समाजमा कलम लिएर अक्षरको खेती गर्ने अनेक मानिसहरु हामीले देख्न सक्छौँ । हामीलाई थाहा छ, समाजको ठुलो तप्का, जसले कलम समाइरहेको छm त्यो बिलकुल आफ्नो जीवनको रोजीरोटीसँग सम्बन्धित छ । आफ्ना घरपरिवारलाई खुशी राख्नका लागि, धनी हुनका लागि, आफ्ना व्यक्तिगत इच्छा–आकाङ्क्षाहरु परिपूर्ति गर्नका लागि, पैसावाल हुनका लागि, जीवनमा नाफामाथि नाफा बढाउनका लागि, आफ्नो नाम सुनाउनका लागि आदि प्रयोजनमा यी कलम प्रयोग भएका छन् । कलम घुमाएर ठुला ठुला भ्रष्टाचार भएका छन् । कलम घुमाएर जनघाती र राष्ट्रघाती जस्ता जघन्य अपराध भएका छन् ।
यसरी कलम समाएर अक्षरको खेती गरिरहेकाहरुको भिडमा हामीले पनि कलम समाइरहेका छौँ । तर हामीले समाएको कलमले सामाजिक परिवर्तनका लागि लडाइा लडिरहेको योद्धाको प्रतिनिधित्व गरिरहेको हुन्छ । यो स्वच्छ, निष्कलङ्क र पवित्र हुन्छ । तसर्थ हामीले समाएको कलमले हाम्रो रोजीरोटीको आवश्यकता पुरा गर्न सक्दैन । रोजिरोटीका लागि हामी विदेशिनु परेको छ । साना साना खुद्रा पसले हुनु परेको छ । गौती र बेल्चा चलाउनु परेको छ । एकछाक जुटाउनका लागि कहिले यता र कहिले उता भौतारिनु परेको छ । बााच्नकै लागि अथाह पसिना बगाउनु परेको छ, तैपनि हामीले भोकैप्यासै पनि कलम समाई नै रहेका छौँ ।
हामीले कलम समाए बापत् हाम्रो घरपरिवारले बारम्बार तनाव भोग्नु पर्दछ । हामीले समाएको कलमले हाम्रो छोराछोरीहरुलाई डाक्टर, नर्स पढ्न पाउने पैसा जुटाउन सक्दैन । पाइलट र इन्जिनियर बन्न सक्ने पैसा सञ्चित गर्न सक्दैन । किनकि हामीले समाएको कलमले दुई पैसा कहिल्यै कमाउन सकेन, बरु अभाव सिर्जना गर्यो । यही अभावका कारण अरूले जस्तै आफ्ना छोराछोरीहरुलाई महङ्गा र नाम चलेका कलेजहरुमा पढाउने रहर हुादाहुँदै पनि मुटु मिचेर गाउँघरकै साधारण शिक्षालयहरुमा पढाउन विवश हुन्छौँ । हाम्रा बृद्ध आमाबुबालाई कहिलेकाहीँ के खान मन छ भनेर सोध्नसम्म नसक्ने अवस्थामा पुग्छौँ । हामीसँग यसको लागि समेत दुई पैसा हुँदैन । हामीले कलम चलाए बापत् कहिल्यै पनि सत्ता र भत्ताको लालचा राख्दैनौँ, बरु हामी हरेक चाडपर्वमा हाम्रा जहान–परिवारसँग आध्यारो मुख लगाएर बस्ने कुरालाई सहजै स्वीकार्छाैं । हामीले कहिल्यै पनि अपवित्र कुरामा सम्झौता गरेर कलम चलाउँदैनौँ । एक्लै परिन्छ कि भन्ने डरले हामी समाजको खराबी, असत्य र अन्यायी कुरामा कदापि मिसिदैनौ, बरु मलामी बिना एक्लै पनि मर्न तयार हुन्छौँ । वास्तवमा हामीले जुन कलम समाएका छौँ, त्यो कलमले हाम्रो जीवनको कथा कहालीलाग्दो बन्ने गरेको छ ।
कहिलेकाहीा हाम्रो परिवारको कुनै सदस्य बिरामी भइहाल्यो भने उसलाई उपचार गर्ने सामान्य हैसियत हामीसँग हुँदैन । हामी केवल उसको दर्दनाक व्यथालाई टुलुटुलु हेर्ने र अन्त्यमा उसको मृत्युको साक्षी बन्नु वाहेक हामीसँग अरू विकल्प केही हुँदैन । किनकि उसको उपचार गर्न वा उसलाई बचाउन हामीलाई थुप्रै पैसा चाहिन्छ । हामी स्वयम् पनि कति बेला कुन रोग लागेर वा भोकमा परेर तड्पी तड्पी मर्नु पर्ने हो ? हामी आफैलाई थाहा छैन । वास्तवमा हामीमा यतिविघ्न सङ्कट पैदा हुनुको मूल कारण हामीले वर्तमानको सामाजिक परिवेशभन्दा फरक धारमा कलम समाएर नै हो ।
आखिर हामी जस्ता फरक धारमा कलम समाउनेहरुको अवस्था यस्तो किन हुन्छ त ? के हामीले समाएको कलमले कामै नलाग्ने व्यर्थको कुरा लेखिरहेको छ त ? होइन भने हामी जस्ता स्रष्टाहरुले सधौाको अभाव र दु:ख किन झेल्नु परेको छ ? सङ्घर्ष र वलिदानको बाटो किन रोज्नु परेको छ ?
यो स्पस्ट छ कि हामीले सधौ सधौ सामाजिक क्रान्तिको हितमा कलम समाइरहेका छौँ । हामीले समाएको कलमले समाजमा क्रान्ति ल्याउनको लागि अक्षरहरुको खेती गरिरहेको छ । जनतालाई सुखी र समानताको युगमा पुग्नका लागि मार्गदर्शन कोरिरहेको छ । देशको समृद्धिको सूत्रहरु पहिल्याइरहेको छ । हामी यो आत्मविश्वासका साथ उद्घोष गर्न सक्छौँ कि हाम्रो कलमले लेखेको विषयवस्तुले देश, जनता र समाजलाई कहिल्यै अहित गर्ने छैन, बरु अगाडि बढ्नलाई अथाह उर्जा दिनेछ । हाम्रो यो उद्घोषमा सत्यता छ कि छैन भनेर जाँच्न हामीले समाएको कलमका अक्षरहरु सबैले राम्ररी हेर्न जरुरी छ । हामीले बोकेको आस्था र हामीले बिताइरहेको जीवनशैलीको सबैले गहिरो मूल्याङ्कन गर्नु पर्ने आवश्यकता छ ।
हिजोआज हाम्रो मुलुकमा नयाँ युग सुरु भएको झ्याली पिटिदैछ । शासन व्यावस्था समाजवाद उन्मुख भएको घोषणा गरिएको छ । तर आज हामीले आफ्नै शरीरलाई भोकैप्यासै सुकाएर यी पाइलाहरुलाई कठिन बाटोमा हिडाएर देश, जनता र समाजको पक्षमा कला, साहित्यलाई उजागर गर्दै हिडिरहेको कुरामा राज्यको कुनै ध्यान छैन । कला, साहित्यलाई हेर्ने राज्यको दृष्टिकोण उही पुरानै खालको छ । अझै पनि राज्यले कलालाई कलाकै रूपमा मात्रै बुझिरहेको छ । त्यसैले त कला साहित्यको नाममा राज्यले कहिलेकाहीा पुराना रुढिग्रस्त संस्कार र संस्कृतिमा लगानी गर्ने गरेको भएता पनि नयाँ जनवादी संस्कार र सस्कृतिको भने राज्यले नामै उच्चारण गर्न हिच्किचाई रहेको अवस्था छ । आज हामीले नयाँ जनवादी संस्कार र संस्कृतिको झण्डा बोकेर यसको उन्नतिका लागि राज्यका सम्बन्धित निकायहरुमा अनुरोध गर्ने हो भने स्रष्टाहरुसित उल्टै भिखारी जस्तै व्यवहार गरिन्छ । यो हामीले व्याहोरिरहेको तितो अनुभव हो । त्यसैले राज्यले यो बुझ्नु जरुरी छ कि जनवादी कला, साहित्यको क्षेत्रमा जबसम्म राज्यको लगानी हुन सक्दैन, तबसम्म देशको सुख र समृद्धिको कल्पना व्यर्थ छ ।
आज हामीले जनवादी कला, साहित्यको कुरा गर्दा कैयौँलाई यो व्यर्थै जस्तो पनि लाग्न सक्छ अर्थात् हामीले फरक धारको कलम समाएर साहित्य सिर्जना गर्दा मान्छेहरुले हाम्रो व्यक्तिगत जीवनमा कुनै विकास र प्रगति नदेख्न सक्छन् । किनकि हामीले हाम्रो समय कला र साहित्यमा खर्चिदै गर्दा हामीले व्यक्तिगत धनसम्पत्ति आर्जन गर्ने बाटोवाट वञ्चित भइरहेका हुन्छौँ । सामान्य रूपमा मान्छेले व्यक्तिको विकास वा प्रगतिलाई उसले जीवनमा आर्जन गरेको धनसम्पत्तिको आधारमा मूल्याङ्कन गर्ने गरेको पाइन्छ । उसले कति तलाको घर बनाएको छ ? महिनामा कति हजार वा लाख कमाउँछ ? उसले आफ्ना बालबच्चा कुन देशको कुन कलेजमा पढाइरहेको छ ? उसले आफ्नो घरपरिवारको आवश्यकता कति पूर्ति गर्न सकेको छ ? सुनचाँदी र गहनाहरु कति सङ्कलन गर्न सकेको छ वा छैन ? यसै कुरालाई महान् र सर्वमान्य ठानिरहेको हुन्छ । तर आज एउटा कलम समाएको स्रष्टाले कति साहित्य सिर्जना गरेको छ ? कति काम लाग्ने पुस्तक लेखेको छ ? यो आधारमा मान्छेको विकास वा प्रगतिलाई मूल्याङ्कन गर्ने सोच अत्यन्तै न्यून रहेको छ ।
कुनै पनि कला र साहित्यको क्षेत्रमा भएको प्रगति कुनै सडक वा खानेपानीको आयोजना जस्तो सम्पन्न भएर देखिने प्रगति जस्तो प्रष्ट देखिने होइन, न त यसले धनराशीले झौ प्रत्यक्ष फाइदा नै मिल्छ । यस प्रकारको भौतिक प्रगति र फाइदा नभएता पनि हामीले समाएको कलमको बेग्लै महत्व छ । सामाजिक क्रान्तिको यात्रामा यी कलमले सिर्जना गरेका अक्षरहरुबाट असीम शक्ति पैदा हुने र यो शक्तिको आधारमा युगौँदेखि हुन नसकेको विकास र समृद्धि जनताले छोटो समयमा नै सम्पन्न गरी देखाइदिएका कैयौं उदाहरण हाम्रो सामु प्रष्ट छ ।
हामीले अनुमान गर्न सक्छौँ कि माक्र्स, एङ्गेल्सको पालामा संसारमा करोडौँ सम्पत्ति आर्जन गर्नेहरु थुप्रै थिए होलान् । दशौँ, बिसौँ तलाको महल बनाएर ऐशको जिन्दगी ब्यतित गर्नेहरु पनि कैयौं जन्मेका थिए होलान् र मरेका पनि थिए होलान् । आज विश्वका मान्छेहरुका दिमागमा ती कसैको सम्झना छैन । तर अभाव र हण्डरहरुको सामना गरेर कलम चलाएका माक्र्स र एङ्गेल्स जस्ता दार्शनिकहरुलाई भने चाहे विरोधमा होस्, चाहे समर्थनमा होस्, अझैसम्म पनि विश्वका सारा मानिसहरुले सम्झन बाध्य छन् । आज माक्र्सद्वारा लिखित पुँजी नामको पुस्तक वरिपरि विश्व घुमिरहेको छ । यस्तै पुस्तकहरुको शक्तिले विश्वका कैयौँ देशहरुमा उथलपुथल नै ल्याइदिएको छ । मानव जातिको इतिहासमा ठुला ठुला क्रान्ति र प्रतिक्रान्तिका घटनाहरु घटेका छन् । विकास र समृद्धिका ढोका खुलेका छन् । तसर्थ राज्यले सडकमा, पुलमा, खानेपानीमा, भवनमा, बिजुलीमा जति प्राथमिकताका साथ लगानी गर्ने गर्दछ, त्यत्तिकै प्राथमिकताका साथ साहित्य, कला र संस्कृतिको क्षेत्रमा पनि लगानी गर्नु नै पर्दछ । कला, साहित्यको उन्नयनका लागि सोच्नै पर्दछ । राज्यले यो कुरा बुझेर हाम्रो कलमले सिर्जना गरेको नैतिक बल प्राप्त गर्यो भने विकास निर्माणमा संलग्न मान्छेहरुले भ्रष्टाचार गर्ने छैनन् । राज्य सञ्चालनको कुर्सीमा बसेका कर्मचारीहरुले दुई पैसामा र्याल चुहाउने छैनन् । नेताहरु नातावाद, कृपावादको दलदलमा फस्ने छैनन् । हामीले समाएको कलमबाट यस्तै यस्तै सभ्य संस्कृतिको निर्माण हुने हो । यस्तो सभ्य र सुन्दर संस्कृति निर्माण भयो भने मात्रै १० लाखमा बन्ने आयोजनालाई १० करोडको खर्च देखाउने कुप्रथा अन्त्य हुनेछ । यही कारणले पनि हामीले समाएको कलममा जतिसुकै कठिनाइा र सङ्घर्षको मसी भरिएको भए पनि यसमा बेग्लै महत्त्व र गौरवको गाथा घोलिएको छ ।
हाम्रो कलमको यो महत्त्व र गौरवलाई हामीले कहिल्यै पनि मर्न दिनु हुँदैन । हामीले कलम चलाउँदै गर्दा हामीले हाम्रो व्यक्तिगत हितलाई कहिल्यै केन्द्रमा राख्नु हुँदैन । हाम्रो कलमको हर पाइला सधौ सामाजिक क्रान्तिको हितमा दौडिनु पर्दछ । नयाँ जनवादी संस्कृति निर्माणको एक अथक योद्धा बन्नु पर्दछ । यसो गर्दा हाम्रो जीवनको कथा जतिसुकै कहालीलाग्दो बन्न पुगेता पनि हामी आत्तिनु हुँदैन । हरेक कठिनाइाको एक एक गरी सामना गर्दै अगाडि बढ्नु पर्दछ । सच्चाइको निम्ति लेख्दा हामी कैयौँचोटी एक्लै पर्न सक्छौँ । सारा समाजले हामीलाई वहिस्कार गर्न सक्छ, तैपनि हामी कहिल्यै निरास हुनु हुँदैन । किनकि अहिलेसम्मको जीवन र जगतको इतिहासमा सच्चाइले कहिल्यै पनि हारेको छैन । सामाजिक क्रान्ति र गतिशीलता कहिल्यै पराजित भएको छैन । यो निरन्तर अगाडि बढिरहेको छ । कुनै बेला पाइथागोरस नामका वैज्ञानिकले पृथ्वी गोलो छ भन्ने सच्चाइको लागि सङ्घर्ष गर्दै गर्दा सारा दुनिया पृथ्वी चेप्टो छ भन्ने असत्य कुरामा लिाडेढिपी गर्दै थियो । त्यो समयमा सत्यको पक्षमा पाइथागोरस एक्लै परेको भएता पनि आज आएर जित पृथ्वी गोलो छ भन्नेकै भएको छ । किनकि सत्य कुरा त पृथ्वी गोलो छ भन्ने नै थियो । सामाजिक क्रान्तिप्रतिको आस्था र विश्वासमा अडिग रहेर साहित्य सिर्जना गरेका विश्वका महान् साहित्यकारहरु गोर्की र लुसुन जस्ताको जिवनी पढ्यौँ भने उनीहरुले व्यक्तिगत हितलाई कहिल्यै केन्द्रमा राखेर कलम चलाएको पाइादैन । उनीहरुले हार हुने गरी कहिल्यै कलम चलाएनन् । उनीहरुले चलाएको कलमले सधौ जितिरह्यो । किनकि उनीहरु सधौ सामाजिक क्रान्तिको पक्षमा थिए । सत्य र न्यायको पक्षमा थिए । आज हामीले चलाउने कलमको कुरामा पनि यही भावनालाई आत्मसात गर्नु जरुरी छ । आजका हामी सबै स्रष्टाहरुले हार हुने कलम होइन, विजयको शिखर चुम्ने कलम समाउनु पर्दछ ।