अप्रेल २०, २०१८ देखि जुन ३०, २०१८ सम्म भारत व्यापी नगर सम्मेलन अभियान सम्पन्न पार्ने
नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको पाचौं बैठक सम्पन्न भएको छ । बैठक पश्चात समाजका अध्यक्ष दुर्गाबहादुर केसीद्वारा जारी विज्ञप्ती मार्फत सो जानकारी सार्वजनिक गरिएको छ । भारत प्रवासमा छरिएर रहेका श्रमजिवी नेपालीहरुमाथि आईपर्ने तमाम समस्याहरुलाई समाधान गर्नका लागि कुटनैतिक रुपमा नै पहल गर्नु पर्ने आवश्यकता रहेको विज्ञप्तीमा उल्लेख छ ।
भारतका विभिन्न स्थानहरुमा नेपालीहरुलाई आधार कार्ड, पेनकार्ड, ड्राइभिङ लाइसेन्स, बैंक एकाउण्ट लगायतका समस्या समाधानार्थ नेपालमा बन्न गइरहेको नयाँ सरकार गठन पश्चात प्रधामन्त्री र परराष्ट्रमन्त्री समक्ष मूल प्रवाह केन्द्रीय समितिको तर्फबाट प्रतिनिधि मण्डल गई वार्तागर्ने र माग पत्र प्रस्तुत गर्ने आगामी कार्यक्रम रहेको विज्ञप्तीमा उल्लेख छ ।
त्यस्तै २० अप्रेल देखि ३० जुन २०१८ सम्म समाजले भारत व्यापी नगर सम्मेलन अभियान सम्पन्न पार्ने समेत विज्ञप्तीमार्फत बताएको छ । आठौं अखिल भारत सम्मेलनको पूर्व तयारीका लागि नयाँ स्थानहरुमा संगठन निर्माण र सदस्यता अभियानलाई व्यापक रुपमा लैजाने बारे पनि समाजले मिडियाको ध्यानाकर्षण गराएको छ ।
केन्द्रीय समितिको मातहतमा रहेको मुद्दा विभागले भारत प्रवासमा नेपालीहरु माथि पर्ने कानुनी दाउपेचका मुद्दाहरुबाट पिल्सिएकाहरुलाई न्याय दिलाउन पहल गर्ने, भारतका विभिन्न जेलहरुमा के कति नेपालीहरु छन् त्यसको विबरण खोज विन गर्ने र भारतीय दण्ड सजाएका धाराहरुको अध्ययन गर्ने र सम्बन्धित सरोकार वालाहरुको ध्यानकर्षण गराउने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
एकता समाजको स्थापना काल देखि नै भारत प्रवासमा छरिएर रहेका नेपाली श्रमजिवीहरुको पक्षमा निरन्तर कलम चलाउँदै आएको र समय परिवेश तथा विभिन्न समस्याहरुका कारणले नेपाली एकता, विश्व नेपाली, मूल प्रवाह हुँदै हाल नेपाली समाचार साप्ताहिक प्रकाशन भइरहेको छ । भारत प्रवासमा विभिन्न खाले व्यावसायीक प्रकाशनहरु बजारमा आएता पनि श्रमजीवी नेपालीहरुको पक्षमा कलम चलाउने एउटा मात्रै पत्रिकाको रुपमा समाजको सो पत्रिका स्थापित भएको छ । श्रमजिवी वर्गको पक्षमा यसरी निरन्तर कलम चलाउन पाएकोमा अत्यन्तै शुखानुभूति भएको समेत विज्ञप्तीमा उल्लेख गरिएको छ । यसलाई अझै सशक्त र व्यवस्थित रुपमा वितरण तथा सञ्चालन गर्नु पर्ने आवश्यकता रहेकाले समाजका सम्पूर्ण नेता, कार्यकर्ता, शुभचिन्तकहरुलाई ग्राहक बन्नका लागि पनि विज्ञप्ती मार्फत अनुरोध गरिएको छ । प्रस्तुत छ विज्ञप्तीको पूर्ण पाठ:
“मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिको पाचौं बैठक २०१८ जनवरी २७ र २८ मा बस्यो । बैठकले गरेका निर्णयहरु सर्वाजनिक गर्न यो वक्तव्य जारी गरिएको छ ।
१. मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आठौं अखिल भारत सम्मेलनको अवधि नजिकींदै आइरहेको अवस्थामा आन्तरिक तैयारी तिब्र रुपमा सञ्चालन गर्ने निर्णयहरु भएका छन् । जसअनुसार सदस्यता वितरण र नविकरण, नयाँ स्थानमा टोल, एरिया र नगरहरु समितिहरु निर्माण र समितिहरु भएका स्थानहरुमा बैठक बस्नेत, आय व्ययको विवरण दुरुस्त पार्ने जस्ता सांगठनिक निर्णयहरु गरिएको छ । माथि उल्लेखित सम्पूर्ण कार्यहरु सम्पन्न गरिसके पछि भारत व्यापी नगर सम्मेलनहरु २० अप्रेल २०१८ देखि ३० जुन २०१८ सम्ममा भव्य एवं सान्दार रुपमा सम्पन्न गर्ने निर्णय गरिएको छ ।
२. लामो समयदेखि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका सक्रिय योगदान दिनु भएका होलटाइमर एवं केन्द्रीय सदस्य ओविराम जिएम, केन्द्रीय सचिव एवं महिला केन्द्रीय विभागकी संयोजक, तारा जिसी, केन्द्रीय सदस्य नारायण जिसी, महिल केन्द्रीय विभागकी सदस्य तारा थापा क्षेत्री, केन्द्रीय प्रतिनिधि विष्णु आचार्य स्वदेश फर्कन लाग्नु भएकाले हालसम्म वहाँहरुले संगठनलाई दिनुभएको योगदानप्रति हार्दिक धन्यवाद सहित विदाई गरियो । स्मरण रहोस्की तारा जिसी ५ नं प्रदेशसभाको सदस्यमा र तारा थापा खत्री कालीगण्डकी गाउँपालीका गुल्मीको उपाध्यक्ष पदमा निर्वाचित भईसक्नु भएको छ ।
३. मूल प्रवाहका विभिन्न विभागहरुको बैठक सम्पन्न भएका छन् । महिला विभागले मूल प्रवाहका सदस्यता वितरण अभियान व्यापक रुपले सञ्चालन गर्ने र सोको डाटा संकलन गर्ने, श्रमिक महिला दिवस, तिज कार्यक्रम र देउसी भैलो कार्यक्रमहरु विगतमा भन्दा भव्यरुपमा योजनावद्ध प्रकारले सम्पन्न गर्ने निर्णय गरेको छ । विद्यार्थी विभागले विद्यार्थी सदस्यता वितरण गर्ने, क्षेत्रीय भेला हुन बाँकी क्षेत्रहरुमा भेला सम्पन्न गर्ने र भेला सम्पन्न भएका क्षेत्रीय समितिहरुको बैठक बसी आफ्ना भावी कार्ययोजना बनाउने निर्णय गरेको छ । मुद्दा विभागले भारत प्रवासमा नेपालीहरु माथि पर्ने कानुनी दाउपेचका मुद्दाहरुबाट पिल्सिएकाहरुलाई न्याय दिलाउन पहल गर्ने, भारतका विभिन्न जेलहरुमा के कति नेपालीहरु छन् त्यसको विबरण खोज विन गर्ने र भारतीय दण्ड सजाएका धाराहरुको अध्ययन गर्ने निर्णय गरेको छ । खेल विभागले क्षेत्र, नगर र एरिया स्तरमा विभिन्न दिवसहरुलाई ध्यान दिएर रचनात्मक खेलकुद कार्यक्रमहरु सम्पन्न गरिसकेपछि केन्द्रीय स्तरको खेलको आयोजना गर्ने निर्णय गरेको छ । समता र जनजाति विभागले संयुक्त रुपमा १३ र १४ अप्रेल २०१८ मा प्रशिक्षण कार्यक्रम र १५ मा अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्ने निर्णय गरेको छ ।
४. मूल प्रवाहका पूर्णकालिन कार्यकर्ताहरुको कार्यक्षेत्र परिवर्तन गरिएको छ ।
५. दक्षिण भारतको रामेश्वर मन्दिरमा विक्रम संवत २०१६ मा नेपालकी रानी जगदम्बाले निर्माण गरेको नेपाली धर्मशाला हाल आएर केही अज्ञात व्यक्तिहरुबाट दूरुपयोग र जीर्ण अवस्थामा पुगेको रिपोर्ट प्राप्त भएकाले त्यसको सत्यतथ्य छानविन गर्न दक्षिण भारत क्षेत्रीय समितिलाई जिम्मा दिइएको छ ।
६. सामाजिक सञ्जालहरु जस्तै फेसबुक, वाटसपलाई दुरुपयोग गरि सांगठनिक गतिविधिमा आँच आउने खालका अभिव्यक्तिहरु नदिन मूल प्रवाहका सदस्यहरुलाई सजग गराउने निर्णय गरिएको छ ।
७. देशको तत्कालिन राजनीतिक अवस्था र सांगठनिक गतिविधिको बारेमा २८ जनवरी २०१८ मा नेकपा (मसाल) का महामन्त्री मोहन विक्रम सिंहद्वारा मूल प्रवाहको नेतृत्व तहलाई १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
८. मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको स्थापना काल देखि नै भारत प्रवासमा छरिएर रहेका नेपाली श्रमजिवीहरुको पक्षमा निरन्तर कलम चलाउँदै आएको र समय परिवेश तथा विभिन्न समस्याहरुका कारणले नेपाली एकता, विश्व नेपाली, मूल प्रवाह हुँदै हाल नेपाली समाचार साप्ताहिक प्रकाशन गरिरहेका छौं । हाम्रा पूर्वजहरु, यस संगठनका सम्पूर्ण कार्यकर्ताहरु र आम शुभचिन्तकहरुको महत्वपूर्ण योगदानले नै प्रकाशनलाई यहाासम्म पुर्याउन सफल भएका छौं । भारत प्रवासमा विभिन्न खाले व्यावसायीक प्रकाशनहरु बजारमा आएता पनि श्रमजीवी नेपालीहरुको पक्षमा कलम चलाउने एउटा मात्रै पत्रिकाको रुपमा हाम्रो पत्रिका स्थापित भएको छ । श्रमजिवी वर्गको पक्षमा यसरी निरन्तर कलम चलाउन पाएकोमा र यहाँहरु समक्ष भन्न पाउँदा अत्यन्तै शुखानुभूति हुन्छ । यसलाई अझै सशक्त र व्यवस्थित रुपमा वितरण तथा सञ्चालन गर्नु पर्ने आवश्यकता छ । जबसम्म संगठनका कार्यकर्ताहरुले अध्ययन गर्दैनन् उनीहरुको राजनैतिक तथा वैचारिक स्तर पनि न्यून हुन्छ । लेनिन पत्रिकाको महत्वको सन्दर्भमा भन्नु हुन्छ– “एउटा पत्रिकाको महत्व, एक हजार कार्यकर्ता बराबर हुन्छ ।” त्यसैले हामी हाम्रा सम्पूर्ण नेता, कार्यकर्ता, शुभचिन्तकहरुलाई ग्राहक बन्नको लागि विनम्र अनुरोध गर्दछौं ।”