भगवती शर्मा
दिनदिनै देशको विभिन्न ठाउँमा बलात्कारको केश बढ्दै आएको घटना हामी सबै सामु छर्लङ्ग छदैछ । कहिले ६वर्षकि सानी नानीलाई बलात्कार गरेर झाडिमा फालेका छन् भने कहिले बस भित्र नै महिलाको बलात्कार भएका समाचार पनि दिनका दिन थापाएका छौं । तर पनि चुप छ हाम्रो सरकार, आखिर किन ? अनि कहिले सम्म ? के महिलाको शरीर नै सबै थोक हो ? उनीहरुको जीवनको केही मान्यता छैन ? के उनीहरुलाई बाच्ने अधिकार छैन ? कसैको २ मिनेटको प्यासले कैयौं जिन्दगी बर्बाद भैरहेका छन् यहाँ ।
कैयौं आमाबाबुको कोख उजाड भैरहेको छ यहाँ । बलात्कार हुनुमा महिलाको पहिरनमा दोष दिनुहुने पनि थुप्रै हुनु होला तर ती ६ वर्षकी नाबालिकाको के दोष ? के उनले आफ्नो फ्रक लगाउने उमेरमा सारी लगाएर हिड्न पर्ने ? पक्कै पनि जन्म हुँदा उनलाई यो त थाहा थिएन होला नि “म बलात्कृत भएर मर्छु” भन्ने ? के लाग्छ ? त्यही सोंच लिएर जन्मेकि होलिन् ?
तर सुन्नु न, आफ्नो प्यासले तलतल भएका ती मानिस, जसले आफ्नो २ मिनेटको प्यासको लागि अर्काको जिन्दगी बर्बाद गर्न सक्छन् भने के हामीले उनीहरुलाई सजाय दिन सरकारलाई दबाब दिन सक्दैनौं ? पक्कै पनि सक्छौं । एउटाले गल्ति गर्छ, उ बचेर हिडेको देखेर अर्को पापिको मनोबल बढ्छ अनि थाहा छ, फेरि शिकार हुन्छन् ती अबोध बालिका अनि ती महिलाहरु ?
आखिर कहिलेसम्म चलिराख्छ यो सब ? यस्तै चलिराख्ने हो भने, बिहान स्कुल जान निस्केकि छोरी साँझ घर आइपुग्छे कि पुग्दैन भन्ने निश्चित हुने छैन । बिहान अफिस जान निस्केकि छोरीको साँझ घर आइपुग्ने नपुग्ने राम भरोसे हुने छ ।
आफ्ना दीदी बहिनि छोरी जस्तो हुन अरु को दीदी बहिनि छोरीलाई पनि त्यस्तै नजरले हेर्ने गरौं । त्यसैले आउनुः मिलेर एकसाथ आवाज उठाउँ । जति मरे उनीहरुलाई बचाउन त सकेनौं तर उनीहरुको अपराधीलाई सजाय दिन त सक्छौं । जति गए उनीहरुको आमाबाबुको कोख उजाड हुनबाट बचाउन त सकेनौं तर अब जति जन्मिन्छन उनीहरुलाई ढुक्कले बाच्ने वातावरण सिर्जना गर्न त सक्छौ नि ? हामी अब चुप बसेर हुँदैन आफ्नो हक अधिकार अरु कसैले दिने होइन आफै लिनुपर्छ । समाजमा परिबर्तन गर्न पहिले हामी आफूमा परिबर्तन ल्याउनु जरूरी छ । त्यसैले आउनुस् एकसाथ आवाज उठाउँ सुरक्षित समाजको निर्माण गरौं ।