कम्युनिष्ट आन्दोलनमा नेतृत्वको प्रश्न

0
764
  • आकाश

नेपाली जनताले नेपालको कम्युनिष्ट आन्दोलनलाई सहयोग गरिरहेका छन् । हाम्रो देशमा आफूलाई कम्युनिष्ट आन्दोलनको हिमायती बताउने अधिकांश समुहहरूले सामान्यत: राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा काम गरे पनि मूल रूपमा दक्षिणपन्थी बाटो समातेको र विदेशी, दलाल पूँजीपति, विस्तारवादी वा साम्राज्यवादी शक्तिहरूलाई नै सहयोग पुर्‍याईरहेको देखिन्छ । त्यस्ता पार्टीका नेताहरूमा देश र जनताका हितहरू भन्दा पद, पैसा, व्यक्तिगत लाभका लागि देश र जनताका हितहरूलाई दाउमा लगाउने प्रवृत्तिहरू पनि देखापरिरहेका छन् । नेपालमा वास्तविक कम्युनिष्टको पहिचानको समस्या गम्भीर प्रकारको छ । त्यस्तो अवस्थामा विभिन्न पार्टीको विषयमा जानकारी राख्ने जनता, कार्यकर्ता, प्रबुद्ध वर्ग, विभिन्न पार्टीमा आवद्ध नेताहरू समेतले प्रश्न उठाउने र चिन्ता प्रकट गर्ने गर्दछन्– भविष्यमा नेपाली कम्युनिष्ट आन्दोलन कुनदिशामा जाला ? कम्युनिष्ट आन्दोलनको नेतृत्व गरिरहेका व्यक्तिहरू वा आगामी आन्दोलनको नेतृत्वबारे पनि विभिन्न विचारहरू उठ्नु स्वभाविक छ । यस्ता विचारहरू विभिन्न प्रकारले उठ्ने गर्दछन् । नेपालको कम्युनिष्ट आन्दोलनले अहिलेसम्म जुन राजनैतिक भूमिका खेलिरहेको छ त्यो भूमिका भोलीका दिनहरूमा खेल्न सक्ला वा नसक्ला ?

हामीले संसारका विभिन्न आन्दोलनहरूलाई हेर्‍यौँ भने क्रान्तिकारी आन्दोलन निरन्तर चलिरहन नेतृत्वको महत्वपूर्ण भूमिका हुन्छ । कुनै व्यक्तिको दृष्टिकोण, क्षमता र योग्यता विना कसैलाई टिका लगाएर कुनै व्यक्तिले आन्दोलनको नेतृत्वगर्न सक्दैन । माक्र्स, लेनिन, स्टालिन र माओत्सेतु·ले कसैको हकदार वा कसैले घोषणा गरिदिएका कारणले आन्दोलनको नेतृत्वगर्न सक्षम हुनुभएको होइन । उस बेलाको विश्व परिस्थिति, जर्मन, रूस र चीनको अवस्थामा लामो समयसम्म वर्गसङ्घर्षको बाटोबाट तयार भएर उहाँहरु आउनु भएको थियो र सहि प्रकारले सिद्धान्तको प्रतिपादन गर्न आन्दोलनको नेतृत्वगर्न सक्षम हुनुभएको थियो ।

कुनै विषय बारे कसैले सही वा गलत व्याख्या मात्र गरेर कुनै सिद्धान्त सही वा गलत हुने गर्दैन । लेखिएका विषयहरूलाई व्यवहारको कसिमा जाँच्दा, आफुले अपनाउँदै आएको सिद्धान्तलाई व्यवहारमा लागू गर्दा, निर्णय भएका सैद्धान्तिक र व्यवहारिक प्रशिक्षणबाट प्राप्त निष्कर्षहरु व्यवहारको कसी तथा माक्र्सवाद–लेनिनवाद–माओत्सेतुङ विचारधाराको सिद्धान्तद्वारा निर्देशित छ कि छैन ? त्यस प्रकारका विचारहरुले फाइदावा नोक्सान के पुर्‍याइरहेको छ ? त्यसको जाँचगर्दै त्यसबारेमा व्यापक छलफल, समीक्षाहुनु आवश्यकहुन्छ । छलफल र समीक्षाको निष्कर्षबाट नै आन्दोलनलाई अगाडि बढाउन जरुरी हुन्छ । त्यस्ता तथ्यबाट सत्य खोज्ने नेतृत्व जसले आफ्ना वा अरूका गल्ति कमजोरीहरूलाई निर्धक्क स्वीकार वा अस्वीकार गरी अगाडिको बाटो पहिलाउन सक्षम हुन्छ तिनीहरुले नै वास्तविक अर्थमा नेतृत्व गर्ने क्षमता राख्दछन् ।

नेतृत्व तयार गर्ने प्रश्नभनेको आमकार्यकर्तालाई तालिमद्वारा तयार गर्ने प्रश्नहो । तालिम प्राप्त व्यक्तिहरूले सिकेका कुराहरूलाई व्यवहारमा लागु गर्दछन् वा गर्दैनन् त्यसको पनि समीक्षा गर्नु पर्दछ । समीक्षाबाट के निष्कर्ष निकाल्न सकिन्छ भने तालिम कति प्रभावकारी छ ? माक्र्सवादी–लेनिनवादी सिद्धान्तमा आधारित भएर काम भइरहेको छ कि छैन अनि तालिम प्राप्त व्यक्तिहरूले कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन र स्वयं परिवर्तन हुनपहल गरेका छन् कि छैनन् त्यस बारे गहिरो गरी ध्यान जानु पर्दछ । अहिलेसम्म अपनाएको सिद्धान्त र व्यवहारबाट कम्युनिष्ट आन्दोलन, पार्टी र सङ्गठनलाई अगाडि बढाउन कति फाईदा पुग्यो वा पुगेन वस्तुगत सोंचाइ राख्नु पर्दछ । त्यसबारेमा अध्ययन र अनुसन्धान हुनु पर्दछ । अध्ययन गर्ने शैलीको बारेमा माआत्सेतुङले बताउनु भएको छ “अध्ययनगर्ने शैलीको प्रश्न भनेको सोंच्ने तरिकाको प्रश्नहो, यसको सम्बन्ध नेतृत्वदायी निकायहरू, आमकार्यकर्ता तथा पार्टीका सम्पूर्ण सदस्यहरूसँग हुन्छ । यो प्रश्न हाम्रो माक्र्सवाद–लेनिनवादप्रतिको दृष्टिकोणसँग सम्बन्धित छ ।”
कुनै पनि व्यक्ति वा नेताको दृष्टिकोण, कार्यक्षमता, सङ्घर्ष र कामको जिम्मेवारी, उसले प्रयोग गर्दै आएको अभ्यासबाट नै विकसित हुँदै जान्छ । सुरुमा कम क्षमता भएका व्यक्तिहरूको सङ्घर्ष, सङ्घर्षको अनुभव, कामको जिम्मेवारी, कला र जनतासँगको कामको सम्पर्कबाट क्षमताको बृद्धिहुँदै जान्छ । त्यसको लागि सम्बन्धित व्यक्तिसँग सिक्ने र जिम्मेवारी पूरा गर्ने उर्जा भएको हुनुपर्दछ । त्यसबारेमा माओले भन्नु भएको छ : “सङ्घर्षका अनुभव, नेतृत्वको कला र जनतासँगको कार्य क्षमता कहिल्यै आकाशबाट खस्दैनन्, तिनीहरू क्रान्तिकारी सङ्घर्षको अभ्यासबाट क्रमश: बढ्दै जान्छन् । युवा कार्यकर्ताहरूलाई नेतृत्वको काम सुम्पने विचारबाट केही कामरेडहरू चिन्तित हुन्छन्, जसलाई तिनीहरूलाई राजनीतिक रूपमा कम तयार र गह्रौभारी बोक्ने साेंच्दछन् । यो गलत विचार हो । तिनीहरूलाई काममा जान दिनुस्, गरेर सिक्न दिनुस् तिनिहरू अरू योग्य हुनेछन् । यसरी राम्रा मान्छेहरू ठूलो सङ्ख्यामा आउने छन् ।”

माक्र्सवाद–लेनिनवाद पार्टी सदस्यहरूको आफ्नो कामप्रतिको दृष्टिकोणसित सम्बन्धित छ । यो दुईलाइन सङ्घर्षसँग घनिष्ट रूपले जोडिएको हुन्छ र जोडिनु पर्दछ । माओले भन्नु भएको छ– “सर्वहारावर्गको क्रान्तिकारी उद्देश्यका निम्ति उत्तराधिकारीहरूलाई तालिम दिने प्रश्नमा धेरै तिखो वर्गसङ्घर्ष र दुईलाइन सङ्घर्ष रहन्छ । सर्वहारावर्गको क्रान्तिकारी उद्देश्यका निम्ती उत्तराधिकारीहरू जनसङ्घर्षमा अगाडि आउँछन् र क्रान्तिको महान आँधिबेहरीमा खारिन्छन् ।” वर्गसङ्घर्षको सोंचाइ केवल पार्टी र सङ्गठन बाहिर मात्र हो भनेर सोंच्नु सहि होईन र त्यो सङ्घर्ष पार्टी भित्र पनि भइरहन्छ र हुनु पर्दछ । किन भने नेता वा कार्यकर्ताहरुले सामाजीक चेतनाको प्रभाव लिएर आएका हुन्छन् ।

क्रान्तिकारी अनुभवलाई हामीले अमूल्य सम्पत्तिको रूपमा लिनु पर्दछ । हाम्रो कार्यदिशा र सिद्धान्तमा हुने विचलनलाई सही बाटोमा हिडाउन त्यसबाट महत्वपूर्ण कार्य हुन जानेछ । त्यसको अभावमा सङ्गठनमा आवद्ध नभएको व्यक्तिनयाँ व्यक्ति सरह हुन सक्दछ । त्यसकारण क्रान्तिकारी अनुभवीहरूको सहयोगले गलत बाटोबाट सही बाटोमा पदार्पण गर्न भूमिका खेल्ने छ । अनुभव भनेको बितेका कुराहरू हुन् । राजनीति, समाज, व्यक्ति, भूगोल, संस्कृति आदि परिर्वतन हुने भएकोले अनुभवले मात्र परिवर्तनलाई नेतृत्वदिन सक्षमहुुन सक्दैन । त्यसकारण प्रतिभा र योग्यतालाई प्रयोगमा ल्याएर परिवर्तनलाई बुझ्ने योग्यताको आधारमा क्षमतालाई समाज विकासको नीयमबाट अगाडि बढाउन प्रतिभा र योग्यता अनुभव भन्दा महत्वपूर्ण कार्य हुने भएकोले माओत्सेतुङले अनुभव महत्वपूर्ण हुँदाहुँदै पनि प्रतिभा र योग्यताको तुलनामा दोस्रो स्थानमा राख्नु भएको छ । हामीले प्रतिभा र योग्यताको कदर गर्न नसकेर अनुभवलाई मात्र ध्यान दियौँ भने अवश्य पनि विगतको इतिहासको व्याख्या गर्ने बहस मात्र चलाउने छौँ, “यदि हामीले पुस्तालाई तिनिहरुको सम्पत्ति का आधारमा “वर्गीकरण” गर्‍यौं भने हामीले कार्यकर्ताको “क्षमता” र “योग्यता”तिर होइन बरु कार्यकर्ताको सम्पत्ति र उनीहरु कुन “पुस्ता” का हुन् भन्ने तिर मात्र रहेको हुनेछ र यसरी मजदूर गरिब तथा निम्न मध्यम किसानको बिचबाट उत्कृष्ट तत्वहरुलाई छान्न र तिनीहरुलाई नेतृत्व पदमा राख्न असम्भव हुनेछ, धेरै प्रतिभाहरू निकम्मा हुनेछन् र पार्टीको उद्देश्यले धोका खानेछ । हामीले “सम्पत्ति”को आधारमा पुस्ताको “वर्गीकरण” गर्ने गलत दृष्किोणलाई पुरै त्याग्नु पर्दछ र साहस पूर्वक नयाँलाई प्रोत्साहीत गर्नु पर्दछ ।”

कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन गलत विचार वा कार्यप्रणालीमा सुधार गरी सही अर्थमा नेतृत्वदायी भूमिका खेल्न, पुरानो र नयाँका बीचमा सामन्जस्यता कायम गर्न आलोचना र आत्मालोचनाको महत्वपूर्ण भूमिका रहेको हुन्छ । त्यसबारे ‘संगठन बारे दार्शनिक र सङ्गठनात्मक सिद्धान्त’मा लेखिएको छ : “अन्तरपार्टी आलोचना पार्टी संगठनलाई बलियो बनाउने र यसको लड्ने क्षमतालाई वृद्धिगर्ने हतियार हो” “आलोचना र आत्मालोचना गर्दा हामीले तथ्यबाट सत्य खोज्नु पर्दछ । जनतालाई कारण सहितका तर्कहरूबाट विश्वास दिलाउन सक्नु पर्दछ । हामीहरूले यो नियमित रूपमा र छिटो गर्नु पर्दछ । समस्या थुप्रीने गरी, अत्यन्त गम्भीर हुने गरि र सबैलाई एकैचोटी समाधान गरौँ भनी पर्खिनु हुँदैन । यो विधिअनुसार जाने हो भने धेरै क्षतिहुन सक्दछ, जब कि छिटै हस्तक्षेप गर्‍यौ भने क्षतिलाई कम गर्न सकिन्छ । आलोचना र आत्मालोचनाको हतियारलाई प्रयोग गरेर हामीले सङ्गठनको समग्र जीवनलाई गहिरो गरी सुद्धिकरण गर्नु पर्दछ ताकि पार्टीको सङ्गठनात्मक जीवन गतिशिल होस् ।”

सही रूपमा कम्युनिष्ट आन्दोलनको नेतृत्वगर्न माक्र्सवाद–लेनिनवाद–माओ विचारधारा सिद्धान्तलाई पक्रेर वर्ग समन्वय होइन, तिखो वर्गसङ्घर्ष र दुईलाइन सङ्घर्षको अनुभव प्राप्त व्यक्तिबाट सिकेका कुराहरूलाई व्यवहारमा लागु गर्न सक्ने, समाज विकासको वर्गीय सङ्घर्षबाट तयार भएको, सङ्घर्षको बाटोबाट खारिएर सिद्धान्त र व्यवहारलाई जोडेर काम गर्न सक्ने, अर्कोलाई उपदेश मात्र होइन स्वयं परिवर्तन भई व्यवहारमा देखिन सक्ने, अनुभवलाई मात्र होइन प्रतिभा र योग्यताको कदर गर्न सक्ने, आलोचना र आत्मालोचना द्वारा सङ्गठनको समग्र जीवनलाई गहिरो गरी सुद्धिकरण गर्न सक्ने, जनतालाई कारण सहितका तर्क र विवरणहरूद्वारा विश्वास दिलाउन सक्ने, बस्तुस्थितिको आँकलनर तथ्यबाट सत्य खोज्न सक्ने कुनै कार्यकर्ता नैनेतृत्वदायी भूमिका खेल्न सक्षम हुँदै जान्छ । समाजमा यो क्रम निरन्तर चलिरहने प्रक्रिया हो र चलिरहन्छ ।
मिति : २०७४ कार्तिक ७ गते

(यो लेख नेपाली समाचार वर्ष ७, अंक ४१, डिसेम्बर २२, २०१७ मा प्रकाशित भएको थियो ।) 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here