बिजय बावु मेरो छोरा ! तिमिले यो संसार बुवा, आमा, दिदी, बहिनि, आफन्त, ईष्टमित्र, साथि, भाई छाडेर गयको आज छैठौं दिन भयो । भोलि सातौं दिनको दिन तिम्रो सम्झनामा हार्दिक श्रद्धाञ्जली कार्यक्रम गरेर अन्तिम बिदाई गर्दैछौ ।
मेरो जीवन रहुनजेल तिम्रो सम्झनाले र सङ्गै रहेको रमायको कहिले काहीं झगडा गरेको ती अतितका दिनहरुले झस्काई रहने छ ।
तिम्रो काल बनेर आयको त्यो दिन पनि मैले सँधैझै सुतिरहेको तिमिलाई बिहानै ६ बजे उठाएर कलेजको गेटसम्म पुरायर फर्किएँ, त्यो नै अन्तिम भेट र बिदाई रहेछ ।
मलाई के थाहा ? थाहा भएको भए मैले तिमिलाई घरमै सुति रहन दिने थिएँ । बिहानै आमा सुतिरहेको ठाउँमा पुगेर “आमा म कति हेन्सम छु ?” भनेर भन्न भ्याएका रहेछौ । तिम्रो आत्माले म चाडै यो संसार छाडि जाँदैछु भन्ने थाहा पाईसकेको रहेछ । त्यसैले त सुतिरहेको ठाउँमा आमालाई भेटि म कति हेन्सम छु आमा भन्न गयौ ।
कलेज जाँदै गर्दा तिमिले सदा झैं “बुवा ईस्कुटि कहिले किन्ने हो ?” भनेर सोध्यौ । मैले किन आत्तिएको भर्खर दुई–तिन महिना भएको छ । कलेज जानलाको अझै तीन बर्षको कोर्स छ, लाईसेन्स पनि छैन, तिम्रो पहिला लाईसेन्स बनाएर किनौला स्कुटि, भनेको थिएँ ।
कलेज आउन पनि तिमिलाई सँधै मैले छाड्न आउँछु नभ्याएको बेला जागर नलागेको बेला आफै बाईक चलायर जाउ भनि बाईक दिने गरेको छु । न आत्यौ पछि किनौंला भने । तर मलाई के थाहा तिमी चाडैं नै स्वतन्त्र भएर आफ्नो स्कुटी वा बाईक चलाउने रहर पूरा गरि हामीसँग बिदा हुने चाहाना रहेछ ।
अफ्सोच छ !मलाई तिम्रो चाहाना पूरा गर्न सकिन माफ गर्नु छोरा । अर्को कुरा तिमिले आफ्नो ईच्छा अनुसार पढिरहेको कलेज र बिषय छाड्न लगाई राम्रो होला भनेर टेक्निकल बिषय पढन सहिद कृष्णसेन ईच्छुक बहुउदेस्य प्राबिधिक शिक्षालयमा अनुरोध गरें, तिमिले पनि स्वीकार गर्यौ तर त्यो नै जिन्दगीको ठूलो भुल भयो मबाट ।
मैले तिमिलाई पढ्न हैन मृत्युको मुखमा लगेर राखिदिए छु । सरि बावु बिजय छोरा, सक्छौ भने माफ गर । तिम्रो हाम्रो बिचको सहयात्रा कुराकानीसङ्गै बसेको, नाँचेको, हासेको, तिम्रो चाहाना पूरा नभई अधुरो रहेका यी र यस्तै अतितका कुराहरुले संधै सम्झना र पछुतोले झस्काईरहने छ ।
तर पनि बावु बिजय छोरा म बाचुनजेल म जहाँजहाँ जान्छु त्यहाँ तिम्रो नाम आउने र अमर रहने गरि भोलि १२ गते सातौं दिनको श्रद्धाञ्जली सभामा प्रण गरेर अन्तिम कार्यक्रमका साथ बिदाई गर्ने छु ।
अलबिदा बावु बिजय जिएम मेरो एक मात्र प्यारो छोरा अल बिदा ।
गत साता दाङ–सल्यान सडक खण्ड राम्रीमा भएको दुर्घटनामा धेरैले ज्यान गुमाए । त्यसै मध्यमा एक थिए विजय जिएम । उनी अखिल नेपाल जनजाति सम्मेलन केन्द्रीय समितिका सदस्य तथा दाङ जिल्लाका अध्यक्ष रामबहादुर जिएमका एक मात्र छोरा थिए ।