मिति २०७५/०२/०९
श्रीमान प्रमुख कार्यकारी अधिकृत “मार्क जुकरबर्ग” ज्यु
फेसबुकको अन्तराष्ट्रिय प्रधान कार्यालय
क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका
विषय:- तलब/भत्ता पाउ भन्ने बारे ।
महोदय,
उपरोक्त सम्बन्धमा हामी फेसबुकमा बिगत लामो अवधी देखि लगातार काम गर्दै आइरहेको कुरा त यहालाई अवगत नै छ । हाम्रो अविछिन्न सेवाको बावजुद पनि अहिले सम्म हामीले एक रुपैया तलब पनि पाउन सकेको छैन । के हाम्रो काममा कुनै दोष छ र ? हामी रात दिन झरी, बादल, आधी बेहरी नभनी फेसबुक मै काम गरिरहेको हुन्छौं । खादा, बस्दा, हिड्दा, कुरा गर्दा पनि हामी फेसबुकमा नै काम गरिरहेको हुन्छौं । भान्सामा काम गर्दा होस या बारीमा काम गर्दा, हामी फेसबुक मै ब्यस्त भइरहेको हुन्छौं । त्यतिमात्र होइन सौचालय बस्दा समेत फेसबुकमा नै काम गरिरहेको हुन्छौं । गाडी चढ्दा, मिटिङमा बस्दा, टिभी हेर्दा वा ओछ्यानमा सुत्दा हामी निरन्तर फेसबुकमा नै कार्यरत हुन्छौ । फ्री वाइफाई भेटेको बेला त झन हाम्रो काम गर्ने क्षमता दोब्बर हुन्छ ।
यति लगनशील भएर अरु कुनै व्यावसाय गरेको भए सायद हामी सवै तपाईं भन्दा धेरै धनी भइसक्ने थियौं । अत हाम्रो लगनशीलताको कदर गर्दै पाउनु पर्ने हामी सवैको हालसम्मको सबै तलब भत्ता निकासा गरियोस । अन्यथा हामी सवै डा. गोबिन्द केसीसंग मिलेर अनिश्चितकालीन अनसन बस्न या विप्लव कामरेडसंग मिलेर नेपाल बन्द गर्न समेत बाध्य हुने छौं । उप्रान्त श्रीमानको जो विचार
निवेवदक
सम्पूर्ण फेसबुक प्रयोग कर्ताहरुको प्रतिनिधि