सरकारको विश्वसनियता माथि नै शंका : राष्ट्रिय जनमोर्चा

0
462

माघ ९, काठमाडौं । डा. गोविन्द केसीसित सरकारले सम्झौता गरेर मागहरु पूरा नगर्दा सरकारको विश्वसनियता माथि नै शंका उत्पन्न हुने राष्ट्रिय जनमोर्चाले बताएको छ । आज पार्टी प्रवक्ता तथा केन्द्रीय उपाध्यक्ष दुर्गा पौडेलले वक्तव्य जारि गरि सो धारणा बाहिर ल्याउनु भएको हो ।

“प्रश्न खाली डा. गोविन्द के.सी.का मागहरूको मात्र होइन । उहाँसित सम्झौता गरेर ती मागहरू पूरा नगर्दा सरकारको विश्वसनियतामाथि नै शङ्का उत्पन्न हुन्छ ।” पौडेलले वक्तव्य मार्फत भन्नु भएको छः– “अहिले सरकारले जबजस्ती गरेर डा. गोविन्द के.सी.का मागहरूहरूलाई दवाए पनि त्यसबाट देशमा सरकारप्रति अविश्वासको वातावरण पैदा हुनेछ र त्यसको नकारात्मक असर स्वयं सरकारमा पनि पर्नेछ ।” त्यसकारण अहिलेको एउटा प्रश्नमा सरकारले प्रदर्शन गर्ने त्यस प्रकारको गलत प्रकारको कार्यप्रणालीबाट दीर्घकालिन रूपमा नै सरकारप्रतिको जनताको विश्वास कम हुनेछ र त्यसबाट सरकारको जनआधार कमजोर हुँदै जाने पार्टी प्रवक्ता पौडेलले बताउनु भएको छ ।

वक्तव्य

“डा. गोविन्द के.सी.को अनशन र त्यो अनशनका कारणले उहाँको जीवनमा नै गम्भीर खतरा पैदा भएको वास्तविकता प्रति राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यान आकर्षित भएको छ । उहाँसित बारम्बार गरिएका सम्झौताहरू खास गरेर १५ औँ अनशनका बेला सरकारले गरेको सम्झौताको कार्यान्वयन नहुँदा नै अहिलेको अप्रिय स्थिति उत्पन्न भएको हो ।

हामीले उहाँसँग भएको सम्झौता अनुसार नै शिक्षा, स्वास्थ्यसम्बन्धी विधेयक पारित गर्नुपर्ने आवश्यकतामा जोड दिन्छौँ । वास्तवमा यो उहाँको व्यक्तिगत समस्या नभएर स्वास्थ्य–चिकित्सासम्बन्धी राष्ट्रिय महत्वको विषय हो । त्यसैले हाम्रो पार्टीले त्यसबारे गम्भीर हुन सरकारसित माग गर्दछ ।

प्रश्न खाली डा. गोविन्द के.सी.का मागहरूको मात्र होइन । उहाँसित सम्झौता गरेर ती मागहरू पूरा नगर्दा सरकारको विश्वसनियतामाथि नै शङ्का उत्पन्न हुन्छ । अहिले सरकारले जबजस्ती गरेर डा. गोविन्द के.सी.का मागहरूहरूलाई दवाए पनि त्यसबाट देशमा सरकार प्रति अविश्वासको वातावरण पैदा हुनेछ र त्यसको नकारात्मक असर स्वयं सरकारमा पनि पर्नेछ । त्यसकारण अहिलेको एउटा प्रश्नमा सरकारले प्रदर्शन गर्ने त्यस प्रकारको गलत प्रकारको कार्यप्रणालीबाट दीर्घकालिन रूपमा नै सरकार प्रतिको जनताको विश्वास कम हुनेछ र त्यसबाट सरकारको जनआधार कमजोर हुँदै जानेछ ।

डा. गोविन्द के.सी.ले आफ्नो १६ औँ अनशनका सम्बन्धमा थपेका दुईवटा मागहरूप्रति पनि हाम्रो पार्टीको ध्यान आर्षित भएको छ । जस्तै कि निर्मला पन्तको बलात्कार र हत्यासम्बन्धी तथा सशस्त्र द्वन्द्व कालमा जघन्य अपराधसम्बन्धी मागहरू । उहाँले उठाएका ती दुवै मागहरूलाई हामील सही मान्दछौँ र समर्थन पनि गर्दछौँ । तर अहिलेसम्म शिक्षा, चिकित्सासम्बन्धी मागहरूका लागि सङ्घर्षको जुन पृष्ठभूमि रहेको छ, त्यसका पक्षमा व्यापक राष्ट्रिय जनमत पनि तयार भएको छ । त्यो अवस्थामा उहाँले थपेका दुईवटा मागहरूबाट उहाँले अहिलेसम्म उठाउँदै आएका शिक्षा र चिकित्सासम्बन्धी मागहरूलाई ओझेलमा पार्ने सम्भावना रहने छ । त्यसैले हामीले उहाँले ती मागहरू उठाए पनि तिनीहरूलाई अनशनको मुख्य मागहरूका रूपमा जोड नदिन तथा शिक्षा र चिकित्सासम्बन्धी मागहरूमा नै केन्द्रीत हुनका लागि उहाँसित अनुरोध गर्दछौँ ।

समाचार माध्यमहरूले कैयौँ नेपालीहरूले अवैधानिक प्रकारले विदेशमा लगानी गरेका तथा स्वीस बैङ्कमा अरबौँ रूपैयाँ जम्मा गरेको तथ्यहरू बाहिर ल्याएका छन् । त्यस प्रति पनि हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षित भएको छ । हामीले त्यसबारे उच्च स्तरीय छानवीन गरी विदेशमा अवैधानिक प्रकारले गरिएको लगानी वा स्वीस बैङ्कमा जम्मा गरिएको रकम नेपालमा नै फर्काउन वा दोषीहरूलाई कानून अनुसार सजाय गर्न आवश्यक कदम उठाउन पनि सरकारसित माग गर्दछौँ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here