माघ २६, काठमाडौं । रक्तिम साँस्कृतिक अभियान काठमाडौ महानगरले राष्ट्रिय नाचघर जमलमा “रक्तिम विशेष शो” कार्यक्रम सम्पन्न गरेको छ । आसन्न फागुन १–३ सम्म पोखरामा हुन गइरहेको अभियानको चौथो राष्ट्रिय सम्मेलनको तयारीको अवसर पारेर महानगरले उक्त शो सम्पन्न गरेको हो ।
महानगरका कलाकारहरुले “उर्लेर आउँदा गण्डकीको भेलले” बोलको गितले दर्शकहरुलाई स्वागत गरेका थिए । शो मा रक्तिम अभियानका थुप्रै गितहरुमा नृत्य प्रस्तुत गरिएको थियो ।
“यो रातो लालटिन”, “आँधिको बेग बनी”, “शिशिर चिर्ने” “फुल फुल्छ कोपिला बनेर”, “क्रान्ती आफै आउन्न”, “काठमाडौको सिंहदरवार”, “अक्टोबर क्रान्तिलाई लालसलाम”, “त्यहाँ फुट्छ ज्वालामुखी” लगायतका गितमा कलाकारले निकै जोसिलो नाच प्रस्तुत गरेका थिए ।
कलाकारहरुले प्रस्तुत गरेको मिनि अपेराले दर्शकलाई भावबिबहल बनाएको थियो भने संघीयता बिरुद्धको नाटक “संघीयताको फल”ले निकै रमाइलो बनाएको थियो । कमल रानाको “मलाई बोल्नलाई डर छैन” भन्ने कमेडीले हलमा हाँसोको माहोल बनेको थियो ।
बालकलाकार सफल परियारले गाएको “जान्न बाबा बोर्डिङ स्कुल लगिदिनु स्कुल सरकारी” गितले हललाई निकै तताएको थियोे । हेमराज आश्रमले प्रस्तुत गरेको “धनी घर छेक्न प्रखाल उठाउँछ, गरिव छानो टाल्न त्रिपाल उठाउछ” बोलको गजल र कार्यक्रमको अन्त तिर प्रस्तुत गरेको “हामी एक बनौं एक बनौं” गितको प्रस्तुति निकै सान्दर्भिक भएको थियो ।
कार्यक्रममा सुप्रभा थापा, बिष्णु शर्मा, गिता थापा, माया पुन, मधु क्षेत्री, कमल राना, शोभा गोपाली, प्रेमा राना, सुनिता थिङ, भुपाल, एनिना, गणेश, शोनु, रेबिका, सुजना, करुणा, निश्चल, उज्ज्वल, कल्याण लगायतका कलाकारहरुको सहभागिता रहेको थियो । रक्तिम विशेष शो कार्यक्रमको सञ्चालन भने सुवाश जि सि र पुस्पा पोख्रेलले गर्नुभएको थियो ।