बाला राम तिमिलसिना
सप्नाहरूको चिहानमाथि,
निर्लज्ज हाँसिरहेछ कोही !
सपनासँगै हराएर बाटो,
फसिरहेछन् लाखौं बटोही !
साना साना टुहुरा नानी
विधवा विदूर र वृध्दाहरूले !
सोधीरहेछन् सँगै गएको
तिम्रो साथी मेरो मान्छे खोई ?
यी काँडाजस्ता प्रश्नहरूले
घोचिरहेछन् रातै र दिनै !
न भाग्न मिल्छ यी प्रश्नसँग ,
न बस्न मिल्छ नबोलेर रोई !
यो कस्तो कथा भो वियोगको
दुखै दुखका संयोगको !
संझियो जति चस्किन्छ छाती
घटनाहरूले पूरै दिल छोई !
विर्सौं भने नि आफ्नै कथा यो
आफैलाई भुल्न कसरी सक्नु ?
न भुल्न मिल्छ न घुल्न मिल्छ
न फाल्न मिल्छ पानीले धोई !
२०७५|०२|१६
ढल्को
तिमी सिरको सिरपोष:
म पैतालाको जुत्ता !
******
तिमी सिरको सिरपोष
म पैतालाको जुत्ता
समान कहाँ हुन्छन कमरेड
टाउको र खुट्टा ?
सिरपोष सिरानीसम्मै जान्छ
जुत्ता ढोका बाहिरै छोडिन्छ
सिरपोस राख्ने सिरानी र
जुत्ता राख्ने ढोकाको कुना
कसरी बराबरी हुन्छ कमरेड ?
तिमी मुखबाट जन्मेको
म जन्मने ठामबाटै जन्मेको
तिमी विशिष्ट जन्मदै
म जन्मदै सामान्य
जाङ्घले सिरसँग जोरी खोजेर
कहाँ जितिन्छ र कमरेड ?
तिमी कसै गरी नमासिन्या
म जन्मजात मासिन्या
मास्ने नमास्ने हजुरको तजबिज
यो पटक पनि नाम लेखाएर
मुखबाट जन्मेकाको लागि
ठाम अपुग भएपछि
हजुरले खुसुक्क मासिदिनु भयो
यो मासिन्याको नाम
एति मामुली कुरामा पनि
मैले रातो मुख गर्नु हुन्छ त कमरेड ?
पैले पो हजुर पनि मार्क्सवादी
म पनि मार्क्सवादी थिएँ
मेरो घरमा हजुरको भान्सा चल्थ्यो
एकाध पटक म पनि छिरेथें
कमरेडको पवित्र घरमा
अहिले त हजुर फ्युजनवादी
भैंसी पूजावादी धनधान्यन्चलवादी
म नाथे अझै मार्क्सवादी
पहिलेजस्तै सम्झेर
हात मिलाऊँ कमरेड भनें भने
लात्ती पो खान्छु मैले
मैले त जदौ गर्ने हो
हजुरलाई बाटो छोड्ने हो
हजुरको साइत सपार्न
घारीतिर लुक्ने हो
जमाना फेरिएको चाल नपाएर
हजुरसँग बराबरी हुन खोज्ने
मै उस्तो हो कमरेड !
तर कमरेड
भोलिबाट दैलाको कुनाबाट
बसाइँ हिड्यो भने जुत्ता
कमरेडको सवारी
कुन खुट्टाले टेकेर हुने हो
पटक पटक यही सम्झन्छु
र रोमान्चित हुने गर्छु म !
तिमी सिरको सिरपोष
म पैतालाको जुत्ता !
समान कहाँ हुन्छन कमरेड
टाउको र खुट्टा ?
२०७५|०२|०९
ढल्को
**************