पर्वत जिल्लाको विहाडी गाउापालिका बर्राचौर र गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिको पुर्तिघाटमा कालीगण्डकी माथि नयाँ पुल निर्माण भएको छ । पुलको उद्घाटन राष्ट्रिय जनमोर्चाका केन्द्रीय सचिव हिमलाल पुरीले यही २०७४ पौष ५ गते उद्घाटन गर्नु भएको थियो ।
पुलको दुवैतर्फ आ–आफ्नातर्फका जीपमा सम्बन्धित वासिन्दाले पुल र नदीको पुजन गरेपछि सचिव हिमलाल पुरीले पुलका दुवैतर्फका प्रवेश मार्गमा रातो रिबन काटी पुलको उद्घाटन गर्नु भएको थियो । तत्पश्चत गुल्मीका जनतालाई पर्वतवासीले र पर्वततर्फका जनतालाई गुल्मीवासीले अबिर, फूल र फलफूलले स्वागत गरेका थिए । पुल उद्घाटनको अवसरमा नदीले हामीलाई वारिपारि वा टाढा बनाएको थियो, अब हामी टाढा छैनौँ, पुलले हामीलाई नजिक ल्याई दिएको छ, यसले हामीलाई धेरै सुविधा दिने छ भन्दै स्थानीयवासीले खुशी व्यक्त गरेका थिए ।
पुलको उद्घाटन पश्चात उपस्थित जनसमुदाय सभामा सरिक भएका थिए । सभाको आयोजना विहाडी गाउँपालिका र कालिगण्डकी गाउँपालिकाले संयुक्त रूपमा आयोजना गरेका थिए । सभामा बिहाडी गाउँपालिका र कालीगण्डकी गाउँपालिकाको साझा विकासका विषयबारे छलफल भएको थियो । कार्यक्रममा बिहाडीका प्राविधिक कुमारी गुरुङको स्वागत मक्तब्यवाट सभा अघि बढेको थियो । बिहाडी गाउँपालिकाको तर्फवाट ओम प्रसाद कँुवरले बोल्नु भएको थियो । प्रमुख अतिथि सहित दलका प्रतिनिधि, अतिथिहरुलाई सुन्दरी पुरी र कमला शर्माले फूलमाला र खादा ओढाएर सम्मान गर्नु भएको थियो । सो अवसरमा दुवै गाउँपालिका अन्तर्गतको निर्वाचित वडा अध्यक्षलाई पनि सम्मान गरिएको थियो । दुई वटा स्थानिय निकायका पदाधिकारी र चार वटा राजनैतिक दलको सहभागिता थियो ।
उक्त पुल केन्द्रीय योजनामा ४० लाखको लागतमा निर्माण भएको हो । गत कार्तिक १२ गते काम सुरु गरी मङ्सिर २९ गते पुल निर्माण सम्पन्न भएको थियो । विराट अन्नपूर्ण ज्वाइन्ट भेन्चर कम्पनीका टिम लिडर पिटर कुमार श्रेष्ठको टोलीले उक्त पुल डेढ महिनामै निर्माण सम्पन्न गरी पौष १ गते हस्तान्तरण गरेको थियो । निर्धारित अवधिभन्दा अगावै पुल निर्माण गरेकोमा दुवै गाउँपालिकाका अध्यक्ष र राष्ट्रिय जनमोर्चाका सचिवले फूलमाला, दोसल्ला र प्रशंसा पत्रले श्री पिटर कुमार श्रेष्ठलाई सम्मान गर्नु भएको थियो ।