पोखरा । रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष जनगायक जीवन शर्मा गोकुल वाङ्मय पुरस्कारबाट पुरस्कृत हुनु भएको छ । गण्डकी साहित्य सङ्गमले २०७५ जेष्ठ ८ गतेका दिन पोखरामा एक विशेष समारोहको आयोजना गरी जनगायक शर्मालाई पुरस्कृत गरेको हो ।
प्रगतिशील तथा देशभक्त साहित्यिक धारमा साधना गर्ने स्रष्टाहरुलाई प्रेरणा, प्रोत्साहन एवम् सम्मान गर्ने उद्देश्यले २०५२ सालमा गण्डकी साहित्य सङ्गमले गोकुल वाङ्मय पुरस्कार स्थापना गरेको थियो । प्रतिभा छनोट समितिका संयोजक भीम रानाभाटको संयोजकत्वमा गठित डा. रविलाल अधिकारी र पिताम्बर नेपाली रहेको तीन सदस्यीय प्रतिभा छनोट समितिले शर्माको नाम सिफारिस गरेको थियो । साहित्य सङ्गमको २०७५ जेष्ठ ४ मा बसेको बैठकले छनोट समितिको उक्त सिफारिसलाई अनुमोदन गरेको थियो । सोही पुरस्कार जनगायक शर्मालाई ८ जेष्ठमा प्रदान गरिएको हो । पुरस्कारको राशी नगद ३० हजार रुपियाँ, सम्मान पत्र र दोसल्ला रहेको छ ।
२०१६ चेत्र २५ गते राङखानी बागलुङमा जन्मनु भएका गायक शर्माले २०३२ सालदेखि नै साङ्गीतिक यात्रा सुरु गर्नु भएको थियो । उहाँ क्याम्पस पढ्दै गर्दा साङ्गीतिक यात्रामा सहभागी हुँदै २०४३ सालदेखि रक्तिम परिवारको स्थापना गर्दै अध्यक्ष रहेर काम गदै आउनु भएको छ । उहाँका गीतमा जनताका पिरव्यथाहरुका यथार्थ आवाज गुञ्जिएका हुन्छन् ।
रक्तिमका झण्डै चार दर्जन गीति एल्बम बजारमा आएका छन्, जसमा समेटिएका प्राय: सबै गीतहरुमा जनगायक शर्माकै शब्द, सङ्गीत र स्वर सुन्न सकिन्छ । जनगायक शर्माले नेपाल लगायत विश्वका झण्डै तीन दर्जन देशहरुमा आफ्नो साङ्गीतिक यात्रा पुर्याइसक्नु भएको छ ।
https://emissionkhabar.com/2018/05/20/%E0%A4%9C%E0%A4%A8%E0%A4%97%E0%A4%BE%E0%A4%AF%E0%A4%95-%E0%A4%9C%E0%A5%80%E0%A4%B5%E0%A4%A8-%E0%A4%B6%E0%A4%B0%E0%A5%8D%E0%A4%AE%E0%A4%BE%E0%A4%B2%E0%A4%BE%E0%A4%88-%E0%A4%AA%E0%A5%81%E0%A4%B0/