लुसुन पुरस्कार तथा विचारगोष्ठी सम्पन्न

0
244

काठमाडौं । साहित्यकार शान्तदास मानन्धरलाई ‘देवकोटा–लुसुन प्रज्ञा पुरस्कार’ बाट सम्मान गरिएको छ । देवकोटा–लुसुन प्रज्ञा प्रतिष्ठानले २०७५ भदौ ९ गते काठमाडौँ बबरमहलस्थित आर्ट काउन्सिलमा आयोजित एक कार्यक्रममाझ साहित्यकार मानन्धरलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको हातबाट सो सम्मान दिइएको हो । साहित्यकार मानन्धरलाई सो कार्यक्रममा ५० हजार नगद र ताम्रपत्र प्रदान गरिएको थियो ।

नेपाली बाल साहित्यको विकास र उत्थानमा विशिष्ट योगदान पुर्‍याए वापत् साहित्यकार मानन्धरलाई सो सम्मान गरिएको प्रतिष्ठानले जनाएको छ । सो अवसरमा मन्त्री अधिकारीले साहित्यकार मानन्धरलाई आफूले सरल लेखक र सहज अनुवादकका रुपमा चिनेको बताएका थिए ।

सम्मानित मानन्धरले आफूले निष्ठा र आस्थाका साथ सिर्जनात्मक लेखन र अनुवाद कर्मलाई अगाडि बढाएको बताए । बालबालिकामा बाल साहित्यको पहुँच पुर्‍याउन र त्यसलाई विस्तार गर्न विद्यालय–विद्यालय पुगेर पठन संस्कृतिका पक्षमा लामो समयसम्म वकालत गरेका मानन्धरको ‘बालकोशेली’ बाल पत्रिका बालबालिकामाझ लोकप्रिय छ ।

सो अवसरमा साहित्यकार प्रा.डा. चूडामणि बन्धुले ‘महाकवि लक्ष्मी प्रसाद देवकोटाको साहित्यिक चिन्तन र वैचारिक विकास’ विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यपत्रमा महाकवि देवकोटाको सामाजिक पृष्ठभूमि, नेपाली साहित्यमा उनको योगदान, साहित्यिक मान्यता, वैचारिक विकास, जीवनको पूर्वाद्र्ध, उत्तराद्र्ध कालका रचनाका बारेमा विस्तृत रुपमा चर्चा गरिएको छ ।

साहित्यकार एवं समालोचक प्रा.डा. बन्धुले प्रस्तुत गरेको कार्यपत्रमाथि अर्का समालोचक डा. अमर गिरीले टिप्पणी गरेका थिए । उनले डा. बन्धुको कार्यपत्र मोटामोटी रुपमा सही भए पनि देवकोटाको साहित्यिक यात्रालाई कम्तीमा पनि तीन खण्डमा छुट्याई विश्लेषण गर्दा ठिक हुने आफ्नो बुझाइ रहेको तर कार्यपत्रमा आफूले त्यस्तो नपाएको टिप्पणी गरे । उनले महाकवि देवकोटा कतिपय सवालमा माक्र्सवादबाट ज्यादै प्रभावित भए पनि उनी गैर माक्र्सवादी मानवतावादी स्रष्टा भएको र उनलाई प्रगतिवादीको रुपमा हेरिन नहुने बताए ।

साहित्यकार एवं पत्रकार हरिगोविन्द लुईंटेलको सञ्चालन र प्रतिष्ठानका अध्यक्ष एवं समालोचक निनु चापागाईंको अध्यक्षतामा सुरु भएको उक्त सम्मान तथा विचारगोष्ठीको प्रारम्भमा प्रगतिशील लेखक सङ्घका अध्यक्ष मातृका पोख्रेलले देवकोटाको एउटा स्वतन्त्रता सम्बन्धी कविता र साहित्यकार सीता शर्माले नेपोलियन र जेलर शीर्षकको सङ्क्षिप्त निबन्ध वाचन गरेका थिए । कार्यक्रममा प्रशिद्ध कवि डा. राम प्रसाद ज्ञवालीले शान्तदास मानन्धरको बारेमा मन्तव्य राख्नु भएको थियो ।

लुसुन छिमेकी देश चीनका आधुनिक र प्रगतिशील साहित्यका जनक मानिन्छन् । चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओत्सेतुङले लुसुनलाई चीनको सर्वहारा सांस्कृतिक क्रान्तिका सर्वोच्च कमाण्डर मानेका थिए । चीनका गोर्की भनेर पनि चिनिने गरेका यिनको नाममा चीन सरकारले लुसुन साहित्य पुरस्कार समेत स्थापना गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here