काठमाडौं । नेपालको लिपुलेक लिम्पियाधुरा लगायत कालापानी क्षेत्रलाई आफ्नो नक्सा एवं देशका अन्य विभिन्नन ठाउँमा भएका सीमा अतिक्रमण र एमसीसी प्रकरण विरुद्ध मुलुकमा जिम्मेवार नौ राजनीतिक दलले संयुक्त विरोध प्रदर्शन गर्ने घोषणा गरेका छन् ।
नेकपा(मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा माले, राष्ट्रिय जनमोर्चा, देशभक्त गणतान्त्रिक मोर्चा, नेकपा, नेकपा माओवादी केन्द्र, जनसमाजवादी पार्टी नेपाल र राष्ट्रिय जागरण परिषदको शनिबार काठमाडौंमा सम्पन्न बैठकले संयुक्त संघर्षको घोषणा गरेको हो ।
बैठकपछि जारी संयुक्त वक्तव्यमा भनिएको छ- “अमेरिकी साम्राज्यवादको हिन्द–प्रशान्त रणनीतिको अंगको रूपमा रहेको मिलेनियम च्यालेन्ज कर्पोरेश (एमसीसी) सम्झौता नेपालको राष्ट्रिय हित, राष्ट्रियता, सार्वभौमिकता र स्वतन्त्र एवं असंलग्न परराष्ट्र नीतिको समेत विरुद्ध छ । उक्त सम्झौतालाई खारेज गर्न सरकारसँग माग गर्दछौँ । उक्त सम्झौतालाई संसदबाट अनुमोदन नगर्न आह्वान गर्दछौँ ।” बैैकले यही माघ २४ गते काठमाडौँ, विराटनगर, जनकपुर, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा विरोधसभा गर्ने निर्णय गरेको छ ।
वक्तव्यको पूर्ण पाठ-
१) भारतद्वारा नेपालको लिम्पियाधुरा, कालापनी, लिपुलेक क्षेत्र समेतको भूमि अतिक्रमण भएको र अमेरिकी साम्राज्यवादको हिन्द प्रशान्त रणनीतिअन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताका विरुद्ध संघर्ष भइरहेको स्थितिमा उक्त सङ्घर्षका कार्यक्रमहरूलाई व्यापक र सशक्त बनाउन २०७६ माघ ११ गते तपशीलमा उल्लेखित राजनीतिक दलहरूको बैठक नेकपा (मसाल)का महामन्त्री का. मोहनविक्रम सिंहको अध्यक्षतामा बस्यो । यो बैठकले गरेका निर्णय र कार्यक्रम सार्वजनिक गर्न यो संयुक्त प्रेस वक्तव्य जारी गरिएको छ । घोषित संघर्षका कार्यक्रमहरूलाई सफल पार्न सम्पूर्ण न्यायप्रेमी, देशभक्त तथा जनतान्त्रिक जनसमुदायहरूलाई हामी हार्दिक अपील गर्दछौँ ।
२) नेपाल–भारत सीमा क्षेत्रमा भारतले कैयौँ ठाउँहरूमा नेपाली भूमि अतिक्रमण गरेको छ । पछिल्लो समयमा नेपालको लिम्पियाधुरा, कालापानी, लिपुलेक सहितको क्षेत्र भारतले आफ्नो नक्साभित्र पारेर नयाँ नक्सा जारी गरेको छ । त्यसका विरुद्ध देशका सबै राजनीतिक शक्ति, संघ–संस्था र जनसमुदाय समेतले राष्ट्रिय एकता प्रदर्शन गरी उक्त अतिक्रमित भूमि फिर्ता गर्न सरकारलाई आह्वान गरे । तर, सरकारले उक्त भूमि फिर्ता गराउन प्रभावकारी कदम चालेन र अतिक्रमित भूमिलाई समावेश गरी नेपालको नक्सा जारी गर्न समेत सकेको छैन । उक्त अतिक्रमित भूमि फिर्ता गराउनका लागि व्यापक र सशक्त संघर्ष गर्न हामी सहमत भएका छौँ ।
३) अमेरिकी साम्राज्यवादको हिन्द–प्रशान्त रणनीतिको अंगको रूपमा रहेको मिलेनियम च्यालेन्ज कर्पोरेश (एमसीसी) सम्झौता नेपालको राष्ट्रिय हित, राष्ट्रियता, सार्वभौमिकता र स्वतन्त्र एवं असंलग्न परराष्ट्र नीतिको समेत विरुद्ध छ । उक्त सम्झौतालाई खारेज गर्न सरकारसँग माग गर्दछौँ । उक्त सम्झौतालाई संसदबाट अनुमोदन नगर्न आह्वान गर्दछौँ । सबै देशभक्त जनसमुदायहरूलाई उक्त एमसीसी सम्झौताको विरुद्ध राष्ट्रिय एकताको लागि सङ्घर्ष गर्न आह्वान गर्दछौँ ।
४) संघर्षको कार्यक्रमः आगामी माघ २४ गते हरेक प्रदेशका – काठमाडौँ, विराटनगर, जनकपुर, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा विरोधसभा गर्ने निर्णय भएको छ । यी कार्यक्रम पश्चात संयुक्त बैठक बसी आगामी कार्यक्रम घोषणा गरिने छ ।
५) बैठकले यो कार्यगत एकतासम्बन्धी आचार संहिता पनि निर्माण गरेको छ ।
सम्बद्ध राजनीतिक दलहरू
१) मोहनविक्रम सिंह, महामन्त्री, नेकपा (मसाल)
२) मोहन बैद्य (किरण), महासचिव, नेकपा (क्रान्तिकारी–माओवादी)
३) सीपी मैनाली, महासचिव, नेकपा (माले)
४) चित्रबहादुर केसी, अध्यक्ष, राष्ट्रिय जनमोर्चा
५) सीपी गजुरेल, अध्यक्ष, देशभक्त जनगणतान्त्रिक मोर्चा
६) ऋषि कट्टेल, अध्यक्ष, नेकपा
७) गोपाल किराती, अध्यक्ष, नेकपा (माओवादी केन्द्र)
८) सुभासराज काफ्ले, अध्यक्ष, जनसमाजवादी पार्टी नेपाल
९) महेन्द्र शर्मा, सहसंयोजक, राष्ट्रिय जागरण परिषद्