देशमा प्रतिगमनको खतरा कायमै छ : रामप्रकाश पुरी

0
217

इटहरी । नेकपा (मसाल) का केन्द्रीय प्रवक्ता राम प्रकाश पुरीले देशमा अहिले पनि प्रतिगमनको खतरा रहेको औल्याउनु भयो । पुरीले अखिल नेपाल जनजाति सम्मेलनको चौथो राष्ट्रिय महाधिवेशन सफलताको शुभकामना दिदै– “यो होइन कि देशमा राजनैतिक आन्दोलन र क्रान्तिहरु भएपछि त्यहाँ पुराना प्रतिक्रियावादी शासकहरुको पुनरागमन हुन सक्दैन, दुनियाँका धेरै देशहरुमा त्यस्तो भएको हामीले देखिरहेका छौँ” प्रवक्ता पुरीले भन्नु भयो– “हाम्रो देशमा पनि प्रतिगमनको खतरा अहिले पनि जीवित रहेको छ । त्यसैले हामी यसतर्फ पनि सचेत बन्नै पर्दछ ।”

अन्तर्राष्ट्रिय नेपाली एकता समाजका अध्यक्ष गङ्गा पौडेलले महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै ग्रामीण वर्गसङ्घर्षलाई माथि उठाउने गरी महाधिवेशनले कार्यक्रमहरु तय गरेर अगाडि बढोस् भन्ने शुभकामना दिनु भयो ।

अखिल नेपाल जनजाति सम्मेलनको उक्त चौथो राष्ट्रिय महाधविशेन उद्घाटन समारोहलाई अखिल नेपाल युवक सङ्घका केन्द्रीय अध्यक्ष अनिल किशोर घिमिरे, जातीय समता समाजका केन्द्रीय अध्यक्ष दिल बहादुर विक र प्रगतिशील पत्रकार सङ्घ नेपालका अध्यक्ष नारायण शर्माले समेत सम्बोधन गर्दै सफलताको शुभकामना दिनु भएको थियो ।

महाधिवेशन सफलताको शुभकामना दिने अन्य अतिथिहरुमा अखिल नेपाल ट्रेडयुनियन महासङ्घ (अन्टुक) का केन्द्रीय उपाध्यक्ष टिकाराम पौडेल, अखिल नेपाल किसान महासङ्घका महासचिव कृष्ण केसी, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका केन्द्रीय कोषाध्यक्ष गोपाल गिरी, अखिल (छैठौं) का केन्द्रीय सदस्य बबिन राई, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सदस्य हेमराज आश्रम, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य कोपिला शङ्कर र अखिल नेपाल शिक्षक सङ्घका केन्द्रीय सदस्य दिनेश थापा लगायत रहनु भएको थियो । उद्घाटन समारोहमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार काजिलाल वाइबा, केन्द्रीय सदस्य राधिका खतिवडाको समेत आतिथ्यता रहेको थियो ।

अध्यक्ष निम बहादुर बुढाको अध्यक्षता र सचिव वीर बहादुर पुनको सञ्चालनमा अघि बढेको सो उद्घाटन समारोहमा स्वागत मन्तव्य महासचिव राम बहादुर बुढाले राख्नु भएको थियो । ज्ञात अज्ञात सहिदहरूप्रति एक मिनेट मौनधारण पश्चात् अघि बढेको सो महाधिवेशनको उद्घाटन प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले पानसमा बत्ति बालेर गर्नु भएको थियो ।

उद्घाटन सत्र सुरु हुनु अघि विभिन्न झाँकी सहितको विशाल जुलुसले गगनभेदी नारा लगाउँदै इटहरी बजार परिक्रमा गरेको थियो । उद्घाटन सत्रको बीचबीचमा रक्तिम कलाकारहरुले विभिन्न गीत तथा नृत्यहरु समेत प्रस्तुत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here