दाङले मागेको होइन राजधानीले खोजेको दाङ

0
390

होटल, यातायात, चौराहा, टोल, गल्ली जताततै प्रदेश राजधानीको चर्चा चुलिएको छ आजभोलि । सर्वाधिक चासो र तातो विषय–बहस बनेको छ, प्रदेश राजधानीको कुरा । संविधानसभाबाट जारी नेपालको संविधान पूर्ण कार्यान्वयनमा आइसकेको अवस्थामा यसले आत्मसात गरेको संघीयता, प्रदेशको सीमा र त्यसको राजधानीको विषय सर्वाधिक चासो बन्नु स्वाभाविक छ । भावी प्रधानमन्त्री को होला ? कुन नेताले कुन मन्त्रालयको जिम्मेवारी पाउलान् ? यस्ता राष्ट्रिय प्रश्नहरुमा भन्दा आम मानिसहरुको ध्यान प्रदेशको राजधानी र यहाँको नेतृत्वले तानिरहेको छ । किनकि केन्द्रका कुराले भन्दा मानिसको दैनिक जीवनमा आफ्ना वरिपरिका कुराले प्रभाव पार्ने भएकाले त्यसो हुनु पनि पर्छ ।

प्रदेशसभाको निर्वाचन समेत सम्पन्न भइसकेको अवस्थामा प्रदेश राजधानीको कुरा सर्वत्र चासोको रुपमा हेरिनुपर्छ र यो महत्वपूर्ण पनि छ । प्रदेशको राजधानी निश्चित नहुँदा प्रदेशसभाका सदस्यहरुले शपथग्रहण नै कहाँ गर्ने ? पहिलो बैठक नै कहाँ बस्ने जस्ता प्रारम्भिक कुराहरु पनि अनिश्चित र अन्यौलमै छन् । यतिबेलाको ससानो निर्णयले दूरगामी असर र प्रभाव पार्ने निश्चित छ । यतिबेला चुकेपछि भविष्यमा पछुताउनु बाहेक अर्को विकल्प हामीमाझ रहने छैन । त्यसकारण प्रदेशहरुको नामकरण र राजधानी बनाउने कुरालाई हल्कारुपमा बुझ्नु हुँदैन ।

मिडियाहरुमा आएका कुरालाई आधार मान्ने हो भने चार नम्बर प्रदेशबाहेक अन्य ६ वटा प्रदेशहरुमा राजधानीको विवाद चुलिएको छ । हाम्रो सरोकार रहेको ५ नम्बर प्रदेशको राजधानीको कुरालाई पनि अनाहकमा विवादित बनाइएको छ । यो प्रदेशमा दाङ र रुपन्देही बलिया दावेदारका रुपमा अगाडि देखिएका छन् भने बाँके र कपिलवस्तुले पनि राजधानीको अपेक्षा गरेका छन् । त्यसबाहेक प्यूठानको दक्षिणी भेगलाई पनि प्रदेशको राजधानी बनाउन सकिने तर्क सतहमा नदेखिएका होइनन् । यहाँनेर प्रश्न उठ्छ– के राजधानी भन्ने कुरा माग्दैमा दिने र माग्दैमा हुने कुरा हो ? प्रमुख र केन्द्रीय विषय हो, हाम्रो ५ नम्बर प्रदेशको सन्तुलित र सर्वाङ्गीण विकास । यही केन्द्रीय विषयलाई केन्द्रभागमा राखेर विषयको उठान र बहस गर्ने हो भने पक्कै पनि एउटा सही निष्कर्षमा पुग्न सकिन्छ । दाङले माग्दैमा दाङलाई राजधानी दिइनु गलत हुन्छ । केही नेता, केही व्यक्ति, केही समूह, केही पार्टी, केही जिल्ला, केही भेगको स्वार्थकेन्द्रित भएर राजधानीजस्तो सम्वेदनशील विषयमा निर्णय गर्नु उचित हुँदैन । केही मापदण्ड र केही आधार नभई राजधानी बनाइनु सर्वथा गलत हुनेछ । मेरो विचारमा दाङले राजधानी मागेको होइन, राजधानीले खोजेको छ दाङ ।

प्रसङ्ग नारायणमान विजुक्छे र नेमकिपा
यहाँ उल्लेखनीय कुरा के छ भने नारायणमान विजुक्छेको नाम नसुन्ने नेपाली विरलै होलान् । विजेक्छेले नेतृत्व गरेको नेपाल मजदूर किसान पार्टीको दस्तावेजमा औपचारिकरुपमै नेपालको राजधानी दाङ हुनुपर्ने प्रस्ताव गरिएको छ । एशियाकै दोस्रो ठूलो उपत्यका दाङमा नेपाल मजदूर किसान पार्टी नामको पार्टी नै छैन । यहाँ नेपाल मजदूर किसान पार्टीको नीतिनिर्माणमा प्रभाव पार्ने ठूलै नेता पनि छैनन् । तैपनि नेमकिपाको दस्तावेजमा दाङलाई नेपालको राजधानी बनाउनुपर्ने प्रस्ताव छ । नेमकिपाको दस्तावेजमा कुनै स्वार्थकेन्द्रित भएर यो विषय परेको होइन । गहिरो भौगोलिक अध्ययन र भावी नेपालको सन्तुलित र सर्वाङ्गीण विकासको एकमात्र स्वार्थ भेटिन्छ यो प्रस्तावमा । नेपालकै राजधानीको रुपमा प्रस्तावित दाङमा प्रदेशको राजधानी किन सम्भव छैन हँ ?

अलिकति दूरीका कुरा
केन्द्रीकृत शासन प्रणालीको विकल्पमा नेपाललाई संघीयतामा प्रवेश गराइएको हो । सिंहदरवारको अधिकारलाई गाउँगाउँसम्म पुराउने र आफ्नो प्रदेशको सन्तुलित र सर्वाङ्गीण विकास आफै गर्ने गुलियो नारासहित संघीयता ल्याइएको हो । शक्ति र पहुँचका आधारमा आफूलाई राम्रो लागेको ठाउँमा राजधानी स्थापना गर्ने हो भने राजामहाराजाले समेत सबै कोणबाट उपयुक्त ठानेका पहिलेकै प्रशासनिक एकाईहरु ठिक थिएनन् र ? यहाँ बारम्बार एमाले नेता विष्णु पौडेलको नाम लिने गरिन्छ र उनको एमालेमा रहेको प्रभाव तथा पहुँचलाई दृष्टिगत गरी राजधानी उनैले रुपन्देही लैजान्छन् भन्ने पनि गरिएको छ । के विष्णु पौडेल नवलपरासीको नहुनु त्यहाँका जनताका लागि अभिशाप हो ? के विष्णु पौडेल बर्दियाको नहुनु बर्दियाको अभिशाप हो ? के विष्णु पौडेल रुकुमको नहुनु रुकुमको अभिशाप हो ? के विष्णु पौडेल सिङ्गो ५ नम्बर प्रदेश र सिङ्गो नेपालका नेता होइनन् ? के ठूला नेतालाई कुनै तथ्य, तर्क र आधार चाहिन्न ? फित्ता लगाएर नाप्ने कुरा होइन सामान्यतया दाङ पाँच नम्बर प्रदेशको सिङ्गो भूगोलका जनतालाई तुलनात्मकरुपमा नजिक पर्छ । दाङ पाँच नम्बर प्रदेशको मध्यविन्दुमा पर्छ र यसलाई सार्न विष्णु पौडेलले पनि सक्दैनन् । उनले पनि भन्नैपर्छ, मध्यविन्दु दाङ नै हो किनकि उनले नाप्ने फित्ता अर्को हुँदैन । राजामहाराजा त्यो पनि तानाशाहको शैलीमा सत्ता, शक्ति र पहुँचलाई दुरुपयोग गरेर आफ्नै निर्णय लाद्ने कुचेष्टा गरिएमात्रै अन्यथा यो वास्तविकतालाई कसैले नकार्न सक्दैन । भूगोलको मध्यभाग भएकाले पनि राजधानीले दाङलाई नै खोजिरहेको छ ।

सुरक्षा त सबैलाई चाहिएला नि
परिस्थिति सधैं आफू अनुकूल हुँदैन र त्यो कहिलेकाहीँ काबुबाहिर जानसक्छ । परिस्थिति सधैं सहज हुँदैन कहिलेकाहिँ त्यो असहज पनि हुनसक्छ । छिमेकी प्रदेश र मुलुकबीचको सम्बन्ध सधैं सुमधुर रहन्छ भन्न सकिन्न । साम्प्रदायिक दङ्गा, बाढीपहिरो, डुबान, कटान जस्ता कुनै समस्या नरहेको सुरक्षित जिल्ला हो दाङ । राजधानीको निर्णय गर्दा सहजता र अनुकूलतामात्र होइन भविष्यमा आउनसक्ने जटिल मोड र संकटपूर्ण अवस्थालाई समेत दृष्टिपात गर्नुपर्छ । छिमेकी मुलुकसँग सीमा जोडिएको भए तापनि सामरिक दृष्टिले पनि प्रदेशको राजधानीले दाङलाई नै खोजिरहेको छ ।

हावापानीको अनुकूलता
दाङमा गर्मी समयमा मर्ने खालको गर्मी हुँदैन । दाङमा जाडो समयमा मर्ने खालको जाडो पनि हुँदैन । शितलहर वा लु चलेर मृत्युको मुखमा पुग्ने डर यहाँ छैन । त्यस्तै, गर्मीमा उखरमाउलो गर्मी भएर बस्नै नसकिने र गर्मीका कारण उत्पन्न हुने विभिन्नखाले रोगबाट पनि यो जिल्ला मुक्त छ । त्यसकारण राजधानीका कारण यहाँ आउने अन्य ११ वटै जिल्लाका आम जनताका लागि सहज र आरामदायी बसाईको व्यवस्था यहाँ हुनेछ । बाँकी ११ वटै जिल्लाका जनताले सहजरुपमा ग्रहण गर्नसक्ने हावापानीका कारण पनि राजधानीले दाङलाई नै खोजिरहेको छ ।

पर्याप्त पूर्वाधार
प्रदेशको राजधानीका लागि चाहिने पूर्वाधार दाङमा पर्याप्त छ । घोषणा भएलगत्तै चाहिने तैयारी अवस्थाका पूर्वाधार चाहिएको हो कि पछि गुरुयोजना बनाएर विकास गरिने जग्गाजमिन ? दुबै विकल्प छ दाङमा । भर्खरै क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतबाट आएको सरकारी अध्ययन टोलीले प्रदेश राजधानी घोषणा भएलगत्तै आवश्यक पर्ने भौतिक पूर्वाधारहरु यकिन गरेर गइसकेको छ । प्रदेश प्रमुखको कार्यालय र निवास, मुख्यमन्त्रीको कार्यालय र निवास, मन्त्री र मन्त्रालय तथा निवास, प्रदेशसभा भवन, अन्य सरकारी निकायका लागि आवश्यक पर्ने सबै पूर्वाधारहरुको निधो गरेर सरकारी टोली गइसकेको छ । भविष्यमा गुरुयोजनासहित मुलुककै नमूना राजधानीका विकास गर्नका लागि प्रशस्त जग्गाजमिनको सहज उपलव्धता पनि दाङमै छ । त्यसकारण पनि राजधानीले दाङलाई नै खोजिरहेको छ ।

अधिकारसम्पन्न संसदीय समितिको प्रस्ताव– दाङ
आफू कहाँको वासिन्दा हो भन्ने दृष्टिबाट राजधानी घोषणा गरिनु सर्वथा गलत कुरा हो । सिङ्गो पाँच नम्बर प्रदेशका जनताको सुविधालाई केन्द्रमा राखेर निर्णय गरिनुपर्छ । त्यही उद्देश्य परिपूर्तिका लागि नेपाल सरकारले अधिकारसम्पन्न संघीय प्रशासन पुनर्संरचना सिफारिस समिति गठन गरेको थियो । तत्कालीन सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतको अध्यक्षतामा रहेको यो संसदीय समितिमा पूर्वसामान्य प्रशासन मन्त्री रेखा शर्मा, राजेन्द्र पाण्डे, आरजू देउवा, भुवन पाठक सदस्य थिए । संसदको अधिकारसम्पन्न र सर्वपक्षीय यो समितिले सबै मापदण्ड र आधारहरुको मिहिन अध्ययन गरी ७ वटै प्रदेशको राजधानीका लागि स्थान छनौट गरेर सरकारलाई सिफारिससमेत गरिसकेको छ । उक्त अधिकारसम्पन्न समितिले पनि पाँच नम्बर प्रदेशको राजधानी सबै दृष्टिले दाङ उपयुक्त हुने निर्णय र सिफारिस गरिसकेको छ । यो आधारले पनि प्रदेशको राजधानीले दाङलाई नै खोजेको छ ।

प्रदेश कार्यालयहरुको उपस्थिति दाङमा
शक्ति र पहुँचका कुरा गर्ने हो भने अलग कुरा । यदि १२ वटै जिल्लाका सर्वसाधारण नागरिकलाई ५ नम्बर प्रदेशको नक्सा देखाएर १२ वटै जिल्लाका जनताका लागि राजधानी पुग्न सहज सुविधा हुने पूर्वाधारयुक्त जिल्ला कुन हो ? भनेर सोध्ने हो भने उत्तर आउने छ– दाङ । कुनै आग्रह वा पूर्वाग्रहबिना आउने नाम नै दाङ भएको र अधिकारसम्पन्न संसदीय समितिको सिफारिसको आधारमा सरकारका विभिन्न अंग र निकायका प्रदेश कार्यालयहरु पनि यसअघि नै दाङमा स्थापना भइसकेका छन् । हालसम्म दाङमा उच्च अदालत, नेपाल प्रहरीको प्रदेश कार्यालय, सत्य निरुपण तथा मेलमिलाप आयोगको प्रदेश कार्यालय स्थापना भइसकेका छन् । त्यसबाहेक रेडियो नेपालको प्रदेशस्तरीय प्रसारण केन्द्र पनि दाङमा बनाउने प्रक्रिया चलिरहेको छ । पार्टीगतरुपमा हेर्दा माओवादी केन्द्रको प्रदेश कार्यालय दाङमै छ भने अन्य विभिन्न गैरसरकारी संघसंस्थाका कार्यालयहरु पनि दाङमा स्थापना भइसकेका छन् ।

प्रदेशको सन्तुलित र सर्वाङ्गीण विकास
पाँच नम्बर प्रदेशको सन्तुलित र सर्वाङ्गीण विकास न्यायको तराजु जस्तै हुनुपर्छ । हामी सबैको मुख्य सरोकार र केन्द्रीय विषय यही हुनुपर्छ । १२ वटै जिल्लाको समानरुपमा विकासका लागि प्रदेश सरकारको ध्यान केन्द्रित हुनुपर्छ । रुपन्देही आफैमा मुलुकको ठूलो व्यापारिक र औद्योगिक केन्द्र हो । यसबाहेक अन्तर्राष्ट्रिय पर्यटन केन्द्रको सम्भावना पनि बोकेको छ यसले । योसँगै प्रदेशको पूर्वी भागको विकासले तीब्रता पाउने छ भने नेपालगञ्ज पश्चिम भेगको व्यापारिक र औद्योगिक केन्द्रको रुपमा अहिले नै अग्रभागमा छ । फराकिलो दिल र फराकिलो सोचका साथ यसलाई अझै विस्तार गर्ने हो भने नेपालगञ्जसँगै पश्चिमी भेगमा औद्योगिक, व्यापारिक र बर्दियाको पर्यटकीय केन्द्रले यहाँको वैभवका लागि बल पुराउने छ । बीचमा उभिएको हुनेछ, प्रशासनिक र राजनीतिक केन्द्र दाङ । दाङको विकाससँगै मध्यभागका सबै जिल्लाहरुको सन्तुलित र सर्वाङ्गीण विकासले तीब्रता पाउने निश्चित छ । यसरी नेपालका ७ वटै प्रदेशमध्ये नमूनायोग्य अनि सर्वोत्कृष्ट प्रदेशको रुपमा ५ नम्बर प्रदेशलाई विकास गर्नका लागि पनि प्रदेशको राजधानीले दाङलाई नै खोजिरहेको छ ।

साभार : नयाँ युगबोध दैनिक, २०७४ पुस १० गते

सम्पर्क : udayamagar@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here