पौष १७, बुर्तिबाङ । ढोरपाटन नगरपालिकाको नेतृत्वबाट संबैधानिक तथा कानुनी प्राबधानहरुलाई कुल्चेको आरोप सहित वडा नं ४ ले ए प्रेस विज्ञप्ती जारी गरेको छ । वडा अध्यक्ष तिलक पुन, सदस्यहरु क्रमशः कमला छवि विक, तिल बहादुर फगामी र ललितमान विकले एक संयुक्त विज्ञप्ती जारी गरि नगर प्रमुखले स्थानीय तहका पदाधिकारीहरुको कानुन प्रदत्त अधिकारमाथि हस्तक्षेप गरेको बताएका छन् ।
“कानुनी व्यवस्थालाई मिचेर ढोरपाटन नगरपालिकाको मिति २०७५/०७/१२ को कार्यपालिका बैठकले नगरपालिका अन्तर्गतका सबै वडाहरुमा सञ्चालन हुने योजनाहरुको उपभोक्ता समिति नगर प्रमुख तथा उपप्रमुखबाट गठन हुनेगरी निर्णय गरेको थियो ।” विज्ञप्तीमा अगाडि भनिएको छः “त्यसरी कार्यपालिकाबाट वडा समितिको क्षेत्राधिकार माथि हस्तक्षेप गर्नु लोकतान्त्रिक पद्धति र मूल्यमाथिको प्रहार थियो । त्यसैले हामीले सुरुदेखि नै नगर प्रमुख तथा उपप्रमुखबाट उपभोक्ता समिति गठन गर्न नहुने मत राख्दै आएका थियौं र आफ्ना अडानहरु पेश गरिरहेका थियौं ।”
उक्त संयुक्त विज्ञप्तीमा अगाडि भनिएको छः “बैठकले त्यो उपभोक्ता भेला आयोजना भएको कार्यबाट वडा समितिको अधिकार माथि हस्तक्षेप भएको र वडा समितिलाई भेलाको जानकारी समेत नभएको कारण सो भेलामा वडा समितिको तर्फबाट सहभागिता नजनाउने निर्णय ग¥यो । सोही निर्णय बमोजिम हामी भेलामा सहभागी भएनौं ।”
ऐनको व्यवस्थालाई मिचेर वडा समितिलाई जानकारी समेत नदिई आयोजना भएको उक्त भेलामा ठूलो संख्यामा प्रहरी र आफू आबद्ध दलका नेता कार्यकर्ता सहित उपस्थित भएका नगरप्रमुखबाट औपचारिक मञ्चबाट नै वडा अध्यक्ष आफ्नो कमजोरीका कारण भेलामा उपस्थित हुन डराई ‘लुकेको’ ‘भागेको’ जस्ता अपमानजनक लाञ्छनाहरु अनर्गल प्रकारले लगाउने कार्य भएकोमा विज्ञप्ती मार्पmत खेद प्रकट गरिएको छ ।
“नगर प्रमुखबाट जनसमुदायलाई वडा अध्यक्षका विरुद्ध उक्साउन वडाको फलामखानी गाउँ जोड्ने मोटरबाटो योजनामा आर्थिक अनियमितता भएको र त्यसको छानविन गरी जनताको बीचमा कारबाही गर्न आफूले ‘महालेखापरीक्षक’ र ‘अख्तियार’ लिएर आउने जस्ता हास्यास्पद एवं लज्जास्पद अभिव्यक्तिहरु दिइयो ।” विज्ञप्तीमा उल्लेख छः “नगरपालिकाको बजेटमा नगरप्रमुखको एकलौटी अधिकार हुने बताउँदै वडा नं. ४ का योजनाहरुको बजेट आफूले चाहेमा अन्य वडाहरुमा पठाउन सक्ने भनेर जनतालाई त्रसित र भ्रमित पार्ने कार्य भयो । नगरपालिकाको नेतृत्वबाट कानुनी व्यवस्था, न्यूनतम मर्यादा र सीमा समेतलाई मिचेर गरेको त्यस प्रकारको निन्दनीय कार्यप्रति हामी गम्भीर आपत्ति प्रकट गर्दछौं र भ्रत्सना गर्दछौं ।”
ढोरपाटन नगरपालिकाको नेतृत्वबाट संबैधानिक तथा कानुनी प्राबधानहरुलाई कुल्चेर जुन प्रकारले वडा समिति र अन्य पदाधिकारीहरुको कानुन प्रदत्त अधिकारमाथि हस्तक्षेप गर्ने, नगरपालिका क्षेत्रभित्र संचालित विभिन्न निकायहरुलाई आफ्नो नियन्त्रणमा लिने, नगर सभाबाट पारित बजेटहरु मनोमानी प्रकारले रकमान्तर गर्ने, व्यक्तिगत चाहना अनुसार अनियन्त्रित प्रकारले नगरपालिकाको बजेट बाँड्ने, मनपरि प्रकारले नगरपालिकाको नीतिगत निर्णय लिने जस्ता कार्यहरु भएको वडा पदाधिकारीहरुले विज्ञप्तीमा जनाएका छन् ।
“त्यसले वास्तवमा विधिको शासन र लोकतान्त्रिक मूल्य, मान्यतालाई नै निस्तेज पार्दै लगिरहेको छ ।” त्यसको नियन्त्रणको लागि सम्पूण निर्वाचित जनप्रतिनिधीहरु, राजनीतिक दल, सञ्चार जगत, बौद्धिक वर्ग, नागरिक समाज लगायत तमाम जनसमुदायमा समयमा नै आवश्यक पहल कदमी उठाउन अपिल समेत गरिएको छ ।