भुमिका
अहिले विश्व कम्युनिस्ट आन्दोलनमा भारत साम्राज्यवादी मुलुक हो वा होइन भन्ने सन्दर्भमा मतभिन्नता देखिएको छ । यो लेखमा वास्तविक रुपमा भारतले आफुलाई साम्राज्यवादी मुलुकको रूपमा बिकास गरेको छ कि छैन भन्ने सवालमा चर्चा गरिएको छ । भारत साम्राज्यवादी हो वा होइन भन्ने कुराको चर्चा गर्नु भन्दा पहिले पुँजीवाद, उपनिवेशवाद र साम्राज्यवादको आधार र विशेषताको बारेमा चर्चा गर्नु आवश्यक हुन्छ । सामान्यतया साम्राज्यवादको सैद्धान्तिक दृष्टिकोण अनुसार कुनै महत्वाकांक्षी राष्ट्रले आफ्नो शक्ति र गौरव बढाउनको लागि अन्य विभिन्न देशको प्राकृतिक र मानवीय संसाधन माथी विभिन्न प्रकारले आफ्नो नियन्त्रण स्थापन गर्नु साम्राज्यवाद हो । यो हस्तक्षेप राजनीतिक, आर्थिक, सांस्कृतिक क्षेत्रमा हुदै सैन्य हस्तक्षेपको स्तरमा पनि पुग्न सक्छ । यतिमात्र होइन हस्तक्षेप हुनुपरेको मुलुक वा भुभागका बसोबास गरेका जनतालाई उनीहरुको विविध अधिकारबाट समेत बन्चित गरिएको हुन्छ भने त्यो क्षेत्र उसको साम्राज्य वा अधीनमा रहेको मानिन्छ। साम्राज्यवादको मुख्य विशेषता भनेको आफ्नो सिमा भन्दा बाहिर गएर अर्को मुलुक वा भुभागमा हस्तक्षेप गर्नु वा गर्नसक्ने आधार तयार पार्नु नै हो ।
साम्राज्यवादको बिज्ञान सम्वत सिद्धान्त लेनिनले विकास गरेका हुन् । उनले सन् १९१६ मा आफ्नो पुस्तक “साम्राज्यवाद: पुँजीवादको चरम अवस्था” मा यस सिद्धान्तको स्पष्ट ब्याख्या गरेका छन् । उनको भनाइ अनुसार साम्राज्यवाद एक निश्चित यस्तो आर्थिक अवस्था हो जुन पुँजीवादी चरणको विकासको उच्चतम अवस्थामा उत्पन्न हुन्छ । जुन अवस्थालाई लेनिनले समाजवादी क्रान्तिको पुर्व अवस्थाको रूपमा समेत ब्याख्या गरेका छन् । कुनै मुलुक साम्राज्यवादी कहलाउन यस सिद्धान्त अनुसार लेनिनले मुख्यतया पाँचवटा विशेषताको विकास गरेको हुनुपर्ने बताएका छन् ।
१. उत्पादन र बजार विस्तारमा केन्द्रिकरण र एकाधिकार :-
पुँजीवादको विकासको क्रममा कुनै पनि देशको उत्पादन क्षेत्रमा व्यापक केन्द्रिकरण हुन्छ वा उसको मात्रै एकाधिकार बढ्दै जान्छ । यस अवस्थामा उत्पादनका साधन, श्रम शक्ति तथा समग्र उत्पादन क्षेत्र ठुला ठुला उद्योगमा मात्रै केन्द्रीकृत हुन्छ । साना, मझौला वा कम लगानीमा संचालन भएका उद्योग धराशायी हुन्छन् । प्रतिस्पर्धा गर्न नसक्ने उद्योगहरु जति जति बन्द हुदै जान्छन् त्यति त्यति ठुला उद्योगको उत्पादन र बजार दुबैमा एकाधिकार कायम हुदै जान्छ । तर साम्राज्यवाद कहलाउनको लागि यो एकाधिकार आफ्नो देशभित्र मात्रै होइन कि विश्व स्तरमा समेत उसको नियन्त्रण स्थापित हुनु पर्दछ । सम्बन्धित देशका केहि ठुल्ठुला पुँजीपतिहरु वा कम्पनीहरुले विश्व बजार समेत कब्जा गरेको हुनुपर्छ । त्यसको अर्थ उत्पादन गरेको माल विश्वमा निर्यात गरेर मात्रै पुग्दैन, आफ्नो मुलुकको लागि ब्यापार घाटा घटाएर सामान्य फाइदा गरेर पनि पुग्दैन । विश्व बजारमा त्यसको यस्तो एकाधिकार स्थापन गरेको होस् जुन माल उत्पादन वितरण र मुल्य निर्धारणको हैसियतले समेत विश्वमा भुमिका खेल्न सकेको हुनुपर्छ । यसलाई लेनिनले “पुँजीवादको इजारेदार हुने अवस्थाको नाम नै साम्राज्यवाद हो ।” भनेका छन् ।
२. बैंक पुँजी र औद्योगिक पुँजीको एकीकरण :-
यो विशेषता पुँजीवादको चरम विकास हुने क्रममा बैंक पुँजी औद्योगिक पुँजीसँग एकीकृत हुन्छ । बैंक पुँजीको सामान्य उदेश्य भनेको ऋण दिएर त्यसको ब्याजबाट नाफा कमाउनु नै हो । तर साम्राज्यवादी अवस्थामा बैंक पुँजी पनि घुमाउरो तरिकाले सिमित दैत्यकार पुँजीपतिको कब्जामा रहेको हुन्छ । सुरुमा बैंकले पुँजीपतिलाई ब्याजमा पैसा दिन्छ । पुँजीपतिको स्टक पैसा पनि बैंकमा रहेको हुन्छ । यस प्रकारको दोहोरो सम्बन्धमा बैंकले मध्यस्थताको काम गरेको हुन्छ । जब पुँजीवादले चरम एकाधिकार कायम गर्छ त्यसको असर बैंकमा पर्दछ र बैंकका पनि ठुला ठुला संगठन र संबिलियन बन्न थाल्दछ्न् । प्रचुर धनराशिको स्वामी हुने हुनाले ती संबिलिएन सर्बशक्तिमान एकाधिकार बन्न जान्छन्, जसको नियन्त्रणमा सम्पुर्ण पुँजी सिमित ठुला ठुला दैत्यकार पुँजीपतिको कब्जामा जान्छ । यतिबेला बैंक, उद्योग कलकारखाना, यातायातका साधन लगायत सबै आफ्नो मुट्ठीमा लिन्छन् त्यो औद्योगिक क्षेत्रको मात्रै होइन, सम्पुर्ण देशको अर्थनीतिको शासक र नियन्त्रक बन्न जान्छ ।
३. पुँजी अथवा पुँजीवादको निर्यात :-
पुँजीवादी राष्ट्रले सुरुसुरुमा व्यापक माल उत्पादन र त्यसको बजारमा वितरणको लागि कब्जाको नीति अवलम्बन गर्ने गर्छन् । त्यसको पैमानामा वृद्धि हुँदै जादा अब माल मात्रै होइन पुँजी समेत निर्यात गर्ने अवस्थामा पुग्ने गर्छन्, यो साम्राज्यवादको एक प्रमुख विशेषता हो । जब पुँजीवादको चरम विकास हुन्छ, एकाधिकारी पुँजीपतिका संघ बनाउने गरेका हुन्छन् । जब माल उत्पादन गर्दा पुँजी आफ्नो देशमा मात्रै लगानी गरेर प्रतिस्पर्धा गर्न नसकिने अवस्थाको सिर्जना हुन्छ तब अविकसित तथा विकासोन्मुख देशमा आफ्नो पुँजी निर्यात गर्ने फर्मुलाको प्रयोग गरिन्छ । त्यस्ता गरिब मुलुकमा पुँजी निर्यात गरेर एकातिर त्यसको ब्याज असुली गरिन्छ भने अर्कोतिर त्यो ऋण सहयोगको नाउँमा सर्तहरू तेर्साएर त्यही निर्यात गरिएको पुँजीले आफ्नै निर्माण सामग्री वा माल खरिद गर्न लगाएर मुनाफा सहितको दोहोरो फाइदा लिने गरिन्छ । यसलाई माक्र्सवादले पुँजीवादको दोहोरो लुटको रूपमा मान्छ । जति जति पुँजी निर्यातको मात्रा बढ्दै जान्छ तब विभिन्न एकाधिकारी संघको वृद्धि हुने क्रममा अन्तर्राष्ट्रिय ट्रस्ट र कार्टेलहरुको निर्माणका लागि परिस्थिति अनुकुल हुदै जान्छन् । यस अवस्थाले विश्व बजार वाडफाडको स्थितिमा पुर्याउने गर्छ ।
४. विश्वको आर्थिक र बजारको क्षेत्रीय विभाजन :-
पुँजीवादी मुलुक बीचमा बनेका अन्तर्राष्ट्रिय संघ संगठनले विश्वलाई आफुहरुको बीचमा भागबन्डा लगाउने गर्छन् । यस क्षेत्रीय विभाजन अनुसार आफ्नो आफ्नो भागमा परेको मुलुक वा हिस्सामा आफ्नो ब्यापार सिमित गर्नुपर्ने अवस्था हुन्छ । तर त्यो स्थायी रूपमा रहन सक्दैन । जस्तै :- सन् १८७६ मा अफ्रिकाको ११ प्रतिशतमात्रै भाग युरोपेली शक्तिहरुको कब्जामा थियो तर सन् १९०० सम्म आउँदा ९० प्रतिशत भाग उनीहरुको अधिनमा आएको थियो । यसरी हुने भागबन्डा र क्षेत्रीय विभाजनमा खिचातानीको अवस्थामा साम्राज्यवादी मुलुक बीचमा युद्धको अवस्था सृजना हुन्छ ।
५. संसारका महाशक्ति साम्राज्यवादी मुलुकद्वारा विश्वको भागबन्डा र युद्ध :-
संसारका ठुला एकाधिकारी संघ संगठनको क्षेत्रीय विभाजनले पनि पुँजीवादी संकटको समाधान नहुने अवस्थाको सृजना भएपछि महाशक्ति साम्राज्यवादी मुलुकले नै विश्व विभाजन गर्ने अवस्था हुन्छ । अन्ततः त्यसले पनि संकट समाधान हुँदैन बरु झन्झन् साम्राज्यवादी मुलुकहरू बीच अन्तरविरोध बढेर युद्धको अवस्था सृजना हुन्छ । ती युद्धहरु क्षेत्रीय रूपमा पनि हुन सक्छन् र विश्वयुद्धको रूपमा पनि हुन सक्छन् । प्रथम तथा द्वितीय विश्वयुद्ध पनि साम्राज्यवादी तथा पुँजीवादी देशको टकरवको उपज थिए । त्यसैले साम्राज्यवादको विकासको लागि सैन्य तथा आणविक हतियारको विकासलाई पनि सँगसँगै लिने गरिन्छ । लेनिनले साम्राज्यवादको विकासलाई क्रान्तिको आधार तयारीको रुपमा समेत ब्याख्या गरेका छन् । प्रथम र द्वितीय विश्वयुद्धपछि कतिपय युरोप र अमेरिकी मुलुकमा समाजवादी क्रान्ति सम्पन्न समेत भएका थिए ।
साम्राज्यवाद र उपनिवेशवाद बीचको अन्तरसम्बन्ध
साम्राज्यवादलाई बुझ्न साम्राज्यवाद र उपनिवेशवाद बिचको अन्तरसम्बन्ध र भिन्नतालाई समेत बुझ्नुपर्छ । यिनिहरुको बीच अत्यन्त घनिष्ठ सम्बन्ध हुन्छ । झट्ट हेर्दा वास्तविक रुपमा साम्राज्यवाद र उपनिवेशवाद एक सिक्काको दुई पाटा नै हुन् तर एउटै भने होइनन् । यो अत्यन्त जटिल प्रश्न हो कि साम्राज्यवादको विकासको क्रममा नै उपनिवेशवादको रुप देखा पर्दछ तर कतिपय अवस्थामा वा सबै उपनिवेशवादले साम्राज्यवादको रुपमा आफुलाई अभिव्यक्त गरेका हुदैनन् ।
कुनै मुलुक साम्राज्यवादी हो वा होइन भन्ने कुरा निश्चित गर्न त्यस मुलुकले अर्को साम्राज्यको आड भरोसामा उपनिवेशवादी नीति अवलम्बन गरेको छ वा स्वयं आफू साम्राज्यवादी रुपमा विकसित भएर उपनिवेशवादको नीति अवलम्बन गरेको छ त्यो छुट्टाउनु प्रमुख हुनजान्छ । यसलाई सतही प्रकारले वा हल्का ढंगले लिनु हुँदैन । त्यसको आन्तरिक पक्षको र अन्य साम्राज्यवादी मुलुकहरू सँगको राजनीतिक सम्बन्धसँग विश्लेषण गरेर नै त्यो निश्चित गरिनुपर्छ यद्यपि यो नै पुर्णतः होइन । त्यो साम्राज्यवाद हो वा होइन भन्ने निश्चित गर्न त्यसले विकास गरेको पुँजीवादको चरणलाई नै आधार बनाउनु पर्छ तर त्यसले अपनाउने गरेको उपनिवेशवादको आधारमा मात्रै भर पर्नु पनि गलत हुनजान्छ । त्यसकारण उपनिवेशवाद के हो ? यसका आयाम के हुन् ? उपनिवेशवाद बलियो सम्पन्न राष्ट्रले कमजोर विपन्न राष्ट्र माथी शोषण र उत्पीडन गर्नको लागि कब्जा गर्ने नीति हो । परम्परागत रूपमा यो दुई तरिकाले गरिएको हुन्छ । प्रथम प्रत्येक्ष कब्जा गरेर आफुले शासन गर्ने, दोश्रो आफ्नो कठ पुतली सरकार र राज्य व्यवस्था स्थापना गर्ने र शोषण गर्ने । दोस्रो तरिका अर्ध उपनिवेशवाद हो । आधुनिक कालमा नव उपनिवेशवादको समेत विकास भएको छ । अहिले हामी उपनिवेशवादको प्रकारको बारेमा चर्चा गर्दैनौं । साम्राज्यवाद र उपनिवेशवादको अन्तर सम्बन्ध र भिन्नता बारे छोटो चर्चा गर्छौं ।
विभिन्न विद्वानहरुले पुँजीवाद र उपनिवेशवाद, साम्राज्यवाद र उपनिवेशवाद एउटै भएको तर्क गर्ने गरेको पाइन्छ जुन गलत हुन्छ । पहिलो कुरा वास्तविक रूपमा उपनिवेशवादले अर्को देशमा कब्जा जमाउछ तर त्यसैको आधारमा आफ्नो पुँजी वा अर्थतन्त्रको विकास गर्न निर्णायक भुमिका खेल्न सक्तैन । तर पुँजीवादले अतिरिक्त नाफा कमाउने भएकोले उसको अर्थतन्त्र निर्माणमा निर्णायक भुमिका खेल्छ । दोस्रो कुरा, एकातिर उपनिवेशवादले कब्जा गरेको जुन अविकसित देश हो त्यसको प्राकृतिक कच्चापदार्थ दोहन गर्न आवश्यक विकासको लागि पुँजी र प्रविधिको समेत लगानी गर्नुपर्ने हुन्छ भने अर्कोतिर उपनिवेशिक राष्ट्र र उपनिवेशवादी राष्ट्र बीच राष्ट्रिय मुक्तिको संघर्ष चलिरहेको अवस्था हुन्छ । त्यसलाई दबाउन समेत ठुलो धनराशि खर्च गर्नुपर्ने हुन्छ जुन पुँजीवादको विकासमा बाधक बन्दछ । जस्तैः बेलायतले भारतमा उपनिवेशवादी नीति लागू गर्दा एकातिर भारतको विकास गर्नुपरेको थियो भने अर्कोतिर भारतीय स्वतन्त्रता आन्दोलन दबाउन अर्बौं डलर खर्चिनु परेको थियो जसको असर बेलायती अर्थतन्त्रमा समेत परेको थियो । तेस्रो कुरा, उपनिवेशवाद र पुँजीवादको सँगसँगै विकास हुन्छ, केही साझा उदेश्य मिल्छ तर त्यसको अर्थ यो होइन कि उपनिवेशवाद र पुँजीवाद एउटै हो । साम्राज्यवाद पुँजीवादको उच्चस्तरीय रुपमा अनिवार्य रूपमा अभिव्यक्त हुने अवस्था हो जुन विश्वस्तरमा टिक्न पनि सक्छ वा पतन हुन पनि सक्छ ।
साम्राज्यवादका साधनहरु
साम्राज्यवादका मुख्यत तीन प्रकारका आधारभूत साधन हुन्छन् जुन यस प्रकार छन् ।
१. सैनिक साम्राज्यवादी साधन :-
साम्राज्यवादको प्रमुख साधन सैन्य शक्तिको प्रयोग पनि हो । यो तरिका अनुसार प्रत्येक्ष सैनिक आक्रमण द्वारा आफ्नो लक्ष्य प्राप्त गर्ने गरिन्छ । आधुनिक युगमा हिटलर, मुसोलोनी, नेपोलियन र लुइ चौधौं लगाएतका शासकहरुले सैनिक विजयको साधन प्रयोग गरेर आफ्नो साम्राज्य कायम गर्ने प्रयत्न गरेका थिए । यो साधन वा तरिकाको मुख्य उदेश्य भनेको साम्राज्यवादी राष्ट्रको दृष्टिकोणमा सैनिक विजयको फलस्वरूप जुन नयाँ शक्ति सम्बन्ध स्थापित हुन्छ, त्यो सफलता पराजित क्षेत्र वा मुलुकको हित विपरीत हुन्छ वा त्यो भनेको साम्राज्यवादी राष्ट्रको हितमा नयाँ सम्बन्ध कायम गर्नु नै हो । यो दृष्टिबाट साम्राज्यवादको निर्माणमा युद्धको अत्यन्त महत्व हुन्छ । कहिलेकाही यो साधनको प्रयोगले यदि उ आफै युद्धमा पराजित भएमा साम्राज्यको निर्माण होइन विघटन पनि हुनसक्छ । जस्तैः नाजी जर्मनीले आफ्नो साम्राज्यवादी लक्ष्यको लागि युद्धको सहारा लिएका थिए तर यस प्रक्रियामा उनले आफ्नो शक्तिलाई पुर्ण रुपमा गुमाए उनी यसरी हारे कि स्वयं अर्को साम्राज्यवादको सिकार बन्न पुगे ।
२. आर्थिक साम्राज्यवादी साधन :-
कमजोर तथा अविकसित राष्ट्रमा आफ्नो साम्राज्य स्थापना गर्नको लागि सम्पुर्ण आर्थिक शक्तिको प्रयोग गर्नु साम्राज्यवादको सबैभन्दा प्रभावकारी र तर्क संगत साधन हो । यो साधन सैनिक प्रयोगको साधन भन्दा कम क्रुद्धता हुन्छ तर यसको आधार भने बलियो हुन्छ । यस साधनको महत्वपूर्ण विशेषता भनेको अर्को राष्ट्र माथी आर्थिक नियन्त्रण गर्नु नै हो । पुँजीवादी देशले आफ्नो आर्थिक प्रयोग गरेर अर्को विपन्न देशको अर्थतन्त्रको विकासमा बाधा पुर्याउने र आफ्नो बजार बनाउने अनि यसैको माध्यममा वित्तीय क्षेत्र मात्रै होइन पुरै राष्ट्रको आन्तरिक तथा वैदेशिक नितिमा समेत कब्जा जमाउने गर्छन् । जस्तैः मध्य अमेरिकी गणराज्य सार्बभौमसत्ता सम्पन्न हुदाहुदै उनीहरुको सम्पुर्ण नितिमा समेत संयुक्त राज्य अमेरिकाको कब्जा थियो किनभने उनिहरुको आर्थिक जीवन संयुक्त राज्य अमेरिकाको उत्पादन आयातमा निर्भर रहेको थियो ।
यो साधनविश्वमा अहिलेको बदलिँदो परिस्थितिमा यसको स्वरुपमा पनि निकै परिवर्तन आएको छ । यसका आधुनिक लक्षणहरु “डलर साम्राज्यवाद” “तेल कुटनिति” को रुप पनि एक प्रकारको आर्थिक साम्राज्यवादको साधनको अंश बनेको छ । त्यसको अलवा विदेशी निवेश, आर्थिक सहायता, ऋण, बहुराष्ट्रिय निगम, बहुराष्ट्रिय बैंक, अन्तर्राष्ट्रिय व्यापार तथा त्यसमा एकाधिकारको प्रयोग यो साधनको स्वरुप हो । यही साधन अपनाएर शक्तिशाली साम्राज्यवादी मुलुकहरूले विशेषगरी एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका गरिब तथा विकासोन्मुख राष्ट्रमाथी शोषण र उत्पीडन गरिरहेका छन् ।
३. सांस्कृतिक साम्राज्यवादी साधन :-
सैनिक साधनले विजय अर्थात कब्जा र अर्थ साधनले अर्थव्यवस्था साथै नीति नियन्त्रण गरेजस्तै सांस्कृतिक साम्राज्यवादी साधनले अविकसित र उत्पीडित राष्ट्रको संस्कृतिलाई आफ्नो अनुकुल परिवर्तन गर्न त्यहाका मानव मस्तिष्कमा नै नियन्त्रण गर्दै त्यहाको समाजलाई नै आफ्नो अनुकुल बदल्ने प्रयत्न गरिएको हुन्छ । सांस्कृतिक साम्राज्यवादी साधनको मुख्य उदेश्य साम्राज्यवादीको संस्कृति र विचारधाराको श्रेष्ठता प्रचारप्रसार द्वारा अर्को राष्ट्रलाई प्रभावित गर्ने, राज्य शक्तिको मनोवैज्ञानिक साधन द्वारा त्यहाको संस्कृतिलाई विस्थापन गर्नु नै हो । यस साधनको प्रयोग गरेर त्यस राष्ट्रको संस्कृति, साहित्य, धर्म, राष्ट्रिय भावना र आत्मसम्मानको समेत नष्ट गर्ने प्रकारले प्रचारप्रसार गरिन्छ र साम्राज्यवादी संस्कृतिको स्थापना गरिन्छ ।
के भारत साम्राज्यवादी देशको रूपमा विकास भएको हो ?
भारत दक्षिण एसियाली राष्ट्रहरुमा सबैभन्दा शक्तिशाली राष्ट्र हो । भारत ब्रिटिस शासनबाट मुक्त भएको बेलामा अर्ध सामन्ती तथा अर्ध औपनिवेशिक देश थियो । अहिले भारतले त्यसबाट आफुलाई माथी उठाएर पुँजीवादको विकास गरेको छ । भारतमा पुँजीवादको विकास भएको भएपनि भारत अहिले पनि कृषि क्षेत्रमा नै ठुलो पैमानामा निर्भर रहेको छ । यो देशमा पुँजीवादको विकास सँगै आधुनिक कृषि प्रणाली र थुप्रै साना ठुला उद्योग कलकारखाना पनि स्थापना भएका छन् । विगतको दशकमा भारतले आफ्नो अर्थतन्त्रलाई विश्वका ठुला अर्थतन्त्रको सुचीमा पार्न सफल पनि भएको छ । भारतका केही ठुला कम्पनीले विश्व बजारमा आफ्ना उत्पादन गरेका माल पनि निर्यात गर्ने गरेको छ । त्यसैले त भारतले अहिले आफुलाई हिजोको अर्धसामन्ती र अर्ध औपनिवेशिक अवस्था बाट माथी उठाएर पुँजीवादी देशको रुपमा विकास गरेको हो । यही पुँजीवादी रूपमा विकास गरेको आधारले मात्रै भारतमा साम्राज्यवादको विकास भैसकेको निष्कर्ष निकाल्नु भने सहि होइन ।
भारतले आफ्नो देशमा पुँजीवादको विकास गरेपनि यसलाई द्वन्द्वात्मक ढंगले विश्लेषण गर्दा साम्राज्यवादमा हुनुपर्ने विशेषताको आधारमा यसले साम्राज्यवादको स्तर सम्म पुर्याउन सकेको देखिदैन । अहिले पनि भारत कृषिप्रधान देश हो र यसले आफ्नो पुँजीको ठुलो हिस्सा कृषि क्षेत्रको व्यवसायीक विकासमा लगानी गरेको छ । भारतमा जुन उद्योग कलकारखानाको विकास भएको छ वा त्यहाँका राष्ट्रिय पुँजीपतिहरुले आफ्नो देश भित्रका विभिन्न क्षेत्रमा एकाधिकारको सिद्धान्त अनुसार कब्जा जमाउन सकेको अवस्था पनि देखिदैन । भारतबाट ठुलो संख्यामा विदेशी कन्सट्रक्सनका क्षेत्रमा मजदुरहरु जाने गर्दछ्न् र अहिले पनि भारतीय अर्थतन्त्रको महत्वपूर्ण हिस्सा रेमिटेन्सले ओगटेको छ । भारतीय पुँजीपतिले उत्पादन गरेको माल विश्व बजारमा सामान्यतया निर्यात गरेपनि विदेशी बहुराष्ट्रिय कम्पनीहरू भारतीय अर्थतन्त्रमा हावी हुने क्रम रोकिएको छैन । भारतको आणविक विकास र द्रुत गतिका मेट्रो रेलको विकास लगाएतका क्षेत्रमा विदेशी कम्पनीको लगानी बढेर गएको छ । भारतको अर्थतन्त्र ठुलो पैमानामा भएपनि बर्सेनि वैदेशिक व्यापार घाटा बढेर गएको छ । कतिपय पुँजीपतिका उद्योगहरुको मुनाफा बढेर गएपनी कतिपय राष्ट्रिय उद्योग धराशायी भएर गएका छन् । यस तथ्यके के बताउछ भने भारत आफ्नो अर्थतन्त्रको विकासको क्रममा छ तर पुँजीवादको चरम विकास भएको छैन ।
भारतमा पुँजीको विकास हुँदै गरेपनि मजदुरको भन्दा किसानको अवस्था दयनीय छ । सिंचाइको अभाव र मौसममा निर्भर हुनुपर्दा अथवा किसानले बैंक ऋण चुक्ता गर्न नसकेको कारणले हजारौं हजार किसानले आत्महत्या गर्ने क्रम अझै रोकिएको छैन । सन् १९९५ देखि २०११ सम्मको अवधिमा मात्रै ७,५०,८६० जना किसानले यसै कारण आत्महत्या गरेका थिए । यो पछिल्लो दशकमा पनि त्यसको दर झन् बढेको छ । सन् २०१६-१७ को तथ्यांक अनुसार धेरै जसो राज्यमा औसत ७४ जनाको दरमा किसानले प्रत्येक महिना आत्महत्या गर्छन् । भारतमा अहिले पनि करिब ९ लाख ५६ हजार घरपरिवारले चर्पी बनाउन नसकेर खुल्ला आकाश मुनि सौच गर्छन् । भारतको पछिल्लो आर्थिक बर्ष १०१८-१९ को बजेट तथा नीति कार्यक्रममा करिब साढे ४ लाख सौचालय निर्माण गर्ने लक्ष्य लिइएको छ । ग्रामीण क्षेत्रको पुर्वाधार विकासमा अहिले पनि अर्बौं बजेट विनियोजन गरेको छ । भारतमा करोडौं जनता स्वच्छ खानेपानी बाट समेत बन्चित छन् । यस तथ्यले के बताउछ भने भारतमा अहिले पनि ग्रामीण इलाकामा गरिबी, अशिक्षा र पिछडिएको अवस्थामा नै रहेको छ ।
भारतको पछिल्लो करिब १५ बर्षको वैदेशिक आयात निर्यातको तथ्यांकअनुसार भारतमा वैदेशिक व्यापारको घाटाको दर बढ्दो अवस्थामा छ । भारतले विश्वका करिब १९० देशमा ७,५०० प्रकारका बस्तु निर्यात गर्दछ भने करिब १४० देशबाट ६,००० बस्तु आयात गरिरहेको तथ्यांक छ । भारतले सन् १९९९ मा ३६.३ विलियन अमेरिकी डलर मूल्य बराबरको सामान निर्यात गरेको थियो भने ५०.२ विलियन अमेरिकी डलर मुल्य बराबरको सामान आयात गरेको थियो । त्यो बर्षको वैदेशिक व्यापार घाटा -१३.९ थियो । त्यो घाटा हालसम्म आउदा क्रमस
बढी रहेको छ । हेर्नुस् तलको डाटा ।
निर्यात आयात विलियन अमेरिकी डलर मुल्य बराबर ।
वर्ष निर्यात आयात व्यापार घाटा
1999 36.3 50.2 -13.9
2000 43.1 60.8 -17.7
2001 42.5 54.5 -12.0
2002 44.5 53.8 -9.6
2003 48.3 61.6 -13.3
2004 57.24 74.15 -16.91
2005 69.18 89.33 -20.15
2006 76.23 113.1 -36.87
2007 112.0 187.9 -75.9
2008 176.4 305.5 -129.1
2009 168.2 274.3 -106.1
2010 201.1 327.0 -125.9
2011 299.4 461.4 -162.0
2012 298.4 500.4 -202.0
2013 313.2 467.5 -154.3
2014 318.2 462.9 -144.7
2015 310.3 447.9 -137.6
सन् २०१६ मा निर्यात गरिएका १० शिर्ष वस्तुहरु ।
क्र.स. वस्तु मुल्य (US$ billion) अंश (%)
1 Refined Petroleum 61.2 19.2
2 Gems, precious metals 41.2 13.0
3 Vehicles 14.5 4.6
4 Machines, engines 13.6 4.3
5 Organic chemicals 12.1 3.8
6 Pharmaceuticals 11.7 3.7
7 Cereals 10.1 3.2
8 Iron and stee 9.1 2.9
9 Clothing 9.1 2.9
10 Electronics 9.1 2.8
सन् २०१६ मा आयात गरिएका १० शिर्ष वस्तुहरु ।
क्र.स. वस्तु मुल्य (US$ billion) अंश (%)
1 Oil 177.5 38.3
2 Gems, precious metal 60.0 13.0
3 Electronics 32.0 6.9
4 Machines, engines 31.2 6.7
5 Organic chemicals 18.3 4.0
6 Plastics 11.8 2.6
7 Iron and steel 11.4 2.5
8Animal/vegetable and oils 10.7 2.3
9 Ores, slag and ash 7.4 1.6
10 Med. & technical equ. 7.1 1.5
सन् २०१६ मा निर्यात र आयात गरेका शिर्ष ५ वटा देश
निर्यात तर्फ
1. अमेरिका ($ 45.50 अर्ब)
2. संयुक्त अरब इमिरेट्स ($15.50 अर्ब)
3. हँगकँङ ($15.50 अर्ब)
4. चीन ($10.70 अर्ब) र
5. यु के ($8.66 अर्ब)
आयात तर्फ
1. चीन ($58.90 अर्ब)
2. अमेरिका ($19.90 अर्ब)
3. संयुक्त अरब इमिरेट्स ($18.40 अर्ब)
4. साउदी अरब ($17.20 अर्ब) र
5. स्विजरलैंड ($14.80 अर्ब)
भारतले विगतको दशकमा जतिसुकै बजेट भोल्युम बढाएको भएपनि आफ्नो वैदेशिक व्यापार घाटा घट्नु को सट्टा झन् बढिरहेको छ । सबै भन्दा बढी सन् २०१२ मा २०२ विलियन अमेरिकी डलर बराबरको व्यापार घाटा सहनु परेको थियो । पछिल्ला बर्षहरुमा त्यो घाटा घटाइरहेको भएपनि अझैसम्म भारतको वैदेशिक व्यापार घाटामा नै चलिरहेको छ । अहिले भारत करिब १३५ विलियन अमेरिकी डलर बराबरको घाटामा रहेको छ । यस तथ्यांकले के बताउँछ भने भारतले घाटा पुर्ती गर्न विश्व बजारमा प्रतिस्पर्धाको स्तरमा पुगेको छैन भने झन् एकाधिकारी संबिलियनको स्तरमा वा साम्राज्यवादको दर्जामा पुगेको भन्न मिल्ने आधार देखिदैन । भारत आफैमा विशाल भूगोल र जनसंख्या भएको मुलुक हो । त्यसैले त्यहाँ बजेटको भोल्युम ठुलो हुनु स्वभाविक हो तर अहिलेसम्म पनि भारत पुर्णतः आत्मनिर्भर बन्न सकिरहेको छैन । यसको निर्यात आयातको मोटो विवरणको अध्ययन गर्दा उ ठुलो पैमानामा चिनमा निर्भर रहेको पुष्टि हुन्छ । अहिले पनि त्यहाँ चीन हावी हुँदै गइरहेको छ ।
भारतको ग्रामीण पुर्वाधार विकास, जलमार्ग, सैन्य विकास, आणविक क्षेत्र, द्रुतगतिमा गुड्ने मेट्रोरेल निर्माण र औद्योगिक विकासको लागि समेत ठुलो पैमानामा ऋण सहयोगमा भर परेको छ । पछिल्लो समयको अध्ययन गर्ने हो भने भारत स्वतन्त्र भएपछिको इतिहासमा नै विश्व बैंक बाट सबैभन्दा बढी ऋण सहयोग लिने शिर्ष सरकारमा हालको मोदी सरकार नै रहेको छ । भारत सरकारले २ फरवरी २०१८ मा वाराणसी देखि हल्दिया सम्मको १३६० कि मि जलमार्गको लागि विश्व बैंक बाट ३७५ मिलियन डलर (२५१ अर्ब भारु) ऋण सम्झौता गरेको छ । उक्त करारमा भारतीय वित्त मन्त्रालयका ज्वाइन्ट सेक्रेटरी समीर कुमार खरे, इग्लैंण्ड वाटरवेज भ्वाइस चियरम्यान प्रविर पांडेय र भारतका लागि विश्व बैंक डाइरेक्टर जुनैद अहमदले हस्ताक्षर गरेका छन् ।यसको अलवा उदाहरणका लागि अन्य क्षेत्रको छोडेर खाली पुर्वाधार विकासका लागि भनेर भारतले विश्व बैंकसँग लिएको ऋण विवरण हेरौं ।
२३ जनवरी २०१८ मा १२० मि. डलर (१८ अर्ब भारु) उत्तराखण्ड पानी सप्लाई । ३१ जनवरी २०१८ मा १०० मि. डलर (६.५ अर्ब) तालिमनाडुका गाउको हालत सुधार । २४ अप्रिल २०१८ मा २१० मि. डलर ( करिब १४ अर्ब ) गुजरातका ग्रामीण सडक । ८ मइ २०१८ मा २०० मि. डलर ( १३.५ अर्ब ) राष्ट्रिय पोषण मिसन । २९ मइ २०१८ मा २१.७ मि. डलर (१.५ अर्ब ) राजस्थानका गाउँ सुधार । ०३ जुन १०१८ मा १२५ मि. डलर (८.३७ अर्ब ) औषधि बनाउन र गुणस्तर मापन । यसको साथै गत बर्ष २०१७ मा पनि पुर्वाधार विकासका विभिन्न शिर्षकमा ४६५ मि. डलर ( करिब ३१ अर्ब ) भारु ऋण सहयोग लिएको थियो । जलमार्ग, आणविक क्षेत्र, द्रुतगतिमा गुड्ने मेट्रोरेल निर्माण र औद्योगिक विकासको लागि समेत खर्बौ ऋण सहयोग लिएका तथ्यांकहरु पनि छन् ।
अब विश्लेषण गरौं कि लेनिनले भनेका छन् कि पुँजीवादको उच्चस्तरीय रूपमा साम्राज्यवाद प्रकट हुन्छ अर्थात उत्पादन र बजारमा एकाधिकारी र पुँजीको निर्यात नै साम्राज्यवादको प्रमुख विशेषता हो । भारतले केही पुँजी निर्यात गरेको होला तर सामान्य पुर्वाधार विकास खर्चमा मात्रै खर्बौ पुँजी आयात गरेको तथ्यांक पनि छ । विश्व बजारमा आफ्ना बैंकका शाखा विस्तार गर्यो होला तर ती बैंकको ऋण स्वरुप आयात गरिएको पुँजीको विवरण र यसको विश्लेषण गर्नु यो सानो लेखमा संभावना नै छैन । यस तथ्यले के बताउँछ भने लेनिनले साम्राज्यवाद सम्बन्धि ब्याख्या गरेको सिद्धान्त र विशेषता अनुसार भारतीय अर्थतन्त्रको विकास साम्राज्यवादको चरणमा अझै भएको छैन भन्ने नै प्रमाणीकरण हुन्छ । तसर्थ भारत पुँजीवादी देश हो तर साम्राज्यवादमा अझै परिणत भएको छैन ।
निष्कर्ष
भारत एक दक्षिण एसियाको शक्तिशाली पुँजीवादी मुलुक हो । यसले अमेरिकी साम्राज्यवादको आड भरोसामा दक्षिण एसियायी गरिब विपन्न राष्ट्रहरु माथी चर्को शोषण र दमन गरिरहेको छ । यो अमेरिकी साम्राज्यवादको पिछलग्गु भएर आफ्नो विस्तारवादी नीति अनुरुप चलिरहेको उदयमान शक्ति सम्म भन्दा अनुक्ती नहोला तर यसले आफुलाई साम्राज्यवादी शक्तिको रूपमा विकास गरिसकेको विश्लेषणको आधारमा अन्तर्राष्ट्रिय परिस्थितिको मुल्यांकन गर्नु भनेको विश्व कम्युनिस्ट आन्दोलनको अमेरिकी साम्राज्यवादको विरुद्धको संघर्षलाई ओझेलमा पार्नु हुनेछ। जहासम्म नेपाल कम्युनिस्ट आन्दोलनको सन्दर्भ छ । त्यसको लागि भारतीय विस्तारवाद हिजो पनि प्रमुख दुश्मन थियो आज पनि प्रमुख दुश्मन नै हो । त्यसैले नेपालमा नौलो जनवादी क्रान्ति सम्पन्न गर्ने सिलसिलामा भारतीय विस्तारवादलाई समेत पराजित गरेर हाम्रो मुलुकलाई अर्ध उपनिवेशबाट समेत मुक्त गरिनुपर्छ ।
सन्दर्भ सामग्रीहरु
१. साम्राज्यवाद : पुँजीवादको चरम अवस्था – लेनिन (हिन्दी )
२. चिन र भारत साम्राज्यवादी देश हुन् वा होइनन् ? – नेकपा ( मसाल ) केन्द्रिय कार्यालय
३. भारतमे किसानो कि अवस्थाए – शिव वन्दन
४. भारतीय अर्थ व्यवस्था – संजिव शर्मा अनुवादक डा. किरन सिंह
५. world bank loan to india . ( google)
६. www.m.du.com
७. www.commorce.nic.in
८. www.worldsrichestcountries.com
९. बजेट २०१८-१९, भाषण ०१/०२/२०१८ वित्त मन्त्री अरुण जेटली