जातीय समस्या वर्गीय समस्याकै उपज हो : चित्र बहादुर केसी

0
463

इटहरी । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले जातीय समस्या भनेको वर्गीय समस्याकै उपज भएको बताउनु भएको छ । केसीले अखिल नेपाल जनजाति सम्मेलनको चौथो राष्ट्रिय महाधिवेशन २०७५ माघ ११–१३ मा सुनसरीको इटहरीमा सम्पन्न महाधिवेशनको उद्घाटन मन्तव्यमा सो अभिव्यक्ति दिनुभएको हो ।

प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा जनप्रिय नेता चित्र बहादुर केसीले सबै जनजातिभित्रका शोषित–पीडितहरु एकजुट भएर अगाडि बढ्नु पर्ने बताउनु भयो । “जनजातिका टाँठाबाठा र कथित ठुला जातिका टाँठाबाठा शोषकहरु एकै ठाउँमा भएका हुन्छन् । त्यसैले सबै जातिका शोषित–पीडितहरु पनि एकै हुनु पर्दछ”

केसीले अगडि भन्नु भयो– “जातीय समस्या भनेको वर्गीय समस्याकै उपज हुन् । वर्गीय समस्या समाधान नहुँदासम्म समाजमा जातीय तथा लैङ्गिक समस्याहरु समाधान हुन सक्दैनन् ।”

सम्बोधनका क्रममा अध्यक्ष केसीले देशको राज्य संयन्त्रमा अहिले पनि कुनै परिवर्तन नआएको प्रष्ट पार्नु भयो । “किसानहरु रुँदै हिडेको सिंहदरबारमा बस्नेहरुले अझै पनि बुझ्न सकेका छैनन् । नेपाल सरकारको काम यहाँको जनशक्तिलाई कसरी बाहिर पठाउने भन्ने देखिन्छ” अध्यक्ष केसीले भन्नु भयो– “देशमा पुरानो राज्य मेसिनरी अहिले पनि कायम छ । नेपाल अहिले पनि अर्धसामन्ती र अर्ध औपनिवेशिक अवस्थामा छ । देशको यो अवस्थामा आमूल परिवर्तन नगर्दासम्म जनताका आधारभूत समस्याहरु समाधान हुन सक्ने छैनन् ।”

केसीले कुनै पनि देशको विकास हुनका लागि सबैभन्दा पहिले त्यो देशका जनताको चेतनास्तरमा विकास हुनु पर्ने बताउनु भयो । नागरिकता सम्बन्धी राज्यको नीतिलाई खुकुलो पार्न नहुने बताउँदै अध्यक्ष केसीले देशको राष्ट्रिय अखण्डता र सार्वभौमिकतामै गम्भीर असर पुग्ने गरी फेरि पनि संविधान संशोधनको तयारी भइरहेको खुलासा गर्नु भयो ।

“फेरि पनि संविधान संशोधनको कुरा चलिरहेको छ । कुरा प्रष्ट छ– अब आउने संशोधन भनेको सुनसरी–मोरङलाई एक नम्बरबाट अलग गराउनु पर्छ भन्ने हो । अङ्गीकृत नागरिकतावालाले पनि राष्ट्रपति, सेनापति बन्न पाउनु पर्छ भन्ने हो” केसीले भन्नुभयो– “देशको राष्ट्रिय अखण्डता र सार्वभौमिकतामै गम्भीर असर पर्ने गरी संविधानमा त्यसरी संशोधन गर्न दिनै हुँदैन ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here