इतिहासका बाटाहरू
कति धेरै बाङ्गाटिङ्गा
सरल रेखामा होइन
बक्ररेखामा हिँडेका
उ त्यो दरमखोलाको
किनारैकिनार
अझै जिउँदो छ
गल्कोट दरबार
अझै जिउँदो छ
मल्लवंशको घरबार
कालीगण्डकीको छेउमा
पानीमुनिको लेउमा
एउटा जीव सयर गरिरहेछ
आफ्नो पुर्खाको खोजीमा
पुरानो इतिहासको खोजीमा
मुस्ताङतिर गइरहेछ
त्यो जीव
थाहा छैन उसले
इतिहास फेला पार्छ कि पार्दैन
बागलुङका घुम्तीहरूमा
जीवनका घुम्तीहरूमा
उकाली र ओरालीमा
सम्झनाका तरेलीमा
पुर्खाका कहानीहरू
नाचिरहेछन् नयनका परेलीमा
गल्कोट, पञ्चकोट
कालिका भगवती
कति सुन्दर र शान्ति
सम्झेर ती दिनहरू
सम्झेर ती क्षणहरू
छाएर आउँछ कान्ति
गण्डकी तिरैमा बेनीबजार
म्याग्दीको भिरैमा गलेश्वर
पर्वतको कुश्मा
त्यो झोलुङ्गे पुल
मनमोहक दृश्यहरू
पञ्चकोटको शीरबाट देखिने
धौलागिरी हिमशृङ्खलाहरू
धौलागिरीको काखमा
बागलुङको गाउँ छ
शालिग्राम पत्थरमा
पुर्खाको नाउँ छ
बाइसे चौबिसे
ती राज्यहरू
हिउँ जस्तै रहेछन्
कहिले पग्लने
कहिले जम्ने
कहिले फैलने
कहिले खुम्चने
चलिरहने एवं रीतले
ढोरपाटनको फाँटले
यी नयनहरूलाई कैदी बनायो
निसी, भुजीको तिरैमा
निसी, भुजीको शीरैमा
कुुनै नृवंशको थलोमा
इतिहास खोज्ने यी पाउहरू
इतिहास लेख्ने यी हातहरू
यसै–उसै सल्बलाइरहेछन्
यसै–उसै चल्मलाइरहेछन्
धौलागिरीको मुस्कानले
मोहित गर्यो ज्यानलाई
धौलागिरीको मुस्कानले
भङ्ग गर्यो ध्यानलाई
मोदी खोला, मादी खोला
यो काली र गण्डकी
निर्दोष यी नदीहरू
अविरल–अविरल बगिरहेछ
हजारौँ माइल बगेपछि
हजारौँ गल्ली–गल्छेडा तरेपछि
बल्ल पुग्ने छ एकदिन सागरमा
बल्ल हुनेछ मिलन सागरमा
तब त उ लाखौँ वर्ष देखी
निरन्तर चुमिरहेछ सागरलाई
निरन्तर चुमिरहेछ सागरलाई
वर्षौको प्यास मेट्न
वर्षौको प्यास मेट्न
हिमालको फेदबाट हिँडेको त्यो नदी
बाटोमा थाकेर बाटोमा गलेर
शायद मान्छे भए
बीचैमा थ्याच्च बस्थे होला
बीचैमा कति रुन्थे होला
बीचैमा यात्रा छाडेर
बीचैमा यात्रा हापेर
जान्थे होला कतै दूर
कहिले नफर्किने कसम खाएर
तर ऊ नदी हो
बगिरहन्छ निरन्तर
तर ऊ नदी हो
हिँडिरहन्छ निरन्तर
यस्तै नदी जस्तै
नेपाली इतिहासकारहरू
सदा बगिरहून्
सदा हिँडिरहून्
नेपाली इतिहासकारहरू