भारत साम्राज्यवादमा परिणत भएको छ

0
462

विगतमा हामीले भारतलाई भारतीय विस्तारवादका रुपमा व्याख्या गर्दै आइरहेका थियौं । भारतीय विस्तारवाद नेपाल लगायत दक्षिण एशियाका मुलुकहरुको राष्ट्रियता तथा त्यहाँ चल्ने राष्ट्रिय मुक्ति आन्दोलनका लागि बाधक बन्दै आइरहेको थियो । भारतीय विस्तारवादले गोवा, हैदरावाद, कश्मिर र सिक्कीममा सेना परिचालन गरि भारतमा गाभेको थियो भने नेपाललाई भारतमा गाभ्न उसले एउटा दिर्घकालिन रणनीति योजना अन्तर्गत काम गरिरहेको कुरा कसैबाट लुकेको छैन । नेपाललाई विभाजन गरेर वा नेपाललाई वैधानिक रुपले भारतमा गाभ्नका लागि संघीयता, जन्मको आधारमा नागरिकता, वर्तमान संविधानमा नागरिकता सम्बन्धी व्यवस्थालाई खुकुलो बनाउन दवाव, अंगिकृत नागरिकता प्राप्त व्यक्तिलाई नेपालको मुख्य कार्यकारी पदमा निर्वाचित हुन पाउने अधिकारका लागि संविधानको संशोधनका लागि दवाव, जनसंख्याका आधारमा निर्वाचन क्षेत्रको निर्धारण लगायत नेपाललाई विभाजन गर्ने वा वैधानिक रुपले भारतमा गाभ्ने भारतीय योजनाका पछिल्ला कडि हुन् । भुटानको रक्षा तथा परराष्ट्र मामिला आफ्नो हातमा लिएर उसलाई आफ्नो वफर स्टेट बनाउन, पाकिस्तानलाई विभाजन गर्न पूर्वि पाकिस्तानमा सेना पठाएर छुट्टै बंग्लादेशको निर्माणमा सहयोग गर्नु र पछि बंग्लादेशलाई समेत विभिन्न प्रकारले हस्तक्षेप गर्नु, श्रीलंकामा जातीय द्वन्द्वश्रृजना गर्नु र पछि त्यहि द्वन्द्वको भयदोहन गरेर आफ्नो स्वार्थपुरा गरेर श्रीलंकामाथि हस्तक्षेप गर्नु जस्ता हस्तक्षेपकारी भुमिका भारतले खेलेको कुरा कसैबाट लुकेको छैन् । यि सबैका पछाडि भारतको आर्थिक, राजनीतिक र सामरिक स्वार्थ रहेको छ ।

भारतको अर्थराजनीति तथा सामरिक शक्तिमा भएको विकाशले उसको विस्तारवादी चरित्र अब साम्राज्यवादमा परिणत भएको छ । भारतको खतरा पहिलेको भन्दा झन् बढेर गएको छ । त्यसैले भारतीय साम्राज्यवाद विरुद्धको संर्घषलाई अगाडी बढाउन समेत हामीले उच्च स्तरको तयारी र सतर्कताको आवश्यकता पहिलेको भन्दा झन् बढेर गएको छ । तर त्यसको साथै यो कुरामा पनि हामी प्रष्ट हुनु पर्दछ की भारतले आफुलाई तेस्रो ठुलो अर्थतन्त्रको रुपमा विकाश गरेको छ । भारतमा देखिएको आर्थिक विकास र त्यो विकाशले साम्राज्यवादी चरणमा प्रवेश गरेको भएता पनि त्यो अझै महाशक्ति सम्पन्न राष्ट्र बनि सकेको छैन । अहिलेको सन्दर्भमा अमेरिका नै संसारको सबै भन्दा ठूलो महाशक्ति राष्ट्र हो । त्यसका साथै अमेरिकी साम्राज्यवाद नै विश्वका उत्पिडीत राष्ट्र र जनताको प्रमुख शत्रु हो । भारतको आर्थिक अबस्था र त्यसले अपनाएको विस्तारवादी राजनीतिको समिश्रणको परिणाम स्वरुप साम्राज्यवादको रुपमा विकास भएको भएता पनि भारत दक्षिण एशियाका लागि प्रमुख खतरा भएता पनि अमेरिकी साम्राज्यवाद नै विश्वका मुक्तिकामी जनताको प्रमुख शत्रु हो । त्यसका विरुद्धको संर्घषलाई कुनै पनि प्रकारले कमजोर हुन दिनु हुँदैन ।

भारत साम्राज्यवादमा कसरी परिणत भएको छ ? त्यस विषयमा प्रवेश गर्नु अगाडि भारतीय साम्राज्यवाद हो वा होइन भन्ने सम्बन्धी विवादका सन्र्दभमा देखापरेका कतिपय तर्क, आधार र विचारहरुमाथि एक चोटी ध्यान दिनु जरुरी छ । भारत साम्राज्यवादी मुलुकमा परिणत भएको छैन किनकी त्यहाँ गरिबी र बेरोजगारी छ, जनताको जीवन स्तर अत्यन्त न्यून छ, ठूलो संख्यामा अभाव र गरिबीका कारण जनताले आत्महत्या गर्दछन्, ठूलो संख्यामा भारतीय मजदुरहरु मजदुरी गर्न विदेशीएका छन्, जनताको ठूलो हिस्सा झुग्गी झुपडीहरुमा बस्न विवश छन्, धनी र गरिबका वीचको खाडल अत्यन्त ठूलो छ । भारतमा गाउँको संख्या अत्याधिक छ, भारत अझै पनि कृषिपेशामा आधारित छ । भारतमा विकासको अबस्था अत्यन्त पिछडीएको छ । लगायतका आधारहरु दिने गरिएको पाइन्छ । यि आधारहरु दिएर भारतलाई साम्राज्यवादी मुलुक नभएको विश्लेषण अगाडी सार्ने काम गरिन्छ ।

उपरोक्त समस्याहरु साम्राज्यवादकै कारण उत्पन्न वा पैदा हुने गर्दछन् । साम्राज्यवादको परजीवी चरित्र र शोषणमा आधारीत सामाजिक व्यवस्थाले गरीवी, बेरोजगारी, अभाव वा त्यसका कारण उत्पन्न हुने निराशाले आत्महत्या जस्ता घटना परिघटनाहरुमा वृद्धि हुने गर्दछन् । साम्राज्यवादको रुपमा विकास भएका मुलुहरुमा गरिवी, बेरोजगारी, पछौटेपन हुँदैन भन्ने सोंचाई बनाइयो भने त्यसले हामीलाई सही निस्कर्षमा पुर्याउने सक्दैन त्यो सोंचाईले समाजवादी सामाजिक व्यवस्थामा पाइने विशेषताहरुलाई साम्राज्यवाद जस्तो परजीवि र शोषणमा आधारित व्यवस्थामा खोज्ने काम हुने छ । त्यो सोंचाईलाई सही मान्न सकिंदैन ।

चीनको आर्थिक व्यवस्थाले पनिसाम्राज्यवादको रुपमा विकास गरेको छ । त्यहाँको आर्थिक, सामाजिक अबस्थालाई एक चोटी हेर्न जरुरी छ । चीनमा अहिले पनि त्यहाँको कुल जनसंख्याको ४४ प्रतिशत जनसंख्या मात्र शहरमा बसोवास गर्दछ भने ५६ प्रतिशत जनता गाउँमा बसोवास गर्दछन् । त्यस आधारमा यो भन्न सकिन्छ की चीनको विशाल भुगोलको ठुलो हिस्साग्रामीण क्षेत्रले ओगटेको छ । ति ग्रामिण क्षेत्रहरुको ठूलो हिस्सा अझै पनि पिछडीएको अबस्थामा छ, गाउँमा गरिवी छ । गाउँ तथा शहरमा बेरोजगारी पनि ठूलो संख्यामा छ । अझ आश्चर्यका विषय त के छ भने माओको नेतृत्वमा सञ्चालित जनवादी क्रान्तिका दौरान क्रान्तिकालिन स्थानियसत्ता तथा आधारहरु भएका क्षेत्रहरुको हालत झन खराव छ । पिछडीएको क्षेत्रको विकास र गरिवी निवारणका लागि चीनले कयौं गुरु योजनाहरु निर्माणमा जोडदिएका छन् । स्वयम त्यहाँका राष्ट्रपति सि चीनफिङका कैयौ लेखहरुमा चीनमा गरिवीमा बाँचिरहेका जनताहरुको संख्या उल्लेख्य रहेको र ग्रामिण क्षेत्रमा विकास निर्माणको काम अत्यन्तै कठिन हुने गरेको बताएका छन् । चीनिया जनताको ठूलो संख्या कृषि पेशामा आश्रीत छ । त्यसै गरी महाशक्ति सम्पन्न मुलुक अमेरिकामा ठूलो संख्यामा बेरोजगारी र गरिवी छ । विश्व व्यापीरुपमा देखापरेको आर्थिक मन्दीका कारण अमेरिकाका कयौं बैंक र कलकारखानाहरु टाट पल्टिएको हुनाले बेरोजगारीको संख्या झन् बढेर गएको छ । यदि भारत साम्राज्यवादी मुलुक होईन भनेर माथि दिएका आधारहरुलाई मापदण्डमान्ने हो भने साम्राज्यवादका बारेमा लेनिनले दिएका विशेषता वा आधारहरुबाट आँखा चिम्लने कार्य हुनेछ् ।

सन १८७६ देखि सन १९१४ को बिचको अबस्था हेर्ने हो भने मुख्यतया बेलायत, रुस र फ्रान्सका बिचमा तथा केही मात्रामा जर्मनी, जापान र अमेरिका सहितका ६ ओटा शक्ति राष्ट्रका बिचमा सम्पूर्ण विश्वको भागबण्डा भइसकेको थियो । तर त्यसबेला ति मुलुकहरुको अबस्थालाई ध्यान दिनु जरुरी छ । ति मुलुकका जनताको मुख्य पेशा कृषि थियो । ब्रिटेनलाई छोडेर प्राय : सबै पुँजीवादी देशहरुमा कारखाना भन्दा बढी मान्छेहरुकृषि पेशामा संलग्न थिए । त्यस बेलाको मुख्य यातायातको साधन वाष्पबाट चल्ने रेलगाडी र घोडाहरुलाई लिइन्थ्यो । सन् १९०० मा स्वएम् अमेरिकासँग ८ हजार भन्दा बेसी मोटरगाडीहरु थिएनन् । विदेश व्यपार अत्यन्त कम थियो । तै पनि ति मुलुकहरुलाई लेनिनले साम्राज्यवादको रुपमा विष्लेशण गरेका थिए । आजभन्दा झण्डै १२० वर्ष अगाडी स्वयं युरोपको विकासको अबस्था समेत कति पिछडीएको थियो होला ? त्यहाँ गरिवी, मजदुरहरु मात्र होईन स्वयं बालमजदुरहरु माथि कति चर्को शोषण थियो ? भोकमरी, बेरोजगारीको अबस्था कति भयावह थियो ? त्यसको हामीले अहिलेको समयमा टेकेर स्वयं अनुमान गर्न सक्दछौं । कतिपयले साम्रज्यवादमा कुनै मुलुकले विकास गरेको वा नगरेको पक्षलाई हेर्न सम्बन्धीत मुलुकको आयात र निर्यातको अबस्था वा व्यापार घाटालाई समेत आधार बनाउने गरेका छन् । एउटा संस्थाको तथ्यांक अनुसार विश्वमा सर्वाधिका निर्यात व्यापार गर्ने पहिलो मुलुकको रुपमा चीन पर्दछ भने अमेरिका तेस्रोमा रुस १६ औं र भारत १९ औं स्थानमा पर्दछ । यदी हामीले निर्यातलाई आधार बनाउने हो भने संसारको महाशक्ति सम्पन्न राष्ट्र अमेरिका र आणविक रुपमा शक्तिशाली रुस निर्यातको क्षेत्रमा चीन भन्दा धेरै पछी देखिन्छ । चीनको निर्यात व्यापार करिब २१ खरब अमेरिकी डलर भन्दा बढी छ भने अमेरिकाको १५ र रुसको ३ खरब भन्दा केही बढी मात्र देखिन्छ भने सिंगो युरोपियन युनियनको १९ खरब देखिन्छ । तर यी सबै मुलुकहरु साम्राज्यवादी नै हुन । यिनिहरुका विचमा आर्थिक अबस्थाको मात्र अन्तर देखिएको हो । विकासको असमान नियमका अनुसार यस्तो देखिनु स्वभाविक हो । अर्थात हामीले कुनै पनि मुलुक साम्राज्यवादी होकी होईन भनेर निरुपण गर्दा शक्ति सम्पन्न राष्ट्र अमेरिका वा आर्थिक रुपले अत्यन्त विकसित चीन वा जापानको अर्थतन्त्रलाई आधार बनाएर गरिनु हुँदैन । साम्राज्यवाद हुनका लागि त्यसका लागि आवश्यक पर्ने तत्वहरुको विद्यमानता वा परिपक्वतालाई नै आधार बनाउनु पर्दछ । अर्थात कुनै पनि मुलुकले साम्राज्यवादको रुपमा विकास गरेको वा नगरेको मापदण्ड हामीले गरिबी, बेरोजगारी, अभाव, गाउँको संख्या, कृषिपेशामा आश्रीत जनसंख्या जनताको पिछडियको जीवनस्तर जस्ता पक्षलाई आधार बनाउन सक्दैनौ र बनाइनु पनि हुँदैन । मुख्यतया कुनै पनि मुलुक साम्राज्यवादको रुपमा विकास भए वा नभएको छुट्याउनका लागि लेनिनले साम्राज्यवाद सम्बन्धी दिएका परिभाषा र विशेषताहरु सम्बन्धीत मुलुकको अर्थराजनैतिक क्षेत्रमा विद्यमान भए वा नभएको तथा त्यसको विकासको गतिलाई वुझनु पर्दछ । ति विशेषताहरु त्यहाँको समाज विकासको मुख्य धारा भए नभएको आधारमा नै निर्णय लिनु पर्ने हुन्छ ।

लेनिनले आफ्नो कृति साम्राज्यवाद, पुँजीवादको चरम अबस्थामा लेखेका छन् की यो कुरामा बहस गर्न बेकार छ की ठिक कुन वर्षमा वा दशकमा निश्चित रुपले साम्राज्यवाद स्थापित भएको थियो । पुँजीवाद साम्राज्यवादमा परिर्वतनको लामो प्रक्रिया छ । यो कुरा भारतको हकमा पनि लागुहुन्छ । भारतको एकाधिकार पुँजिवादले लामो प्रकृयापार गरेर साम्राज्यवादमा परिणत भएको छ ।

लेनिनले साम्राज्यवादका निम्नलिखित विशेषताहरु बताएका छन् ।

१. उत्पादन र पुँजीको केन्द्रिकरण र एकाधिकारपुर्ण अबस्थाको विकास ।
२. वित्तिय पुँजी र वित्तिय अल्पतन्त्रको विकास ।
३. पुँजीको निर्यात ।
४. अन्तराष्ट्रिय एकाधिकार पुँजीवादी कार्टेल द्घारा विश्व वजारको बाँडफाँड ।
५. पुँजीवादी शक्तिहरुबाट विश्वको विभाजन ।

उपरोक्त विशेषताहरुलाई हामीले भारतीय अर्थराजनीतिक जीवनमा खोज्नु पर्ने हुन्छ र आधुनिक पुँजीवाद (साम्राज्यवाद) भारतीय सामाजिक विकासको मुख्य धारा बनेको वा नबनेको कुरालाई परिक्षण गर्नु पर्ने हुन्छ । अब हामी उपरोक्त विशेषताहरुलाई भारतीय अर्थराजनीतिक जीवनको संर्दभमा आधार बनाएर विचार गरौं । उत्पादनको केन्द्रियकरण माथि चर्चा गर्दा हामीले ध्यान दिनु पर्ने सबै भन्दा पहिलो कुरा के छ भने सम्बन्धित मुलुक औद्योगिक क्षेत्रमा कहिले देखि प्रवेश गर्यो ? कारखानाहरुको संख्या त्यसमा काम गर्ने मजदुर वा कामदारको संख्या त्यसले गर्ने उत्पादन र निवेश भएको पुँजीका बारेमा चर्चा गर्नु पर्ने हुन्छ । त्यसको चर्चा भइसकेपछि मुलुकमा विद्यमान कारखानाहरु वा मुलुकमा भएका सबै कारखानाहरुमा काम गर्नै मजदुरहरु मध्ये कति प्रतिशत बिशालतम कारखानाहरुमा केन्द्रित भएका छन् अर्थात देशभरिका कारखानामा का गर्ने मजदुर र त्यहाको लागत पुँजी वा तिनिहरुले गर्ने उत्पादन भन्दा सिमितरुपमा खडाभएका विशालतम कारखानाले ठुलो पैमानामा पुँजी लगानि गरेर उत्पादन गर्दछ जसको परिणाम ति विशालतम कारखानाहरुमा पुँजीको लागत, उत्पादन र कामगर्ने मजदुरको संख्या अन्य कारखानाहरुले भन्दा वढि समेटेको हुन्छ । त्यसले उत्पादन र पुँजीको केन्द्रिकरणको चित्र अगाडि ल्याउछ । पुँजी र उत्पादनको केन्द्रिकरण हुँदै जाँदा यहि प्रकृयाले मुठीभरका पुँजीपतिहरुले कब्जा जमाउँछन्, सिमित हातहरुमा पुँजीको केन्द्रिकरणले गर्दा औद्योगिकपुँजी वित्तपुँजीको अधिनमा पर्न जान्छ । यसले एकाधिकारको स्थीति उत्पन्न हुन जान्छ । एकाधिकारको उत्पत्तिले पुँजीवादको प्रतियोगी चरित्र समाप्त हुन्छ । साना पुँजीपतिहरु टिकनै नसकने अबस्थामा पुग्छन् । मुलुकमा त्यसरी कायम हुन जाने थोरै विशाल कारखानाहरुले देशमा विद्यमान अन्य कारखानाहरु भन्दा ठुलो पैमानामा उत्पादन गर्न थाल्छन् । जस्तै लेनिनले साम्राज्यवाद, पुँजीवादको चरम अबस्था सम्बन्धि कृतिमा जर्मनीको उदाहरण दिंदै बताएका छन् कि जर्मनीमा भएका ठुला कारखानाहरुको संख्या त्यहाँ भएका कुल कारखानाको ०.६ प्रतिशत र विशाल कारखानामा काम गर्ने मजदुरहरुको संख्या २२ प्रतिशत रहेको बताएका छन् । त्यसबाट यो निश्कर्ष निस्किन्छ कि विशालतम कारखानाहरुको संख्या थोरै हुन्छ त्यहाँ ठुलो मात्रामा पुँजी लगानी भएको हन्छ । त्यहाँ काम गर्ने मजदुरहरुको संख्या पनि विशाल हुन्छ । त्यहाँबाट उत्पादन पनि विशाल पैमानामा हुन्छ । यसरी उत्पादन र पुँजीको केन्द्रियकरण हुँदै जान्छ । जस्ले एकाधिकार अबस्थाको सिर्जना गदै जान्छ । एकाधिकार अबस्था भनेकै साम्राज्यवाद हो ।

भारतका २९ वटा राज्य मध्ये ८ वटा राज्यमा झन्डै ५०० भन्दा बढी विशालतम उद्योगहरु केन्द्रित छन् । ८ वटा राज्य मध्ये पनि अत्याधिक विशालतम कारखानाहरु भारतको व्यापारिक राजधानी मुम्बईमा केन्द्रित छन् भने त्यसपछिको ठुलो संख्या दिल्लीमा केन्द्रीत भएको पाइन्छ । यी विशालतम कारखाना, उद्योग वा कम्पनिहरुमा ठुलो मात्रामा उत्पादन हुन्छ । र ठुलो संख्यामा मजदुर र कर्मचारीहरु काम गर्दछन् । ठुलो पैमानामा ती उद्योगहरुमा पुँजी लगानी भएको छ । ती उद्योगहरु पनि आपसमा मिलेर माउ (फादर कम्पनि) कम्पनि समेत स्थापना गरेका छन् । जस्तै उदाहरणका लागि मफतलाल ग्रुप, टाटा ग्रुप, रिलायन्स ग्रुप, महेन्द्रा एण्ड महेन्द्रा, विडला लगायतका । मफतलाल गु्रप कपडा उत्पादन र विक्रिको क्षेत्रमा अन्तर्राष्ट्रिय रुपमा नै ख्याती प्राप्त तथा प्रसिद्ध व्यापारी घराना हो । यद्यपि यो व्यापारिक घराना आपसमा विभाजन भएर ऋषिकेश मफतलाल र अरविन्द मफतलाल गरि वेग्ला वेग्लै व्यापारिक समुह खडा गरेका छन् । अरविन्द मफतलालले खडा गरेको मफतलाल गु्रप भित्र मफतलाल ईन्डस्ट्री जुन भारतको दूई ठाँउमा छ मफतलाल इन्डष्ट्रिले गुजरातमा गुजरात ग्यास कम्पनि लि. र मफललाल फाइन एश.पि.जि. एण्ड एम.फि.जि. कम्पनि लि., सुनन्दा इन्डष्ट्रिज लि. र मिशापुर इनभेस्टमेन्ट लि. जस्ता कम्पनि सहायक कम्पनिको रुपमा सञ्चालन गरेका छन् । त्यसै गरि नविन फलोरिन यो पनि भारतको दुई ठाँउमा छ । त्यसै गरि नोसिल (Nocil ) भारतको तिन ठाँउमा छ । र मफतलाल डेनिम भारत र विदेशमा छ । यसरी विभिन्न विशाल उद्योगहरुको माउ कम्पनि मफतलाल ग्रुप रहेको छ । भारतको कपडा उद्योग तथा अन्तर्राष्टिय रुपमा जारा (Jara) जिन्स कपडाको क्षेत्रमा वर्चस्व कायम गरेको छ । त्यसै पनि भारत फेवरिक्स उत्पादनको क्षेत्रमा विश्वमा पहिलो नम्वरमा पर्दछ ।

टाटा ग्रुपको उदाहरण दिनु पनि विषयवस्तुलाई वुझनका लागि पनि सजिलो हुनेछ । टाटा ग्रुप पनि फादर कम्पनि हो । यसका मुख्य मालिक रत्न टाटा हुन् । यो भारतको प्रतिष्ठीत व्यवसायीक घराना हो । यसै अन्तर्गत थुपै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न उद्योग तथा कम्पनिहरु सञ्चालित छन् । जस्तै टाटा चिया, टाटा कफि, टाटा स्टिल, टाटा अटो मोवाईल टाइटन, टाटा पावर, टाटा ग्लोवल बिवरेज, टाटा केमिकल, टाटा इन्सुरेन्स कम्पनि, आई.टि.सेवाको क्षेत्रमा समेत कयौं विशाल कम्पनिहरु छन् । टाटा मोटर गाडि उत्पादनको क्षेत्रमा साउथ एशियाको सबैभन्दा ठुलो कम्पनि हो । टाटा अटो मोवाईलले उत्पादन गरेका गाडीहरु तथा टाटा स्टिलको उत्पादनले युरोप, अफ्रिका, दक्षिण एशियाका बजारमा आफ्नो वर्चश्व कायम गरेको छ । यसै समुह भित्र इन्डियन होटल कम्पनि लि.ले ताज ग्रुप ब्राण्डमा विभिन्न देशमा अन्तर्राष्ट्रिय स्तरका होटल सञ्चालन गरेका छन् । मुम्बईको ताज होटल त्यसै मध्येको एउटा हो । भारतमा ताज होटलको संख्या ११० पुगेको छ र यी होटलहरु सबै अन्तर्राष्ट्रिय स्तरका सुविधा सम्पन्न पाञ्चतारे होटल हुन् । त्यसै गरि ताज गु्रपले श्रीलंकामा ताज समुन्द्र माल्दिझ्समा ताज लाग्नु र ताज कोर्लरिफ नामक होटल खोलेका छन् भने मलेसिया र मौरिसस लगायतका १६ वटा मुलुकमा समेत होटलहरु सञ्चालित छन् । यो बताई रहनु पर्ने आवश्यकता छैन कि काठमाडौं स्थित अन्नपुर्ण होटलमा समेत ताज ग्रूपको लगानी थियो ।

रिलायन्स ग्रुप अन्तर्गत १६ वटा विशालतम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका उद्योगहरु (वस्तु तथा सेवा) आवद्ध छन् । धिरुभाई अम्बानीले खडा गरेको यो व्यवसायीक समुह पारिवारिक द्वन्द्वका कारण वेग्ला वेग्लै उद्योग सञ्चालनमा रहेता पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ग्रुपको उत्पादित वस्तु र सेवाले दक्षिण एशिया र अफ्रिका तथा युरोपिय वजारमा आफ्नो वर्चश्व कायम गरेको छ । भारतमा यो ग्रुपले ४८ वटा टि.भि. स्टेशनहरु विभिन्न राज्यबाट सञ्चालन गरेको छ भने जियो मोवाईलले भारतमा भएका अन्य मोवाईल कम्पनिहरुलाई रक्षात्मक अबस्थामा पुर्याईदिएकोछ । यी उद्योगहरुमा लाखौं मजदुरहरुले काम गर्दछन् भने ठुलो पैमानामा ती उद्योगहरुमा पुँजीको लगानी समेत भएको छ । जस्तै टाटा ग्रुप भित्रको टाटा कन्सल्टेन्सी सर्विसेजले मात्र ३७९.२८ अर्बको आर्थिक कारोबार गर्दछ भने त्यसको वार्षिक नाफा ९०.६८ अर्ब र त्यसको जम्मा सम्पत्ति २५०.३७ अर्ब भारु रहेको छ । त्यसै गरि टाटा मोटरले वार्षिक १.२३ खर्वको र टाटा स्टीलले १.१९ खर्वको आर्थिक कारोवार गर्दछ भने यी दुईटैको नाफा क्रमशः ९२.७३ अर्ब र ८९.८२ अर्ब भारु रहेको छ । टाटा स्टीलले जमसेदपुरको एउटा कारखानाबाटमात्र २५० अर्ब टन स्टील उत्पादन गर्दछ भने विश्वका करिव ५०० कम्पनीहरुलाई स्टील आपूर्ती गर्दछ । टाटा स्टील विश्वको छैठौ सबैभन्दा ठुलो स्टील उत्पादक कम्पनीहो । त्यसै गरि रिलायन्स ग्रुप भित्र रहेका १६ वटा उद्योग मध्येका रिलायन्स ईन्डस्ट्रीजको मात्र २.६८ खर्वको वार्षिक आर्थिक कारोवार र २०२.११ अर्बको नाफा रहेको छ । त्यसै गरि आई.टि.को क्षेत्रमा काम गर्ने ईन्फोसेस कम्पनिको वार्षिक आर्थिककारोवार २८७.१२ अर्ब र नाफा ६८.२३ अर्ब भारु रहेको छ । यसमा काम गर्ने मजदुर र कर्मचारीको संख्या १ लाख ३३ हजार ५६० रहेको छ । यो तथ्याङ्गक सन २०११ मार्च महिना सम्मको मात्र हो । त्यसै गरि आई.टि.को सेवाको क्षेत्रमा काम गर्ने कम्पनि विप्रोको वार्षिक कारोवार ३१७.६३ अर्ब र नाफा ५२.९७ अर्ब भारु रहेको छ । यस्मा काम गर्ने मजदुर र कर्मचारीको संख्या १ लाख २० हजार भन्दा बढी रहेको छ ।

भारतीय बजारमा एकाधिकार कायम गरेका कतिपय एकाधिकार कम्पनिको संक्षिप्त विवरण यहा उल्लेख गर्नु सान्दर्भिक हुनेछ । भारतीय रेल, रेल यातायातको क्षेत्रमा भारत सरकारको एकाधिकार पुर्ण अबस्था । योसँग प्रतिस्पर्धागर्ने निजि वा सामुदायिक कुनैपनि रेल यातायात कम्पनिहरु रहेका छैनन् । तेल तथा ग्यासको क्षेत्रमा इन्डियन आयल निगम (IOC), भारत पेट्रोलियम करपोरेशन, हिन्दुस्तान पेट्रोलियम करपोरेशन, आयल एण्ड नेचुरल ग्यास कारपोरेशनको एकाधिकार काएम छ । बजार मुल्य निर्धारण, वितरण, संकलन, आपुर्तीदेखि लिएर यावत प्रतिस्पर्धाका क्षेत्रमा मुख्यतया इन्डियन आयल निगमले एकाधिकार पूर्ण अबस्था कायम गरेको छ । त्यसैगरि फेवरिक्सको उत्पादनको क्षेत्रमा जेनिथ फेवरिक्स लि. भारतको एकमात्र एकाधिकार प्राप्त कम्पनि हो । यसले करिब करिब शतप्रतिशत कच्चा पदार्थमाथि एकाधिकार कायम गरेको छ । यो कम्पनिसँग प्रतिस्प्रधा गर्न सक्ने यो क्षेत्रमा अन्य कम्पनीहरु छैनन् । हवाई यातायातको क्षेत्रमा एअर इन्डिया र इन्डिया गो जस्ता हवाई यातायात कम्पनिको एकाधिकार कायम छ । त्यसैगरि व्रीटानिका इन्डष्ट्रिज, वोरोसिल ग्लास, नेस्टल, रिलाइन्स जियो, आइ.टि.सि., किरलोष्कर, बाटा इन्डिया, कावेरि शिड्स, वालकृष्ण इन्डष्ट्रिज रत्नमणी मेटल टयुव, इक्साइड ( Exide) इन्डष्ट्रिज लगायतका रहेका छन् । यि कम्पनिहरुको तत् क्षेत्रमा एकाधिकार कायम छ । जस्तै बाटा इन्डियाको जुता चप्पलको क्षेत्रमा, रिलाइन्स जियोको मोवाइल सञ्चार क्षेत्रमा, व्रीटानिकामो विस्कुट, चकलेट, नमकिन, किरलोष्कर इन्जिन र कृषि औजार उत्पादन लगायतका क्षेत्रमा, आइ.टि.सि.को सुचना तथा प्रविधिसेवा क्षेत्रमा उपरोक्त कम्पनिहरुको एकाधिकार कायम छ । यि क्षेत्रहरुमा कामगर्ने थुपै्र कम्पनि वा व्यवसाय भएपनि यिनिहरुसँग प्रतिस्पर्धामा आउनसक्ने अन्य कम्पनिहरु छैनन् । अन्तर्राष्ट्रिय बजारमा भारतमा उत्पादित वस्तुले वा संबन्धित मुलुकमा नै पुँजिनिबेश गरी कसरी एकाधिकार पुर्ण अबस्थाको सुरुवात र विकाश हुँदै गएको छ त्यसमाधि पनि हामीले ध्यान दिनु पर्दछ । भारतका मुख्य १ प्रतिशत व्यापारिक प्रतिस्ठानहरुले विश्वको ३८ प्रतिशत निर्यात व्यापार गर्दछन् । भारतीय व्यापारले अन्तर्राष्ट्रिय बजारमा कुन प्रकारले विकाश गरिरहेको छ । त्यसबारेमा हामी क्रमश अर्को लेखमा चर्चा गर्दै जाने छौँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here