राष्ट्रिय जनमोर्चाद्वारा संघर्षको घोषणा

0
770
Chitra Bahadur KC. Photo: Bijay Gajmer/Republica/Nagarik

काठमाडौं । धर्मनिरपेक्ष राष्ट्र नेपालमा इसाई धर्मको प्रचारका नाममा साम्राज्यवादी स्वार्थ पूरा गर्न योजनाबद्ध प्रकारले अवाञ्छीत गतिविधिहरु बढ्न थालेपछि राष्ट्रिय जनमोर्चाले त्यस्ता गतिविधिका विरुद्ध संघर्षको घोषणा गरेको छ । युनिभर्सल पिस फेडरेसनद्वारा आयोजित ‘एसिया प्यासिफिक समिट’ मा नेपाल सरकारको राज्यसंयन्त्र पूरै परिचालित रहादा स्थितिको गम्भीरता धेरै नै बढेर गएको बताउँदै राजमोले इसाइकरणका माध्यमबाट भैरहेको साम्राज्यवादी हस्तक्षेपका विरुद्ध त्यसरी संघर्षको घोषणा गरेको हो ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर के.सी.ले २०७५ मंसिर २५ मा एक विज्ञप्ति जारी गर्दै युनिभर्सल पिस फेडेरेसन नामक इसाई संस्था र त्यसको प्रचार कार्यको विरोधमा यही मंसिरको अन्तिम सातादेखि पौषको पहिलो हप्तासम्म देशव्यापी विरोधसभाका कार्यक्रमहरु आयोजना गरिने बताउनुभएको छ । अध्यक्ष के.सी.द्वारा जारी उक्त विज्ञप्तिमा अगाडि भनिएको छ–“युनिभर्सल पिस फेडरेसनका तर्फबाट काठमाडौँमा आयोजित ‘एसिया प्यासिफिक समिट’ को कार्यक्रम र त्यसमा सरकारको संलग्नताको विरोध तथा भत्र्सना गरेर हाम्रो पार्टीले पहिले नै वक्तव्य जारी गरिसकेको छ । त्यो कार्यक्रमका सिलसिलामा राज्ययन्त्रलाई पुरै परिचालन गर्ने नीति सरकारले अपनाएकाले त्यसको गम्भीरता धेरै नै बढेर गएको छ । त्यसकारण त्यस प्रकारको कार्यका विरुद्ध जनतामा व्यापक चेतना उठाउनु पर्ने आवश्यकता छ । त्यसैले हाम्रो पार्टीले मङ्सिर महिनाका बाँकी दिनहरु सहित पौषको पहिलो हप्तासम्म देशव्यापी रूपमा विरोध र भण्डाफोरका कार्यक्रमहरु आयोजना गर्ने निर्णय गरेको छ ।

सबै जिल्लाहरुले त्यसका लागि कमसेकम एक दिनको विरोध वा भण्डाफोरको कार्यक्रमको आयोजना गर्न हामीले हाम्रो पार्टीका सबै जिल्ला समितिहरुसित अनुरोध गर्दछौँ । कुनै पनि व्यक्तिले कुनै धर्मलाई मान्ने वा नमान्ने उसको व्यक्तिगत स्वतन्त्रताको विषय हो, तैपनि उक्त संस्थाले नेपालमा साम्राज्यवादी उद्देश्य पुरा गर्नका लागि योजनाबद्ध प्रकारले इसाई धर्मको प्रचार गर्ने उद्देश्य राखेर नै उक्त कार्यक्रमको आयोजना गरेको थियो र आउने दिनमा पनि त्यस प्रकारका गतिविधिहरु अरू बढेर जाने सम्भावना छ । त्यसैले राष्ट्रिय रूपमा नै त्यो धार्मिक संस्था र त्यसको प्रचार कार्यहरुको विरोध गर्नु पर्ने आवश्यकता छ । हाम्रो पार्टीको उक्त कार्यक्रममा समर्थन र सहभागिता समेतका लागि हामीले सम्पूर्ण जनतासित अपिल गर्दछौँ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here