सरकारको गलतप्रकारका गतिविधि विरुद्ध मसालले देशव्यापी विरोधका कार्यक्रम गर्ने

0
502


‘एसिया प्यासिफिक समिट’ मा नेपाल सरकारको सहभागिता अत्यन्त आपत्तिजनक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले युनिर्भसल पिस फेडरेसनद्वारा आयोजित ‘एसिया प्यासिफिक समिट’मा नेपाल सरकार सहआयोजक बन्नुलाई ‘अत्यन्त आपत्तिजनक कार्य’ बताएको छ । उक्त समिटमा नेपाल सरकारको सहभागिताले इसाई धर्मको नाममा साम्राज्यवादको षडयन्त्रकारी भूमिका नेपालमा बढेर जाने खतरा उत्पन्न भएको भन्दै मसालले उक्त खतराका विरुद्ध देशव्यापी विरोधसभाहरुको आयोजना गर्ने भएको छ ।

युनिभर्सल पिस फेडेरेसन नामक क्रिश्चियन धर्म आबद्ध संस्थाको आयोजनामा नेपालको राजधानी काठमाडौंमा २०७५ मंसिर १३ देखि १६ सम्म ‘एसिया प्यासिफिक समिट’ चलेको थियो । सम्मेलन नेपाल सरकार, प्रतिनिधिसभा, युनिभर्सल पिस फेडेरेसन (युपिएफ) नेशनल कन्फेरेसन्स अफ एसियन पोलिटिकल पार्टीज (आइक्याप) र इन्टर नेशनल एसोसियसन अफ पार्लियामेन्टेरियन फर पिस (आइएपीपी) को सहकार्यमा सम्पन्न भएको थियो । इसाई धर्म प्रचारका नाममा साम्राज्यवादको सेवा गर्दै आइरहेको एउटा चर्चको कार्यक्रमलाई सरकारले आफ्नै आयोजनाको कार्यक्रम जस्तै प्राथमिकता दिएको थियो । उक्त सम्मेलनमा सहभागी बन्न विभिन्न देशका प्रमुखहरुलाई सरकारकै नामबाट पत्राचार गरिएको थियो । सोही सम्मेलनलाई ध्यानमा राख्दै नेपाल सरकारले राजधानीमा मंसिर १३ गते देखि ‘जोर विजोर प्रणाली’ घोषणा गरेको थियो । सोही सम्मेलनमा सहभागी बन्न आएका म्यानमारकी नेतृ आङसाङ सुकी र कम्बोडियाका प्रधानमन्त्री हु सेनलाई नेपाल सरकारले राष्ट्रिय सम्मान दिएको थियो । युनिभर्सल पिस फेडेरेसनले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई १ लाख अमेरिकी डलर रासीको ‘गुड गभर्नेन्स अवार्ड’ प्रदान गरेको थियो । संसारभर बदनाम एउटा धार्मिक संस्थाको प्रचारका लागि धर्मनिरपेक्ष राष्ट्रको सरकारले आफ्नो पूरै राज्य संयन्त्र नै प्रयोग गर्नु सामान्य कुरा नभएको भन्दै नेकपा (मसाल) ले त्यसबाट नेपालमा इसाई धर्मको प्रचारमा राज्ययन्त्र नै पूरै लाग्ने खतरा उत्पन्न भएको जनाएको छ । उक्त खतराका विरुद्ध पार्टीले देशव्यापी विरोध सभा आयोजना गर्ने जनाउँदै मसाले उक्त कार्यक्रमहरुमा समर्थन र सहभागिताका लागि जनतासँग अपिल समेत गरेको छ ।

नेकपा (मसाल) को सहयोगीहरु सहित आजै बसेको केन्द्रीय कार्यालयको बैठकले यही मङ्सिरमा काठमाडौँमा युनिभर्सल पिस फेडरेसनद्वारा आयोजित ‘एसिया प्यासिफक समिट’ मा नेपाल सरकारको सहभागितालाई गम्भीर रूपमा लिदै त्यसको तीव्र विरोध र भत्र्सना गरेको छ । त्यो संस्था अन्तर्राष्ट्रिय जगतमा धेरै नै विवादग्रस्त र बदनाम इसाई धर्मको प्रचार गर्ने संस्था हो । कुनै पनि व्यक्तिको आफ्नो आस्था अनुसार कुनै पनि धर्मलाई अपनाउने वा परित्याग गर्ने व्यक्तिगत स्वतन्त्रतालाई हामीले विरोध गर्दैनौँ । तर त्यो संस्थाले इसाई धर्मको प्रचारद्वारा साम्राज्यवादको सेवा गर्ने काम गरिरहेको छ । नेपाल जस्तो संविधानमा नै धर्म निरपेक्ष सिद्धान्तलाई अपनाएको देशको सरकार त्यस प्रकारको विवादग्रस्त र बदनाम धार्मिक संस्थाको कार्यक्रममा सहभागी वा सहआयोजक समेत हुनु अत्यन्त आपत्तिजनक कार्य हो । त्यसले देशभित्र र अन्तर्राष्ट्रिय जगतमा नै नेपाललाई धेरै बदनाम बनाएको छ ।

उक्त कार्यक्रम समाप्त भइसकेको भए पनि त्यसमा सरकारको संलग्नताले धेरै गम्भीर प्रश्नहरु उठाएको छ । त्यसबाट इराई धर्मको नाममा साम्राज्यवादको षडयन्त्रकारी भूमिका नेपालमा बढेर जाने खतरा उत्पन्न भएको छ । त्यो कार्यक्रमका सिलसिलामा सरकारले सम्पूर्ण राज्ययन्त्र, प्रतिनिधि सभा, गाउँपालिका तथा नगरपालिकाहरु समेतलाई परिचालन गर्ने प्रयत्न गरेको थियो । एउटा बदनाम धार्मिक संस्थाको प्रचारका लागि यसरी सम्पूर्ण राज्ययन्त्रको प्रयोग गर्नु सामान्य कुरा होइन । त्यसरी नेपालमा इसाई धर्मको प्रचारमा राज्ययन्त्र नै पुरै लाग्ने सम्भावना देखा परेको छ । त्यसबाट सम्भावित खतरामाथि ध्यान दिदै हाम्रो पार्टीले त्यस प्रकारको गतिविधिका विरुद्ध देशव्यापी रूपमा विरोध कार्यक्रमहरु आयोजित गर्ने निर्णय गरेको छ । त्यसका लागि पौषको पहिलो हप्तासम्म देशव्यापी रूपमा नै विरोध सभाहरुको आयोजना गरिने छ । उक्त कार्यक्रममा समर्थन र सहभागिताका लागि हाम्रो पार्टीले सम्पूर्ण जनतासित अपील गर्दछ ।”

श्रीराम घिमिरेप्रति श्रद्धान्जली

“चितवनका का. श्रीराम घिमिरे ८४ वर्षको उमेरमा निधन भएको छ । उहाँ धेरै नै पुरानो र कर्मठ पार्टी कार्यकर्ता हुनु हुन्थ्यो । उहाँ नेकपा (मसाल) को चितवन जिल्ला कमिटीको सदस्य पनि हुनु हुन्थ्यो । उहाँले पार्टीको नेतृत्वमा चलेका सबै सङ्घर्षहरूमा सक्रियतापूर्वक भाग लिदै आउनु भएको थियो र पार्टी्भित्र चल्ने सबै उतारचढावका बेलामा पनि उहाँले पार्टी र सिद्धान्तप्रति दृढ आस्था राख्दै आउनु भएको थियो । उहाँको निधनबाट पार्टीलाई धेरै क्षति पुगेको छ । नेकपा (मसाल) ले उहाँको निधनप्रति गहिरो दुःख प्रकट गर्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दछ र उहाँका सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ ।”

रंगिलाल धोबीप्रति श्रद्धान्जली

“बाँकेका का. रङ्गीलाल धोवीको पनि हालै निधन भएको छ । उहाँ पार्टीको समर्थक ग्रूपमा हुनु हुन्थ्यो । उहाँ तराई–मधेश मुक्ति मोर्चाको बाँके जिल्ला समितिको सदस्य पनि हुनु हुन्थ्यो । उहाँ पार्टीको अत्यन्तै इमान्दार र कर्मठ कार्यकर्ता हुनु हुन्थ्यो । उहाँको निधनबाट पनि पार्टीलाई धेरै क्षति पुगेको छ । नेकपा (मसाल) ले उहाँको निधनप्रति गहिरो दुःख प्रकट गर्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दछ र उहाँको सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here