सन्नी खुनालाई सहिद घोषणा गर्न (मसाल)को माग

0
455
भदौ ९, काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (मसाल) का महान्त्री मोहनविक्रम सिंहले एक वक्तव्य जारी गरि १३ वर्षीया छात्रा निर्मला पन्तको बलात्कार र हत्या घटनाको अनुसन्धानप्रति असन्तुष्टि जनाउँदै प्रदर्शनमा उत्रिएका आन्दोलनकारीहरुमाथि प्रहरीद्वारा गरिएको दमनकारी कारवाहीको तीव्र शब्दमा निन्दा र भ्रत्सना गर्नुभएको छ । त्यसका साथै त्यो गोलीकाण्डमा मृत्यु भएका सन्नी खुनालाई सहिद घोषणा गर्नुपर्ने र उनका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग (मसाल)ले सरकारसित गरेको छ ।
वक्तव्य
“कञ्चनपुरमा १३ वर्षीया छात्रा निर्मला पन्तको बलात्कार र हत्याका घटनाका अपराधीको अहिलेसम्म पत्ता नलाग्नु गम्भीर दुःख र क्षोभको पनि कुरा हो । त्यहाँको प्रशासन र प्रहरीले घटनाको छानवीन गरेर अपराधीलाई पत्ता लगाउनुभन्दा एउटा मानसिक सन्तुलन गुमाएको मानिसलाई प्रस्तुत गरेर जसरी अपराधमाथि ढाकछोप गर्ने प्रयत्न गरियो त्यो झन् गम्भीर अपराधजन्य कार्य हो । आखिर अपराधमाथि त्यसरी ढाकछोप गर्ने प्रयत्न किन गरियो ? त्यसबारे पनि छानवीन गरेर सम्बन्धित व्यक्तिहरूमाथि कडा कारवाहीको आवश्यकता छ ।
यसका लागि हामीले कञ्चनपुरका जनतालाई धन्यवाद दिन चाहन्छौँ कि उनीहरूले निर्मला पन्तको बलात्कार र हत्याको घटनालाई सजिलैसित दवाउन दिएनन् र त्यो विषयमा लगातार आन्दोलनलाई अगाडि बढाई राखे । कञ्चनपुरका जनताको उच्च प्रकारको जागरुकताबाट सम्पूर्ण देशले शिक्षा लिनुपर्ने आवश्यकता छ । 
निर्मला पन्तको बलात्कार र हत्याको घटनालाई ढाकछोप गर्न स्थानीय प्रशासन र प्रहरीले गरेको प्रयत्नबाट जनतामा व्यापक रोष उत्पन्न भयो र त्यो स्वभाविक र न्यायपूर्णपनि थियो । त्यसरी सङ्घर्षमा उत्रेका जनतालाई दवाउन प्रहरीले चलाएको अन्धाधुन्द गोलीबाट एकजना किशोर सन्नी खुनाको निधन भयो र प्रहरीको गोली र लाठीचार्जबाट दुई दर्जनभन्दा बढी मानिसहरू घाइते पनि भएका छन् । त्यस प्रकारको दमनकारी कारवाहीको ने.क.पा. (मसाल)ले तीव्र शब्दमा निन्दा र भ्रत्सना गर्दछ । त्यसका साथै त्यो गोलीकाण्डमा मृत्यु भएका सन्नी खुनालाई सहिद घोषणा गर्नुपर्ने र उनका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग पनि हाम्रो पार्टीले सरकारसित गर्दछ ।
सरकारले त्यो घटनाको जाँचका लागि उच्चस्तरी टोली कञ्चनपुरमा पठाएको छ र त्यहाँको प्रशासन वा प्रहरीका कैयौँ उच्चपदस्थ कर्मचारीहरूलाई निलम्बन गर्ने वा हेडक्वाटरमा हाजिर हुन आदेश समेत दिएको छ । सरकारले उठाएका त्यस प्रकारका कदमहरूबाट वास्तविक अपराधीलाई पत्ता लगाएर उनीहरूलाई सजाय दिने काम हुन सक्यो भने त्यो स्वागतयोग्य कार्य हुनेछ ।
कञ्चनपुरको निर्मला पन्तको बलात्कार र हत्याको घटनाले राष्ट्रिय रूप लिएको छ । खास गरेर त्यहाँका जनताले देखाएको उच्च प्रकारको जागरुकताका कारणले त्यस्तो हुन सकेको हो । तर त्यस प्रकारका बलात्कार र हत्याका घटनाहरू देशभरि नै भइरहेका छन् । त्यसकारण त्यस प्रकारका घटनाहरूलाई रोक्नका लागि सरकारले गम्भीर प्रकारले कदम चाल्नुपर्ने आवश्यकतामा पनि हाम्रो पार्टीले जोड दिनछ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here