छ । मेरो २५/२६ वर्षको राजनीतिक आन्दोलनको मात्रा (यात्रा) मा मबाट हुन गएका गल्ती-कमजोरीहरुप्रति गम्भीररुपले पश्चाताप गर्दै सार्वजनिकरुपमा आत्मालोचनासहित प्रायश्चित गर्ने र गल्तीहरु सच्चाउने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु । बाँकी कुरा भविश्यले नै सच्चाइको यथार्थता प्रमाणित गर्नेछ ।

शहीद तीर्थ गौतमकी पत्नी र आलोक पत्नीसँग प्रधानमन्त्री डा. बाबराम भट्टराई

जहाँसम्म मेरो विचलन र गलत आचरणका कारण पूर्वाञ्चल क्षेत्रले व्यहोर्नुपरेको क्षति तथा मेरो कमजोरीहरुमाथि टेकेर गौरवशाली पार्टीमाथि भएको आक्रमण र पार्टीको आन्तरिक जीवनमा घटेका घटनाहरुको प्र्रवृत्ति निकै गम्भीर छन्, यसको उद्घाटन पनि हुँदै जाने कुरामा म विश्वस्त छु । यतिबेला मेरो राजनैतिक आन्दोलनको निरन्तरताको कडी छुटेको छ, पार्टी जीवन समाप्त भएको छ, भीषण, तीव्र र आँधीमय वर्गयुद्ध र पार्टी भित्री संघर्षको मोर्चाबाट म ढले पनि अझै भौतिक शरीरको समापन भएको छैन ।….म अहिले नेपाली कम्युनिष्ट आन्दोलनको नकारात्मक पात्रका रुपमा इतिहासको कठघराभित्र उभिएको छु । गलत ढंगबाट रमेश ढुंगेलको हत्या भएको पार्टी निश्कर्षका सन्दर्भमा त्यसको सम्पूर्ण जिम्मेवारी म आफैं लिन चाहन्छु र रमेश ढुंगेलकी श्रीमती रमा ढुंगेलले आफ्नो श्रीमान्को हत्याको बदला आफैं लिने उत्कृष्ट (उत्कट ?) अभिलाषा प्रकट गर्नुभएको छ । त्यसलाई म सहर्ष स्वीकार गर्दै क्रान्तिकारी आन्दोलनलाई पुनः नयाँ उचाइ र उर्जा प्रदान गर्ने आफ्नो वैयक्तिक हकसमेत प्रकट गर्न चाहन्छु ।

करोडौं मुक्तिकामी जनसमुदायको आजादीको प्रतीक र आस्थाको धरोहर, हजारौं-हजार जनसेना र कार्यकर्ताहरुको मुटुको ढुकढुकी तथा अग्रगामी चेतना, विश्व सर्वहारावर्गको एक टुकडीका रुपमा उदयमान अग्रदस्ता र आशाको दीप, हजारौं शहीदहरुको रक्तबीजहरुको पीरामीड, माक्र्सवाद-लेनिनवाद-माओवादको वैज्ञानिक सिद्धान्तको जगमा निर्मित र विकसित सर्वहारावर्गको पार्टी जे गर्दछ, मूलतः सही नै गर्दछ ।

म एक सचेत नागरिकको हैसियतले राष्ट्र र जनताप्रतिको आफ्नो जिम्मेवारी र कर्तव्यबाट च्यूत हुने छैन । नेपाली क्रान्ति र विश्व सर्वहारावर्गीय पक्षधरतालाई कदापी भुल्ने छैन । देश र जनताको रक्षाको आन्दोलनमा मैले आफूलाई कुनै न कुनैरुपमा समर्पित गर्ने छु ।’

(यो समाचार २०१४ मा विभिन्न पत्रपत्रिकाहरुमा प्रकाशित भएको थियो । अहिलेको परिवेशमा पुनः हामीले प्रकाशन गरेका छौं ।) 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here