कृषि क्षेत्रमा काम गर्ने बानी हराउँदै गैरहेको बेला जमुना भने दैनिकजसो कृषि कार्यमै व्यस्त देखिन्छिन् ।

1
471

विक्रम सम्वत २०२९ पौष १४ गते अर्जेवा-३, आगेरम्टा (हाल जैमिनी-६)मा एक सामान्य किसान परिवारमा जन्मिएकी जमुना कुमारी चालिसेले २०४४ सालमा अर्जेवाकै एक किसान परिवारका चिन्तामणि पौडेलसँग विवाह गरेकी थिइन् । उनका अहिले एक छोरा र एक छोरी छन् । छोरा तुफान पौडेल सिविल इन्जिनियरिङ् गरेका छन भने छोरी प्रतिभा पौडेलले फुड-टेक्नोलोजी(बिटेकफुड) पढ्दै छिन् । छोरी प्रतिभा पढाई संगसंगै प्रगतिशील कलाकारीताको क्षेत्रमा सक्रिय छन् ।

कृषि पेशा केवल निर्वाहमुखी बन्दै गैरहेको र कृषि क्षेत्रमा काम गर्ने बानी पनि हराउँदै गैरहेको वर्तमान परिवेशमा जमुना पौडेल भने दैनिकजसो कृषि कार्यमै व्यस्त देखिन्छिन् । श्रममा सहभागी हुँदा छुट्टै आनन्द प्राप्त हुने उनी बताउँछिन् । कृषिप्रधान मुलुक भएपनि कृषि क्षेत्र सधैं उपेक्षित छ । एकातिर किसानले उत्पादित बस्तुको उचित मूल्य पाउँदैनन् भने अर्कोतिर उपभोक्ताले महँगोमा खरिद गर्नुपर्ने विडम्बना रहेको उनी सुनाउँछिन् । राज्यले कृषि क्षेत्रलाई मर्यादित र व्यवस्थित गर्नसके रोजगारकालागि दैनिक हजारौं युवा युवतीहरु बिदेशिनु नपर्ने उनको भनाई छ । श्रीमान प्रायः राजनीतिक काममा व्यस्त र छोराछोरी पढाईमा भएपनि जमुना पौडेल भने छोराछोरीको पढाइ देखि घरयासी खर्चको लागि कृषिबाट नै मनग्ने आम्दानी गर्दै आएकीछन् । उनै पौडेलसँग इमिसन खबरको लागि गरिएको कुराकानीको सारसंक्षेप: ।

O व्यवसयमा के- कसरी लाग्नुभयो ?
-मैले २०५२ साल तिर बाट सानोतिनो व्यवसाय शुरु गरे । शुरुमा सुनौलीबाट विभिन्न घरायसी समानहरु लिएर वुटवल हाटबजारमा बेच्थे । त्यसपछी २०५५/५६ साल तिर वुटवलमा दालमोठ विक्री गरि घरायासी खर्च चलाउंदै आएकी थिएँ । छोराछोरी पढाउनु हुर्काउनुका साथै खेतिपाती गर्नको लागि २०५७ सालमा कपिलवस्तुको मोतिपुर चप्परगाउँमा पाँच कठ्ठा जमिन लिएर वसोवास शुरु गरेका थियौं । २०५७ सालदेखी २०६४ सालसम्म कपिलवस्तुमा कृषि तथा पशुपालन गरेर जिविकोपार्जन गरे ।

श्रीमान् राजनीतिक जिवनमा भएको र पार्टी काममा सक्रिय रहेकोले छोराछोरी पढाउन र घरायसी खर्छ चलाउनको लागि उक्त परमपरागत कृषि तथा पशुपालनले नपुगेपछि २०६५ सालमा पुन: वुटवल आइ लुम्बिनी अञ्चल अस्पताल गेट अगाडि फलफुल पसल संचालन गर्दै आएकी थिएँ । त्यसको एकवर्ष पनि पुग्न नपाउँदै २०६६ सालमा श्रीमान विरामी हुनुभयो र उपचारको निम्ति काठमाडौं आयौं । उहाँको उपचारमा लामो समय यतै बस्नुपर्ने अवस्था भएपछी केही व्यवसाय त गर्नै पर्छ भन्ने सोचेर सुन्धारा बागदरबारमा पुस्तक-स्टेशनरी, किराना र सगसब्जी समेतको पसल करिब चार वर्ष संचालन गरें । त्यसपछि पुरानो बानेश्वरमा स्टेशनरी पसल शुरू गरें । त्यो पनि धेरै समय चलाउन सकिन । २०७२ को भुकम्प आउनु अगाडिसम्म कलङ्की श्युचाटारमा पनि स्टेशनरी पसल चलाएकी थिएँ । भुकम्प पश्चात किर्तिपुर ६ चारघरे चोभारमा आएर सानो छाप्रो बनाएर बसोबास गरि विशेषगरी तरकारी खेति गर्दै आएका छौं ।

O के-के खेतीवाली लगाउदै आउनुभएको छ ?
– अहिले हामीले मकै, सिमि, अकबरे खुर्सानी, काउली, लौका, काक्रो, स्कुस लगाएतका तरकारी खेती गर्छौं । यही तरकारी बेचेर नै मैले आफ्नो जिबिकोपार्जनका साथै छोराछोरीको पढाइको खर्च चलाउंदै आएकी छु । कृषि विस्तारै बढाउँदै लगेकी छु । आगामी दिनमा अरु विस्तार गर्दै जाने सोच बनाएर काम गर्दै आएको छु ।

O कृषिमा श्रीमान र छोराछोरीको सहयोग के कस्तो रहेको छ ?
– श्रीमान घरमा आएको बेला मलाई निरन्तर सहयोग गर्ने गर्नुहुन्छ । आवश्यक सामाग्री ल्याइदिनेदेखी योजना निर्माणमा उहाँले नै सहयोग गर्नुहुन्छ । कृषि पेशामा छोराछोरीको पनि सहयोग रहेको छ। विदामा घरमा आएको समय मलाई सघाउने गर्छन ।

जमुनासँग काममा हातेमालो गर्दै श्रीमान चिन्तामणि पौडेल
काममा सघाउँदै छोरी प्रतिभा

O तपाई आफुलाई राजनीतिमा गतिविधिमा सहभागी हुन मन लाग्दैन ?
– लाग्छ, म पनि बेलाबखत समय मिलाएर कार्यक्रमहरू सहभागी हुने गरेकु छु । दुवैजना निस्किँदा घरव्यवहार, छोराछोरीको पढाइ, खर्च व्यवस्थापन लगायतका समस्या आइपर्छन । घरमा एकजनाले घरायासी ब्यबस्थापन तथा उत्पादनमूलक काममा सहभागी हुँदा मात्र अर्कोलाई सामाजिक कार्यमा लाग्न सहज हुन्छ ।

O अहिलेसम्म कृषिमा कति लगानी गर्नुभयो ?– अहिलेसम्म कृषिमा यति नै लगानी गरियो भन्ने त छैन तै पनि यसबाट लगानीको तुलनामा आम्दानी भने राम्रो छ ।

O यो पेशालाई अगाडि बढाउन के कस्ता योजनाहरु बनाउनु भएको छ ?
-खेतीलाई व्यवसायीक र अर्गानिक खालको बनाउने सोचाइमा छु । अझैसम्म पुर्ण रुपमा व्यवसायिक बनाउन भनेको सकेको छैन । पुर्ण व्यवसायीक बनाउन नसकेपनी उत्पादन सन्तोसजनक नै छ । पहिले केही समय व्यवसायिकरूपमा कुखुरा पालन गरेका थियौं ।हाललाई स्थगित गरेका छौं ‌। त्यसलाई अरु व्यवस्थित गरेर निरन्तरता दिने सोचमा छु

O उत्पादित वस्तुको बजारीकरणमा केही समस्या छ कि छैन ? 

– उत्पादित वस्तुको बजारिकरणमा समस्या रहेको छ । किसानले सस्तो मुल्यमा बेच्नु पर्ने, उपभोक्ताले महङ्गोमा किन्नुपर्ने, विचौलियाले त्यसको फाइदा लिने अवस्था छ । वास्तवमा भन्ने हो भने किसानहरूको हितमा बजार व्यवस्थापन छैन । कृषिप्रधान मुलुक भएपनि कृषि क्षेत्र सधैं उपेक्षित छ । राज्यले कृषि क्षेत्रलाई मर्यादित र व्यवस्थित गर्नसके रोजगारकालागि दैनिक हजारौं युवा युवतीहरु बिदेशिनुपर्ने थिएन ।

O तपाईंले आफ्नो उत्पादनलाई कसरी बजारसम्म पुर्याउने गर्नुभएको छ?
– धेरैजसो उत्पादित वस्तु घरबाट नै बिक्री हुने गरेको छ । घरबाट नै विक्री गर्दा बोकेर बजार सम्म पुर्याउने झन्झट त हुँदैन तर अत्यन्तै सस्तो मूल्यमा बिक्री गर्नुपर्ने हुन्छ । बजारसम्म पुर्याउन सके अलि राम्रो मुल्य पाउन सकिन्छ । त्यसैले बेलाबखत आफै बोकेर नै बजार पुर्याउने गर्छु ।

उत्पादित तरकारी बजारसम्म पुर्याउन जाँदै जमुना

O बिशेष गरी कहाँको बजारमा लगेर बेच्ने गर्नु भएको छ?
– किर्तिपुर, बल्खु र कालीमाटीमा लगेर वेच्ने गरेकी छु । कहिले सार्वजनिक यातायातमा राखेर त कहिले आफै बोकेर पनि बजार सम्म पुर्याएर बिक्री गर्ने गरेकी छु ।

O कृषि पेशमा लाग्दा खुसी हुनुहुन्छ ?
– श्रममा रमाउदा मलाई एकदम खुसी लाग्छ । आफै उत्पादन गरेका बस्तुहरु उपभोग गर्दा आनन्दको महसुस हुन्छ । आर्थिक अवस्थामा ठूलो परिवर्तन नभए पनि आफ्नै पाखुरामा बाँच्न पाएकी छु । खेतबारीमा रमाउन पाएकी छु । सन्तुष्ट नै छु ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here