सामाजिक सञ्जालदेखि विज्ञप्तिसम्म ढोरपाटन नगरपालिकाको कटाक्ष : सरोकारवाला तैं चुप मैं चुप !
बुर्तिबाङ, बागलुङ / यतिवेला सामाजिक सञ्जालमा ढोरपाटन नगरपालिका र नगर प्रमुखका सवालमा वालहरु भरिएकाछन् । नेकपाकै नेता चन्द्र अर्यालले ढोरपाटन नगरपालिका र त्यसका प्रमुख सहित नपालिकाले गरिरहेको कामका सन्दर्भमा आलोचनात्मक टिप्पणीहरु सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेपछि त्यसका कमेन्टहरुमा अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको टिप्पणी बढो रोचक देखिन्छ ।
सुरुको चरणका नगरपालिकाले गरेका अन्य विषय बस्तुसँग जोडिएर सामाजिक सञ्जाल रंगिने गर्दथे भने पछिल्लो समयमा आएर साँसद क्षेत्र विकास कोषको रकम यहाँ स्थित निसीभूजि जनता क्याम्पसलाई ४० लाख विनियोजन भएको जानाकारी दिने क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष चन्द्र अर्यालले एकाएक सो रकम क्याम्पसबाट रकमान्तर गरी बुर्तिबाङ खानेपानी व्यवस्थापनमा सारिएको र त्यसको केही समयमा ९० प्रतिशत काम पुरा भएको भनी नगरपालिकाले सञ्चार माध्यमहरुमा गलत प्रचार गरेको आशयको एक स्टाटस लेखेका छन् ।
क्याम्पसका अध्यक्ष अर्यालले यस्तो स्टाटस सामाजिक सञ्जालमा पोष्ट गरेपछि त्यसको तरंग परसम्म फैलिएको छ । कतिपयले नानीदेखि लाएको बानी कहाँ जान्छ भनेर तीखो व्यङ्ग्य गरेका छन भने कतिपयले ढोरपाटन नगरपालिका भ्रष्ट्राचार, अनियमितता, ठेकेदारहरुको पकडबाट चलेको टिप्पणी देखिएका छन् । कतिपयले ढंग नपुगेको वा नगर प्रमुखको आफ्नो आनी वानी तथा आचरण र सत्ताको अहंकार बढी भएपछि यस्तो अवस्था आएको चर्चाहरु भइरहेका छन् ।
सामाजिक सञ्जालमा आएका टिप्पणीहरु कुनै एकाध राजनैतिक आक्रोस वा विमत्तिले मात्र आएको देखिदैन । यथार्थ बुझ्दै गर्दा नगरपालिका अनियमितताको चाँङबाट हुर्केको देखिन्छ । नगर प्रमुखका नजि हिंडेर स्वार्थ पूरा गर्ने उनी आसपासका आकाँक्षादेखि, उनको साथ संगत र उठबसका आसे पासे, खाउ पिउहरुको सल्लाह सुझाव र हेमपेमले नै नगरपालिका र नगर प्रमुखका कामहरुमा यो दुर्गति बढ्दै गएको सबैले अनुमान लगाउने गरेका छन् ।
सधै चर्चाका विषय बन्दै आएका ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपाली चुनाव अघिमात्र होईन चुनाव जितेपछि पनि सकरात्मक नकरात्मक दुर्व पक्षबाट चर्चामा छन् । नेपाली स्थानीय चुनावमा नाटकीय ढंगले ढोरपाटन नगरमा छिरेका हुन् । चुनाव प्रचारका सन्दर्भदेखि नै उनका निकटतम प्रतिद्धन्दी अर्जुन शेरचनलाई पछिपार्दै आफु अघि अघि चलेको बृतान्त सञ्चारमाध्यमका पोर्टलहरुमा अझै छन । पहिल्यै देखि क्लव, आमा समुहहरुले आयोजना गर्ने कार्यक्रमहरुमा हेलिचढेर तमासा गर्ने बानी परेका नेपाली, नगरपालिकाको प्रमुख भएपछि अझ बढी जंगिएको पक्का हो । पहिले पहिले आफ्नो नीजि पैसा खर्चेर हेलि चढ्ने र पैसा बाँड्ने नेपालीलाई अहिले हेलि खर्चदेखि बाँड्ने पैसा समेत नगरपालिकाको बजेटबाट हुने गरेको उनीमाथि आरोप र आलोचना छ । यसमा केही सत्य यथार्थताहरु पनि छन् केही बढाउचढाउ पनि होलान । उनले नगरको वजेट आफूले टीका माला लाउने कार्यक्रमहरुबाट अधिकाँस वितरण गरेको र त्यसको भुक्तानी नगरपालिकाबाट हुने गरेको यथार्थता भने लुकाउन नसक्ने गरी देखिएको छ । यो राज्यकोषको दुरुपयोग हो भन्दा उनीमाथि दोष लाग्दैन । किन कि ढोरपाटन नगरपालिकाको रकम उनले ताराखोला गाउँपालिका , बडिगाड गाउँपालिका र गलकोट नगरपालिकाका क्लवहरुमार्फत वितरण गरेका छन् । कार्यक्रममा बोल्दा मेरो नीजि तर्फबाट बोल्ने तर दिंदा नगरपालिकाको रकम दिने गरेका तथ्यहरु बाहिरिदै गएकाछन् । त्यस कार्यको सामाजिक सञ्जालहरुमा आलोचना हुने गरेको छ ।
सधै हाई हाई हुने नगर प्रमुख किन बने आलोचनाका पात्र ?
सधै सबैका माझमा हाई हाई देखिने ढोरपाटन नगरपालिकाका प्रमुख देबकुमार नेपाली पछिल्लो समय आलोचनाका पात्र बनेका छन् । बाहिरबाट आलोचना हुनु स्वभाविकै हो तर आफ्नै पार्टिका नेता कार्यकर्ता लेबलबाट आलोचना हुनु, आफ्नै वडा अध्यक्षहरुबाट विज्ञप्तिवाजी गरेर नियम विपरितका कामहरु गरेको भन्दै विरोध हुने स्वभाविक पक्कै होईन् । नगर प्रमुखको कार्यशैली सकरात्मक नभएको यस अघि वडा नं. ४ का वडा अध्यक्षले बाहिर ल्याएको प्रेस विज्ञप्ति र वडा नं. ७ ले जारि गरेको विज्ञप्तिले प्रमाणित गर्दछ । त्यस सँगसँगै राष्ट्रिय जनमोर्चा ढोरपाटन नगर समितिले हालै २७ बुँदामा एक विज्ञप्ति जारी गर्दै नगरपालिका र नगर प्रमुखका काम कार्यप्रति तीखो आलोचना र विरोध आएको छ । यस्तो हुनुमा नगरपालिका र नगर प्रमुखसँग सरोकार राख्ने केही काण्डहरु छन् ।
काण्ड नं. १
नगर प्रमुख नेपाली ढोरपाटन नगरपालिकाको मेयरमा विजयी हुँदै गर्दा आफ्ना भोटरहरु अर्थात मतदाता धन्यवाद कार्यक्रममा भइरहेको अवस्थामा पश्चिम नेपाल बस व्यवसायी समितिको बुर्तिबाङ स्थित काउण्टरमा आफै उपस्थित भएर ताला लगाए र नेपाली त्यसवेलाबाट विवादको सुरुवात गरे । आफ्नै आतबाट गरिएको त्यसखालको कामको उद्घाटनपछि उनी विवादित भएका हुन् । नगर प्रमुख भएर विवाद समाधान गर्लान भन्दा, आफ्नै अगुवाईमा एकाएक ताला लिएर काउण्टरमा ताला लगाए र विवादको सुरुवात गरे यो उनको पहिलो काण्ड थियो । त्यस्तोकाम उनीबाट हुनु हुँदैन्थ्यो, जे जति बुद्धिले गरियो त्यो गलत भएको पश्चिम नेपाल बस व्यवसायी समितिका कर्मचारी राम प्रसाद आचार्यले टिप्पणी गरेका थिए ।
काण्ड नं. २
नगरपालिकाको कार्यपालिकामा गठजोड गर्दा तत्कालिन नेकपा एमाले जो पार्टि एकिकरण पहिलाको पार्टि थियो, त्यस समय यहाँको राष्ट्रिय जनमोर्चासँग तालमेल गरेर कार्यपालिका सदस्य बढाएको थियो । यसमा आफै नेपालीले अग्रसरता लिएका थिए । तद्पश्चात पहिलो नगरसभामाले ल्याएको कर सम्बन्धि व्यवस्थामा गठजोड गरेको पार्टिसँग त छलफल गरेनन् नै आफ्नै पार्टि एमालेसँग पनि कुनै छलफल नगरेपछि नगरपालिकामा कर काण्ड मच्चिएको थियो । करकाण्डपछि नगरपालिकाको कार्यपालिकामा कार्यापालिका सदस्य बनाउँदा गरेको सहमति तोडेको राजमोले आरोप लगायो र आफ्ना प्रतिनिधि फिर्ता लिनेसम्मको भाषणबाजी चल्यो । कुनैपनि हालतमा कर नघटाउने बोल्दै हिंडेका नगर प्रमुखलाई ६ महिना पछिको हिउँदे अधिबेशनसम्म कर नघटाई नहुने भएपछि समझदारीमा त्यहाँबाट फिर्ता आए । यो उनको २ नं. विवाद काण्ड थियो । उपप्रमुख कर्मती पुनले नगर सभामा पारित भएको करसम्बन्धी प्रस्ताव शंसोधन गरेर आफैले थुकेको थाल फेरि नचाट्ने सार्वजनिक शंबोधन आफैमा लज्जाजनक थियो । तर जनता र राजनैतिक दलको दवावपछि वडा अध्यक्ष तिलक पुनले तयार पारेको मस्यौदा बाचान गरेर कर शंसोधनको प्रस्ताव नगर सभामा ल्याउन उपप्रमुखलाई बाध्यता प¥यो । यो नगरपालिकाको दोस्रो काण्ड थियो ।
काण्ड नं. ३
नगर प्रमुखको प्रेस सल्लाहकार काण्ड । नगर कार्यपालिकाको बैठकमा एकाएक आफ्नौ नीजी प्रेस सल्लाहकारको सवालमा आफ्नो नीजी एफएममा कार्यरत कर्मचारीलाई तलव खुवाउने गरि प्रेस सल्लाहकारको प्रस्ताव ल्याइयो । यो नगर प्रमुखको अति जिद्धि र भद्धा प्रस्ताव र त्यस माथिको निर्णय थियो । नगरपालिकाबाट तलव सेवा समेत नलिने बोल्दै हिंडेका नगर प्रमुखले आफूले सञ्चालन गरेको एफएममा कार्यरत स्टेशन प्रमुखलाई नगरपालिकामा आफ्नो नीजि प्रेस सल्लाहकार बनाउने नगर कार्यपालिकामा प्रस्ताव पेश गर्नु र नगरको वजेटबाट तलव खुवाएर आफ्नो एफएममा काम लगाउनु नगर प्रमुखको लालची निर्णय थियो । जसनदिन त्यो निर्णय उनले आफ्नै जोडबलले गराए त्यसले उनीमाथि अनियमितताको सवाल सोझिन थालेको हो । आफ्नो रेडियो स्टेशनमा फूलटाइम कर्मचारीलाई सल्लाहकारका नाममा नगरपालिकामा समेत हाजिर गराएर नगरको वजेट प्रयोग गरे । त्यो अझै पनि जीवित घटना छ । आजपछि विना हाजिरी तलव भुक्तानी भइरहेको छ । जस्ले सल्लाह समेत दिन सक्दैन र जस्को सल्लाह नगर प्रमुखले मान्दा पनि मान्दैनन्, त्यस्तोलाई प्रेस सल्लाहकार भनेर नगरको वजेट दुरुपयोग गर्ने जुन दुस्साहस गरे त्यो नै उनको बदनियतपूर्ण न्यूनतम व्यक्तिगत स्वार्थ थियो । यो उनको बदनामका लागि ३ नं. काण्ड पुग्यो ।
काण्ड नं. ४
स्थानीय सरकार सञ्चालन ऐनले आ—आफ्ना कार्यक्षेत्र तोकेको छ र काम कर्तव्य र अधिकारको व्यवस्था समेत गरेको छ । तर कानुनी ज्ञानको अभावमा त्यहाँरहेका कतिपय कार्यपालिका सदस्यहरु समेत चुकेर नगरपालिकामा यस्तो निर्णय गरियो, जुन निर्णयले नगरपालिकामा एक तरंग पैदा गरेको थियो । स्थानीय सरकार सञ्चालन ऐनको दफा १२ मा वडा समितिलाई आफ्नो वडामा विनियोजित वजेट तथा कार्यक्रमको उपभोक्ता समिति गठन गर्न सहजीकरणको जिम्मेवारी दिएको छ । उक्त ऐनको विपक्षीमा नगरप्रमुख सहितको एक टोलीले वडा वडामा पुगेर उपभोक्ता समिति गठन गर्ने निर्णय गरेपछि वडा नं. ७ र ४ ले त्यसको प्रतिवाद गरेका थिए । वडा नं. ४ को कार्यक्रममा पुगेका नगर प्रमुखले त्यस वडाका वडा अध्यक्षले चरम भ्रष्ट्राचार गरेको र कार्यक्रमबाट भागेको हुँदा आफुले अख्तियार ल्याउने, महालेखापरीक्षकलाई यही ल्याउने र हिसाव हेरेर सार्वजनिक कार्वाही गर्ने सार्वजनिक अभिव्यक्ति नगर प्रमुखको थियो । उक्त विवादपुर्ण अभिव्यक्ति नगर प्रमुखले आम सभामा मात्र बोलेनन् आफ्नो लगानीमा सञ्चालित बुर्तिबाङ एफएमले प्रत्यक्ष प्रशारण समेत गर्यो । नगर प्रमुखलाई त्यसबेला यत्तिसम्मको हेक्का भएन कि अख्तियार र महालेखापरीक्षक भनेका संबैधानिक अंग हुन् । त्यो नगर प्रमुखको हातमा छैन र रहन पनि सक्दैन । थाहा नभएको कुरा बोलेर दिएको अभिव्यक्तिको विरुद्धमा वडा नं. ४ को कार्यालयले यसरी पत्रकार सम्मेलन नै गरेर विरोध जनाएको थियो । यतिवेला नगरपालिकाको कार्यालय र स्वयं नगर प्रमुख पनि चुपचाप बसेका थिए । वडा नं. ४ को प्रेस विज्ञप्ति:
काण्ड नं. ५
नगरपालिकामा अनावश्यक कर्मचारी छनौट प्रक्रिया ढोरपाटन नगरपालिका र नगर प्रमुखका
पाँचौं काण्ड थियो । नगरपालिकामा प्रमुख भएपछि सफा सुग्घर नगर बनाउने भन्दै ट्रयाक्टर लिइयो र त्यसमा एक जना ड्राईभर भर्ना गरियो, एक जना फोहोर उठाउने कर्मचारी पनि । फोहोर उठाउने कर्मचारीलाई एकाएक बर्दी सिलाएर नगर प्रमुखले कही नभएको जात्रा पर्दशन गरे । अर्दली ड्रेसअप र साथमा झुण्डिएको चुप्पी, त्यसमाथि बढेमानको पेटसितको मान्छेलाई पर्सनल सेक्युरीटि बनाइयो । बागलुङका १० स्थानीय तह जहाँ कहीपनि कसैले यस्तो नयाँ तमासा देखाएका थिएनन् । मेयरको सुरक्षाका लागि यस्तो गरिएको उनको भनाई बेला बेलामा आईरहन्छ । आफ्लाई कसैले मार्नेसम्मको धम्की दिएपछि सुरक्षार्थ यस्तो गर्नुपरेको हो । यो भनाई नगर प्रमुखले सार्वजनिक कार्यक्रममा बालेको बोली हो । यसरी अनावश्यक रुपमा कर्मचारी राख्नु र नगरको वजेट खर्चगर्नु राम्रो नभएको स्थानीय जनताको राय छ । नगरपालिकामा घाम ताप्ने र तलव खाने यस्ता आधा दर्जन कर्मचारी छन् । नगर प्रमुखको ढोका खोल्ने लाउने देखि, पानी टकार्ने र भाँडा उठाउनेसम्म, मेला महोत्सवमा सलामी ठोक्ने देखि फोटा खिच्ने फेसबुक पोष्ट गर्नेसम्म उनका अघिपछि नाचिन्छन् । यि सबै नगरपालिकाको वजेटले नाचेका हुन् । नगरको वजेट अनावश्यक ठाउँमा खर्चेर यहाँ जनतालाई के न्याय वा राहत दिइयो भन्ने प्रश्न आम जनताको छ । जो आफैमा जायज पनि छ ।
काण्ड नं. ६
काण्ड नं. ६ हो नगर प्रहरी काण्ड । नगरको सुरक्षाका लागि भनेर भर्ना गरिएका ५ जना नगर प्रहरी नगर प्रमुखका प्राईवेट सेक्युरिटि गर्छन । यतिसम्म गर्छन कि मेला महोत्सवमा मञ्च चढ्दा स्यालुट देखि खानपान र पिकनिकहरुमा गार्ड, अनी नगर प्रमुखको नीजि घरको सरसफाईसमेत । तलव नगरपालिकाको वजेटबाट खान्छन काम नगरप्रमुखको नीजि मामिलामा गछर््न । यो देख्नेहरु नगरमा धेरै छन तर बोल्ने कम छन् । वजेट नगरपालिकाको खर्चने काम नीजिदेखि सामुहिक सबै लगाउने यो ढोरपाटन नगरको एक अर्को अनौठो काण्ड हो । कर्मचारी भर्ना काण्डमा यतिमात्र भएन, कम्प्युटर अप्रेटरका लागि कक्षा १२ पास गरेको र आइटि पास गरेको कर्मचारी आह्वान गरियो त्यहाँ उनको अनुकुलतामा काम गर्न एफएम रेडियो हेर्ने शर्तमा एकजनालाई कक्षा १२ को नक्कली सर्टिफिकेट फाईलमा टाँसेर अहिले काम कजाइदैछ । उनी नगरपालिकाको काम र एफएमको कामसँगै गर्छन । यस्ता काममा नगरपालिका सिपालु बनेको छ । वडा नं. १ का वडा अध्यक्ष चित्र बहादुर भण्डारीकी बुहारीदेखि छोरी भतिजिसम्म, नगरमा कर्मचारी बनेर रजाई चलाएका छन् । यो कर्मचारी काण्ड हो । नगरपालिकामा उठाइएको करसम्बन्धी रकम वडा नं. १ का अध्यक्ष की बुहारीले दिनभर संकलन गर्ने र साँझ पख भण्डारीकी धर्मपत्नीलाई बुझाउने गरेको उनको भनाई छ । नगरमा दाखिला गर्नेबेला वडा अध्यक्ष भण्डारीले उक्त रकम आफ्रले विभिन्न व्यक्तिलाई सहयोग दिएको सेतो कागजी हिसाव नगरमा पेश गरेपछि भण्डारीले नगरमा ११ लाख रुपैयाँ तिर्नुपर्ने देखिएको नगरपालिकाका कार्यकारी अधिकृत धनप्रसाद पोखरेलले नगरपालिकाकै एक सार्वजनिक कार्यक्रममा मुख खोलेका थिए । यो नगरपालिकाको व्यवस्थापकीय कमजोरीको प्रदाफास हो । यसमा नगरपालिकाले अझैपनि संयमता देखाएको पाइएको छैन ।
काण्ड नं. ७
काण्ड नं. ७ मा ढोरपाटन बराह मन्दिर परिसरको घेरावार थियो । ४५ लाखमा पहिलो स्टेमेट बनेको ढोरपाटन बराहमन्दिर घेराबार योजना एकाएक ९० लाख पुगेपछि त्यहाँ अनियमितताको गन्ध उठेको थियो । स्थानीयले ४० लाख रुपैयाँ समेत राम्रोसँग खर्च नभएको बताएपछि विवादको सुरुवात भयो । केही स्थानीय युवाहरुले सामाजिक सञ्जालमा खुलेआम भ्रष्टाचार भएको लेख्दै आए । तर अन्तसम्म त्यसलाई सदर गर्न अनेकन चलखेलहरु भएको बताउने स्थानीयले आजपनि त्यसको चर्चा गरेका छन् । नगर प्रमुख, उपप्रमुख र वडा अध्यक्षको मिलेमतोका प्राविधिकहरुलाई समेत चुकाएर त्यहाँ लामो हात भएको खुल्लम खुल्ला बोल्दै आएका छन् । त्यस योजनामा नगरपालिकाबाट तलव खानेगरी खटिएका कर्मचारी जुनविक्रम विक नै त्यस आयोजनाको एउटा उपभोक्ता समिति अध्यक्ष भएर काम गर्नु, वडा अध्यक्षले नियुक्त गनै नगरमा गरेको सिफारिसबाट कर्मचारी बनेर नगरको तलवखाने व्यक्ति ने उपभोक्ता समितिमा राख्नु र उनीबाट काम गर्नु गराउनु त्यस काण्डमा देखिएको दालको कुछ काला थियो । काण्ड सेलाएको छैन तर थामथुम पार्ने कोसिस भने गरिएर्क देखिन्छ ।
काण्ड नं. ८
काण्ड नं. ८ हो, नगर प्रमुखले मिडियामा दिएको गलत हाईफाई । नगर प्रमुखले आफ्नो निजी लगानीबाट नगरमा शिक्षक भर्ना र नगरका खरका छाना जस्ताले छाएको गलत प्रचार गरेर हाईफाई गर्दै आएको पाइएको छ । नगर प्रमुखले विभिन्न क्लव र आमा समुह तथा मेला महोत्सवमा बोल्ने भाषणहरुमा आफुले आफ्नो नीजी लगानीमा ६० भन्दा बढी विद्यालयहरुमा ६० जना शिक्षक राखेको र ४ सय ६५ भन्दा बढी दलित गरिवका खरका छाना जस्ताले छाइदिएको बोल्दै आएका छन् । समाचार सम्प्रेशण गर्ने, कुनैपनि मियाकर्मीले खुद डाटा सहितको प्रमाण पोष्ट गरेको पाइदैन । मात्र हचुवाको भरमा नगरका मेयर यस्ता दानवीर यति सहयोग गरे भनेर मिथ्या चर्चा गरेकोमा मिडियाहरुलाई समेत आरोप छ । यस्तो आरोपपछि केही मिडियाहरुले त्यसको विवरण मागेको बताउँछन तर यथार्थ विवरण आफूसँग समेतन भएको र पछि उपलब्ध गराउने भन्दै तर्किएको मिडयाकर्मीहरुको भनाई सुनिन्छ । केही स्कुलहरुलाई अक्षयकोषका नाममा चन्दा बोदेका समाचारहरु सत्य हुन सक्छन् तर सरकारी कार्यालयको बैंक एकाउण्ट सरकारी बैंकमै हुन्छ भन्ने नगरप्रमुखलाई हेक्का छैन, आफ्नै निजी सहकारी इमेजमा खाता खोलेर राख्न मेयरले खुल्ला सभामा घोषणापछि स्कुल प्रशासन र व्यवस्थापन समितिलाई सुझाउछन् । यो आफैमा हाँस्यपद छ । कतिपय मिडियाहरुले तलव नखाने मेयर भनेर हल्ला गर्छन तर सबै खर्चपानी नगरको वजेटले गरेपछि तलवी भरपाईमा किन हस्ताक्षर गर्नु परे भन्दै आफू निकट पार्टिका जनप्रतिनिधिहरुले उनको त्यो आचरणको आलोचना गर्ने गर्दछन् ।
काण्ड नं. ९
नगरपालिकाको काण्ड नं. ९ हो नगरको वजेटमा मनपरी ः नगरको वजेट मनपरी एकल निर्णयले बाँड्ने र कार्यपालिकामा जवरजस्ती योजना तथा कार्यक्रमका पैसा रकमान्तरण गरेर मिलान गर्नु । ढोरपाटन नगरपालिकाको आर्थिक वर्ष २०७५/०७६को वजेटमा विपद व्यवस्थापन सम्बन्धि कार्यविधि नै नबनाई बुर्तिबाङको पहिरोपिडित, ढोरपाटनको आगलागी पिडित र तुरतुरेको डुवान पिडितलाई सहयोग बोल्ने देखि, गलकोट महोत्सव, बागलुङ महोत्सव, ढोरपाटन महोत्सव बुर्तिबाङ, विद्यालयका वार्षिकोत्सव, बुर्तिबाङको धार्मिम महोत्सव कार्यक्रममा करोडौं रकम बाँडेर सके । त्यो पनि विना कुनै विधि, विना कुनै निति । रकम बाँडने वा सहयोग गर्ने सम्बन्धमा नगरसभाले बढीमा २५ हजार तथा घटिमा १० हजार सहयोग गर्न क्षेत्राधिकार तोकेकोमा त्यस विरुद्ध आफैले बनाएको निति विधि कुल्चेर नगरको वजेट बाँडेका छन् । नगर परिषदले नगरको कृषि तथा पशुपालन क्षेत्रमा विनियोजन गरेको ६० लाख तथा बुर्तिबाङको खानेपानी व्यवस्थापनका लागि भनिएको १ करोड रुपैयाँ कति विकास योजनामा त कति माला अविर काण्डमा सकिएको छ । यसले नगरको काम गर्ने शैली र निर्णयकहरुको क्षमतामा प्रश्न उठाएको छ ।
काण्ड नं. १०
बुर्तिबाङको बाढि काण्ड र १५ दिनमा सकिएको काममा ६५ लाखको खेति । गएको बर्खा बुर्तिबाङ माथि खनिएको सडकबाट खोल्सामा फालिएको माटो बगेर बजारक्षेत्र तहस नहस बनायो । त्यस समयमा नगरपालिकाले सडक सफाई तथा खोल्सामा तटबन्ध गर्न भन्दै केही ठेकेदारहरुलाई विना निर्णय मौखिक जिम्मा लगायो । त्यहाँ १५ दिन राम्ररी काम भएन त्यसको बील नगरपालिकामा ६५ लाखको पुग्यो । केही समय विवाद र नपत्याउने खेति देखिएपछि अलमलिएको भएपनि पछि त्यसलाई पास गरि पैसा भुक्तान दिइयो । अझ रमाइलो काण्ड त के छ भने बुर्तिबाङको देवचोक बाट हस्पिटलसम्म डोजरले बाटो सफा गरेको विल २२ लाख उठ्यो त्यो नगरले भुक्तान गरेको छ । यसरी वजेटको सर्वनास पर्नेकाम भएको र त्यसमा कही न कही अनियमितताको गन्ध आएपछि नगरपालिकाका प्रमुख लगायत नगरप्रमुख काण्ड प्रमुख जस्ता भएका छन् ।
काण्ड नं. ११ मा छ, नमूना शहर बुर्तिबाङ र त्यसको परिणाम :
मध्य पहाडि लोकमार्गको बुर्तिबाङ बजार नमूना शहरी योजनामा छ । तर यहाँको काम भनेको धीमि गतिमा छ । यस आर्थिक वर्षका लागि विनियोजन गरिएको ११ करोड रुपैयाँको अहिलेसम्म कुनै काम भएको पाईदैन् । कोष तथा लेखा नियन्त्रण कार्यालय बागलुङले चैत्र मसान्तमा दिएको रिपोर्ट अनुसार ११ करोड बढी बजेटमा जम्मा ५ लाख मात्र खर्च भएको देखिन्छ । यो कुल विनियोजित बजेटको १ प्रतिशत पनि होईन । यस्तो अवस्थामा स्मार्ट सिटि कसरी हसन्छ भन्नेमा दुविधा छ । यस अघि नमूना शहरी आयोजनाको संयोजक शहरी विकास मन्त्रालयले तोकेर टिका लगाई पठाउँथ्यो । कुनै समय अर्जुन शेरचन त्यसको अध्यक्ष हुँदा स्थानीयसँग कस्तो बनाउने कहाँ बनाउने के बनाउने भन्ने सवालमा सर्वपक्षिय छलफल, अन्तरक्रिया हुन्थ्यो । पारदर्शी ढंगले टेन्डर तथा वजेट व्यवस्थापन र खर्च भएको थाहा हुन्थ्यो । जव नगर प्रमुखमा नेपाली आए त्यसपछि नमूना शहरका विषयमा यहाँका जनतालाई बेखबर बनाइयो । आएको वजेट समेत आफ्ना आसपासमा मान्छेहरु जम्मा पारेर उपभोक्ता समिति बनाउँदै खर्च गर्दै गरियो । अहिले त्यो पनि नभएर काम यत्तिकै बसेको छ । काम केही देखिएको छैन ।
काण्ड नं. १२ हो खोला किनारको नमूना शहरी योजनाको बसपार्क र नगर प्रमुख सहित एकजना ठेकेदारसँगको मिलेमतोमा रकम अनियमितता गरेको आरोप काण्ड :
बुर्तिबाङको खप्तरीबाङ स्थित मध्यपहाडि लोकमार्गको पुल बन्ने स्थानमा रहेको खोला किनारमा रहेको जग्गा स्मार्ट शहरको बसपार्क निर्माण प्रयोजनका लागि भन्दै खरिद गरियो । उक्त बसपार्क भनिएको जग्गा स्थानीय एक ठेकेदार दीपक अदै, मेयरका सहोदर दाजु ओमकुमार नेपालीको जग्गा सँग सटेको छ । केही जग्गा अदैको र केही जग्गा स्थानीयको मिलाएर स्थानीयलाई कम पैसा दिएर ५ करोडको कारोवार गर्दा एक करोड रुपैयाँ झयाम परेको त्यहाँका स्थानीयले ारोप लगाउँछन् । बजार क्षेत्रमा समेत ठूला मान्छेहरुले जे जे गरेपछि हुँदा रैछ, नगरपालिका खत्तम भयो भन्दै चिन्ता गर्छन । यसको सत्यता के हो जनता जान्न चाहन्छन् । जग्गा खरिदमा जिल्ला प्रशासन कार्यालय बागलुङका तत्कालिन प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेल समेत रहने हुँदा यसरी स्थानीयलाई जानाकारी नै नगराई सुटुक्क खरिद गर्ने प्रयोजनमा बागलुङ गृह जिल्ला रहेका सिडियो समेत कसरी मुछिए भन्ने चिन्ताको विषय भएको यहाँका स्थानीयले गुनासो गरेका छन् ।
काण्ड नं. १३
काण्ड नं. १३ मा साँसद क्षेत्र विकास कोष अन्तरगत क्षेत्र नं. २ का साँसद देवेन्द्र पौडेलले आफ्नो निर्वाचन क्षेत्रमा खर्चगर्ने विकास पूर्वाधार निर्माणको वजेटमा मच्चिएको छ । आफ्नो निर्वाचन क्षेत्रमा ४ करोड वजेट विनियोजन गरेका देवेन्द्र पौडेलले ढोरपाटन नगरपालिका दुईवटा भिन्ना भिन्नै योजनामा ५० लाख विनियोजन गरेका थिए । ति दुवै योजनामा नगर प्रमुख विवादित भएका छन् । स्थानीय निकायको समेत साझेदारी कार्यक्रम भएकाले सुरुमा बुर्तिबाङको खानेपानी योजनामा ४० लाख विनियोजन भएको नगर प्रमुखले दावी गर्दै गर्दा यहाँको निसीभूजि जनता क्याम्पुलाई उक्त रकम आएको क्याम्पस अध्यक्ष चन्द्र अर्यालले दावी गरेका थिए । क्याम्पसलाई वजेट आएको होईन, खानेपानीमा आउने भनिएको बजेट क्याम्पसमा लगिएको भन्ने सुन्नमा आएको बताउँदै आएका नगर प्रमुख नेपालीले, पछिल्लो समय उक्त रकम फेरी खानेपानीमै सारेका छन् । योजना रकमान्तरण गरिएको छोटो समयमा एकाएक सञ्चार माध्यमको प्रयोग गरी उक्त रकम ९० प्रतिशत खर्च भएको बताउनु लाजमर्दो भएको क्याम्पसका अध्यक्ष अर्यालले खरो रुपमा सामाजिक सञ्जालको प्रयोग गरी विरोध जनाएका छन् । वजेट रकमान्तरण गरिएको १५ दिन नपुग्दै ९० प्रतिशत काम भएको प्रचावाजी गर्नु आफैमा गलत प्रचार भएको भन्दै अर्यालले के काम गरेको हो भन्ने सचेत जनताले हेरिरहेको र न्यूनतम नैतिकताको समेत ख्याल गर्न उनले सुझाएका छन् । यस्तै सोही साँसद षेत्र विकास कोषको १० लाखमा निर्माण हुने भनिएको वडा नं. ७ को शिव मन्दिर निर्माणमा वडाको सहमति विना नगर प्रमुखले एक लौटी ढंगले आफ्ना मान्छेहरुलाई उपभोक्ता समिति बनाई काम लगाएको भन्दै वडा नं. ७ को वडा समितिका तर्फबाट वडा अध्यक्ष दीपक थापाले विज्ञप्ति नै निकालेर विरोध गरेका छन् । वडा समितिले सिफारिस गरेर उपभोक्ता समितिले काम सुरु गर्नु पर्नेमा मेयरको तोक आदेशमा वजेट पेश्की दिएको र विधिको शासन कुल्चेको वडा अध्यक्ष थापाको आरोप सहितको विज्ञप्ति बाहिर आएको थियो ।
काण्ड नं. १४
योग्यता नपुगेका व्यक्ति कार्यकारी प्रमुखमा बसिरहँदा यहाँको बेथिति मौलाएको प्रशासकीय अधिकृत माथिको आरोप छ । नगर प्रमुखले जे जे गर्न भन्छन त्यही त्यही गर्न मिल्ने गरी शिक्षा क्षेत्र हेर्ने कर्मचारीलाई नमूना प्रशासकीय अधिकृत बनाईरहँदा ढोरपाटनमा बेथिति मौलाउँदै गएको यहाँका स्थानीय बुद्धिजीविहरुको तर्क छ । नियम, ऐन र विधिको पालना गर्न स्वयं जनप्रतिनिधिहरुले त्यसको अध्ययन गर्नु पर्दछ । अन्यथा पालना गर्न हुने नहुने विषयमा जानकार प्रमुख प्रशासकीय अधिकृत आवश्यक हुन्छ । कर्मचारी समायोजन देखि विभिन्न रचनाहरु भए । विभिन्न समयमा नयाँ नयाँ नामका प्रशासकीय अधिकृत आउने सूचनाहरु पनि बाहिर आए तर मिलेमतोमा योग्यता नपुगेका मान्छेलाई राखेर नगर प्रमुखकै साँठगाँठमा अनेकन विवादित निर्णय र कामहरु भईरहँदा यस्तो अवस्था सिर्जना भएको देखिएको छ । भनसुन र थामथुमका कामले यहाँको विकृति विसंगति मौलाएको हो । अहिले पनि समायोजनबाट योग्यता पुगेका प्रशासकीय अधिकृतले ढोरपाटन नगरपालिका रोजेका छन् । समायोजन पत्र पाएका २१ दिनभित्र कार्यालयमा हाजिर हुने भनिएको यति लामो समयसम्म पनि उनको उपस्थिति नहुने लोकको लाज हराएकोमात्र भन्न सकिन्न, प्रशासकीय अधिकृत भएर काम चलाउ गरेका वर्तमान प्रशासकीय अधिकृतका काम चलाउ धनप्रसाद पोखरेलले यही ढोरपाटन नगरकै शिक्षा शाखा रोज्नुमा शंसय पैदा भएको छ ।
काण्ड नं. १५
काण्ड नं. १५ अवको केही दिनमा उद्घाटन हुने नगरपालिकाका कार्यापालिका सदस्यहरुले बताएका छन् । नयाँ आर्थिक वर्षको वजेट तथा कार्यक्रम तय गर्नका लागि वडा वडामा नगर कार्यपालिकाले नै एक समिति बनाएर जाने निर्णय गरेको कुरा बाहिर आएको छ । यदी यस्तै भयो भने वडा समितिमा निर्वाचित जनप्रतिनिधिहरुको काम र जिम्मेवारीमा प्रश्न उठ्ने सम्भावना छ । उनीहरुको क्षेत्राधिकारमाथि फेरी धावा बोलिदै छ । यस्ता नौटंकी निर्णय गराएर विवाद पनि विवाद र काण्डपनि काण्डका खेति गर्दै जाने नगरपालिकाका प्रतिनिधिहरुको साँच्चै क्षमता जाँच गर्न अन्यत्र जानु पर्दैन । के गर्न हुने के गर्न नहुने भन्ने विषयमा बनाइएको ४० पेजको स्थानीय तह कार्यविधि गतिलो अध्ययन गर्न नजान्नेहरु कार्यपालिकामा बसेर गरेका निर्णयहरु हाँसोका विषयमात्र छैनन् । हद्सम्मको बालापन छ । नाजानीपन छ । एक हदको अहंकार उपल्लो तहमा बाँचेको र त्यसको समर्थन र नादान मुन्टो हल्लाईले देखाएको स्वयंलज्जा अन्यत्र कहाँ पाईएला र किन कि यहाँ अर्गानिक खालको नतमस्ती लज्जाबीज उम्रेको पक्का छ । त्यो झाँगिदै गर्दा केलाई भन्दा केलाई लाजको विषय बन्ने देखिन्छ ।
यसरी ढोरपाटन नगरपालिकामा नगरपालिकाको काम र त्यसको कार्यशैली प्रति यहाँका राजनैतिक दलका नेता चाहे त्यो सत्तामा भएको नेकपा होस वा बाहिररहेको नेपाली काँग्रेस, राष्ट्रिय जनमोर्चाका नेता, स्थानीय बुद्धिजीविहरुको समेत चासो व्यक्त भएको छ । यो कदम सच्चिनस जरुरी छ । नभए यसको हविगत केहोला भन्ने चिन्ता छ ।