कतारमा नेपालीहरुको अवस्था र अनुभव

0
440

समस्या र बाध्यता “समयको नियती” जो कोहीको जीवनमा आउने कुरा हो, यो स्वाभाविक कुरा हो । यसलाई सहर्ष स्वीकार्नुको विकल्प अरु देखिदैन । बरु जहाा जस्तो हालतमा रहेर भए पनि त्योसाग मुकाबिला गर्नु बुद्धिमानी हो । देशको राजनीति उथुलपुथल र केही आफ्नै नितान्त व्यक्तिगत बाध्यताले देश छाडी परदेशको यो खाडीमा पाइला टेक्नु पनि बाध्यता नै हो । एकातिर घर–परिवारबाट टाढा बस्नु पर्दाको पीडा अर्कोतिर नेपालीहरूप्रति गरिने भेदभावको शिकार हुनुपर्दा धेरै भन्दा धेरै नेपालीहरूले अकालमै ज्यान गुमाइरहेका छन् । विदेशमा नकारात्मक सोंचाईले कतिपय अवस्थामा आत्महत्या समेत गर्न पछि पर्दैनन् । पछाडि फर्केर हेर्दा कहाली नै लाग्ने भैसकेछ । त्यसमाथि ‘जो होंचो उस्को मुखमा घोंचो’ भने झैं मौसमले पनि हामी नेपालीलाई साथ नदिइरहेको अवस्था पनि हो । यस्तोमा सम्हालिएर आफ्नो कर्तव्य निर्वाह गर्नु आफैमा चुनौती हो ।

आफ्नो मूल्य आफै तिरी बेचिनु पर्दाको पीडा (कस्तो बिडम्बना)लाई थाती राखेर अरुको अधिनमा स्वविवेकलाई बन्धक बनाई कडा परिश्रम गर्नुपर्दा असहज स्थितिको सामना त जो कोहीले पनि गरेकै हुन्छ । प्राय हामीहरू घर देश छाडी विदेश भासिइ सकेपछिको अवस्थामा मात्र पैसा कमाउने धुनमा हुने गर्छौं भने सोंचे अनुरुप धन एकिकृत गर्न नसकेमा मानसिक रुपमा विक्षिप्त हुन्छौं । जस कारण हामी संधै तनाबमा हुने गर्छौं । फलस्वरूप सफलता भन्दा असफलता बढी हावी भएको महशुस गर्छौं तर सत्य अर्कै हुन्छ । एक त खाडी मुलुक उसै त हावापानी नमिल्ने अर्को समय पनि नमिल्ने । नेपाली समय यहाँको भन्दा २.४५ घण्टा छिटो दौडने हुनाले पनि यस्तो भ्रम सृजना भैदिन्छ । जसको सास्ती नेपालमा बस्नु हुने आफ्ना आफन्तहरूले खेप्नुपरिरहेको हुन्छ । जस्मा हाम्रो ध्यान गएकै हुँदैन । त्यसो भएको हुँदा यहाँ रहनुहुने कतिपय दाजुभाइहरूमा भ्रम उत्पन्न भैदिन्छ कि आफ्नो दैनिकीसँग नेपाली दैनिकी पनि मिल्छ भनेर, तर यथार्थमा त्यसो हुन्न तर नेपालमा रहनुहुने हाम्रा आफन्तजनहरू त व्यस्त नै भैरहनुभएको हुन्छ । यस्तोमा नाना भााती शंका उपशंका गरी पटक पटक फोन गरेर घरका सदस्यहरूलाई तनाव दिनु मुख्र्याई हो । हामीमा एउटा बानीको विकाश हुनु अत्यावश्यक छ त्यो हो फुर्सदिला क्षणको सदुपयोग गर्ने । सदुपयोगिताको सिद्धान्तमा हामी चल्न थाल्यौं भने पक्कै पनि आशान्वित फल प्राप्त गर्न सकिन्छ भने तनावबाट पनि हामी शतप्रतिशत मुक्त हुन्छौं ।

अब रह्यो सदुपयोग कसरी गर्ने ? “ज्ञान लिनु अति आबस्यक छ” हामी यस्तो सर्कलमा घुलमिल हुनु आवश्यक छ जहाँ बौद्धिक बर्ग होस् । राजनैतिक धरातल होस । उहाँहरूबाट केही सिक्ने केही जान्ने मौका पाउँछौं । त्यस्तै विभिन्न संघसंस्थाहरूमा आबद्द भैई सामाजिक कृयाकलापमा आफूलाई सहभागी गराउन सके एक त परिचित हुने अवसर जुट्छ अर्को आत्मसन्तुष्टि पनि प्राप्त हुन्छ । यसले हामीलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा फाईदा पुर्याउँछ । सदुपयोगिताका सिद्धान्त आफूमा लागू गर्दै जानू पर्दछ । त्यसको लागि कुनै ठूलो योजना बनाउनु आवश्यक छैन । सानो भन्दा सानो काममा हामी आफूलाई अल्मल्लाउन सक्छौं जस्तै किताबहरू पढ्नु, अनलाईनमा समाचारहरू हेर्नु, केही मनका भावनाहरू कोर्नु अथवा सुन्दर दृश्यावलोकन गर्नु इत्यादि ।

वास्तबमा हो पनि । “शंकागर्न हुँदैन होइन” अनावश्यक शंकाले बनिबनाउ घर भत्किन बेर लाग्दैन । समय समयमा घरपरिवारको अवस्था हालचाल बुझ्नु छुट्टै कुरो हो तर छिनछिनमा एउटै कुरा दोहोराइ तेहेराइ घरका सदस्यहरूलाई तनाव भिडाउनु आफैमा लज्जास्पद र हानीकारक कुरा हुन् । यसो हुनुको अर्को एउटा कारण समय अन्तर हो भने अर्को ड्युटी अफ भएको पुरै समय अनावश्यक सोंचेर होहल्लामा बिताउनाले हो । त्यसलाई मैले समस्याको रुपमा नलिई अवसरको रुपमा लिएको छु । केही सिक्ने केही अनुभूत गर्ने परिकल्पना सहित म होम्मिएँ यो महासागारमा । यसैलाई मैले परदेशी जीवनको सबैभन्दा ठूलो उपलब्धि मानेको छु । आफ्नो व्यक्तिगत अनुभवमा म केही हदसम्म सफल पनि भएँ । यहाँनेर प्राय हामी खाडी मुलुकमा बस्ने सबैले अनुभव गरेकै कुरालाई पनि सम्झन चाहन्छु । खाडी मुलुक अचाक्ली गर्मी हुने ठाउँँ हो । “मदिरा अमृत होइन” यस्तो वातावरणमा मदिरा सेवन गर्नाले शारीरिक रुपमा अत्यन्तै घातक सिद्द हुन्छ । बरु यस्को साटो प्रसस्त मात्रामा पानी र झोल पदार्थहरू पिउनु पर्छ । यसले हाम्रो शरीरको तापक्रम बाहिरी वातावरणसँग सन्तुलन हुनुको साथमा पैसा र समय को बचत पनि हुने छ ।

समस्या हल गर्ने ध्ययमा जन्मभूमिबाट अलग भैसकेको अवस्थामा स–साना कुराहरुमा आफूलाई बहकाउनु पक्कै पनि राम्रो कुरो हैन । भौगोलिक हिसाबले हामी आफ्नो जन्मथलोदेखि टाढा हुनुपर्दा हरेक कुराहरू फरक लाग्नु स्वाभाबिक कुरा हो । “मायाले सन्सार थाम्दैन हजुर” माया प्रेमका नाटक मञ्चन गरेर कमाएको सारा सम्पती झ्याप पार्ने कुटिल चालमा पर्नुभएका हाम्रा थुप्रै दाजुभाइ दिदिबहिनीहरु हुनुहुन्छ । यसले एकातिर आफ्नो मेहनत खेर गैइरहेको छ भने अर्कोतिर आफैलाई बढि मानसिक कष्ट परिरहेको छ । यस्तोमा कोही साथीहरू त विक्षिप्त समेत् हुनुभएको देखिएको छ । अत: यस्ता झिनामसिना कुराहरूमा आफूलाई अलमलाउन हुन्न भन्ने मेरो मान्यता हो । त्यस्तै हामी मध्ये कतिपय साथीहरू विविध देशहरूबाट आएका कामदार मित्रहरूसाग घुलमिल हुन्छौं । घुलमिल हुनु आफ्नै ठाउँमा छ त्यही घुलमिललाई मायाको नाम दिएर अन्य गलत गतिबिधिमा लाग्नु एकदमै ठूलो भूल हो । मिठो बोल्दैमा कोही कसैको मनमा पस्न सक्दैन । भ्रमका खेती गर्नेहरू प्रसस्त छन् यहाँ ।

अन्तमा सानो मान्छेको उही आग्रह मान्छेको जीवनमा जति नै धन दौलत हात लागे पनि समस्याले कहिले पनि छाड्दैन । त्यसैले जे जति छ त्यतिमै चित्त बुझाउन सिकौं र आफ्नै देश फर्की यहाँका कम्पनीमा खटे जतिक्कै इमान्दारिता र लगनशिलताका साथ आफ्नै माटोमा परिश्रम गरौं । यसबाट प्राप्त हुने थोरै धन नै सही तर धेरै आत्मसन्तुष्टि मिल्नेछ भन्ने मेरो विश्वास छ । कमसेकम आफ्नो परिवारको साथमा त रहन पाउनेछौं । उनीहरूको साथ एवं हौसलाले थप उर्जा पाउनेछौं । यदि त्यसो हो भने किन हामी पनि अब आफ्नै स्वदेशमा बसेर समस्या र बाध्यताहरूसँग पौंठे जोरी नखेल्ने ? किन मुकाबिला नगर्ने ? जस्ता दह्रो सोंच र चेतना हामी भित्र सल्बलाइरहेको छ जस्लाई म अनुभूत गरेको छु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here