सामाजिक विकृतिका विरुद्ध तिजी गीत सार्वजनिक

0
200
काठमाडौँ । सामाजिक विकृतिका विरुद्ध गायक तथा पत्रकार राम प्रसाद पाठक र मञ्जु घिमिरेको संयुक्त प्रस्तुतिमा यस वर्षको तिजी गीत सार्वजनिक भएको छ । पृथक शैलीमा तयार भएको तिजी गीत “कार किन्देऊ किन्ने भा” गत साउन ३१ विहिवारदेखि औपचारिक रूपमा सार्वजनिक भएको हो ।
                 नमूना नेपाल युट्युब च्यानले बजार व्यावस्थापन गरेको यो गीत अति नै मौलिक र सामाजिक सन्दर्भलाई समेत समेटिएको छ । समाजमा वर्गीय भिन्नता रहेको छ । एउटा वर्गको मान्छेले अर्को वर्गको मान्छेलाई आफ्नो सम्पत्ति, गरगहना र गाडीको रवाफ देखाउने गरेको र फलस्वरूप तलले वर्गको मान्छेमा नकारात्मक प्रभाव पर्ने र त्यसले पारिवारिक कलहका साथै बेमेलको अवस्था समेत सृजना हुने सामाजिक यथार्थतालाई यहाँ देखाउन खोजिएको छ ।
                     गायन र पत्रकारिता पेशालाई सँगसँगै अगाडि बढाउँदै आएका गायक तथा पत्रकार राम प्रसाद पाठकको लय तथा शब्द सङ्कलनमा तयार भएको यो तिजी गीतमा राम प्रसाद पाठक, राधिका हमाल र मञ्जु घिमिरेको स्वर रहेको छ भने यस गीतको सङ्गीत संयोजन लक्षु प्रकाश मल्लले गरेका हुन् । त्यस्तै, मनोज डङ्गोलले रेर्कड गरेका हुन् भने जीवन बडुले मिक्सिङ गरेका हुन् ।
                काभ्रेको वनेपा नगरपालिका वडा नं. २ घिमिरेगाउँ र गिरीगाउँमा यस गीतको म्युजिक भिडियोको छायाङ्कन भएको हो । राजधानीदेखि नजिकैको दूरीमा रहे पनि राज्यले दिनु पर्ने विकासको सेवा सुविधाबाट वञ्चित रहेको यो अति नै रमणीय गाउँमा भएको यो तिजी गीतको छायाङ्कनको निर्देशन गायक स्वयं पाठकले गरेका हुन् भने यस गीतमा गायक राम प्रसाद पाठक, सुशीला निरौला विम्ली, गायिका मञ्जु घिमिरे, नमराज घिमिरे, शम्भु घिमिरे लगायतका कलाकारको अति नै सशक्त अभिनय देख्न सकिन्छ । यो म्युजिक भिडियोलाई रामकृष्ण कँडेलले खिचेका हुन् । गायक पाठक साइकल चलाएर आफै बुढीलाई माइत लैजाने एउटा सङ्घर्षशील गाउले लोग्नेमान्छेको प्रतिनिधि पात्र, जो आफनो जिवन सधैँभरि घाँसदाउरा, गोठ, भैँसीमै बिताएको रूपमा उभिएका छन् भने विम्ली सुशीला निम्न परिवारको स्वास्नी मान्छे, जसले अरूको देखासिकी गरेर आफ्नो सोझो पतिलाई बेलाबेलामा ठुल्ठुलो माग प्रस्तुत गरेकी एउटी गाउँले नक्कली महिला पात्रको रूपमा उभिएकी छिन् ।
            बजारमा एउटै किसिमका र विकृति र विसङ्गति भित्राउने किसिमका तिजी गीतहरूको भिडमा एउटा सामाजिक यथार्थता र अलिकति भए पनि रोमान्टिक किसिमको स्वाद बोकेको यो तिजी गीत अवश्य पनि सबैले एकचोटी हेर्नै पर्ने बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here