गलत तत्वद्वारा पार्टीमा कब्जाको खतरा

0
630

आज कमसेकम सैद्धान्तिक र राजनैतिक रूपले पार्टीलाई क्रान्तिकारी धरातलबाट पतित हुन नदिन हामी जे–जति मात्रामा सफल भएका छौँ, आजको पार्टीको चिन्तन, सङ्गठन र कार्यशैलीको परिधिभित्र सधै सम्भव भइरहने कुरा होइन । पार्टीको सङ्गठन र कार्यकर्ताहरूको निम्न–पूँजीवादी चिन्तन र व्यवहारमा हामीले गुणात्मक परिवर्तन ल्याउन सकेनौँ भने पार्टीको सङ्गठन र चिन्तनको वर्तमान गैर–क्रान्तिकारी सङ्गठनात्मक आधारबाट फाइदा उठाएर विभिन्न प्रकारका अवसरवादी क्यारियरिस्ट, अनुशासनविहीन र कतिपय अवस्थामा दुश्मनका छद्म एजेण्टहरूले सम्पूर्ण पार्टीमा कब्जा जमाउन र आज बाँकी रहेको क्रान्तिकारी सैद्धान्तिक र राजनैतिक पक्षलाई पनि समाप्त गर्न प्रयत्न गर्नेछन् र पार्टी पूरै नै दक्षिणपन्थी पार्टीमा बद्लिन सक्दछ । दुनियाँमा पहिलेका थुप्रै क्रान्तिकारी माक्र्सवादी–लेनिनवादी पार्टीहरूमा त्यस्तो भएको छ र गत कालमा पनि बारम्बार, पाँचौँ महाधिवेशनपछि पनि कैयौँपल्ट त्यसप्रकारका सम्भावनाहरूका विरुद्ध कडा सङ्घर्ष गरेर नै हामी पार्टीको क्रान्तिकारी सिद्धान्त र राजनैतिक लाइन बचाउन सकेका छौँ । तर हामीले माथिबाट त्यसरी पार्टीको क्रान्तिकारी चरित्रलाई बचाउन सफल भए पनि पार्टी सङ्गठनबारे पार्टीका कार्यकर्ताहरूको चिन्तनको वर्तमान स्तर, रूप र अवस्था तथा चौथो महाधिवेशनपछि पार्टीमा आएका विभिन्न अवसरवादी धाराहरूलाई हे¥यौँ भने पाउनेछौँ कि उनीहरूले पहिले पार्टीमा सैद्धान्तिक र राजनैतिक अवसरबादी टाइपका विचार अभिप्रायहरूलाई खुला र प्रकट रूपमा अगाडि नल्याएर प्रायशः व्यक्तिगत आरोप वा आलोचनाहरूलाई पार्टी सदस्यहरूका भावनाहरूलाई उभाडेर वा गुटबन्दी गरेर आफ्नो अबसरवादी उद्देश्यहरू पूरा गर्ने गरेका छन् । अवसरवादीहरूको त्यो कार्यशैली मुख्यतः पार्टीभित्रको सैद्धान्तिक र राजनैतिक चेतनाको कमी र वैचारिक अस्पष्टताको कमीले नै पूरा हुन पाउँछ । त्यसप्रकारको चेतनाको कमी वा वैचारिक अस्पष्टता अहिले पनि कायम छ । त्यो अवस्थामा गत कालमा झै व्यक्तिगत प्रसङ्गहरूलाई उभाडेर अवसरवादीहरू राजनैतिक वा क्यारियरिष्ट उद्देश्यहरू पूरा गर्न प्रयत्न गर्ने र पुनः त्यसरी पार्टीलाई गलत दिशामा लैजाने प्रयत्न गर्ने सम्भावना भविष्यमा पनि रहन्छ । खालि पार्टी सदस्यहरूको सैद्धान्तिक र राजनैतिक स्तरलाई उठाएर नै हामीले त्यो स्थितिमाथि नियन्त्रण गर्न सक्दछौँ । यदि हामीहरूले अहिलेको चिन्तन र चेतनाको स्तरमा परिवर्तन ल्याउन सकेनौँ भने आजको स्थितिलाई पनि लामो समयसम्म बचाएर राख्न पनि सफल हुनेछैन ।

पार्टीको विघटनको प्रश्न अघोषित खतरा :

यस सिलसिलामा एउटा अर्को पक्षप्रति पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । त्यो के हो भने खालि पार्टी नेतृत्वमा एक वा अर्को प्रकारका अवसरवादी तत्वहरूको कब्जा भएर मात्र होइन, अर्को दिशाबाट पनि पार्टी अवसरवादी रूपमा बद्लिने सम्भावना हुन्छ र हाम्रो पार्टीमा त्यो खतरा तीव्ररूपले बढ्दै गैरहेको छ । त्यो के हो भने पार्टीको माथि उल्लेख गरिए जस्तै गैर–क्रान्तिकारी चरित्र र पार्टीको क्रान्तिकारी सिद्धान्त र राजनैतिक लाइन, देशी वा विदेशी प्रतिक्रियावादी र अवसरवादी शक्तिहरूका विरुद्ध सम्झौताहीन सङ्घर्षमा जोड दिने नीति र पार्टीका अधिकतर कार्यकर्ताहरूको सोचाइका बीचमा एकप्रकारको असामञ्जस्यताको स्थिति देखापरिरहेको छ । पार्टी सदस्यहरूको एउटा ठूलो सङ्ख्याले सधैँ र खुला प्रकारले पार्टीको सिद्धान्त वा राजनैतिक लाइनको विरोध नगरे पनि, उनीहरूको नियत वा इमान्दारितामा कुनै शङ्का नभएपनि व्यवहारमा निष्क्रिय र पलायन हुँदै जान्छन् । गत वर्षहरूमा यो प्रक्रिया अत्यन्त बढेर गएको छ ।

त्यो अवस्थामा या त उनीहरू पार्टीबाट अलग हुँदै जान्छन् र त्यसरी सङ्ख्यात्मक प्रकारले पनि पार्टीको आकार सानो हुँदै जान्छ वा त्यसप्रकारका पार्टी सदस्यहरु पार्टीमा सक्रिय हुँदैनन्, जिम्मेवारी पूरा गर्दैनन् वा पार्टीका राजनैतिक वा सङ्गठनात्मक नीतिहरूको कार्यान्वयनका लागि पहलकदमी गर्दैनन् । फल यो हुन्छ, पार्टी सङ्ख्यात्मक रूपले ठूलो भएपनि गुणात्मक प्रकारले महत्वहीन हुन्छ, त्यसले कुनै क्रान्तिकारी भूमिका खेल्न सक्दैन । पार्टीको स्थितिमाथि समग्ररूपले मूल्याङ्कन गर्यौँ भने हामीले पार्टीमा त्यही प्रकारको अवस्था हुँदै गएको पाउनेछौँ यदि आजको स्थिति अर्थात् एकातिर, पार्टीको सिद्धान्त र नीति अर्कातिर, पार्टी कार्यकर्ताहरूको चिन्तन र कार्यप्रणालीका बीचको असामञ्जस्यता, असन्तुलन र अन्तर कायम रहन्छ भने त्यसको स्वरूप पार्टीको सङ्ख्यात्मक र गुणात्मक दुवै प्रकारले झन्पछि झन् सानो र कमजोर कमजोर बन्दै जानेछ । पार्टीका वर्तमान नीतिहरूको कार्यान्वयनका सन्दर्भमा त पार्टीका सदस्यहरूमा यति धेरै निष्क्रियता वा पलायनका प्रवृत्तिहरू देखापर्ने गर्दछन् भने पार्टीको राजनैतिक लाइन र सङ्गठनात्मक अवस्थाका बीचको बर्तमान असामञ्जस्यता र असन्तुलनको अवस्थामा सुधार नहुँदासम्म पार्टीले आजका सङ्गठनात्मक, राजनैतिक नीति र क्रियाकलापलाई अझ उच्च क्रान्तिकारी रूप दिने प्रयत्न ग¥यो भने, पार्टीभित्रको अनुशासनलाई अरू कडा प्रकारले लागू गर्ने प्रयत्न गयो भने वा प्रतिक्रियावादी र अवसरवादीहरूको विरुद्धको सङ्घर्षलाई अरू उच्च रूप दिने प्रयत्न ग¥यो भने त्यसप्रकारको असन्तुलन अरू तीव्र गतिले बढेर जानेछ, पार्टीका सदस्यहरू र कार्यकर्ताहरू निष्क्रिय हुने, जिम्मेवारीबाट भाग्ने वा पलायन गर्ने र त्यसरी पार्टी सानो र सङ्कीर्ण बन्दैजाने प्रक्रियामा अरू तीव्रता आउनेछ । त्यसकारण आजको विद्यमान उपरोक्त प्रकारको असामन्जस्यता र सन्तुलनलाई साफ गर्ने कार्यलाई उच्च प्राथमिकता दिनुपर्ने आवश्यकता छ । पार्टीको नीति बदल्ने वा चेतना र चिन्तनको स्तर उठाउने : आज पार्टीमा देखापरेका माथि उल्लेखित कमजोरीहरूले हाम्रा थुप्रै साथीहरूलाई चिन्तित र निराश बनाउँदै लगिरहेको छ, जो स्वाभाविक हो । त्यो अवस्थामा यो प्रश्न पनि उठ्ने गरेको छ । कहीं पार्टीका कार्यक्रम, नीति, कार्यप्रणालीमा कुनै गम्भीर कमजोरी भएर त्यस्तो भइरहेको त छैन ? यो अवस्थामा आजको समस्याको समाधानका दुई विकल्प हुन सक्छन्, प्रथम, पार्टीका कार्यक्रम, नीति, सङ्घर्षको रूप, प्रतिक्रियावादी र विरोधी पक्षहरूप्रतिको नीति नरम पार्ने वा जिम्मेवारी पूरा गर्न वा अनुशासनमा बस्न नसकेर निष्क्रिय बन्दै गइरहेका पार्टी सदस्यहरूको चिन्तन र चेतनास्तर वा आत्मसुरक्षाको मानसिकतानुसार अनुशासनलाई नरम, सुधारवादी, सम्झौतापरस्त वा खुकुलो पार्दै लैजाने । त्यो अवस्थामा पार्टीका नीतिहरूको विद्यमान प्रतिक्रियावादी व्यवस्थासित प्रत्यक्ष रूपले सामञ्जस्यता कायम हुनेछ, हाम्रो पार्टीमाथि सरकारद्वारा भइरहेको दमन कम हुनेछ । हाम्रो पार्टी विभिन्न अवसरवादी समूहबाट अलग्गिने सम्भावना कम हुनेछ र वर्तमान अवस्था अन्तर्गत हाम्रा साथीहरूलाई बढी आत्मसुरक्षाका स्थिति उत्पन्न हुनेछ । पार्टीका वामपन्थी नीतिका कारणले व्यापकरूपले बढिरहेको निष्क्रिय हुने वा पलायन गर्ने प्रक्रिया वा गति रोकिनेछ र पार्टीको आधार पुनः मजबूत हुन थाल्नेछ । तर यो पलायन, अवसरवाद, गद्दारीको बाटो हुनेछ । त्यो अवस्थामा पार्टीको आकार ठूलो भए पनि क्रान्तिकारी चरित्रको अन्त भएपछि यथार्थमा कम्युनिस्ट पार्टीको विघटन र विसर्जन नै हुनेछ । द्वितीय, पार्टीका सदस्यहरूको चिन्तन र चेतनाको स्तरलाई पार्टीको क्रान्तिकारी सिद्धान्त र राजनैतिक लाइनका स्तरमा उठाउने । त्यो अवस्था पार्टीको क्रान्तिकारी राजनीतिक लाइनका पक्षमा कार्यकर्ताहरू व्यापक रूपले आउनेछन् । उनीहरू पार्टीका नीति, निर्णयहरू तथा निर्देशनहरूलाई लागू गर्न वा अरू उच्च रूप दिन सक्रिय हुनेछन् । त्यो अवस्थामा क्रान्तिकारी नीतिहरूका कारणले पार्टी झन्पछि झन् सानो र सङ्कीर्ण हुँदै गइरहेको प्रक्रिया रोकिनेछ र यही नै एउटा क्रान्तिकारी पार्टीले अपनाउनुपर्ने सही पद्धति हो । त्यो कार्य पार्टी सदस्यहरूको चेतना र सैद्धान्तिक स्तर उठाएपछि नै सम्भव हुन्छ ।

क्रमश………

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here