नेकपा अर्थात नेपाल बाहुन संघ !

0
726

बाला राम तिमिलसिना

**********

महिलाको भाग पनि
चपाएर चिरिप्प !
दलितको भाग पनि
उछिट्याएर झिरिप्प !
जनजातिहरूलाई
कुनामा धकेलेर !
मधेशीहरूलाई
दूनामा अड्कलेर !
क्षेत्रीलाई समेत
पच्न गाह्रो बनाएर
बर्गको कोर्रा उठाएर
आतङ्क सिर्जना गरेर
बर्गोत्थान भएका
बर्गका तर
नवधनाढ्य वर्गका
चण्डाल बाहुनहरूले
निर्माण गरेछन्
डवल चार एक को
यौटा बाहुन संगठन
र उल्लू बनाउँन अरुलाई
नेपाल बाहुन संघको सट्टा
न्वारण गरेछन् :
अण्डर लाइन नेकपा !

न कुनै विधि
न कुनै विधान
न कुनै पध्दति
न कुनै प्रकृया
न कुनै नीति
न कुनै नैतिकता

जे जे मिचिए पनि
जो जो थिचिए पनि
पर्नेहरू मदहोस छन्
नपर्नेहरू बेहोस छन

आफू परेपछि
जे जे मिचिए पनि गज्जव
जोजो थिचिए पनि गज्जव
आफू नपरेपछि
धुर्की धम्की
रोनाधोना !

जो जो परे तिनीहरू पनि
कृतज्ञता चढाइरहेछन्
परम प्रभुमा
जो परेनन् ती पनि
सरापीरहेछन्
तिनै प्रभुलाई !

मा…..थि धेरै माथि छन्
दुई महान बाहुनहरू
र त…….ल धेरै तल छन
बाहुन बाहेकका दुखिहरू !

************************

आकासमा चार चार एक जम्बो जेट

कतिलाई केससको सहिद बनाएर
पार्टीलाई अरु जाति रहित बनाएर
छक्क छक्क छक्क गर्दै
छक्क छक्क छक्क पर्दै
चल्यो चल्यो समृध्दिको बाहुनवादी रेल !
हेर्नेको त के कुरा र दुई बाहुनको खेल !!

कतिलाई धुरु धुरु रुने बनाएर !
राजनीतिबाटै हात धुने बनाएर !
सर्सराउँदै बताससँग
हतारो र हताससँग
उड्यो उड्यो केपी पिके मार्का जम्बो जेट !
छुट्नेहरू सोच्न थाले कैले होला भेट ?

बलियाका जोई पोइ सँगै जुटाएर
हलियाका नाम जति पैले छुटाएर
गड्गडाउँदै गड्गडाउँदै
हतारिदै ….हड्बडाउँदै
उड्यो ओली दहालको निजी जम्बो जेट !
नाम झिक्दै हाल्दै झिक्दै मिलाउँदै सेट !

पार्टीलाई पार्टीबाट प्राली बनाएर !
जताततै बाहुन मात्र ठुस्स गन्हाएर !
उखान टुक्का टुच्च हान्दै
आफ्नो मात्र मान्छे छान्दै
उड्यो आकासमा चार चार एक जम्बो जेट !
सोझा सिधा निमुखाको भयो चङ्गा चेट !

२०७५|०२|०९
ढल्को

*******************************

समृध्दिको भूत कमरेडको दिलमा !

हिजो आज अचानक
समृध्दिको भूत सवार भएको छ
कमरेडको दिमागमा
त्यसपछि कमरेड बोल्न थाल्नु भएको छ
ट्रम्पकोजस्तै भाषा
कमरेडले अपनाउँन थाल्नु भएको छ
सिजिनपिनको सैली
र कमरेड मोदी पहिरनमा हिड्नु हुन्छ !

हिजो आज कमरेडलाई
धेर हुन थालेको छ मार्क्सवाद
वेकार भएको छ लेनिनवाद
माओवाद त देख्नै हुदैन
यथार्थमा कमरेडलाई
कमरेड शव्द पनि मन पर्दैन
कसैले कमरेडको सट्टा सर भनिदिए
कमरेड मुसुक्क हाँस्नु हुन्छ
कमरेडको दिमागमा अचेल
समृध्दिको भूत सवार भएको छ !

हिजो आज कमरेड
कमरेडजस्तो देखिनु हुन्न
भव्य साहुजी देखिनु हुन्छ
साहु जीहरू पनि हैरान छन अचेल
कमरेडले उछिनेको देखेर !

समृध्दिको भूत चढेदेखि
कमरेडलाई किसान मन पर्न छोडेको छ
मजदुर मन पर्न छोडेको छ
दलित र महिला मान्छे लाग्न छोडेको छ
मधेशीहरू स्वदेशी लाग्न छोडेको छ
कमरेडको उठबस अचेल
बहुराष्ट्रिय कम्पनीसँग हुन्छ !

कमरेडलाई चाहिएको छ
फराकिलो सडक
अग्ला घरहरू
महङ्गा सपिङ्ग कम्प्लेक्स !
त्यसैले कमरेड
धमाधम भत्काइरहनु भएको छ सडक !

हिजो आज कमरेडलाई
पृथ्वी नारायण आदर्श लाग्छ
जङ्ग बहादुर बहादुर लाग्छ
महेन्द्र महान सौन्दर्य चिन्तक
र माधव घिमिरे महान लाग्छ
कृष्ण सेनहरू नामुद आतङ्ककारी
भूत सवार भएपछि अचानक
कमरेड सर्वहाराबाट बदलिनु भएको छ
यौटा धनाढ्य सरकारी कमरेडमा !

२०७५|०२|०७
ढल्को

*****************************

एक अयोग्य सिपाहीको बयान

म एक योग्य सिपाही थिएँ
म कसरी अयोग्य भएँ ?

कथा यसरी सुरु हुन्छ-
तिमी संझौता गरेर आएछौ
हामीले पत्तै पाएनौं
तिमीले युध्द विराम गर्यौ
हामीले ठीकै ठान्यौं
तिमीले सिविरमा बस भन्यौ
हामीले आहा भन्यौं
तिमीले टोपी फुकाल भन्यौ
हामीले सोच्दै नसोची फुकाल्यौं
तिमीले बर्दी फुकाल भन्यौ
हामीले मान्यौं र सादा पोषाक लगायौं
तिमीले बन्दुक भूइँमा राख भन्यौ
हामीले थपक्क भूइँमा राख्यौं
तिमीले यसलाई बाक्सामा राख भन्यौ
हामीले खुरुखुरु राख्यौं
तिमीले ताल्चा ठोकौं भन्यौ
हामी खुरुक्क सहमत भयौं
तिमीले चावी मलाई देऊ र बजार घुम भन्यौ
हामीले फुत्त बुझायौं र बजार हिड्यौं !

बजारबाट फर्कदा –
तिमीले गेटमै रोक्यौ हामीलाई
खानतलासी लियौ हाम्रो
हात माथि उठाउँन लगायौ
हामीले ती सवै गर्यौं र भित्र छिर्यौं
यौटा अयोग्य सिपाहीले गर्ने एत्ति त थियो !

केही दिन पछि –
तिमीले हाम्रो परीक्षा लियौ
हामी हतियार र बर्दीविहीन सिपाहीको
तिमीले घोप्टे अनुहार लगाएर भन्यौ –
तिमीहरू सव अयोग्य भयौ !

त्यसको भोलिपल्टबाटै
बाटा खर्च लिएर हामी
लुरुलुरु घर फर्क्यौं
जुन घर छोडेर हामी हिडेथ्यौं
कि जितेर फर्कन्छौं कि सहिद बन्छौं भनेर
जित पनि नबोकी सहिद पनि नबनी
यसरी हामी बिचैमा फर्केका थियौं
युध्दलाई अलपत्र छोडेर बीच बाटोमा !

गाउ आएकै दिन
बाटोभरि भेटिएका सवैले भने –
फलानो अयोग्य बनेर फर्क्यो !
एक दिन खपियो
दोश्रो दिन खपियो
तेश्रो दिन पनि खपियो
खप्नै नसकेपछि
अहिले छौं खाडीमा हामी !

जुन वेला हामी अयोग्य भएथ्यौं
तिम्रो मुहारमा कतै अँध्यारो देखिएन
तर अहिले सुन्दैछौं
अकस्मात तिमी पनि अयोग्य भयौ रे
तिमी पनि समायोजनमा गयौ रे
सत्तरी तीसको अनुपातमा !

हामी टेक्ने जमीन थियौं
हामी असफल हुँदा
पैतालाको धुलो सोच्यौ
अहिले त सिरको सिन्दूर पनि अयोग्य भएछ
हामी खुव चिन्तित छौं कमरेड
तिमी कसरी अयोग्य भयौ ?

हामी त टोपी खोलेपछि बर्दी खोलेपछि
बन्दुक विसाएपछि र बुझाएपछि
बन्दुक बुझाएर बजार हिडेपछि
पैलै अयोग्य भैसकेका थिएछौं
तिमीले त घोषणा मात्र गरेका रहेछौ
विदेशीहरूलाई साँक्षी राखेर !

ऐले आएर थाहा भयो
बन्दुक बुझाउँने काम संसारमा
एक अयोग्य सिपाहीले मात्र गर्छ !
हामीले खुरुखुरु त्यही अयोग्य काम गर्यौं

२०७४|११|२२
सुविधा नगर

***************

समियाँ साल खराव छ !

अलि बिस्तारै बोल्नुस
नरम कुरा मात्रै लेख्नुस
नत्र खतरामा पर्न सक्नु हुन्छ
समियाँ साल खराव छ
देशमा वामपन्थीको सरकार छ !

हिड्दा पनि ख्याल गर्नू
हतार हतार पनि नहिड्नू
टोलाएर पनि नबस्नू
तपाईमाथि निगरानी हुन सक्छ
समियाँ साल खराव छ
देशमा वामपन्थीको सरकार छ !

महङ्गी बढे बढ्न दिनोस
बस्तीमा डोजर आए स्वागत गर्नुस
पटक्कै बाटो नछेक्नुस डोजरको
बरु झिटिगुन्टा टिप्नुस
यहाँ जे पनि हुन सक्छ
समियाँ साल खराव छ
देशमा वामपन्थीको सरकार छ !

मख्ख परेर पासपोर्ट बनाउँन नरोक्नू
ग्याँस सकिएपछि भान्सामा
खुरुक्क पसलमा जानू
ग्याँसको पाइप पर्खेर बस्यौ भने
तिमी भोकै हुने खतरा छ
समियाँ साल खराव छ
कुराले ठिक्क कामले दिक्क
देशमा वामपन्थीको सरकार छ ।

नाङ्ले पसलेहरू होसियार
फुटपाथ पसलेहरू होसियार
समृध्दिको हावा चलेको छ
समृध्दिको देशमा
नाङ्ले र फुटपाथे हुन वर्जित छ
कि जोडदार धनी हुनोस
कि तन्नम सर्वहारा हुनोस
बीचको हुन प्रतिवन्ध छ
समियाँ साल खराव छ
देशमा वामपन्थीको सरकार छ !

फेसवुक चलाउँनेहरू होसियार
ट्विटरेहरू पनि होसियार
फोटो हाल लाइक गन
विचार लेख्न मनाही छ
विरोध लेख्न अझ सख्त मनाही छ
सरकार समृध्दिको तपस्यामा छ
सरकारलाई रिस उठ्न सक्छ
रिसले तपस्या विग्रन सक्छ
तपस्या भङ्गले समृध्दि विग्रन सक्छ
विरोध लेखेर तपस्या भाँडे वापत
तिमीलाई सोधपुछ गरिन सक्छ
समियाँ साल खराव छ
वाम नभए पनि वामजस्तै
देशमा वामपन्थीको सरकार छ ।

कविहरू होसियार
पत्रकारहरू होसियार
कविताको धार मठुर्नुस
समाचारको सार बटार्नुस
एका विहानै तिम्रो आगो कविता
गिरफ्तार हुन सक्छ
एका विहानै प्रकाशन गृहमा
पुलिस पस्न सक्छ
नमिठो गन्ध आएको छ माथिको
समियाँ साल खराव छ
ठगहरू साहुहरू र वेइमानहरूले चलाएको
देशमा वामपन्थीको सरकार छ !

२०७५|०२|०७
सल्लाघारी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here