गौरीलाल कार्की
सेकेन्डमा सेकेन्ड नयाँ भयो
पल पलको घाउ सन्चो भएन
एकै मिनेटमा मिनेट नयाँ भयो
पहर पहरको खबर नयाँ भएन
घन्टौं बित्यो घन्टा नि नयाँ भयो
घरीघरीको पिडा कत्ति कम भएन
रातदिन दिन रात बित्यो नयाँ भयो
छाक टार्ने चिन्ता कहिल्यै हटेन
हप्तौं बिति रहे महिना बदलियो
ब्याजले स्याज बढायो सावाँ घटेन
हरेक ऋतुसँगै हरियाली बसन्त आयो
जिन्दगीको पालुवा कहिल्यै पलाएन
हरेक साल दसैं हुँदै तिहार आए गए
ऋण थपियो, परदेशी कहिल्यै घर आएन
हरेक साल यसरी नै नयाँ वर्ष आउँछ
जिन्दगीमा कहिल्यै नयाँ बहार आएन
वर्षौं बित्यो युग युग बित्यो खै के भयो
शासक हो शोषणको अन्त्यमा निखार आएन
सेकेन्ड सेकेन्डको महत्त्व कति छ
मिनेट घन्टाको मुल्य असीमित छ
अपहेलित उत्पीडित मन मस्तिष्कले
पल पल सोच्नु छ नयाँ सिर्जना गर्नुछ
स्वर्ग नर्कको सपना देखाएर लुट्ने विरुद्ध
मुट्ठी उचालेर संघर्षको मोर्चा कस्नु छ
साल समय मात्रै नयाँ आएर हुँदैन रहेछ
समय सँगै संघर्षले नयाँ रित बसाल्नु छ
“कुराले मात्रै बटुको भरिन्न सम्धी ज्यु” भन्थे
काम फत्ते गर्ने आधार निर्माण गर्नु छ
त्यसैले नयाँ बर्ष र नयाँ हर्ष सँगसँगै अब
नयाँ एकता र नयाँ संघर्षको जग हाल्नु छ