काठमाडौ“ । प्रदेश नं. ५ को प्रदेश सभा सचिवालयले संसद पदाधिकारीका लागि आठ करोड रूपैयाँमा १३ वटा गाडी खरिद गरेको छ । सभामुख, उपसभामुख, विभिन्न विषयगत समितिका सभापति तथा सत्तापक्ष र प्रतिपक्षका सचेतकका लागि गाडी खरिद गरिएको हो ।
अहिले उनीहरु नयाँ र चिल्ला महङ्गा गाडीमा हुइकिरहेका छन् । अरू बेला विभिन्न मुद्दामा विरोधको स्वर उराल्ने गरे पनि सेवा–सुविधा लिने सवालमा भने प्रतिपक्ष पनि सत्तापक्षसँगै उभिएको छ । गाडी खरिदमा प्रदेश सभाले सात करोड ९१ लाख ४४ हजार रूपैयाँ खर्च गरेको छ ।
१३ मध्ये ११ वटा गाडी टाटा कम्पनीको सफारी स्ट्रोम भिएक्स छन् । बाँकी दुईटामध्ये एउटा निसान टेरानो र अर्काे महेन्द्रा स्कार्पियो छन् । भदौ २६ गते प्रदेश सभा सचिवालयले विभिन्न प्रकृतिका १४ वटा गाडी किन्न बोलपत्र आह्वान गरेको थियो । बोलपत्र अनुसार १४ वटा गाडी किनिए पनि सभामुख पूर्ण घर्तीले मन नपराएपछि एउटा फिर्ता गरिएको स्रोतले बतायो । किनिएका ती गाडी उपसभामुख, विषयगत छ वटा समितिका सभापति, सत्तापक्ष र प्रतिपक्षका सचेतक तथा सचिवले प्रयोग गरेका छन् । प्रदेश सभाले खरिद गरेका टाटा कम्पनीका सफारी स्ट्रोम भिएक्स गाडीहरु महङ्गो मानिन्छन् । प्रदेश सभाका अनुसार टाटा सफारी स्ट्रोम भिएक्स एउटा गाडीलाई ७१ लाख ९४ हजार रूपैयाँ तिरिएको छ ।
निसान टेरानो ५३ लाख ९५ हजार र महेन्द्रा स्कार्पियो ३५ लाख ८५ हजार रूपैयाँमा खरिद गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । सचिवालयले बजार मूल्यभन्दा बढी तिरेर गाडी किनेको भन्दै सत्तापक्षबाटै आलोचना गरिएको छ ।