पातले र पातलीको लोभ

0
136

कथा

– अनिल नेपाली

धान लहलह झुलेको थियो । पाकेको धान भित्र्याउन किसानले खेताला पनि खोजिसकेका थिए । धान झुलेर सुनौलो देखिए पनि किसान बस्तीबाट अलि टाढा भएकाले टालाटुली खेतमा मुसा, बाँदर र चराचुरुंगीले राज गरेका थिए । आलीमा फलेका भटमास बाँदरहरूले रमाई–रमाई खाइदिन्थे । अनि धान पाकेपछि मुसा र चराहरूको रमाइला दिन सुरु हुन्थे ।

टालाटुली खेतमा पातले मुसाको परिवार बस्थ्यो । उसको परिवार निक्कै लोभी र एकलकाँटे थियो । त्यस खेतमा अरू मुसा, बाँदर र चराहरू भएको उसलाई पटक्कै मन परेको थिएन । उसको परिवार भित्रभित्रै जलेको थियो ।
हेमन्त ऋतुको एक बिहान आकाश सफा भएर मिर्मिरे उज्यालो भयो । पाकेको धानको मगमग बासना चारैतिर फैलिएको थियो । मध्यरातदेखि मुसाहरूले खेतमा धान खान सुरु गरिसकेका थिए । पातले निद्राबाट ब्युँझियो । उसकी स्वास्नी पातली पनि निद्राबाट ब्युँझी । निद्राबाट ब्युँझनेबित्तिकै हत्तपत्त पातलीले त्यस रात देखेको अनौठो सपना पातलेलाई भनी । पश्चिमतिरको सुनौलो क्षितिजमुनि एउटा सुन्दर फाँट धानले पहेंलपुर देखिएको । त्यहा कोही नभएको । छेवैमा खानदानी किसानको बस्ती भएकाले अनिकाल परे उता पनि छिर्न सकिने ।

 

पातलीको कुरा सुनेर पातलेले खुसी सम्हाल्न सकेन । ऊ पेट मिचिमिची हाँस्यो र एकछिन नाच्यो । पातलेको व्यहारले पातली पनि औधि खुसी भई । पातलेले भोलिपल्टै आफ्नो परिवार लिएर सपनाको नौलो खेतमा बसाइँ सर्ने योजना बनायो ।

त्यस साँझ पातले र पातलीले मन नपरेका छिमेकीलाई नानाभाँती गाली गरेर रिस पोख्ने योजना पनि बनाए । दिन बितेर साँझ पर्‍यो । पातले र पातलीले त्यो साँझ छिमेकीसँग ठूलो झगडा गरे । रिस उठेजति सबैलाई नानाभाँती गाली गरे । सबै छिमेकीसँग सम्बन्ध टुटाए अनि भोलिपल्ट मिर्मिरे उज्यालोमा एउटा सोझो बाँदरलाई फकाएर उसको पिठ्युँमा चढी टालाटुली खेतबाट हिँडे ।

सपनामा देखेअनुसार पातलीले बाँदरलाई पश्चिमको क्षितिजतिर हिँडाई । बाँदरले पनि भीर, पहरा, नदीनाला, जंघार पार गर्दै लामो यात्रा गरेर पश्चिमको क्षितिजमा पुर्‍यायो । बाँदरको पिठ्युँमा मस्तसँग निदाएका पातले र पातलीलाई बाँदरले ब्युँझायो । पातलेको सानो बच्चो सिन्के निद्रामा बाटैमा खसेछ । पातले र पातलीले थाहा पाएनछन् ।
उनीहरूले एकसाथ क्षितिज तल एउटा पहेंलो फाँट देखे । पातले र पातलीको खुसीको सीमा रहेन । पातली खुसीले चिच्याई, ‘मेरो सपना, बिहानको सपना, पूरा भो, मेरो सपना पूरा हुने भो…।’

पातले र पातलीले अब बाँदरलाई त्यहाँबाट लखेटेर त्यस सपनाको खेतमा आफ्नो मात्र राज गर्ने चाहना राखे । दुवैले बाँदरलाई एकसाथ चिथोरे । सोझो बाँदरको सात्तो गयो । बाँदर त्यहाँबाट सुइकुच्चा ठोकेर साँझको क्षितिजमा हरायो ।
अब पातले र पातली मात्र बाँकी भए । उनीहरू त्यस क्षितिज तलको पहेंलो फाँटमा राज गर्दै आनन्दको जिन्दगी बिताउन हतारिएका थिए । बेलुका घाम अस्ताइसकेको थियो । पातले र पातली दौडिएर त्यस पहेंलो फाँटतिर ओरालो झरे । अँध्यारोले डाँडाकाँडा ढाक्यो । पातलेका आँखा कमजोर थिए । ऊ हतारिएर ओरालो झर्दा भीरबाट लडेर मर्‍यो । तर पातली दुःखी भइन् ।

‘अब पहेंलो फाँटमा मेरोमात्र राज हुने भयो’ भन्ने आशयले पातली झन् खुसी भई । ऊ खुसी हुँदै, दौडिँदै पहेंलो फाँटतिर गई । पातली निमेसभरमा पहेलो फाँटमा पुगी । त्यहाँ पहेंलै भएर तोरी फूलेको थियो । पातली दिनभरिको भोको थिई । उसले त्यहाँ धान नभएर तोरी फुलेको थाहा पाई । त्यसपछि ऊ खुत्रुक्कै भई अनि धुरुधुरु रुन थाली ।
साँझ परिसकेको थियो । त्यस पहेंलो फाँटको किनारमा किसानको बस्ती थियो । ठूलो स्वरमा रोएकी पातली मुसीको आवाज सुनेर टोलभरिका बिराला तोरीबारीमा जम्मा भए । खानका निम्ति बिरालाहरूले तँछाडमछाड गरेर पातली मुसीलाई रातभरि तोरीबारीभरि खोजे तर भेटेनन् । अँध्यारोसँगै पातली मुसी तोरीबारीमा हराई ।

केही दिनपछि क्षितिजमा हराएको बाँदर आफ्नै ठाउँमा फर्किंदै थियो । उसले बाटोमा पातली रोएर बसेको देख्यो । बाँदरको मन कमलो थियो । उसले पातलीलाई रुनुको कारण सोध्यो । पातले मुसाको बारेमा पनि सोध्यो । पातली भोक, त्रास, लाज र पीर चिन्ताले निक्कै कमजोर भएकी थिई । उसले पातले भीरबाट लडेर मरेको कुरा पनि भनी । लोभले गर्दा आफू गलत ठाउँमा आउनुको साथै आफ्नो सुखी परिवार गुमेको प्रति पनि निक्कै खेद प्रकट गरी ।
पातलीले बाँदरसँग रुँदै माफी मागी । भनी, ‘बाँदर दाइ, अब म कहिल्यै लोभ र अरूको ईर्ष्या गर्दिनँ । सधैं समूहमा मिलेर बस्छु । सके अरूलाई सहयोग गर्छु, नसके पाप गर्दिनँ । यो मेरो प्रण भो बाँदर दाइ । मलाई आफ्नै ठाउँमा लगिदिनुहोस् । म मेरा छिमेकीसँग पनि माफी माग्छु ।’

पातलीले आफ्नो खराब बानीप्रति पश्चाताप गरेकोमा बाँदर पनि खुसी भयो । बाँदरले पातलीलाई बोकेर नीलो नदी तर्‍यो । पातली खुसी भई । बाँदर र पातली टालाटुली खेतमा पुगे । अरूलाई दुःख दिएर यात्रा गर्नेहरू कहिल्यै गन्तव्यमा पुग्दैनन् भनेर पातलीका छिमेकीले अनुमान गरेका थिए । ठीक त्यही भयो । पातली फर्की र छिमेकीसँग माफी मागी । पातलीले कहिल्यै लोभ र अरूको ईर्ष्या नगर्नुका साथै छिमेकीसग मिलेर बस्ने वाचा गरी । पातलीले आफ्नो खराब बानी हटाउने प्रण गरेकोमा छिमेकी खुसी भए ।
पातली टालाटुली खेतमा फर्किंदासम्म किसानहरूले धान भित्र्याइसकेका थिए । भुइँमा झरेको धान रैथाने मुसाहरूले खाइसकेका थिए । पातली र सबै छिमेकी अन्नको खोजीमा पूर्वतिर लागे ।(कान्तिपुर काेपिलाबाट साभार)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here