पौष २०, काठमाडौं । टिकापुर काण्डका मुख्य फौजदारी अभियुक्त भनिंदै आएका रेशमलाल चौधरीलाई सरकारको निर्णयले हिजो प्रतिनिधिसभा सांसदको सपथ ग्रहण गराईकोप्रति राष्ट्रिय जनमोर्चाले दृढतासाथ विरोध गरेको छ । पार्टी अध्यक्ष चित्र बहादुर केसीले एक विज्ञप्ती जारी सो विरोध प्रकट गर्नुभएको हो ।
“यस्तो अवस्थामा उनलाई सपथ ग्रहण गराएर ‘माननीय सांसद’को मान्यता दिनु अत्यन्त आपत्तिजनक र गलत कार्य हो ।” अध्यक्ष केसीले भन्नु भएको छः– “यस कार्यको राष्ट्रिय जनमोर्चाले विरोध र भ्रत्सना गर्दछ ।”
“वास्तवमा मधेशवादीहरु र भारतको दबावको अगाडि घुँडा टेकेर सरकारले रेशमलाल चौधरीलाई सपथ ग्रहण गराउने गैर कानुनी र अनैतिक राजनीतिक कार्य गरेको छ ।” केसीले विज्ञप्तीमा भन्नु भएको छः– “अब सरकारले यस प्रकारले उनीहरुका अगाडि घुँडा टेक्दै जाने हो भने आगामी दिनमा राष्ट्रघाति प्रकारले संविधान संशोधन, नागरिकता सम्बन्धी सहित उनीहरुका माग पुरागर्दै जानु पर्नेछ ।”
त्यसो भयो भने नेपालको लागि दुर्भाग्य हुने समेत केसीले विज्ञप्तीमा उल्लेख गर्नुभएको छ । सरकारका त्यसप्रकारका सम्झौतापरस्त कार्यको लागि राष्ट्रिय जनमोर्चाले दृढतासाथ विरोध गर्ने केसीले बताउनु भएको छ । सरकारबाट हुने यसप्रकारका गलत गतिविधि र रवैयाको विरोधमा उत्रन सबै देशभक्त, राजनीतिक दलहरु, संघ–संस्था र जनतासँग केसीले अपील गर्नुभएको छ ।
विज्ञप्तीको पूर्ण पाठः
“टिकापुर काण्डका मुख्य फौजदारी अभियुक्त, डिल्लीबजार कारागारमा उक्त अभियोगको पुर्पक्षका लागि थुनामा रहेका रेशमलाल चौधरीलाई सरकारको निर्णयले हिजो प्रतिनिधिसभा सांसदको सपथ ग्रहण गराईकोप्रति राष्ट्रिय जनमोर्चाको गम्भीररुपमा ध्यानाकर्षण भएको छ । उनमाथि टिकापुर काण्डमा एकजना नाबालक सहित नौजना मानिसहरुको हत्या गरेको आरोप छ र त्यस आरोपमा उनी थुनामा छन् । यस्तो अवस्थामा उनलाई सपथ ग्रहण गराएर ‘माननीय सांसद’को मान्यता दिनु अत्यन्त आपत्तिजनक र गलत कार्य हो । यस कार्यको राष्ट्रिय जनमोर्चाले विरोध र भ्रत्सना गर्दछ ।
टिकापुर काण्डपछि रेशमलाल चौधरी फरार रहेका थिए । फरार अवस्थामा नै बारेशनामाबाट दरखास्त हाली चुनाव जितेका थिए । चुनाव जितेपछि पनि आफू गिरफ्तार हुने डरले प्रमाणपत्र लिन आएका थिएनन् । मधेशवादीहरुले उनको जघन्य हत्यासम्बन्धी फौजदारी अभियोगलाई कथित राजनीतिक घटनाको संज्ञा दिएर मुद्दा फिर्तागरी सांसदको सपथ गराउन सरकारलाई दबाव दिंदै आएका थिए । त्यतिमात्र होइन, उनीहरुका राष्ट्रघाती प्रकारका मागहरुलाई संबोधन गर्न संविधान र नागरिकता विधेयक संशोधन लगायतका मागहरु स्वीकार गराउन दबाव दिंदै आएका छन् । सरकारलाई आवश्यक बहुमत हुँदाहुँदै पनि यिनीहरुले समर्थन गरे र त्यस आधारमा पनि सरकारलाई आफ्ना मागहरु पुरा गर्न दबाव दिइरहेका छन् । पछि उनीहरुले आफ्ना माग पुरा नभए समर्थन फिर्ता लिने धम्की समेत दिए । यो धम्कीले सरकारलाई प्रभाव पार्ने कुनै कारण थिएन । सबैलाई थाहा भएको कुरा हो कि भारतीय विस्तारवादले उसको उद्देश्य पुरा गर्नुपर्ने प्रकारले संविधान संशोधन गर्ने, खुकुलो नागरिकता नीति बनाउन नागरिकता विधेयक परिवर्तन गर्ने र त्यसप्रकारका अन्य कार्यका लागि दबाव दिंदै आएको छ र मधेशवादीहरुलाई पनि अघि सार्ने गरेको छ । वास्तवमा मधेशवादीहरु र भारतको दबावको अगाडि घुँडा टेकेर सरकारले रेशमलाल चौधरीलाई सपथ ग्रहण गराउने गैर कानुनी र अनैतिक राजनीतिक कार्य गरेको छ । अब सरकारले यस प्रकारले उनीहरुका अगाडि घुँडा टेक्दै जाने हो भने आगामी दिनमा राष्ट्रघाति प्रकारले संविधान संशोधन, नागरिकता सम्बन्धी सहित उनीहरुका माग पुरागर्दै जानु पर्नेछ । त्यसो भयो भने नेपालको लागि दुर्भाग्य हुनेछ । सरकारका त्यसप्रकारका सम्झौतापरस्त कार्यको लागि हामीले दृढतासाथ विरोध गर्ने छौं । सबै देशभक्त, राजनीतिक दलहरु, संघ–संस्था र जनतासँग त्यसप्रकारले विरोध गर्न पनि अपील गर्न चाहन्छौं । मिति : २०७५ पौष २०”