काठमाडौं । सुरुङ बनाइरहेको निर्माण व्यवसायीसँग ठेक्का सम्झौता रद्द गर्ने तयारी गरिरहेको मेलम्ची खानेपानी विकास समितिले दाता एसियाली विकास बैङ्क (ए.डी.बी.) सँग छलफल गरेको छ । दाताले बाँकी कामका लागि अर्को बोलपत्र आह्वान गर्दा आयोजनाको काममा ढिलाइ हुने भएकाले सहायक निर्माण व्यवसायी कम्पनीलाई छोटो कामको जिम्मेवारी दिन सुझाएको समितिका प्रवक्ता राजेन्द्र प्रसाद पन्तले दिए ।
सिन्धुपाल्चोकको अम्बाथानबाट काठमाडौँको सुन्दरीजलसम्मको २७.५ किलोमिटर सुरुङ मार्गमध्ये ४१० मिटरको अन्तिम फिनिसिङ हुन बाँकी छ । त्यसैगरी ८८५ मिटरमा ढलान गर्नु पर्नेछ । सुरुङभित्रको हावा जान निर्माण गर्नु पर्ने तीन भ्यान्टिलेसनमध्ये दुई बनाउनु पर्नेछ ।
ग्याल्थुमबाट अम्बाथानबीचको भ्यान्टिलेसन यस अघि नै छेडिएको छ । सुन्दरीजलबाट सिन्धुपाल्चोकबीच र सिन्धुबाट ग्याल्थुमबीचको भ्यान्टिलेसन ड्रिल गर्न बाँकी रहेको प्रवक्ता पन्तले बताए । त्यसैगरी सुन्दरीजलस्थित सुरुङको आउटलेटबाट प्रशोधन केन्द्रसम्म पानी ल्याउन ठुलो जी.आई. पाइप राख्न बाँकी रहेको समितिले जनाएको छ ।
अनलाइनका माध्यमबाट दैनिक अनुगमन प्रणालीको उपकरण राख्न समेत बाँकी छ । बाँकी कामका लागि कसरी अघि बढ्ने भन्ने विषयमा सरोकार भएका निकायसँग थप छलफल जारी रहनेछ । आइतबार इटालियन निर्माण व्यवसायी सी.एम.सी. लाई ठेक्का तोड्ने विषयमा लेखिएको पत्रका लागि १४ दिन कुरिनेछ । यही माघ १९ गतेपछि अर्को प्रक्रियाबाट कामलाई निरन्तरता दिइने समितिले जनाएको छ ।