आगामी २०७५ असोजमा युनियनको २१ औं राष्ट्रिय सम्मेलन गर्ने
घलेगाउँ, चैत्र २५ । नेकपा (मसाल) सम्बद्ध विद्यार्थी संगठन अखिल (छैठौं) राष्ट्रिय परिसद् २०७४ चैत्र २३ र २४ गते लमजुङको घलेगाउँमा सम्पन्न भएको छ । राष्ट्रिय परिषद्ले आगामी २०७५ असोजमा युनियनको २१ औं राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । युनियनका अध्यक्ष विमल पोख्रेलले प्रेस विज्ञप्ती जारी गरि परिषद्को निर्णय सार्वजनिक गरेका छन् ।
त्यस्तै सो राष्ट्रिय परिषद्ले शिक्षा ऐन नवौं संशोधनमा राखिएका प्रतिगामी व्यवस्थाहरु खारेज गर्दै दशौं संशोधनमार्फत् शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि संसदको ध्यानाकर्षण गराएको छ । शैक्षिकसत्रको सुरुमा निजी शिक्षणसंस्थाले गरेको चर्को शुल्क बृद्धि तत्काल खारेज गर्न माग गरेको छ ।
त्रिभुवन विश्वविद्यालयले लागु गरेको सेमेस्टर प्रणाली पुर्वाधार सम्पन्न, व्यवहारिक र सस्तो बनाउन छैठौंले माग गरेको छ । युनियनका केन्द्रीय सदस्य सागर कुँवर, दिवस पौडेल, पुतला शाही, रुपेश लोप्चन, खिमा पुन र राष्ट्रिय परिषद् सदस्य राजेन्द्र कुँवरलाई जिम्मेवारीबाट हटाएको जनाएको छ ।
परिषद्को उद्घाटन युनियनका अध्यक्ष विमल पोखरेलले गरेका थिए भने सञ्चालन महासचिव भीमलाल पोखरेलले र अध्यक्षता देवेन्द्र कुंवरले गरेका थिए । उपाध्यक्षद्वय रेशम कँडेलले स्वागत मन्तव्य दिएका थिए ।
अखिल (छैठौं)का पूर्व अध्यक्ष कृष्ण अधिकारी, अखिल नेपाल ट्रेड युनियन महासंघका महासचिव लोकराज भुसाल, अखिल नेपाल युवक संघका महासचिव अनिलकिशोर घिमिरे, अखिल नेपाल शिक्षक संघका उपाध्यक्ष कमला बन्जाडे, जनजाति सम्मेलनका केन्द्रीय सदस्य दिपक गुरुङ, राजमो पाल्पा सचिव तिलक गाहाले शुभकामना मन्तव्य दिनुभएको थियो ।
अन्धविश्वास, सामाजिक अपराध र विकृतिका विरुद्ध देशैभरका स्कुल र क्याम्पसहरुमा बैशाखदेखि असोजसम्म विशेष अभियान सञ्चालन गर्ने निर्ण गरेको छ । जागरण मूलक ब्रोसर प्रकाशन गर्ने, विद्यार्थीहरुलाई प्रशिक्षण गर्ने, जनतालाई सचेत बनाउने, अन्धविश्वास एवं सामाजिक अपराधलाई संरक्षण गर्ने कानुनहरुको खारेजी गर्न र नयाँ कानुनको निर्माण गरी अपराधमा संलग्नहरुलाई कडा सजायको व्यवस्था गर्न दबाब मूलक कार्यक्रमहरु सञ्चालन गर्ने कार्यक्रम छैठौंले बताएको छ ।
२०७५ जेठ १५ देखि असार १५ सम्म सबै प्रदेशहरुमा राजनैतिक एवं सैद्धान्तिक प्रशिक्षणहरु सम्पन्न गर्ने निर्णय भएको छ । असार र साउन महिनामा जिल्ला र क्याम्पसस्तरीय प्रशिक्षण सम्पन्न गरिने छ । सोही परिषद्को बैठकले २०७५ वैशाख १२ सम्म सबै प्रदेशहरुका बैठकहरु सम्पन्न गरी परिसद्ले बनाएका कार्यक्रमहरुलाई स्थानीय तहसम्म लागू गर्ने योजना बनाउन निर्देशन समेत गरेको छ ।
परिषद्ले अध्यक्ष विमल पोखरेलले राजनीतिक तथा सांगठनिक प्रतिवेदन, उपाध्यक्ष देवेन्द्र कुँवरले विशेष प्रस्ताव, महासचिव भीमलाल पोखरेलले आगामी कार्यक्रम र कोषाध्यक्ष हस्तराज रेग्मीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनहरु सर्वसहमतिले पारित भएको विज्ञप्ती मार्फत बताइएको छ ।