म एउटा सामाजिक फुल
अहं होइन फल भैसकेँ रे
यो फलले आफु फुलेको हाँगा
फक्रींदा छोएका पातहरु
हुर्कीँदा खेलेका अरु फुलहरु
फेरी ति फुलबाट बनेका फलहरु
अनि यि फुल र फल जोगाउन
आँधीबेहरीसँग सँगै लडेका बोटहरु
यि सबै सबैलाई छोडेर
अर्को यस्तै बोट अनि
फुल र फलहरुसङ्ग
जोडीन जानुपर्छ रे
मलाई थाहा छ
यो प्राकृतिक नियम हो
सामाजिक प्रचलन हो
सास्वत नियम हो
तर छोड्ने, जोड्ने र जोडीने समय
समाजले कसरी निर्धारण गर्न सक्छ?
हो,
म मान्छु
फुलबाट फल हुँदै गर्दा
छोरीबाट नारी हुँदै गर्दा
यो समाजबाट सिकेको छु धेरै
र समाजप्रति ऋणी छु
तर समाज मेरो भविष्य कोर्ने
कलम कदापी होइन
मजस्ता सयौं फलहरुलाई
बोटहरुको चिन्ताको विषय
किन बनाइन्छ ?
फुल कहिले फुल्यो,
कहिले फल बन्यो,
कहिले पाक्यो,
कहिलेसम्म ठिक्क खान मिल्छ
र कहिले कुहिनेछ काम नलाग्ने गरी
यो सब एकैछिनमा टुंगो लगाउँछ समाज
समाजको बिभाजित नक्साभित्र
निश्चित क्षेत्र नभएका फलहरु
तिमीहामी चाहे समाज रुपान्तरण,
सामजिक परिबर्तनका निमित्त
जतिसुकै लडौँ
जतिसुकै संघर्ष गरौँ
तिम्राहाम्रा जोसको स्पिडमा
लगाउने ब्रेक
यहि समाजसङ्ग हुँदो रैछ
अनिश्चित भुगोल भएका
हामी फलहरुको
जोसजांगर,हौसलाको भोल्युम
घटाउने,बढाउने रिमोट
यहि समाजसङ्ग हुँदो रैछ
जिन्दगीको गणितमा
जोड, घटाउ, गुणा, भागाका
उत्तिकै अप्ठ्यारा हिसाबकिताब
थोपरीदिने सामर्थ्य पनि
यहि समाजसङ्ग हुँदो रैछ ।
समाज, समाज, समाज
अनि समाज
र समाजवादको सपना बोकेर
समाज परिबर्तनको अभिलाषा बोकेर
आमुल परिवर्तित समाजको
एक स्वाभिमानी नेपाली भएर
जिउँला भनेर यात्रा गरेकि म
समाजको लागि मात्र एउटा
कसैलाई सुम्पिनुपर्ने फल
यो कस्तो सामाजिक न्याय?