ऋतु केसी
जङ्गे पिलरको निसानी त कता हो कता
सहायक पिलरको बहानामा
एकैरातमा पचासौं विगाह जमिन
हरायो रे–मेरो सिमानामा
पारिपट्टिको जी, हजुरी र डरले होला
यो देशको सरकार, हात्ती पार्टी
मानव अधिकार कर्मी, सीमाविद र बुद्धिजीवी
चूँसम्म बोल्दैनन् मेरो सिमानामा
कस्तो राष्ट्रियता, कस्तो देशप्रेम हो तिम्रो ?
देशकै सीमा रातारात गायब हुँदा समेत नदुख्ने,
कस्तो भावना, कस्तो मानवता छ तिम्रो मनमा ?
आफ्नै आमाको अस्मिता लुछिदा पनि नबोल्ने
तिम्रो त्यो निरिहता देखेर क्रोधित छु आज म
तिम्रो राष्ट्रियता देखेर अचम्मित छु आज म
शीर तिमीले झुकाएका छौ
स्वर तिमीले कपाएका छौ
तर लज्जित म बनिरहेकी छु
कठै, तिम्रो स्वार्थ
के बुझाउँछौं भोलिको पुस्तालाई ?
के सुम्पन्छौ नयाँ पिाढीलाई ?
इतिहासमा खुकुरी र तरवारले जोगाएको सीमा
बन्दुक र तोपसितका वैरीसँग नझुकेका ती शीरहरु
आज, सिंहदरबारको त्यही कुर्सीका लागि
आसेपासे र आफ्नै लागि सम्पत्ति थुपार्न
शीर झुकायौं हैन तिमीले ?
झुक ‘अझै झुक’
कतिसम्म झुक्न सक्छौ झुक
कतिसम्म गिर्न सक्छौ गिर
तर याद राख
इतिहासले तिमीलाई माफी दिने छैन
वर्तमान सधौभरि मौन बस्ने छैन
स्वाभिमानी देशभक्त जनता हेरी मात्र रहेन छैनन्
तिमीले गरेको राष्ट्रघात र गद्दारीको
एक एक गरी हिसाब चुक्ता गर्न,
जुर्मुराउने छन् युवा,
जुर्मुराउने छन् महिला
जुर्मुराउने छन् विद्यार्थी, किसान र मजदुरहरु
अनि जुर्मुराउने छ सिङ्गो देश
त्यो दिन,
तिम्रो हारसँगै देशले जित्ने छ
नेपाली सिमानाले जित्ने छ
सिङ्गो नेपाली राष्ट्रियताले जित्ने छ
याद राख,
त्यो सुन्दर बिहानी छिट्टै आउने छ
हो–त्यो पक्कै आउने छ ।
२०७४ माघ ६ (वनस्थली, काठमाडौं)